डा. स्वामी प्रपन्नाचार्यको कृति ‘मिल्केका झिल्का’ मा आधारित
महावतार बाबा, त्र्यम्बक बाबा, शिवावतार बाबा, साम्बसदाशिव बाबा, महामुनिन्द्र बाबा जस्ता अनेक नामले चिनिने अलौकिक सिद्ध पुरुष हुनुहुन्थ्यो हैडाखानी बाबा । उहाँ प्रायः कुमाऊँ क्षेत्रमा बसोवास गर्ने भए पनि विश्वभरिका भक्त तथा बुद्धिजीवीहरूका लागि एक पूजनीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ आफ्नो समयका, समग्र भारत वर्षका, सर्वश्रेष्ठ सिद्ध महापुरुष मानिनुहुन्छ ।
जन्म र पृष्ठभूमि
स्वर्गीय खप्तड बाबा स्वामी सच्चिदानन्द सरस्वतीका अनुसार, हैडाखानी बाबाको जन्म पश्चिम नेपालको डोटी जिल्लाको विष्ट ब्राह्मण कुलमा भएको थियो ।सन् १८७० मा अल्मोडा जिल्लाको रानीखेतमा बाबासँग ६ वर्ष सत्सङ्ग गरेको र त्यस समयमा बाबाको उमेर दुई सय वर्षभन्दा बढी रहेको खप्तड बाबाले उल्लेख गर्नुभएको छ । उहाँ सर्वशक्तिसम्पन्न सिद्ध महापुरुष हुनुभएकोले उमेरको अनुमान गर्न असम्भव थियो ।
यसका अतिरिक्त, स्वर्गीय पं. उमाकान्त भट्टले पनि हैडाखानी बाबा डोटीकै भएको पुष्टि गर्नुभएको छ । भट्टले डोटीलाई ठूला भगवान्, महापुरुष, र विद्वान्हरूको भूमि भनी उल्लेख गर्नुभएको छ । उमाकान्त भट्टले आफ्नो जीवनभर महावतार हैडाखानी बाबाको वंशपरम्परालाई प्रचार गर्दै आउनुभयो र ‘डोटीको गौरव’ परम्पराको रूपमा बाबालाई मान्नुहुन्थ्यो । श्रीचरणाश्रित महेन्द्रले पनि आफ्नो पुस्तक ‘श्रीचरणाश्रय’ मा बाबा पश्चिम नेपालकै भएको लेख्नुभएको छ ।
लीलाक्षेत्र र आश्रम निर्माण
हैडाखानी बाबाले आफ्नो लीला विशेषगरी कुर्माञ्चलको रमणीय भूस्वर्गमा गर्नुभयो । उहाँ जहाँ–जहाँ बस्नुभयो, त्यहीँ आश्रम र कुटियाहरू निर्माण भए । सर्वप्रथम, उहाँले हैडाखानीमा एउटा शिवमन्दिर र एउटा धर्मशाला सन् १८८० मा बनाउनुभयो । त्यसपछि रानीखेतमा गणदोलिया आश्रम, हल्द्वानीमा कठघरिया आश्रम, नैनीतालमा खुर्पाताल आश्रम, शीतलाखेतमा सिद्धाश्रम, र अल्मोडामा छेदू आश्रम निर्माण गर्नुभयो । रानीबागमा बाँसुरी गुफा, शीतलाखेतमा सहजा ग्राम गुफा, र ऋउणीमा द्वारसी गुफा उहाँले साधना गरेका केही गुफाहरू हुन् । अन्तर्राष्ट्रिय रूपमा, तिब्बतमा ल्हासा आश्रम, तेजममा श्रीब्रह्मचारी आश्रम, हिमालयको निर्जन वनमा नीलम क्षेत्रीय आश्रम, र वृन्दावनमा साम्बसदाशिव आश्रम विशेष उल्लेखनीय छन् । नेपालको राजधानी काठमाडौँको वाग्मती नदी किनारमा रहेको ‘श्री तपस्वी बाबा आश्रम’ भने अझै पत्ता लाग्न सकेको छैन । जनविश्वासअनुसार, हैडाखानी बाबा कुमाऊँ र नेपालमा पाँच सय वर्षदेखि लीला गर्दै आउनुभएको थियो ।
