✍ विजयप्रसाद मिश्र
हिन्दू समाज जीवनमा पुराणहरूको विशेष महत्त्व रहिआएको छ । शास्त्रले पुराणहरूलाई साक्षात् भगवान् श्रीहरिकै वाङ्मय रूप भनेका छन् । लोकको अन्धकारलाई पन्छाउन भगवान् नै सूर्य रूपमा प्रकट हुनुभएझैँ हाम्रो अज्ञानरूपी अन्धकार पन्छाउन प्रभुले पुराण–विग्रह धारण गर्नुभएको कुरा पद्मपुराण (स्वर्गखण्ड ६२।६०–६१) मै उल्लेख भएको छ । त्यसैले ज्ञानको पावन ज्योतिले आलोकित हुनका लागि पुराण नित्य श्रवण गर्नुपर्छ भन्ने मान्यता हिन्दू समाज जीवनमा स्थापित छ— पुराणं शृणुयान्नित्यम् ।
भनिन्छ, पुराणरूपी वाङ्मयको श्लोक सङ्ख्या शतकोटी अर्थात् सय–करोड थियो । पछि समयको परिवर्तनसँगै मनुष्यको आयु र ग्रहणशीलता घट्दै गएकाले एउटै जीवनकालमा समग्र पुराणको पठन र श्रवण सम्भव नहुने देखेर कृपामूर्ति भगवान् स्वयं वेदव्यासका रूपमा अवतीर्ण भई उहाँले नै तिनलाई चार लाख श्लोकमा सीमित गरी अठार पुराणका रूपमा विभाजित गर्नुभयो । पुराणको यही संक्षिप्त संस्करण नै भूलोकमा प्रकाशित छ । यस दृष्टिले भगवान् वेदव्यास पुराणका रचनाकार नभएर संग्रहकर्ता एवं संक्षेपक हुनुहुन्छ । करुणामूर्ति वेदव्यासद्वारा यसरी विभाजित गरिएका पुराणहरूमध्ये पद्मपुराणको विशिष्ट स्थान रहेको छ । हृदयं पद्मसंज्ञकम् भनी यसलाई पुराण विग्रह श्रीहरिको हृदयस्थान मानिएको छ ।
सृष्टि–खण्ड, भूमि–खण्ड, स्वर्ग–खण्ड, पाताल–खण्ड र उत्तर–खण्ड गरी पाँच भागमा विभाजित पद्मपुराणमा जम्मा २६६ अध्याय छन् । कथाको उपक्रम स्वयं वेदव्यासका शिष्य परम बुद्धिमान् लोमहर्षणद्वारा उनका विद्वान् पुत्र उग्रश्रवालाई नैमिषारण्यमा साधनारत ऋषिहरू समक्ष गएर विस्तारपूर्वक पुराणहरूको वर्णन गर्न दिइएको आदेशबाट भएको छ ।
पद्मपुराणमा भगवान् श्रीविष्णुकै महात्म्य उजागर भएको छ । यसर्थ, यसलाई वैष्णव पुराणको कोटीमा गणना गरिन्छ । यसमा श्रीराम, श्रीकृष्ण आदि अवतार–चरित्र एवं तिनकै परात्पर रूपहरूको विशद वर्णन भएको छ । पुष्कर, अयोध्या, बदरिकाश्रम, श्रीधाम वृन्दावन जस्ता पावन तीर्थक्षेत्रको महात्म्यसँगै यसमा श्रीराधा–कृष्ण एवं तिनका पार्षदहरूको वर्णन, वैष्णवहरूको द्वादशशुद्धि, पाँच प्रकारका पूजा, शालिग्रामको स्वरूप एवं महिमा आदिको वर्णन, गोपिचन्दनको महिमा तथा तिलक धारण विधि, भगवत्सेवामा हुने अपराध र ती अपराधबाट मुक्तिका उपाय, तुलसी एवं अश्वत्थ वृक्षको महिमा, भगवान्को नामकीर्तनको महत्ता, भगवान्का चरण चिह्नको परिचय तथा प्रत्येक महिनामा भगवान्को आराधनाको फल इत्यादि वर्णित छ ।
वैष्णवहरूको लक्षण, दीक्षा–विधि, भगवान्को निर्गुण एवं सगुण स्वरूपको ध्यान, भगवद्भक्तिका लक्षण, एकादशी, नृसिंहचतुर्दशी, जन्माष्टमी आदि व्रतको महिमा वर्णन तथा व्रत विधि, दीपावली, गोवर्धन पूजा, यमद्वितीया जस्ता पर्वमा गर्नुपर्ने कृत्य आदि पनि यस विशालकाय पुराणमा उजागर भएका छन् । श्रीमद्भगवद्गीताका प्रत्येक अध्यायको महात्म्य, श्रीमद्भागवत महापुराणको महात्म्यका क्रममा धुन्धुकारी–गोकर्णको प्रसङ्ग, भागवत सप्ताह पारायण विधि जस्ता विशिष्ट विषय पनि यस पुराणमा समावेश भएका छन् । वैष्णव सम्प्रदायसँग सम्बन्धित यस्ता विषयहरूको प्रचुरताकै कारण यो पुराण वैष्णवहरूका निम्ति निकै महत्त्वपूर्ण भएको देखिन्छ । यद्यपि यसमा भगवान् श्रीविष्णुलाई नै सर्वोपरि ब्रह्मका रूपमा दर्शाइए पनि यहाँ ब्रह्मा, विष्णु र शंकरबीच अभेदत्व प्रतिपादित भएको छ । यस पुराणअनुसार स्वयं भगवान् श्रीविष्णु नै ब्रह्माका रूपमा सृष्टिका सर्जक बन्नुभएको छ, कल्पको स्थिति बनिरहेको अवस्थामा युग–युगमा अवतार धारण गर्ने आफै हुनुहुन्छ र कल्पको अन्त्यमा स्वयं तमःप्रधान रुद्ररूप धारण गरेर संहारक पनि बन्नुहुन्छ ।
