Saturday, July 30, 2022

पर्व प्रेरणा | खीर खाने विशेष दिन





दही-चिउरा खाने विशेष दिन होस्

अथवा दुधमा बनेको पोषिलो खीर खाने दिन,

नेपाली संस्कृति

प्राचीन वैज्ञानिक ऋषिहरूद्वारा प्रतिपादित

ऋतुचर्या विज्ञानका आधारमा चलिरहेको बुझिन्छ ।

कुन ऋतुमा के खाँदा

शरीरलाई समुचित पोषण प्राप्त हुन्छ

र त्यो खाद्य वस्तुले कुनै हानी पुर्‍याउँदैन

यसको सम्यक विचार आयुर्वेदिक चिन्तनले दिएको छ ।

____

यससँगै के पनि स्मरणीय छ भने,

नेपाली संस्कृति आफैमा कृषिकर्ममा आधारित

संस्कृति हो ।

यो गोपालन र रक्षण गर्ने गोरक्ष संस्कृति हो ।

यसका चाड–पर्व र परम्पराहरू कृषिसँग निकै नजिक छन् ।

आजको नेपाली समाजमा

चाड–पर्व मनाउने क्रमले त निरन्तरता पाएको छ

तर ऋषि–चिन्तन र कृषिकर्म चाहिँ

ओझेलमा परेको पो हो कि भन्ने भान पर्दछ ।

कृषिको आधार गोवंश (विशेष गरी स्थानीय नस्लका गाई–बयल) हो ।

आधुनिक वैज्ञानिक पद्धतिले कृषिकर्म गरिरहँदा पनि

आज प्रकृतिमा सन्तुलन ल्याउन,

विषादिको प्रयोगबाट बच्न र

प्राकृतिक उर्वरक मल प्रयोग गर्नका लागि

गौ–पालन अपरिहार्य देखिन्छ ।

गाई–बयलको गोबर र मूत्र प्रयोग गरे

धर्तीको उर्वरा शक्ति पनि कायम रहन्छ

र कीटादिको प्रकोप पनि घट्नेछ ।

हामीले आफ्ना लागि खाद्य अन्न तथा तरकारी पनि

शुद्ध अवस्थामा पाउँछौँ ।

समग्रमा, प्रकृतिसँगै मानवीय स्वास्थ्य पनि

सुदृढ, शुभ र निरोगी बन्नेछ ।

यसर्थ,

आफ्ना सांस्कृतिक पर्व–परम्परा मानिरहँदा

त्यसपछाडि निहित भाव के होला त भनी विचार पनि गर्ने गरौँ ।

किनभने, गौ–पालन र संरक्षणमा ध्यान नदिएसम्म

दही र खीर खाने पर्वले सार्थकता पाउँदैनन् ।

Saturday, July 9, 2022

व्रतोत्सव पर्व | हरिशयनी एकादशी



सनातन धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक परम्परामा आदिकालदेखि नै व्रत एवं पर्वहरूको अत्यधिक महत्व रहेको पाइन्छ । व्रत–पर्वहरूको सम्यक् अनुष्ठान तथा तिनका नियमहरूको विधिपूर्वक पालन गर्नाले शारीरिक र मानसिक सन्तुलन बनिरहन्छ । शरीर, मन, बुद्धि, विचार आदि सबै स्वस्थ हुन्छन्, जसको उपयोगबाट लौकिक तथा पारलौकिक परम कल्याण सहज सुलभ हुन्छ । यिनै कारणले गर्दा सनातन हिन्दू सांस्कृतिक स्वस्थ–परम्परामा व्रत–पर्वहरूको विधान र अनुष्ठानबारे विस्तारपूर्वक विवेचन गरिएको छ ।

हिन्दू धर्ममा एकादशी तिथिलाई भगवान विष्णुको उपासना गर्ने विशिष्ट दिनका रूपमा लिइन्छ ।  

षाढ शुक्लपक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । भगवान् श्रीहरि विष्णु यस एकादशीबाट चार महिनाका लागि क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र आषाढी या असारे एकादशी पनि भनिन्छ । एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । ज्योतिष–विज्ञानका अनुसार शुक्लपक्षको एकादशी तिथिमा चन्द्रमाका एघार कलाको प्रभाव जीवमा पर्दछ तथा कृष्णपक्षको एकादशी तिथिमा सूर्यमण्डलद्वारा एघार कलाहरूको प्रभाव जीवमाथि पर्दछ । चन्द्रमाको प्रभाव शरीर, मन आदिमा पर्ने हुनाले यस तिथिमा शरीरको अस्वस्थता र मनको चञ्चलता स्वाभाविक रूपले बढ्न सक्छ । यसै कारण उपवासद्वारा शरीरलाई र इष्ट–पूजन, संयमद्वारा मनलाई सम्हाल्नु एकादशी व्रत विधानको मुख्य रहस्य हो ।

यस दिनदेखि चार महिनासम्मको समयलाई चतुर्मासको समय मानिन्छ । यस एकादशीसँग सम्बन्धित केही रोचक आख्यान पनि विभिन्न पुराणमा पाइन्छन् । 