रहनसहन र भाषा
हैडाखानी बाबा साधारण मिर्जई, कौपीन, र कन्छोपी टोपी लगाउनुहुन्थ्यो । उहाँले गेरुवा वस्त्र लगाउनुहुन्नथ्यो र हेर्दा सामान्य मानिसजस्तै देखिनुहुन्थ्यो । कहिलेकाहीँ भक्तहरूले उहाँको शिरमा फेटा पनि गुथाइदिन्थे । उहाँ नेपाली डोटीतिरका मानिसजस्तै देखिनुहुन्थ्यो र बोल्दा आधा हिन्दी तथा आधा डोटी भाषा प्रयोग गर्नुहुन्थ्यो ।
अष्टसिद्धि र चमत्कार
महामुनिन्द्र बाबाले आफ्नो सिद्धि कसैलाई देखाउने प्रयास कहिल्यै गर्नुभएन, किनकि उहाँको उद्देश्य ‘जनसेवा नै राष्ट्रसेवा हो’ भन्ने थियो । तैपनि, भक्तहरूले अनायासै उहाँका सिद्धिहरूको प्रत्यक्ष दर्शन गर्न पाउँथे । उहाँ कुमाऊँको हैडाखानी र रानीखेतमै बसेर विश्व भ्रमण गर्नुहुन्थ्यो । डा. हेमचन्द्र जोशीले बाबाका असम्भव लाग्ने कार्यहरू देखेर नै उहाँलाई ‘मेरे प्यारे भगवान्’ भनेका छन् ।
उल्लेखनीय चमत्कारहरूमध्ये, डा. हेमचन्द्र जोशीका ससुरा पं. धनानन्द जोशी ५० वर्षको उमेरमा टी.बी. का कारण मृत्युवरण गरिसकेपछि, बाबाले उहाँलाई दूध खुवाएर पुनर्जीवित गर्नुभयो र पछि ती व्यक्ति ७५ वर्षको उमेरमा प्राकृतिक रूपमा बित्नुभयो । यस्तै, भक्त ठाकुर गुमानीको मृत छोरा जयसिंहलाई पनि बाबाले पुनर्जीवित गर्नुभयो, जसका कारण बाबाको नाम ‘मृत्युञ्जय बाबा’ पनि रह्यो ।
काशीपुरका विश्वविख्यात पहलमान दारासिंहले बाबालाई बोक्न खोज्दा उनको शरीरमा चट्टान परेजस्तो अनुभव भयो, जसले बाबाको गरिमा सिद्धिको चमत्कार देखायो । बाबाले यज्ञमा घ्यूको सट्टा पानीले हवन गर्नुहुन्थ्यो । रानीखेत निवासी रामदत्तको छोराले यो कुरा आफ्नो कलेजका इसाई प्रिन्सिपललाई सुनाउँदा उनले विश्वास गरेनन् । तर, प्रिन्सिपलकै घरमा बाबाले पानीले हवन गरेर देखाएपछि आगो दन्कियो र उनले घरमा आगो लाग्ने डरले क्षमा मागे । यो पूर्वीय दर्शनको योगी सिद्धान्तको गौरव थियो ।
अर्को पक्षको सिद्धिः विश्वव्यापी उपस्थिति
हैडाखानी बाबालाई कुमाऊँ र प्रयागको महामहोपाध्याय आदित्यराम भट्टाचार्यको निवासबाहेक अन्यत्र गएको कसैलाई थाहा छैन । तर, स्वीडेनका दार्शनिक तथा फिल्म कलाकार निल्स ओल्स क्रिसैण्डरले बाबालाई स्वीडेनमा कारभित्र, फ्रान्सको होटलमा युरोपियन भेषमा, र रुसको राजधानी मास्कोमा हिन्दू भेषमा देखेका थिए । यी घटनाहरूले बाबाको महावतार स्वरूप र विभिन्न रूपमा प्रकट हुन सक्ने क्षमतालाई पुष्टि गर्छ । क्रिसैण्डरले बाबाको दर्शनका लागि तीन वर्षसम्म भारतमा खोजी गरे र अन्ततः अल्मोडाको जंगलमा आत्महत्या गर्ने सोचमा पुग्दा बाबाले दर्शन दिनुभयो । क्रिसैण्डरले बाबाको ढुङ्गाको मूर्ति पनि बनाए, जुन अहिले पनि अल्मोडामा छ भनिन्छ । चीन, जापान, फ्रान्स, स्वीडेन, रुस लगायत विश्वभरिका भक्तहरूले बाबाको दर्शन प्राप्त गरेका कुरा धेरैले उल्लेख गरेका छन् ।
