Friday, August 15, 2025

आदिलिङ्ग कुशेश्वर महादेव | तीर्थ दर्शन



आदिलिङ्गाय देवाय चाऽऽदिरूपेशाय ते नमः ।
आत्मस्थाय पराङ्गाय चाऽऽत्मलिङ्गाय वै नमः ।।
(हिमवत्खण्ड ४१।१३)

सुनकोसी नदीको उद्गम स्थल तिब्बतको झाङ्गजाङ्गबो हिमनदीलाई मानिन्छ । यस नदीको सुरुवातको खण्डलाई भोटेकोशी भनिन्छ भने दोलालघाटमा इन्द्रावती नदी मिसिए पछि यस नदीलाई सुनकोशी भनिन्छ । यसर्थ, भोटेकोशी, इन्द्रावतीलगायत असङ्ख्य हिमाली–पहाडी खोला–छाँगाहरू समेटी पूर्व बगेकी छिन् सुनकोसी । उनमै मिसिन पुगेकी रोशीखोलाको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ । रोशी खोलालाई लीलावती र पुण्यमाता पनि भनिन्छ । सिन्धुलीको वायव्य दिशा (पश्चिमउत्तर कोण) मा रहेको यो पुनीत संगमस्थललाई दुम्जा फाँट भनिन्छ जुन रामेछाप, काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल पनि हो । यो फाँट अन्नभण्डारको रूपमा पनि चिनिन्छ ।

काठमाडौँबाट धुलिखेलहुँदै पूर्वतिर सिन्धुली–बर्दिवास राजमार्गको नेपालथोक पुगेपछि पूर्व–उत्तर कोणको सुनकोशी पारीको ढिस्कोमा रहेको वनक्षेत्र नै कुशेश्वर महादेवको क्षेत्र हो । मन्दिरको गर्भगृहमा मझौला आकारको कालो ढुङ्गाको सादा शिवलिङ्ग स्थापित छ । वैदिक विधिअनुसार पञ्चायतन देवताको पूजा गर्ने विधान भएकाले शिवलिङ्गको पछाडि गणपति, सूर्य, देवी, विष्णुसहितको प्रतिमा स्थापित छन् । गर्भगृहबाहिर बसाहाको मूर्ति द्वारअगाडि स्थापित छ । मन्दिरको दायाँतर्फ एकतले पाटी छ जसको उपयोग भजनकीर्तन, विश्राम, प्रसाद एवं पूजा सामग्री व्यवस्था आदिका निमित्त गरिन्छ ।

धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मनोरम आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरबारे कस्तो जनश्रुति प्रचलित छ भने सृष्टिकर्ता ब्रह्माजीले तपस्या गर्दा आसुतोष भगवान् शिव नै आदिलिङ्गका रूपमा प्रकट हुनुभएको हो । आदिनाथ नामले समेत सम्बोधन गरिने आदिलिङ्ग कुशेश्वर महादेवबारे स्कन्दपुराणको हिमवत्खण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । आदिलिङ्ग भएकाले हिमवत्खण्डमा वर्णित नेपालमा भएका चौसठ्ठी शिवलिङ्गमध्ये सबैभन्दा पहिले यिनको दर्शन गर्नुपर्ने धार्मिक परम्परा रहिआएको छ ।

हिमवत्खण्डको ७०औँ अध्यायमा आदिलिङ्गबारे यसरी उल्लेख गरिएको छ—

आदिलिङ्ग स्थितं यत्र कौशिक्याश्च तटोत्तमे । 
कुशेश्वर इति ख्यातं तन्नैपालो बिराजते ।। १४।।

