✍ विजयप्रसाद मिश्र
मानव जीवनमा आचारको महत्त्वपूर्ण स्थान छ । त्यसैले ‘आचारः परमो धर्मः’ भनिएको छ । अनि, के पनि भनिएको छ भने ‘आचारहीनं न पुनन्ति वेदाः यद्यप्यधीताः सह षड्भिरङ्गै’— अर्थात्, छः अङ्गसहित चारै वेद पढेको भए पनि व्यक्ति सदाचारी छैन भने त्यसलाई वेदले पनि पवित्र तुल्याउन सक्दैनन् ।
‘आचारशुद्धौ सत्वशुद्धिः, सत्वशुद्धौ चित्तकाग्रता, ततः साक्षात्कारः’ भनेर आध्यात्मिक लगायतका शुद्धिका लागि पनि सबैभन्दा पहिलो खुड्किलो सदाचार नै हो भन्ने कुरा शास्त्रले स्पष्ट पारेका छन् ।
सदाचार नै व्यक्ति, समाज एवं राष्ट्रको अभ्युदयको मूल स्रोत हो । यदि समाजमा सदाचार अप्रतिष्ठित भयो भने राष्ट्रमा कदाचार स्वभावतः बढ्दछ । सदाचार तथा कदाचार परस्परविरुद्ध छन् । सदाचारको परिणाम परस्परविश्वास, सौमनस्य, सुख एवं शान्ति हुन् । कदाचारको परिणाम समाज अथवा राष्ट्रमा सर्वत्र परस्पर अविश्वास, कलह, दैन्य तथा अशान्ति हुन् ।
मनुमहाराजले धर्मका दस लक्षण उल्लेख गर्नुभएको छ—
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्।।
(मनुस्मृति ६.९२)
२. क्षमा (अरुले गरेको अपकारलाई माफ गर्नु, क्षमाशील हुनु),
३. दम (आफ्नो वासनामा नियन्त्रण गर्नु),
४. अस्तेय (चोरी नगर्नु),
५. शौच (अन्तरङ्ग र बाह्य शुचिता),
६. इन्द्रिय निग्रहः (आफ्ना इन्द्रियलाई वशमा राख्नु),
७. धी (बुद्धिमत्ताको प्रयोग),
८. विद्या (अधिकभन्दा अधिक विद्याको साधना गर्नु),
९. सत्य (मन–वचन–कर्मले सत्यको पालना गर्नु) र
१०.अक्रोध (क्रोध न गर्नु);
यी दस धर्म का लक्षण हुँन् । यी लक्षणलाई जीवनमा स्थापित गर्नु नै धर्मको पालना गर्नु हो भन्ने मान्यता छ । यही सदाचार हो ।
सदाचारद्वारा नै मानव जीवनमा धर्म प्रतिष्ठित हुन्छ । सदाचारलाई नै परम धर्म भन्नुको अर्थ हो, धर्मका जति पनि लक्षण छन्, तिनको पालन सदाचार रूपी आधारबिना सम्भव छैन । व्यक्ति सदाचारी नबनिकन धर्मको पालन नै हुँदैन, अथवा धर्मको पालन गर्नु भनेकै जीवनमा सदाचारलाई स्थापित गर्नु हो ।
वेद–पुराणादि ग्रन्थले सदाचारकै महिमा गायन गरेका छन् । श्रीशिवमहापुराणमा सदाचारको महिमा यसरी वर्णन गरिएको छ—
आचारः परमा विद्या आचारः परमा गतिः ।।
आचारहीनः पुरुषो लोके भवति निन्दितः ।
परत्र च न सुखी न स्यात्तस्मादाचारवान् भवेत् ।।
(शिवपुराण वा. सं. उ. ख. १४। ५५–५६)
आचार परम धर्म हो, आचार सर्वश्रेष्ठ धन हो, आचार सर्वश्रेष्ठ विद्या हो, आचार नै परम गति पनि हो । आचारविहीन मानिस संसारमा निन्दित हुन्छ र उसले परलोकमा पनि सुख पाउँदैन । त्यसैले सबै आचारवान् हुनुपर्छ ।
महाभारतमा युधिष्ठिर महाराजले भन्नुभएको छ—
नैको मुनिर्यस्य वचः प्रमाणम् ।
धर्मस्य तत्त्वं निहितं गुहायाम्
महाजनो येन गतः स पन्थाः ।।
तर्क स्थिर छैनन्; श्रुतिहरूले पनि भिन्न–भिन्न मत दिइरहेका हुन्छन्; प्रमाणका रूपमा लिन मुनिहरूको पनि एउटै वचन वा मत छैन यसर्थ धर्मको तत्त्व निकै गहन छ । अर्थात्, धर्मको रहस्य, स्वरूप वा प्रकृति यति गहिरो छ, मानौं यो गुफाहरूमा लुकेको छ । त्यसैले सबैले गहन अध्ययन गर्न सक्दैनन् । सजिलो उपाय के हो भने जसले जीवनलाई धर्ममय; तपोमय बनाएका छन् तिनै महापुरुषले धर्मको त्यो परम तत्त्वलाई चिनेका छन् । यसर्थ, जुन बाटो उनीहरू हिँड्छन्, त्यही मार्गमा हिँड्नु श्रेयस्कर छ ।