हैडाखानी बाबाको आयु
बाबाको आयुको बारेमा धेरैलाई शङ्का हुनु स्वाभाविक हो । तर, भारतका देवराह बाबा तीन सय वर्षभन्दा बढी बाँचेको र खप्तड बाबा पनि १८८ वर्ष यस धराधाममा रहेको उदाहरणले यस्ता महापुरुषहरूको लामो आयुको सम्भावना देखाउँछ । भारतीय लेखक डा. हेमचन्द्र जोशी र गिरिधारीलाल मिश्र लगायतले बाबा सन् १८०० मा कुमाऊँको हैडाखानी गुफामा देखिएको समयमा उहाँको उमेर ५० देखि ८० वर्षको बीचमा भएको लेखेका छन् ।
तर, जब १६ औं शताब्दीका राजा मिलिन्द पालको ‘हवन कुण्ड’ त्यस ठाउँमा पत्ता लाग्यो, तब जनविश्वास बढ्यो कि महावतार हैडाखानी बाबा पाँच सय वर्षदेखि त्यस क्षेत्रमा बस्दै आउनुभएको थियो । यसको अर्थ उहाँ १५ औं शताब्दीदेखि नै नेपाल र कुर्माञ्चलमा भ्रमण गरिरहनुभएको स्पष्ट हुन्छ । त्यसैले भक्तजनहरूले बाबालाई अष्टचिरञ्जीवी हरू (अश्वस्थामा, व्यास, कृपाचार्य, हनुमान्, मार्कण्डेय आदि) मध्ये एक मान्छन्, विशेषगरी अश्वस्थामाको रूपमा । बाबाले आफ्नो शिरको टोपी कहिल्यै खोलेनन्, तर एक पटक गुमानी भक्तले स्नान गराउँदा टोपी खोल्दा शिरमा कहिल्यै निको नहुने घाउ देखिएको थियो ।
शिष्यपरम्परा
हैडाखानी बाबाको शिष्यपरम्परा अत्यन्त सुदृढ थियो । परमहंस योगानन्दको पुस्तक ‘एक योगीको आत्मकथा’ मा उहाँका गुरु युक्तेश्वर गिरि, उनका गुरु श्यामाचरण लाहिडी, र लाहिडी महाशयका गुरु त्र्यम्बक बाबा अर्थात् महावतार बाबाको उल्लेख छ, जो सम्भवतः हैडाखानी बाबा नै हुनुहुन्थ्यो । सन् १८६१ मा रानीखेतको द्रोणगिरी नन्दादेवी गङ्गाको उद्गमस्थलमा लाहिडी महाशय र त्र्यम्बक–हैडाखानी बाबाको भेट भएको थियो । बाबाले श्यामचरण लाहिडीमा, लाहिडीले युक्तेश्वर गिरिमा, र युक्तेश्वरले परमहंस योगानन्दमा आफ्नो योगशक्ति शक्तिपात गनुभएको थियो । योगानन्दले भारतको मुगेरबाट योग प्रचार सुरु गरेर अमेरिकामा पु¥याएका थिए । यसैगरी, श्रीचरणाश्रित महेन्द्र महाराजमा पनि शक्तिपात भएको मानिन्छ ।
