— विजयप्रसाद मिश्र
भगवान् भन्नुहुन्छ—
“सृष्टिको चक्र निरन्तर घुमिरहँदा हरेक युगमा धर्मको रक्षा र अधर्मको नाशका लागि म स्वयं अवतरित हुने गर्दछु ।”
जुन रूपमा उहाँले यो वचन दिनुभएको थियो त्यसै रूपमा उहाँको जन्म त्यस युगको अन्धकारलाई चिर्न र धर्मको ज्योति बाल्नका लागि भएको थियो ।
जन्मदेखि नै संघर्ष
श्रीकृष्णको जन्म नै असामान्य परिस्थितिमा भएको थियो। मामा कंसको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्नका लागि उहाँले एउटा अँध्यारो कारागारमा जन्म लिनुभयो। जन्मनेबित्तिकै आमाबाबुबाट बिछोडिएर बस्नुपर्ने स्थिति आयो। उहाँलाई गोकुलमा गोप्य रूपमा राखियो। बाल्यकालदेखि नै उहाँले पुतना, कागासुर, बकासुर जस्ता अनगिन्ती असुरहरूको सामना गर्नुपर्यो। यी सबै घटनाले उहाँको जीवनको सुरुवात नै संघर्ष र चुनौतीले भरिएको थियो भन्ने देखाउँछ। तर, यी सबै अवरोधका बाबजुद उहाँ कहिल्यै विचलित भएनन्। बरु, गोकुलका ग्वालबाल र गोपिनीहरूसँग रमाउँदै, बाँसुरी बजाउँदै उहाँले बाल्यकाललाई पूर्ण आनन्दका साथ बिताउनुभयो। यसबाट हामीले जस्तोसुकै कठिन परिस्थितिमा पनि खुशी र आनन्द खोज्न सकिन्छ भन्ने प्रेरणा पाउँछौं।
मित्रताको अनुपम उदाहरण
श्रीकृष्णको जीवनमा मित्रताको महत्व अतुलनीय छ। उहाँले ऋषि सान्दीपनीको गुरुकुलमा सुदामासँग गरेको मित्रतादेखि लिएर महाभारतमा अर्जुनलाई दिएको साथले मित्रताको सही अर्थ बुझाउँछ। सुदामा जस्ता गरीब मित्रसँग निस्वार्थ प्रेम र आदर देखाएर उहाँले मित्रताको सबैभन्दा ठूलो धन हृदयको सम्बन्ध हो भन्ने प्रमाणित गर्नुभयो। त्यसैगरी, युद्धभूमिमा विचलित भएका अर्जुनलाई सारथी बनेर मार्गदर्शन गर्नु र गीताको ज्ञान दिनुले उहाँ एक सच्चा मित्र र गुरु दुवै हुनुहुन्थ्यो भन्ने देखाउँछ।
कर्मयोगका प्रणेता
महाभारतको युद्धमा अर्जुनलाई दिएको श्रीमद्भगवद्गीताको उपदेश श्रीकृष्णको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष हो। उहाँले अर्जुनलाई कर्मको महत्व, निष्काम कर्म र धर्मको मार्गमा हिँड्ने प्रेरणा दिनुभयो। “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” (तिम्रो अधिकार कर्म गर्नुमा छ फलमा होइन) भन्ने उहाँको सन्देशले मानिसलाई आफ्नो कर्तव्य पूरा गर्न र त्यसको परिणामबारे चिन्ता नगर्न सिकाउँछ। किनभने परिणामको कारक कर्ता मात्र होइन। यो ज्ञान कुनै एक युग वा देशका लागि मात्र नभई सम्पूर्ण मानवजातिको लागि जीवन दर्शन बनेको छ।
प्रेम र माधुर्यको प्रतीक