कुशेश्वर लिङ्गबारे के पनि मान्यता छ भने यो शिवलिङ्ग कुनै व्याधा, गाई अथवा यात्रीले फेला पारेपछि उत्खनन गरिएको हो । कुशेश्वर नाम कसरी रहन गयो भन्नेबारे चाहिँ अड्कल मात्र लगाउने गरिएको छ । यसमध्ये एउटा भनाइअनुसार कुशैकुशले युक्त भएको स्थानमा प्राप्त भएकाले उक्त शिवलिङ्गलाई कुशेश्वर भनिएको हो । हिमवत्खण्डमै ४२औँ अध्यायमा ‘कुशवदद्रिशेखरे’ अर्थात् ‘कुश भएको पहाडको शिखरमा’ भनी उल्लेख भएअनुसार त्यही पहाडमा स्थित आदिलिङ्गलाई कुशेश्वर भनिएको हुनुपर्छ । अर्को प्रचलित मान्यता अनुसार कुशिक मुनिले यहाँ शिवलिङ्गको पूजा गरेको र कुश–पर्वतको नजिक भएकोले यस शिवलिङ्गलाई कुशेश्वर भनिएको हो ।

कश्यप ऋषिको परामर्शमा शुम्भ–निशुम्भ नाम गरेका दैत्यले पनि यस क्षेत्रमा भक्तिपूर्वक आदिलिङ्ग शिवको पूजा गरी लामो समयसम्म तपस्या गरेको र त्यस तपका कारण भगवान् शिवबाट बरदान पाई त्रिलोक–विजय गरेको तथ्य पनि हिमवत्खण्डको ४१औँ अध्यायबाट उद्घाटित भएको छ । शुम्भ–निशुम्भद्वारा पराजित भएका देवताहरूले ब्रह्माजीसमेत भएर कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा स्वयं अष्टादशभुजा जलदेवी प्रकट भई देवताहरूको दुःख हरण गर्ने आश्वासन दिइएको र राक्षसहरूको वध गरी देवताहरूको उद्धार गरेको पनि हिमवत्खण्डमा उल्लेख छ । उनै देवीलाई कौशिकी भगवती भन्ने गरिन्छ । यसै कारणले रोशीखोला र सुनकोशीको संगम स्थल दोभानलाई दुर्गा तीर्थको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । यसै दुर्गातीर्थमा स्नान गरेर कुशेश्वर महादेवको दर्शन गर्ने गरिन्छ ।

अलिखित तर जनश्रुतिका रूपमा जनविश्वास र किम्बदन्तीहरू पुस्तै–पुस्तामा सर्दैआएको पाइन्छ । परापूर्व कालमा एउटा व्याधा वनमा शिकारको खोजी गर्दागर्दै रातपरेपछि बाघ, सिंहलगायत वन्यजन्तुको डरले एउटा रुखमा चढ्न पुगेछ । संयोगवश त्यो बेलको वृक्ष रहेछ । बस्न सजिलो बनाउँने क्रममा बेलको हाँगा भाँचिएर तल ढुङ्गामाथि झरेछ । वन्यजन्तुको आवाज र रुखबाट खसिने डरले त्यो व्याधा रातभर सुत्न सकेन छ । बेलको फेदमा कुशेश्वर महादेवको मूर्ति रहेको त्यस व्याधालाई थाहा थिएन । संयोगवस त्यो दिन शिवरात्रि परेकोले एवं अज्ञानवश नै भए पनि बेलपत्र अर्पण गरेको पुण्यले गर्दा ती व्याधामाथि आसुतोष भगवान् शिवको कृपा भएछ । त्यसै पुण्यका कारण व्याधाको अज्ञान र दुव्र्यसन हटेछ । त्यही शिकारी शिवभक्त बनेर उक्त जङ्गल फाँडी शिवालय बनाएको र समयक्रममा प्रचार–प्रसार एवं विधिपूर्वक नित्यपूजा हुनथालेको हो भन्ने जनश्रुति जनमानसमा रोचक कथाका रूपमा अझै रहिआएको छ ।

आदिलिङ्गको प्राचीनता त स्कन्दपुराणअन्तर्गतको हिमवत्खण्डमा उल्लेख भएको हुनाले स्वतः सिद्ध छ । तथापि, पछिल्लो कालखण्डसँग जोडिएको ज्ञात इतिहासमा यसबारे केकस्तो उल्लेख छ भन्ने सन्दर्भमा CNAS/TU द्वारा/f Contributions to Nepalese Studies, Vol. 34, No.1 (January 2007), 119-133, 2007मा प्रकाशित गंगा कर्माचार्य (हाडा)को ‘दुम्जा श्रीकुशेश्वर महादेव’ शीर्षकको शोधपूर्ण लेखले केही प्रकाश पारेको देखिन्छ । उक्त लेखमा यसरी उल्लेख भएको छ— 