हैडाखानी बाबाका गृहस्थ शिष्यहरू पनि हजारौंको संख्यामा थिए, जसमा गुमानी भक्त, डा. हेमचन्द्र जोशी, गिरिधारीलाल मिश्र, पं. रामदत्त ज्योतिषी, शिरोमणि पाठक आदि प्रमुख थिए । उहाँले राजा, मन्त्री, व्यापारीदेखि लिएर साधारण किसान, नोकरचाकर, बालक–बालिका सबैलाई समान भावले हेर्नुहुन्थ्यो र रागानुराग भक्ति तथा ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्न उपदेश दिनुहुन्थ्यो ।
नेपालतिर प्रस्थान
सन् १८२२ मा महावतार बाबाले कुमाऊँ छोड्नुभन्दा केही समयअघि हल्द्वानीको कठघरिया आश्रममा एउटा कुवा बनाउनुभयो र त्यसपछि कैलाश यात्रामा जानुभयो । कैलाशबाट फर्केपछि, उहाँ नेपाल फर्कने इच्छाले नेपालको सीमाना महाकालीको पारिपट्टि रहेको आसकोटमा तत्कालीन राजा खड्गमानसिंहको राजदरबारमा पुग्नुभयो । राजा खड्गमानसिंहले बाबाको आदरपूर्वक पूजा–अर्चना गरे र केही दिन दरबारमा बस्न आग्रह गरे । तर, बाबाले आफू नेपालतिर जाँदै गरेको बताउनुभयो । राजाले आफ्ना दरबारी र कर्मचारीसहित बाबालाई डोलीमा बोकेर दरबारबाहिरसम्म पुर्याए । बाबाले उनीहरूलाई फर्कने आदेश दिएपछि, राजाले गह्रौं मनले आँसु बगाउँदै बाबालाई बिदाइ गरे ।
बाबा आसकोट राजदरबारबाट प्रस्थान गरी काली नदी र सेती नदीको सङ्गममा आएर रोकिनुभयो । त्यहाँ उहाँ डोलीबाट ओर्लिएर सबैलाई फर्कने आदेश दिनुभयो । भक्त कर्मचारीहरूले फर्कंदै गर्दा अथाह जलराशिमा नेपालतिर मुख गरेर जाँदै गरेको बाबालाई देखे । केही क्षणपछि उहाँ दिव्य आलोकमा अन्तध्र्यान हुनुभयो । त्यसपछि कुमाऊँ प्रान्तमा बाबाको त्यस आकारमा कहिल्यै दर्शन भएन । नेपालबाटै गएका बाबा नेपालै फर्किए, तर नेपाललाई यस बारेमा थाहै छैन ।
रहस्य र वर्तमान
हैडाखानी बाबाका परम भक्त गुमानीले आफ्नो रामायणको पानामा हस्ताक्षर छोडेका छन्, जुन अहिलेसम्म कसैले पनि पढेर अर्थ निकाल्न सकेका छैनन् । कैयौं वर्षसम्म फोटोग्राफरहरूले बाबाको फोटो खिच्न सकेनन् । एक अंग्रेज फोटोग्राफरले १०७ पटक फोटो खिच्दा पनि रीलमा केही नआएपछि उनले हार मानेर क्षमा मागे । अर्को एकजना फोटोग्राफरले एकै पटक फोटो खिच्दा सबै रीलमा बाबाका अनेक पोजका फोटो आए, जसमध्ये अहिले प्रचलित फोटो महामहोपाध्याय आदित्यराम भट्टाचार्यको घर प्रयागमा गुमानी भक्तको आग्रहमा खिचिएको भनिन्छ ।
आज पनि अन्तध्र्यानपछि समय–समयमा भक्तहरूलाई दर्शन दिने गरेको विश्वास गरिन्छ । हैडाखानी बाबा विश्वले चिनेको सिद्धसिद्धेश्वर महापुरुष हुनुहुन्थ्यो । यद्यपि, उहाँ कुन सम्प्रदायका हुनुहुन्थ्यो भन्ने कुरामा अझै पनि खोज हुन बाँकी छ । भविष्यका लागि यो रहस्य खुलै राखिएको छ ।
(‘मिल्केका झिल्का’बाट साभार गरी सम्पादित अंश)

No comments:
Post a Comment