✍️ विजयप्रसाद मिश्र
श्रीकृष्णले गीतामा भन्नुभएको छ— “विजयको आकांक्षा राख्नेहरूका लागि म नीति हुँ ।”
वास्तवमै संसारमा रहेर जीवनमा श्रेय प्राप्तिका लागि, सफल र सार्थक जीवनका लागि नीतिमान् हुनु नितान्त आवश्यक हुन्छ । जो जति नीतिज्ञ छ ऊ उति नै दुर्जेय छ । महात्मा शुक्रले नीतिको उपादेयताका बारेमा भन्नुभएको छ—
‘सांसारिक कार्य–व्यवहार निर्वाह गर्नका लागि र सुखपूर्वक जीवन–यापन गर्नका लागि जुन कुराको आवश्यकता हुन्छ त्यो नीतिशास्त्र हो ।’
संस्कृत साहित्यमा नीतियुक्त शिक्षा प्रदान गर्ने नीतिशास्त्रहरूको बाहुल्यता रहेको छ । तथापि, शुक्र, भर्तृहरि, बिदुर र चाणक्यको नीतिग्रन्थहरूको विशेष आदर रहेको पाइन्छ । यीमध्ये भर्तृहरिको नीतिशास्त्र नीतिशतकका नामले परिचित छ । शतक शब्दले सयवटा श्लोक भन्ने जनाउँछ तर प्रचलित नीतिशतकहरूमा कुल ११० श्लोक रहेको पाइएको छ ।
भर्तृहरिद्वारा रचित नीतिशतक, श्रृंगारशतक र वैराग्यशतक विश्व
साहित्यमा अनौठो उपदेशात्मक गीतकाव्यका रूपमा परिचित छन् ।
भर्तृहरि को थिए भन्ने विषयमा अनेक
अनुश्रुतिहरू प्रचलित छन् । विद्वानहरूले भर्तृहरिलाई राजा, विद्वान, योगी र तपस्वीका रूपमा वर्णन गरेका छन् । के विश्वास गरिन्छ भने उनले
आफ्नो जीवनमा बृहत् अनुभव प्राप्त गरेका थिए र उनलाई राज्य–वैभव पनि प्राप्त थियो
। तर पछि जीवन र संसारको सबै बन्धन,
ऐश्वर्य र आनन्द नीरस लाग्न थाल्यो । त्यसैले भर्तृहरिले एकान्तवासी
भएर आफ्नो सुदीर्घ अनुभवको सार प्रसादगुणले भरिपूर्ण प्रवाहमयी भाषामा व्यक्त
गरेका छन् । उनले विभिन्न छन्दमा रचना गरेका प्रत्येक श्लोक कति व्यवस्थित छन् भने
प्रत्येक पदले आफैमा सम्पूर्ण कविताको जस्तै प्रभाव छोड्दछ । तीनवटै शताकमा
सुभाषितहरूका मुक्तावलि पाइन्छन् । यी सुभाषित मुक्तावलिहरू काव्य प्रतिभा, मार्मिक अनुभूति, भावको उत्कर्ष, सूक्ष्म दृष्टि, गहिरो ज्ञान र जीवनका सबै पक्षहरूको
गहिरो अनुभवका प्रतीक हुन् । छन्द र अलङ्कारको सम्यक प्रयोग गरिएको नीतिशतक
वस्तुतः सम्पूर्ण सूक्ति–साहित्यकै अलङ्कार–स्वरूप ग्रन्थ हो ।
भर्तृहरिले जीवनमा मानवीय मूल्यलाई विशेष महत्त्व दिएका छन् । उनले स्पष्ट शब्दमा घोषणा गरेका छन्—
‘जसमा विद्या, तपस्या, परोपकार, दान, ज्ञान, विनय, सदाचार र धर्म छैन ती मनुष्य झैँ देखिए पनि पृथ्वीमा भारस्वरूपका प्राणी मात्रै हुन् ।’
‘लाभ के हो ? गुणीजनको संगति । दुःख के हो ? मूर्खहरूको संगत । हानि के हो ? प्राप्त अवसर गुमाउनु । निपुणता के हो ? धर्मतत्त्वमा अनुराग ।’
यसरी प्रश्नोत्तर शैलीमा उनले अभिव्यक्त गरेका
नीतिवचन समग्र मानव समुदायका लागि प्रेरक छ । यीबाहेक क्षमा, मित्रता, नम्रता, वक्तृत्व, उदारता, दया, प्रेम, नीति, बहादुरी र उद्यमशीलतालाई मानवका लागि उनले आवश्यक ठानेका छन् ।
भर्तृहरि भन्छन्—
केयूराणि न भूषयन्ति पुरुषं हारा न
चन्द्रोज्वला
न स्नानं न विलेपनं न कुसुमं नालङ्कृता मूर्धजा
।
वाण्येका समलङ्करोति पुरुषं या संस्कृताधार्यते
क्षीयन्ते खलु भूषणानि सततं वाग्भूषणं भूषणम्
।।
पाखुरामा बाँधिने बाजुबन्द अथवा चन्द्रमा जस्तै
चम्किलो हार लगाएर मनुष्यको सौन्दर्य बढ्दैन । घोटी–घोटी स्नान गरेर, चन्दन–बेसार आदिको उबटन लगाएर, पुष्प आदिले केश सजाएर पनि मनुष्यको
सौन्दर्य बढ्दैन । यी सबै आभूषण नष्ट हुन्छन् । यी अस्थायी साधन मात्र हुन् । बरु
संस्कारयुक्त वाणी–रूपी आभूषण धारण गर्नाले चाहिँ वस्तुतः मनुष्य सदैव सुशोभित
रहन्छ । सुसंस्कृत वाणीले ऊ सुन्दर देखिन्छ ।