पुराणका प्रसङ्गहरूका अनुसार आजको दिनदेखि चार महिनासम्म भगवान् विष्णु पाताल लोकमा राजा बलिको ढोकामा बसी कात्तिक शुक्ल एकादशीको दिन फर्किने उल्लेख छ । लोक कल्याणका लागि भगवान् विष्णुले दैत्यहरुलाई नियन्त्रण गर्न वामन अवतार लिनुभएको थियो । वामन भगवानले राजा बलीको यज्ञमा गई तीन पाइला जमिन माग्नुभयो । बलीले सङ्कल्प गरी दिएपछि विशाल रूप बनाई पहिलो पाइलाले सम्पूर्ण पृथ्वी, आकाश र सबै दिशा, दोश्रो पाइलाले स्वर्ग ढाक्नुभयो । तेश्रो पाइला कहाँ राँखु भनेर माग्दा बलीले आफ्नो शिरमा राख्न लगाउनुभयो । बलीको यस्तो उदार दानलाई भगवान्ले मुक्तकण्ठले प्रशंसा गरि सुतल लोकको अधिपति बनाएको प्रसङ्ग छ । त्यसपछि खुशी हुँदै भगवान्ले आशीर्वाद दिंदै भन्नुभयो, ‘बली ! वर माग ।’ 

राजा बलीले भने, ‘सधैँ मेरो सुतललोकमा बस्नुहोस् ।’ 

भगवान्ले बलीलाई दिएको यही वरदानका कारण नै आषाढ शुक्ल एकादशीको दिनदेखि बलीको ढोकामा बस्न थाल्नुभयो ।

अर्को प्रसङ्ग अनुसार यसै दिन भगवान् विष्णुले मुर नामक दैत्यसँग गरेको युद्धको थकान मेटाउन बद्रीकाश्रम गएर सुत्नुभएको आख्यान पनि प्रचलित छ । भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराण लगायतका ग्रन्थहरूमा हरिशयन गर्नुलाई योगनिद्राको रूपमा व्याख्या गरिएको छ ।

त्यस कारण नै आजको दिनलाई हरिशयनी र कात्तिक शुक्ल एकादशीलाई प्रबोधिनी एकादशी भनिन्छ । यसैले नै यो ४ महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरु निषेध गरिएको छ, तथापि चतुर्मास्यमा कुनै पनि व्रत–विधान, यथा– नियमित जप, होम, स्वाध्याय आदि गरिन्छ भने त्यसको अनन्त फल प्राप्त हुने शास्त्रवचन छ । 

खानपान तथा स्वास्थ्य

संस्कृतमा हरि शब्द सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ । हरिशयनका तात्पर्य यो ४ महिनामा बादल र वर्षाका कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुनुको नै प्रतीक मानिन्छ । निरन्तर वर्षा र पानीको कारण पित्तरूपी अग्नि कमजोर र शान्त हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शरीर कमजोर बन्दछ । वैज्ञानिक खोज तथा अनुसन्धानका अनुसार पनि यो चार महिनामा विशेष गरेर वर्षा ऋतुमा विभिन्न प्रकारका किटाणु र सूक्ष्म रोगका जन्तुहरू उत्पन्न हुन्छन् । पानी बढी पर्ने र सूर्यको तेज पृथ्वीमा थोरै मात्र आउने भएकाले यस समयमा किटाणुहरूको नकारात्मक प्रभाव बढी हुन्छ । त्यसकारण यस समयमा खानपान तथा स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनु उपयुक्त हुन्छ । 

रोग–व्याधीबाट बच्न तुलसी पूजा



वर्षासहितका यी चार महिनामा तुलसीको विशेष सेवा–पूजा गर्ने धार्मिक परम्परा छ । तुलसीमा विद्यमान रसायन वस्तुतः त्यति नै गुणकारी हुन्छ, जति वर्णन शास्त्रहरूमा गरिएको पाइन्छ । यो कीटनाशक, कीटप्रतिकारक तथा प्रचण्ड जीवाणुनाशक हुन्छ । विशेष गरी एनांफिलिस जातिका  लामखुट्टे (मच्छर) विरुद्ध यसको कीटनाशी प्रभाव उल्लेखनीय छ । वैज्ञानिकहरूको मत अनुसार तपेदिक, मलेरिया र प्लेगका कीटाणुहरूलाई नष्ट गर्ने क्षमता विद्यमान हुन्छ तुलसीमा । शरीरको रक्त शुद्धि, विभिन्न प्रकारका विष–विकारको शमन गर्ने, अग्निदीपक आदि गुणहरूले परिपूर्ण हुन्छ तुलसी । यसलाई छोएर आउने वायु पनि स्वच्छ एवं स्वास्थ्यकारक हुन्छ । वातावरण शुद्ध राख्ने क्षमताका कारण ‘यम’ अर्थात् अकाल मृत्युबाट यसले रक्षा गर्ने तथ्य बुझ्नु पर्दछ । तुलसीको बिरूवा जुन घरमा हुन्छ त्यहाँ बेक्टिरिया रहन सक्दैन । सबै वैज्ञानिक शोधहरू एवं तुलसीको औषधीय गुणहरूबाट परिचित भएकाले नै हाम्रा पूर्वजहरूले घर–आँगनमा तुलसी रोप्नु आवश्यक ठाने । सबैका घरमा तुलसीको अनिवार्य उपस्थितिका लागि सबैभन्दा सुगम उपाय थियो तुलसी पूजनको व्यवस्था ।

एकादशी अनुष्ठान

यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन गरी षोडशोपचार सहित पूजन गर्ने, उनको हातहरूमा शंख, चक्र, गदा, पद्म सुशोभित गरेर पीताम्बर, पहेंला वस्त्रहरूले सजाउने गरिन्छ । पञ्चामृतले स्नान गराएर, भगवान्लाई धूप, दीप, पुष्प आदिले पूजा गरेर आरती उतारिन्छ । एक महिना अघि निर्जला एकादशीका दिन छरिएको तुलसी दल यस दिनसम्ममा तुलसीको बिरूवा बनेको हुन्छ जसलाई विधिपूर्वक तुलसी मठमा रोपेर पूजन गरिन्छ । चतुर्मास अवधिमा श्रीविष्णु भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । 

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...