यसै पुराणमा सूतजीले भन्नुभएको छ—
‘श्रीकृष्णको नामलाई आत्मसात् गरेका (नामजप एवं सङ्कीर्तनपरायण) भक्तहरूले यो पृथ्वीलाई नै तीर्थ बनाइदिन्छन् । जसले अव्यक्त श्रीविष्णु र भगवान् महेश्वरलाई एउटै भावले दर्शन गर्दछन्, तिनले पुनः यस संसारमा जन्म लिनुपर्दैन । अतएव हे महर्षिहरू ! तपाईँहरूले आदि–अन्त्यरहित अविनाशी परमात्मा विष्णु तथा महादेवजीलाई एउटै भावले हेर्नुहोस् र त्यसै भाव अनुसार पूजन गर्नुहोस् ।’
लक्षणअनुसार प्रायः पुराणमा हुनुपर्ने विषयहरू, यथा— सृष्टि उपक्रम, युगका काल–मान, ब्रह्माजीद्वारा विरचित विभिन्न सर्गका कथा, प्रजापतिहरूको वर्णन, मन्वन्तर तथा मनु र उनको सन्तान परम्परा, देवता, दानव, नाग इत्यादिको उत्पत्ति प्रसङ्ग, श्राद्ध आदिको महिमा, ब्रह्मचर्यादि आश्रमधर्म, गायत्री मन्त्रको महिमा, आम्बरिस–पुण्डरीक आदि भगवद्भक्तहरूको कथा जस्ता विषयसँगै वृक्षारोपण, सत्यभाषण जस्ता कुराको महिमा, गङ्गा उत्पत्ति, गण्डकी नदीको महात्म्य, गणेशजीको महिमा–स्तुति, सूर्य उपासना र तिनको फल, सुपात्रलाई अन्न–जल आदि दान दिनुको महिमा, स्वर्ग–नरकादि वर्णन, माघ–वैशाख–कार्तिक मासको विशिष्ट महिमा इत्यादि पनि प्रकाशमा ल्याइएका छन् ।
यस भव्य पुराणले मनुष्यमात्रलाई धर्ममय जीवन जिउन प्रेरित गरेको छ । विश्वकल्याण एवं शान्तिको कामनाले ओतप्रोत कयौँ स्वर्णिम सूक्तिहरू यस पुराणले हामीलाई प्रदान गरेको छ । जस्तै,
यसको भावार्थ हो— धर्मको मर्म के हो, सुन्नुहोस् ! सुन्नुहोस् र त्यसलाई पालन पनि गर्नुहोस् । जुन आचरण आफ्ना निम्ति प्रतिकूल छ, त्यो अरूप्रति पनि नगर्नुहोस् । अर्थात् अरूसँग त्यस्तै व्यवहार गर्नू जस्तो अरूले आफूप्रति गरून् भन्ने चाहनुहुन्छ । पुराणवाटिकाका यस्ता सुन्दर पुष्परूपी उक्तिलाई विश्वमानवले आत्मसात् गर्ने हो भने त्यसको सुगन्धले संसार स्वतः धन्य हुनेछ ।
पद्मपुराणमा वातावरणप्रति सचेतना जागृत गर्दै वृक्षारोपणको लाभ पनि दर्शाइएको छ । यहाँ भनिएको छ—
वृक्ष रोप्ने मानिसले आफ्नो भूतकालका पितृ तथा भविष्यका वंशज सबैको उद्धार गर्दछ ।
यस्तै, माताको गरिमा स्थापित गर्दै एकाउन्नौँ अध्यायको ३५औँ श्लोकमा भनिएको छ—
‘गुरुहरूमध्ये माता, पिता र आचार्य यी तीन सर्वश्रेष्ठ हुन् । यीमध्ये पनि माता सबैभन्दा अधिक सम्मान–योग्य हुन्छिन् ।’
यो पुराण यस्ता सदुपदेशरूपी कयौँ दिव्य प्रसादले युक्त छ । यद्यपि यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रसाद चाहिँ ईश्वरप्रीति नै दर्शाइएको छ । यसैलाई मानवजीवनको परमोद्देश्य पनि भन्ने गरिन्छ ।
पुराणवक्ता सूतजी भन्नुहुन्छ—
‘तिनै जिह्वा श्रेष्ठ छन् जो भगवान्को स्तुतिमा रमाएका छन् । तिनै पाइलालाई सफल ठान्नु जुन ईश्वरतर्फ गतिमान् छन् । तिनै हातलाई धन्य ठान्नु जो भगवान्को पूजामा संलग्न छन् ।... भाग्यशाली मनुष्यले मात्र कर्मयोगद्वारा श्रीहरिको पूजन गर्दछन् ।’
यस उक्तिलाई हामीले ‘तत्परताका साथ ईश्वरको कार्यमा संलग्न हुनु अर्थात् पृथ्वीलाई मङ्गलमय बनाउनु तथा सबै जीवको कल्याणका कार्यमा आफूलाई लगाउनु नै श्रेयस्कर हो’ भन्ने भावमा ग्रहण गर्न सक्यौँ भने अवश्य पनि हामी यो पावन पुराणको अध्ययन–श्रवण एवं मननको फलश्रुतिका भागी बन्न सक्नेछौँ ।

No comments:
Post a Comment