एकतर्फ उहाँ सुदर्शन चक्रधारी योद्धाका रूपमा दुष्टहरूको संहार गर्नुहुन्छ, भने अर्कोतर्फ बाँसुरी बजाएर सबैलाई मोहित पार्नुहुन्छ। राधासँगको उहाँको प्रेम र गोपिनीहरूसँगको रासलीलाले उहाँको व्यक्तित्वमा माधुर्य र प्रेमको गहिराइ देखाउँछ। फेरि रासलीलामा प्रत्येक गोपिनीले उहाँ आफूसँगै भएको अनुभव पनि गरेका थिए। यसले आफू सबैसँग भएको अनुभूति गराउने उहाँको नेतृत्व कुशलताको सुन्दर चित्र हामीसामु राख्दछ। यो गुण नेतृत्वकर्ताले त सिक्नै पर्छ।
उहाँले रुक्मिणीको इच्छालाई सम्मान गर्दै उनलाई अपहरण गरेर विवाह गर्नुभयो। यसबाट उहाँले प्रेममा समर्पण र इच्छाको सम्मान कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिनुभएको छ। उहाँको जीवनमा प्रेम, भक्ति र समर्पणको एक अनौठो संगम पाइन्छ।
कुशल रणनीतिकार र न्यायका प्रतिमूर्ति
श्रीकृष्णले आफ्नो जीवनभर अन्याय र अधर्मको विरुद्ध लडिरहनुभयो। कंस, र पछि कालयवन, जरासन्ध आदिको वध गरेर उहाँले तत्कालीन पीडित, शोषित समाजलाई स्वतन्त्रता दिलाउनुभयो। महाभारतको युद्धमा पाण्डवको पक्षमा उभिएर उहाँले धर्मको स्थापना गनुभयो। उहाँ केवल एक युद्धका योद्धा मात्र नभई, एक कुशल रणनीतिकार र राजनीतिज्ञ पनि हुनुहुन्थ्यो। उहाँले परिस्थितिअनुसार फरक–फरक रणनीति अपनाएर न्यायलाई जिताउनुभयो। उहाँको जीवनले अन्याय र अधर्मविरुद्ध भगवान् स्वयं उपस्थित हुनुहुन्छ भन्ने सन्देश दिन्छ।
श्रीकृष्णको व्यक्तित्वलाई कुनै एक सीमामा बाँध्न सकिँदैन। उहाँको जीवनको हरेक पक्षले हामीलाई केही न केही सिकाउँछ। उहाँ एक आदर्श पुत्र, प्रेमी, मित्र, गुरु, राजा र राजनीतिज्ञ सबै हुनुहुन्थ्यो। तर मूलमा उहाँ धर्मसंस्थापक हुनुहुन्थ्यो। उहाँको जीवनको प्रत्येक आयमले ‘धर्म’ स्थापनालाई महत्त्व दिएको पाइन्छ। आजको भौतिकवादी युगमा मानिसहरू जब तनाव, डिप्रेसन र निराशाबाट गुज्रिरहेका छन्, तब श्रीकृष्णको आनन्दमय जीवनले उनीहरूलाई खुशी र शान्तिको मार्ग देखाउँछ।
श्रीकृष्णले हामीलाई जीवनमा जतिसुकै गुमाउन परे पनि हामीले कहिल्यै आफ्नो आनन्द र मुस्कान गुमाउनु हुँदैन भन्ने सिकाउनुभयो। उहाँ परम आनन्दका स्रोत हुनुहुन्छ, जसले जीवनलाई एक उत्सवका रूपमा जिउने कला सिकाउनुभएको छ। उहाँलाई आफ्नो जीवनरथको सारथि बनाएर, उहाँको जीवन दर्शनलाई अपनाएर हरेक व्यक्तिले एक सार्थक र प्रेममय जीवन बिताउन सक्छ। त्यसैले, श्रीकृष्णलाई प्रेमपूर्वक हृदयमा राखेर हामीले आफ्नो जीवनलाई नै एक नयाँ दिशा दिन सक्छौँ।
श्रीकृष्णार्पणमस्तु!

No comments:
Post a Comment