Thursday, August 7, 2025

शरीर : धर्म–पालनको प्राथमिक साधन



विजयप्रसाद मिश्र

हिन्दू धर्मका प्राचीन विचारक, चिन्तक, विद्वान र शिक्षकहरूले आफ्नो लामो अनुभव, गहिरो अध्ययन, सूक्ष्म अवलोकन र मौलिक उपयोगी चिन्तनहरू भरेर हिन्दू धर्ममा केवल लाभदायक, हितकारी र कल्याणकारी कुराहरूलाई मात्र स्थान दिएका छन् । जुन कुरा अथवा कर्म मानवसहित प्रकृति, पर्यावरण एवं समग्रमा विश्व–ब्रह्माण्डकै हितमा छ त्यसैलाई हिन्दू धर्ममा महत्त्वका साथ स्थान दिइएको छ । यस दृष्टिले हेर्दा उपयोगितावादको आधारमा हिन्दू धर्मको निर्माण भएको देखिन्छ ।

हिन्दू धर्म–संस्कृतिले बाहिरी आडम्बर, देखावटी ढोङ्ग आदिलाई कुनै महत्त्व दिँदैन । यहाँ जताततै बुद्धिमत्ता र स्वस्थ चिन्तनको प्रधानता पाइन्छ । यो यस्ता उपयोगी हितोपदेश र लाभदायक पदहरूले भरिएको छ, जसले पवित्र मन, स्वस्थ शरीर र समृद्ध समाजको निर्माण गर्दछ । हाम्रा प्राचीन ग्रन्थहरूमा विशेषगरी वेदहरूमा ईश्वर र उहाँको उपासना, आत्मशक्तिको विकास, चरित्र निर्माण, असल आचरण, आत्मसंयमले प्रेरित व्यक्तिगत अभ्यास र समाजको सर्वाङ्गीण उन्नतिका लागि उपयोगी सत्सङ्ग जस्ता विषयहरू उल्लेख गरिएको छ । वेदादि शास्त्रमा राष्ट्रलाई पनि ध्यानमा राखिएको छ । वैवाहिक जीवन, सुखी गृहजीवन, नारी–स्वाभिमानको रक्षा, दुव्र्यसन–निरोध, दुर्गुणहरूको निषेध आदि धेरै उपयोगी तत्त्वहरू धर्ममा समावेश गरिएको छ, जसबाट स्वस्थ सामाजिक जीवनको निर्माण हुन्छ ।

हिन्दू धर्म हरेक दृष्टिले लाभदायक–कल्याणकारी जीवन पद्धति हो

 

यहाँ तिनै तन्त्र, कर्म, पूजापद्धतिले भरिएको कर्मकाण्ड, रीति–परम्परा, प्रार्थना, व्यायाम, आस्था, मान्यता तथा विचारधारालाई धर्ममा समावेश गरिएको छ जसले व्यक्ति तथा समाजको व्यक्तिगत, सामाजिक, आरोग्यसम्बन्धी र आध्यात्मिक— हरेक प्रकारको उन्नति जीवनको अन्त्यसम्म भइरहोस् ।

 

मानिस स्वस्थ, दीर्घायु, संयमी, उन्नत र विश्वका हरेक पक्षमा प्रगतिशील रहून्— यही आकांक्षा हिन्दू मनीषिहरूको रहँदै आएको स्पष्ट हुन्छ । ती महामानव ऋषिहरूले मानव जीवन र समाजको लागि जे पनि उपयोगी र हितकारी पाउनुभयो, त्यसलाई धर्मभित्र स्थान दिनुभयो ताकि हिन्दूहरूले यसलाई अवश्य स्वीकारून् र निश्चित् रूपले लाभ उठाउन सकून् । र, आफ्ना सन्ततिको धर्माचरणयुक्त उन्नति देखेर विश्वले नै तिनको अनुसरण गरोस् ।

हिन्दू धर्मको आचार–पद्धति, सोह्र संस्कार, विविध चाडपर्वहरूमा कुनै न कुनै वैज्ञानिक लाभको दृष्टिकोण नै प्रबल भएको देखिन्छ । मूर्तिहरूमा प्रतीकात्मकता प्रयोग गरिएको छ । प्रत्येक देवताको लागि केही रहस्यमय प्रतीकात्मक अर्थ राखिएको छ । अवतारहरूमा पनि प्रतीकात्मक अर्थ छन् ।