सुसंस्कृत वाणीसँगै भर्तृहरिले सदाचारलाई पनि
सर्वोत्कृष्ट भूषणका रूपमा निरूपित गरेका छन् । यस्तै मनस्वी मानिसको गुणबारे उनले
के भनेका छन् भने तिनको स्थिति फूलको गुच्छा जस्तै हुन्छ । ती कि त सबैको मूर्धन्य
(शिरोमणि) बनेर समाजमा देखा पर्छन् अथवा आत्मविलोपी बनेर वनमा फुलेको फूल झैँ एकान्तमा
साधना गरेर तिरोहित हुन्छन् ।
विपत्तिमा धैर्य, अभ्युदयमा क्षमा, सभामा
वाक्पटुता, युद्धमा
पराक्रम, कीर्तिमा विशेष
रुचि तथा वेदाध्ययनमा आसक्ति— यी महनीय गुण महापुरुषहरूमा स्वभावैले हुन्छन् भन्दै
तिनै महापुरुषहरूको आदर्श चरित्रलाई अनुकरण गरेर मनुष्यले आफ्नो कल्याण गर्न सक्ने
भर्तृहरिको निष्कर्ष छ । सन्तपुरुष कस्ता हुन्छन् भन्ने विषयमा उनले लेखेका छन्—
जसरी सूर्यले प्रार्थना नगरे पनि कमल फूलको समूहलाई फक्राउँछ, चन्द्रमाले उदाएर कैरव–समूहलाई फुलाउँछ
र बादलले जीवहरूलाई जल दिन्छ, त्यसरी
नै सन्तहरू स्वयं परोपकारमा लागेका हुन्छन् । उनको कथनबाट हामीले आडम्बरी र
परोपकारीबीच भेद गर्न सक्नुपर्छ भन्ने भाव लिन सकिन्छ ।
सज्जनहरू विपत्तिबाट कहिल्यै दुःखी हुँदैनन्; किनकी उनीहरूलाई रुख काटे पनि पह्लाउँछ र चन्द्रमा घटे पनि बढ्छ भन्ने थाहा हुन्छ । यस्ता सज्जनहरूको संगतलाई सत्संगति भनिन्छ । संसारमा सत्संगतिको महत्व कति छ भने यसको प्रभावले गुणहीन सद्गुणसम्पन्न, क्रूरहृदय सहृदय, अधर्मात्मा धर्मात्मा, पापी पुण्यकर्मा, अज्ञानी ज्ञानी तथा कलंकी पनि निष्कलंक बन्छन् । जसरी पद्मपत्रको पानीले मुक्ताफलको आभा प्राप्त गर्दछ, त्यसरी नै दुष्ट मानिस पनि असल संगतले सज्जन बन्दछन् । यस भावलाई भर्तृहरिले निकै सुन्दर ढङ्गले व्यक्त गरेका छन्—
‘सत्संगतिले मनुष्यको बुद्धिको मन्दता हरण गर्दछ । वाणीमा सत्यको सञ्चार गर्दछ । कीर्ति, सम्मान र उन्नति बढाउँछ ।’
विद्याको महत्ता उजागर गर्दै कविवर भन्छन्—
‘विद्या नै मनुष्यको सबैभन्दा श्रेष्ठ सौन्दर्य र लुकेको धन हो । विदेशी भूमिमा पनि विद्या नै आत्मीय बन्धु बन्दछ ।’
प्रजाको पालनपोषणलाई परम राज्य–धर्म घोषणा गर्दै भर्तृहरिले राजाहरूलाई उपदेश दिएका छन्—
‘हे राजाहरू ! पृथ्वीरूपी गाईको दुध दुहुन चाहन्छौ भने प्रजावर्गलाई बाछो जस्तै पोषित गर । प्रजावर्गको सम्यक् पालन–पोषण गर्यौ भने मात्र पृथ्वीले कल्पलताले झैँ अनेक प्रकारका फल दिनेछिन् ।’
नीतिशतकद्वारा समाजलाई अनैतिकता, अन्याय, कुप्रथा र अन्य विविध प्रकारका दोषबाट जोगाउन भर्तृहरिले धर्म, सदाचार, सन्मित्रता, सत्संगति, सत्कर्म, परोपकार, राजधर्म, मानवीय मूल्य र श्रेयः मार्ग जस्ता
नीतित्त्वको उपदेश दिएका छन् । यस्ता उदात्त विषयलाई प्रस्तुत गरिरहँदा उनले
ऐश्वर्यसम्पन्न शासकहरूको निष्ठुरता, हृदयहीनता, अहंकार
जस्ता विषयलाई पनि आफ्नो काव्यको माध्यमले व्यक्त गरेका छन् । दुर्जनहरू र
मूर्खहरूले सज्जनलाई दिइने कष्ट एवं अपमानको चित्रण गर्दै उनले ती दुष्टहरूप्रति
विद्रोहको स्वरलाई पनि मुखरित गरेका छन् । अनेक नैतिक सिद्धान्तहरू प्रतिपादन
गर्दै मानवतावादी दृष्टिकोणलाई यस काव्यमा अत्यन्त हृदयग्राही रूपमा चित्रित
गरिएको छ ।
मनुष्य–जीवनमा नित्यप्रति काममा आउन सक्ने थोरै
मात्र नीतिवचन होलान् जुन यस ग्रन्थमा छैनन् । भर्तृहरिको यो काव्य–ग्रन्थलाई नीति
शतक भनिए पनि वास्तवमा यो संसारकै नीतिहरूको सार हो । उनका शिक्षाहरू संसारका कुनै
पनि जात, धर्म र
सम्प्रदायका मानिसका लागि धेरै प्रेरणादायक र उपयोगी छन् ।

No comments:
Post a Comment