✍️ विजयप्रसाद मिश्र
ग्रामीण क्षेत्रबाट
पलायन, नगरमा भएका
बस्तीहरूको नारकीय रूप, बेरोजगारी,
सर्वव्यापी पर्यावरण प्रदूषण, विषाक्त भूमि–जल–खाद्यान्न आदि— यी केही
समस्याको गणना मात्र हो । वायु प्रदूषणका कारण मात्र पनि प्रत्येक वर्ष लाखौँको
सङ्ख्यामा बिरामीहरू अस्पताल भर्ना हुन्छन् । तीमध्ये लाखौँ मानिस कालकवलित
हुनपुग्छन् । कथित महानगरहरूमा निर्धन बस्तीका निवासी तथा त्यहाँका बालबालिकाको
जीवन देख्दा महानगर नभएर महानरक भन्नु पो उपयुक्त हुन्छ कि भन्ने भान पर्दछ । यी
सबै समस्या मानव–निर्मित हुन् । भन्नुपर्दा यिनलाई गौ–माताको उपेक्षाको परिणाम
भनियो भने पनि अतिशयोक्ति नहोला, होइन
र ?
विचार गरी हेरौँ त !
हाम्रा वेद–पुराणादि सद्शास्त्रले गोमाताको प्रशस्ति गानमा केके भनेका छन् पढी
हेरौँ त ! कतै प्रार्थनापूर्वक भनिएको छ—
या लक्ष्मी
सर्वभूतानां या च देवेष्ववस्थिता ।
धेनुरूपेण सा देवि मम
पापं व्यपोहतु ।।
सबै प्राणीलाई
ऐश्वर्य प्रदान गर्ने, सबै
देवहरू (दिव्य गुणहरू) जसमा स्थित छन्, यस्ती धेनुरूपा हे देवी ! मेरा समस्त पापहरू (रोग, व्याधि, दरिद्रता आदि) हरण गर्नुहोस् ।
यसरी प्रार्थना
गर्नुको के अर्थ होला ? हामीले
यसतर्फ ध्यान दिएका छौँ त ?
आज बेरोजगारीलाई धेरै
ठूलो समस्याको रूपमा गणना गरिन्छ । पढेका छौँ, हातमा डिग्री छ तर काम गर्ने सीप छैन,
काम छैन । काम नभएको हो कि काम गर्ने
इच्छा नभएको हो, यो
चाहिँ प्रत्येक व्यक्तिले आफै ठम्याउनुपर्छ । किनभने जबसम्म अधिकांश जनता कृषिमा
आधारित थिए तबसम्म कदाचित् अरबी–फारसी मूलको यो शब्द र अंग्रेजी भाषाको
अन–इम्प्लोयमेन्टले जनाउने समस्या हाम्रो परिवेशमा थिएन । हो, पछिल्लो कालखण्डमा बल–बुद्धिले युक्त
मानिस जागिर खान लाहुर/मुगलान
पस्ने चलन अवश्य चल्यो जसको विकसित रूप अद्यापि कायमै छ । तथापि, जबसम्म हामी ग्रामीण परिवेशमा थियौँ
हाम्रो उन्नतिको आधार गौमाता नै थिइन् । गोवंशमा आधारित रहेर हामी कार्मशील थियौँ,
स्वस्थ, सबल र स्वच्छ परिवेशमा रमाउने थियौँ ।
त्यसो भए सुनको खोजीमा हामीले हीरा मिल्काएकै हौँ त ?
त्यो परिवेशलाई एक पटक पुनः चित्रित गरौँ । अधिकांश जनसङ्ख्या कृषिमा आधारित थिए । कृषिका लागि सर्वाधिक उत्पादक एवं उपयोगी थियो गाई–बयलको परिवार । गाईका बाछाले हलो जोत्न, भारवाहनको कार्य गर्नमा सहयोग पुर्याउथ्यो । गोबर र गोमूत्र यति धेरै हुन्थ्यो कि भिन्नै उर्वरक मल बनाउनु पर्ने स्थिति नै थिएन । रासायनिक मलको खाँचो थिएन । गोमूत्रका कारण अन्नबालीमा हानिकारक कीटाणु/जीवाणु हुर्कनै पाउँदैनथे । जीव–जगत्को आफ्नै मौलिक सन्तुलन थियो ।
भगवान् श्रीकृष्णले गीता (३।११)मा भन्नुभएको पनि छ—
परस्परं भावयन्तः
श्रेयः परमवाप्स्यथ ।। — यो जगत् परस्पर एकअर्काको सहयोगमा आधारित छ । मानव सृष्टि
होस् या जीव जगत्, हामी
परस्पर सहयोग गरेरै श्रेष्ठता प्राप्त गर्न सक्छौँ । ग्राम्य जीवनको आधार पनि यही
थियो ।
आज हामीले गाई–आधारित कृषिलाई उपेक्षा गर्नाले अन्नबाली, भूमि, कीटादिको प्राकृतिक प्रक्रियामा बाधा उत्पन्न गरिदिएका छौँ । परिणामतः
- हाम्रो भूमि, जल, वायु आदि अस्वस्थ भएका छन्;
- हाम्रो भोजन अहितकर भएको छ