भन्नुको तात्पपर्य हो, धर्मको सार बुझ्न धेरै गाह्रो छ । यसमा ठूला मानिस पनि भ्रमको शिकार बन्दछन् भने सामान्य मानिसको त के कुरा गर्नु ! त्यसैले युधिष्ठिर महाराज भन्नुहुन्छ— महाजन येन गतः स पन्थाः । अर्थात् जुन बाटोमा विद्वान् विवेकी मतिमान् मानिसले हिँडेकाछन् अथवा हिँड्न सल्लाह दिन्छन्, त्यही बाटो सामान्य मानिसले पनि अपनाउनुपर्छ । सद्गुणले सम्पन्न श्रेष्ठ मानिस जस्तो आचरण गर्दछन् त्यस्तै आचरण गर्नाले कल्याण हुन्छ ।
यसै कुरालाई भगवान् श्रीकृष्णले श्रीमद्भगवद्गीतामा यसरी उल्लेख गर्नुभएको छ—
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।
जस्तो आचरण श्रेष्ठ जनले गर्दछन्, जस्तो प्रमाण उनीहरूले समाजमा स्थापित गर्दछन् सामान्य जनमानसले पनि त्यसैलाई पछ्याउने गर्दछ । यसर्थ, जनसामान्यले जसलाई आदर्शका रूपमा हेर्छन् तिनले समाजमा सधैँ सदाचारिता, सद्गुण आदिलाई नै स्थापित गर्नुपर्दछ ।
स्मृतिकार मनु महाराज भन्नुहुन्छ— आचारेण तु संयुक्तः सम्पूर्णफलभाक् भवेत् । अर्थात् धर्माचरणले संयुक्त भएको मानिस नै आफूले गरेको कर्महरूबाट प्राप्त हुने पूर्णफलको भागी बन्दछ ।
अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य ऊर्ध्वाम्नाय श्रीकाशीसुमेरुपीठाधीश्वर स्वामी श्रीशंकरानन्द सरस्वतीजी महाराज भन्नुहुन्छ—
“सदाचार नै व्यक्ति, समाज एवं राष्ट्रको अभ्युदयको मूल स्रोत हो । यदि समाजमा सदाचार अप्रतिष्ठित भयो भने राष्ट्रमा कदाचार स्वभावतः बढ्दछ । सदाचार तथा कदाचार परस्परविरुद्ध छन् । सदाचारको परिणाम परस्परविश्वास, सौमनस्य, सुख एवं शान्ति हुन् । कदाचारको परिणाम समाज अथवा राष्ट्रमा सर्वत्र परस्पर अविश्वास, कलह, दैन्य तथा अशान्ति हुन् ।”
तमिल भाषाका सन्त–कवि तिरुवल्लुवरले रचना गर्नुभएको तिरुक्कुरल ग्रन्थमा ‘आचार’बारे भनिएको छ—
तस्माद् रक्षेत् सदाचारं प्राणेभ्योऽपि विशेषतः।।
विद्वान्हरू भन्छन् हाम्रो सदाचरण (असल व्यवहार) नै प्रमुख धर्म हो । यसैले मनुष्यले आफ्नो प्राणहरूभन्दा पनि विशेष ठानेर सदाचारकै रक्षा गर्नुपर्दछ । यसो भन्नुको तात्पर्य हो सदाचारलाई कहिल्यै छोड्नु हुँदैन ।
ध्यातव्य छ—
- शुभ संस्कारबाट नै सुन्दर समाजको निर्माण हुन्छ ।
- संस्कृति शब्दको मूलमा पनि संस्कारित रीति–नीति नै रहेको देखिन्छ ।
- मानवको सुकृति नै संस्कृति हो, यसलाई असल अथवा राम्रो भनेर थप विशेषण दिइरहनु नपर्ला ।
- संस्कृतिको विकासबाटै अनुकरण गर्नयोग्य सभ्यताको प्रादुर्भाव हुन्छ ।
- र, अनुकरणीय सभ्यताको जगमा नै मर्यादित, अनुशासित समाजको प्रगति हुन्छ ।
- अतः संस्कारबाटै नैतिक एवं कर्तव्यनिष्ठ नागरिकको निर्माण हुन्छ र तिनै असल नागरिकका पुरुषार्थले राष्ट्र समुन्नत एवं समृद्ध हुन्छ ।
सदाचारको बोध सत्साहित्यको अध्ययन, सत्पुरुषको संगत आदिबाट हुन्छ । ब्रह्मनिष्ठ सन्त–महात्मा, ज्ञानी पुरुष र शुद्ध हृदयका महापुरुषहरूको सत्संगको महत्त्व दर्शाउँदै शास्त्रमा भनिएको छ—
- सत्संग नै यस्तो सरल माध्यम हो, जसले मानव जीवनको सर्वाङ्गीण विकासको मार्ग प्रशस्त गर्दछ ।
- अज्ञानता र काल्पनिक भ्रमबाट मुक्त गराउने क्षमता सत्संगमै हुन्छ ।
परिवारमा पनि सत्संगयुक्त सुमधुर वातावरण बनाउनुपर्दछ किनभने—
- घर संस्कार र सदाचारको प्राथमिक पाठशाला हो ।
- माता–पिता र अग्रजको आचरणबाटै साना कलिला बालबालिकाले शिक्षा ग्रहण गर्दछन् ।
यस तथ्यलाई ध्यानमा राखी घरलाई सदाचारको परिवेशले परिपूर्ण राख्नुपर्दछ ।
No comments:
Post a Comment