“लिच्छविकालमा शैवधर्मलाई राजकीय मान्यता दिनेमा अंशुवर्माको नाम सर्वप्रथम आउँछ । सबैभन्दा पहिले उनैले ‘भगवत्पशुपति भट्टारक पादानु गृहीतः’को उपाधि ग्रहण गरेका थिए । ...दुम्जा कुशेश्वर महादेवस्थित अंशुवर्माको अभिलेखले पनि उनको शैवधर्मप्रतिको आस्था उपत्यकाबाहिर पनि पुगको थियो भन्ने कुरा जनाउँदछ । ... दुम्जाको कुशेश्वर महादेव परिसरभित्र अंशुवर्माको अभिलेख प्राप्त हुनुले यो सँगैको शिवलिङ्ग लिच्छविकालभन्दा पनि पुरानो मान्न सकिन्छ । ... दुर्गमस्थानमा पहाडको बीचमा भएको कुशेश्वर महादेव स्थानलाई अन्यत्र जस्तो मुसलमानी आक्रमणको कुनै प्रभाव नपरेको स्पष्ट हुन्छ । मन्दिरको स्वरूप पछि परिवर्तित हुन गएता पनि शिवलिङ्गको मौलिक स्वरूप जस्ताको तस्तै कायम छ ।”

“सभ्यताकै क्रमबद्ध विकाससित प्रतिपादित धर्म आस्थामा बेरिएको सांस्कृतिक कुशेश्वर शिवलिङ्ग निकै लामो शिलास्तम्भ रहे, गडेको ज्ञातव्य छ..” भन्दै अन्नपूर्ण दैनिकमा प्रकाशित ‘कुशेश्वर महादेव परिसरका उमामहेश्वर मूर्ति’ शीर्षकको लेखमा तेजेश्वरबाबु ग्वंगःले उल्लेख गर्नुभएको छ । उक्त कुशेश्वर महादेवको शिवलिंगको चारैतिर ५० फिट गहिराइसम्म उत्खनन गर्दा पनि फेद नभेटिएको कुरा त्यहाँका दिवंगत पुजारी गोपाल बाबाले बखान गर्नुभएको कुरा भक्तपुर निवासी सुरेशबहादुर धौबन्जारबाट आफूले सुनेको पनि उहाँले उल्लेख गर्नुभएको छ । 

“उनै दिवंगत गोपाल बाबाको कथनअनुसार कुशेश्वर महादेवको जलधरी पछि कुँदी निर्माण गरी शिवलिंगको शिरभाग टुप्पोबाट पगरीझैं स्वात्त पसाली मिलाएको कथन पनि सुरेशबहादुर धौबन्जारबाटै बुझेँ ।”

कुशेश्वर महादेव मन्दिर वरिपरि चारैतिर ने.सं ७१६ मा रणसिद्धि मल्लले पर्खाल लगाई सुरक्षित पारेको नेपाल भाषाका सरलतम लिपिमा कुँदिएको शिलापत्रबाट अवगत गर्न सकिने तथ्य डा. पुरुषोत्तम लोचन श्रेष्ठको ‘कुशेश्वर महादेवस्थानका अभिलेख’ लेखमा छ । पर्खालबाहिर दक्षिणतिर निकै कलात्मक तरिकाले निर्मित उमामहेश्वरको सुन्दर प्रतिमा स्थापित छ ।

यहाँ दैनिक पूजा हुन्छ । साउने सङ्क्रान्ति, मकर सङ्क्रान्ति, तीज, बाला–चतुर्दशी, शिवरात्रिमा आदि पर्वमा यहाँ विशेष मेला लाग्दछ । भक्तहरू रातभर बत्ति बालेर भजन–कीर्तन गर्दछन् ।

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...