- र हामी रोगी र बेरोजगार पनि भएका छौँ ।
यसको अर्को पाटो के पनि छ भने हाम्रो स्थानीय नस्लको
गोवंश, विश्वकै सर्वश्रेष्ठ
गोवंश आज विस्थापित भएको छ । विश्वबजारले भारतीय नस्लको भनी चिनेको हाम्रो स्थानीय
गाईमै आधारित रहेर विश्वभरिका डेयरी उद्योगले दुध ‘ए–२’ उत्पादन गर्ने जमर्को
गरिरहेको बेला हामीले चाहिँ तिनलाई सहरका गली–टोलमा फोहोर खान, प्रताडित हुन र गाईका तस्करहरूद्वारा
हत्या गरिन छाड्यौँ ।
स्थानीय नस्लको गाईको
पेट आफै उर्वरक मलको कारखाना हो । रोगहरूबाट सुरक्षित राख्नका लागि प्रतिरोधात्मक
क्षमता प्रदान गर्ने, स्वर्णयुक्त
दुध दिने; दही, घिउ आदि अमृततुल्य पञ्चगव्यको भण्डार,
औषधिहरूको स्रोत हो ।
जहाँसम्म वर्तमानमा परिवर्तित सामाजिक औद्योगिक व्यवस्थाको कुरा छ— गौ–विज्ञानले पनि निकै तीव्र गतिमा आधुनिक विज्ञानको सकारात्मक सहयोग लिँदै आशातीत प्रगति गरेको छ । गाईमा आधारित कृषिबाट—
- हजारौँ कृषक परिवारले लाखौँको लाभ प्राप्त गरिरहेको छ ।
- यसले समाजलाई पौष्टिक, विषादिरहित खाद्यान्न त दिएको छ नै,
- गोबर र गोमूत्रको उपयोग गरी औषधि मात्र होइन
- रोडियो–एक्टिव किरणबाट बचाउने टाइल्स्, ईँटा, रंगरोगन, सिमेन्ट आदि उत्पादनमा पनि उल्लेख्य प्रगति भएको छ ।
गोविज्ञान आफैमा एउटा महत्वपूर्ण विज्ञान हो ।
अष्टैश्वर्यमयीलक्ष्मी वसते गोमये सदा— अर्थात् गोवंशको गोबर अमूल्य मल, विभिन्न प्रकारका औषधि, घरलाई आवश्यक पर्ने इन्धन आदि उत्पादनमा सहायक हुनाले गोबरमा अष्ट ऐश्वर्ययुक्त लक्ष्मीको निवास रहेको छ भन्ने कुरा पनि पुष्टि हुन्छ ।
गौवंश आधारित कृषि एक प्राचीन र दिगो खेतीको पद्धति हो, जहाँ गाई र त्यसका उत्पादनलाई खेतीको केन्द्रबिन्दुमा राखिन्छ। यस प्रणालीमा रासायनिक मल र कीटनाशकको सट्टा प्राकृतिक स्रोतको प्रयोग गरिन्छ, जसले माटोको उर्वरता बढाउँछ र वातावरणलाई प्रदूषणबाट बचाउँछ।
गाउँबाट पलायन रोक्न, बेरोजगारी घटाउन, स्वरोजगार बढाउन, उत्पादनमूलक र रोगरहित निर्मल कृषि–उत्पादका लागि, शुद्ध पोषक दूध, घिउ इत्यादि प्राप्त गर्न तथा शरीरको रोगप्रतिरोधात्मक क्षमता विकसित गर्न हामीले गौवंश आधारित कृषितिर पुनः फर्किनुको विकल्प छैन ।
गौवंश आधारित कृषिका फाइदाहरू
वातावरणमैत्री: रासायनिक मल र कीटनाशकको प्रयोग नहुने भएकाले माटो, पानी र हावा प्रदूषित हुन पाउँदैन।
माटोको स्वास्थ्यमा सुधार: गोबरको मलले माटोको संरचना र पानी अड्याउने क्षमतालाई सुधार्छ।
कम खर्च: रासायनिक मल र कीटनाशकमा हुने खर्च कम हुन्छ, जसले किसानको आम्दानी बढाउँछ।
उत्पादनको गुणस्तर: यस पद्धतिबाट उब्जाएको बाली अधिक पौष्टिक र स्वस्थ हुन्छ।
ग्रामीण अर्थतन्त्रलाई टेवा: यसले गाईपालन र त्यससँग सम्बन्धित साना व्यवसायलाई प्रोत्साहन गर्छ।
यसलाई सहकारिता र प्रकल्पका रूपमा विकसित गर्ने हो भने नेपालकै कतिपय गाउँ अन्नपूर्णा माताको सम्मान पाउन सक्ने हुनेछन् भने कतिपय समुदाय औषधीय उत्पादको केन्द्रका रूपमा स्थापित हुन सक्नेछन् । यसरी हामीले आयात रोक्न, परनिर्भरताबाट मुक्त हुन र निर्यात बढाउन पनि समर्थ हुनेछौँ । यो आत्मसम्मान एवं राष्ट्रिय गौरवको विषय हुनेछ ।

No comments:
Post a Comment