हाम्रो वैदिक र आर्ष वाङ्मयले घर र परिवारको महत्त्वलाई गहनताका साथ समेटेको छ। घर कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशस्त चर्चा गरिएको छ भने परिवारमा सद्भाव, सहकार्य र उन्नति कसरी कायम राख्ने भन्नेबारे पनि मनस्वी ऋषि–विदुषीहरूले विभिन्न कोणबाट विमर्श गरेका छन्।
परिवारलाई संस्कारको केन्द्र बनाउन चाहनेहरूका लागि वेद, पुराणलगायतका सद्ग्रन्थहरूको अध्ययन निकै उपयोगी हुन्छ। यसै सन्दर्भमा, अथर्ववेदमा उल्लेख गरिएका दुई महत्त्वपूर्ण मन्त्रहरूको भावार्थ यहाँ प्रस्तुत गरिएको छ, जसले घर र परिवारको आदर्श स्वरूपलाई उजागर गर्छ।
(अथर्ववेदः ७।६०।२)
भावार्थ : धन–धान्य, घिउ–दूधले परिपूर्ण घर सुखदायी छन् । सबै प्रकारको सौन्दर्यले युक्त यी घर हाम्रा साथमा घनिष्ठरूपले युक्त छन्— हामीले यस्तो बुझ्नुपर्छ ।
हामीले हाम्रो घर कस्तो बनाउनुपर्छ भन्ने सन्दर्भमा अथर्ववेदमा भनिएको छ— गौ–पालन गर्ने र अन्न–दूधादिले परिपूर्ण घर समृद्ध होस् । यस्तो घरप्रति त्यहाँका निवासीको सम्बन्ध घनिष्ठ र आत्मीयतापूर्ण हुन्छ ।
(अथर्ववेदः, ७।६०।६)
भावार्थ : हे गृहमा निवास गर्नेहरू ! तिमीहरू प्रिय, सत्य वाणी बोल्ने होऊ, शुभ–भाग्यले युक्त होऊ, प्रशस्त अन्न भएका, हँसिला, प्रसन्न, सन्तुष्ट होऊ । घरमा भोको र तिर्खाएको कोही नहोस् । तिमीहरू हामीबाट निर्भर रहनू ।
यो मन्त्र घरको वातावरण कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा छ । स्पष्ट छ— जुन घरमा परस्पर मधुर र शिष्ट सम्भाषण भइरहन्छ, जुन प्रीतिभोजहरूले संयुक्त छ, जसमा सबै प्रसन्नतापूर्वक निवास गर्दछन्, जहाँ कोही पनि भोक र तिर्खाले रहित छ, त्यस्तो मङ्गलमय गृहमा भयको सञ्चार हुँदैन ।
प्रस्तुतिः विजयप्रसाद मिश्र
No comments:
Post a Comment