पुरातन कालमा हाम्रा पूजा पद्धति, वेदका सूक्त तथा मन्त्रहरू, स्तोत्र, देवता, चाडपर्व, मूर्ति–कला, शास्त्रहरूको गहन ज्ञान प्रबुद्ध जनतामा पनि थियो । वैदिक मन्त्र जनताको जिब्रोमा थियो । संस्कृत जस्तो ईश्वरीय वाणी हाम्रो मातृभाषा थियो । आज संस्कृत बुझ्न नसक्दा हाम्रा सारा धार्मिक–आध्यात्मिक ज्ञान थोरै मात्र विद्वान्हरूका निम्ति बोधको विषय बनेको छ । आम–जनमानसले संस्कृत बुझ्दैनौँ त्यसैले धर्मको क्षेत्रमा अनावश्यक अपव्याख्या, अन्धविश्वास, भ्रम, मुर्खता र मूढताले प्रवेश पाएको छ, जसलाई प्रायः हिन्दूहरूको मनबाट हटाउन जरुरी छ ।

उपयोगिता र लाभको सन्दर्भमा हाम्रो धर्मले के भन्छ? कुन अनुष्ठानबाट के फाइदा हुन्छ? यो लामो विषय हो । यहाँ मात्र शरीर, आरोग्य र स्वास्थ्य सम्बन्धी केही विचारलाई चर्चामा ल्याइएको छ ।

हिन्दू धर्ममा स्वास्थ्यसम्बन्धी विचार

हिन्दू धर्मले सबै धर्म र नैतिकताको आधारको रूपमा स्वस्थ शरीरलाई महत्त्व दिएको छ । स्वस्थ शरीर भएको व्यक्तिले मात्र सही मार्गमा, सदाचारयुक्त जीवन बिताई जीवनभरको सुख प्राप्त गर्न सक्छ र समाजलाई पनि पूर्ण लाभ दिनसक्छ । अपवादबाहेक कमजोर, रोगी, विकृत र अशक्त शरीर भएको व्यक्तिले धर्मको गहिरो अर्थ कसरी बुझ्न सक्छन् ? त्यसैले वेदले मानव जीवनको स्वस्थ–निरोगी सय वर्षको मर्यादा तोकेकाछन् ।

जीवनी–शक्तिको सदुपयोग गर्नुहोस्

कुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः। (ईशावास्योपनिषद्)

यस संसारमा काम गर्दै मानिसले सय वर्षसम्म बाँच्ने कामना गर्नुपर्छ । हे मानव ! तिम्रो लागि मात्र यस्तो विधान छ ।

शतं जीव शरदो वर्धमानः । (अथर्ववेद ३।११।४)

हे मनुष्य, सय वर्षसम्म प्रगतिशील समृद्ध जीवन बाँच । यो जीवनी–शक्ति तिमीलाई धेरै सावधानीपूर्वक खर्च गर्न दिइएको छ । आफ्नो जीवनी–शक्तिलाई यति संयम र विवेकपूर्वक उपयोग गर जसले गर्दा सय वर्षसम्म बाँच्नमा तिमीलाई कुनै असहजता नहोस् । कम्तिमा पनि यो अवधिअघि तिमी कमजोर हुनु हुँदैन ।

यसो भन्नुको तात्पर्य हो— आफूले पाएको आयुको पूर्ण सदुपयोग गर्नु । जीवनमा आलस्य र प्रमादलाई स्थान नदीनु । समय खेर नफाल्नु । आफ्नो शक्ति र ऊर्जालाई उचित स्थानमा प्रयोगमा ल्याउनु । जीवनलाई निरोगी राख्नका लागि शास्त्रले निर्देश दिएअनुसार योग–प्राणायाम, यज्ञ आदि गर्नु । अप्राकृतिक जीवन नजिउनु ।

शरीरलाई बलियो बनाउनुहोस्

स्वयं तन्वं वर्धस्व । (ऋग्वेद ७।८।५)

अर्थात् आफ्नो शरीरलाई निरन्तर बलियो बनाउनुहोस् । बलियो शरीरमा बलियो आत्माको वास हुन्छ । उहाँद्वारा सबै धार्मिक कार्यहरू पूरा गर्न सकिन्छ । यदि शरीर बलियो छैन भने, त्यहाँ केहि पनि छैन ।

उन्नत जीवनको लागि शारीरिक बल पनि आवश्यक छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस् । त्यसैले अथर्ववेदका ऋषि उपदेश दिनुहुन्छ—

अश्मानं तन्वं कृधि । (अथर्ववेद १।२।२)

अर्थात् आफ्नो शरीरलाई ढुङ्गा जस्तै बलियो बनाउनुहोस् । बलियो शरीरले मात्र धर्मको कठोर जीवन पूरा गर्न सक्छ । जो कमजोर र असहाय, शक्तिहीन र कमजोर छ, ऊ धर्मको मार्गमा पर्छ । श्रम र धैर्यले शरीरलाई धर्मको लागि बलियो बनाउँछ ।

जीवनको पहिलो २५ वर्ष शिक्षा र जीवनमा आवश्यक पर्ने कुशलता आर्जन गर्ने समय–अवधि हो । यसलाई ब्रह्मचर्याश्रम भनिन्छ । गुरुकुलमा अध्ययन गरिसकेका ब्रह्मचारीलाई समावत्र्तन संस्कारका बेला उपदेश दिँदै गुरु भन्नुहुन्छ—

एह्यश्मानमा तिष्ठाश्मा भवतु ते तनूः।

कृण्वन्तु विश्वे देवा आयुष्टे शरदः शतम् ।।

(अथर्ववेद २।१३।४)

यसको भावार्थ हो— हे ब्रह्मचारी ! तिमी यस शिलामाथि चढ । तिम्रो शरीर शिलाजस्तै दृढ बनोस् । सबै उत्तम गुणहरूले युक्त देवहरूले तिम्रो आयुलाई सयवटा शरद्सम्मको दीर्घ बनाऊन् ।

यहाँ के प्रेरणा व्यक्त छ भने ब्रह्मचारीले भावी जीवनलाई स्वस्थ, सुन्दर र समुन्नत बनाऊन् । पथ्यसेवन गरून्, व्यायामादि गरेर शरीरलाई सुदृढ बनाइराखुन् । उत्तम विचारहरूले परिपूर्ण भई श्रेष्ठ कर्महरूमा संलग्न रहून् । कर्मशील एवं जगत्को कल्याण गर्दै सय वर्षसम्मको आयु सुखपूर्वक बाँचून् ।

शरीर ईश्वरको मन्दिर हो

हाम्रा ऋषिमुनिले हामीलाई आह्वान गर्दै भन्नुभएको छ—

हे मानव ! तिम्रो यो शरीर हाड–मासुको थुप्रो मात्रै होइन, कुनै हेय अथवा घृणायोग्य वस्तु होइन, उपेक्षाको वस्तु पनि होइन । यो त ईश्वरको पवित्र मन्दिर हो । आत्माका रूपमा स्वयं ईश्वर यसमा निवास गर्नुहुन्छ । अतः यसलाई ध्यान दिनु, राम्रो हेरचाह गर्नु । शरीरको हेरचाह गर्नु र यसको शक्ति बढाउनु उचित कुरो हो । तर तिमीहरूले यसको पवित्रताको विचार पनि गर्नु । यसबाट कुनै अपवित्र कार्य नहोस्; अतः उद्दण्ड नहुनु । यसरी शरीरलाई नीरोगी राख्दै सम्यक् सुकर्ममा उपयोगमा ल्याउन हिन्दू संस्कृतिले मनुष्यमात्रलाई आह्वान गरेको छ । साथै आरोग्य–वृद्धिका लागि दिनचर्या, ऋतुचर्या, योग, गौसेवा, वृक्ष–वनस्पतिको सेवा जस्ता चर्याले युक्त पद्धति पनि प्रदान गरेको छ । लोक–कल्याणकारी यस्तो जीवन–पद्धतिलाई आचरणमा ल्याएर कर्मले पनि ती महान् ऋषिहरूका सन्तति ‘हिन्दू’ बन्नु हाम्रो कर्तव्य हो ।


No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...