Friday, August 15, 2025

देवर्षि नारदः भक्ति र ज्ञानका अजस्र स्रोत



✍ विजयप्रसाद मिश्र

हिन्दू धर्मशास्त्रहरूमा देवर्षि नारद एक बहुआयामिक व्यक्तित्व हुन् । उनी भगवान विष्णुका प्रिय भक्त, त्रिकालदर्शी ऋषि र ब्रह्माण्डभर ज्ञान र भक्तिको सन्देश प्रवाह गर्ने दिव्य दूतका रूपमा प्रतिष्ठित छन् । उनको वीणाको मधुर झङ्कार र ‘नारायण नारायण’को पवित्र ध्वनिले भक्त हृदयलाई शान्ति र प्रेरणा प्रदान गर्दछ । तर, जब हामी टेलिभिजन सिरियलहरूमा नारदको चरित्रलाई सीमित दायरामा देख्छौं, तब पुराणहरूमा वर्णित उनको गहन ज्ञान, भक्तिका लागि प्रेरणा र महान ग्रन्थहरूको सिर्जनामा रहेको उनको महत्त्वपूर्ण भूमिका ओझेलमा परेको अनुभव हुन्छ ।

पुराणहरूमा नारदलाई केवल सूचना आदानप्रदान गर्ने मध्यस्थकर्ताको रूपमा मात्र चित्रण गरिएको छैन, बरु उनी ज्ञानको ज्योति फैलाउने र भक्तहरूलाई सही मार्ग प्रदर्शन गर्ने आध्यात्मिक गुरु पनि हुन् । श्रीमद्भागवत महापुराण जस्तो भक्ति रसले परिपूर्ण ग्रन्थको प्रादुर्भाव नारदकै प्रेरणाबाट भएको तथ्य भागवत पुराणमा वर्णित कथाले नै व्यक्त गरेको छ । उनले नै व्यासमुनिलाई सांसारिक दुःखबाट मुक्त भएर भगवान्को महिमा गाउन र यो महान ग्रन्थको रचना गर्न उत्प्रेरित गरेका थिए ।

त्यति मात्र होइन, आदिकवि वाल्मीकिलाई रामायण जस्तो कालजयी काव्य लेख्न प्रेरित गर्ने श्रेय पनि देवर्षि नारदलाई नै जान्छ । कथा अनुसार, वाल्मीकिले एउटा व्याधले क्रौञ्च पक्षीको जोडीमध्ये एकलाई मारेको देखेर करुणाले भरिएर श्राप दिए, जुन एउटा श्लोकको रूपमा व्यक्त भएको थियो । यसपछि ब्रह्माजीको प्रेरणाबाट वाल्मीकिले नारदमुनिलाई भेटेर श्रीरामको पवित्र कथा सुन्ने इच्छा व्यक्त गरे । देवर्षि नारदले वाल्मीकिलाई संक्षेपमा श्रीरामको सम्पूर्ण कथा सुनाए र उनलाई यस पुण्य कथालाई श्लोकबद्ध गर्न प्रेरित गरे । नारदको यही प्रेरणाले नै विश्वलाई रामायण जस्तो अनुपम कृति, पहिलो महाकाव्य प्राप्त भयो ।

भक्त प्रह्लादको अटुट भक्ति र बालक ध्रुवको दृढ तपस्यामा पनि नारदमुनिको महत्त्वपूर्ण भूमिका देखिन्छ । प्रह्लादले आफू आमाको गर्भमा छँदै देवर्षिबाट श्रीहरिको भक्तिको दीक्षा पाएका थिए । पछि हिरण्यकशिपुको अत्याचारबाट प्रताडित प्रह्लादलाई नारदबाट पाएको त्यो शिक्षा र दीक्षाले नै धैर्य र भक्तिमा अडिग रहन मार्गदर्शन गरिरह्यो । त्यसैगरी, बालक ध्रुवको कथा पनि नारदको प्रेरणा बिना अपूर्ण रहन्छ । आफ्नो सौतेनी आमाको कठोर वचनबाट दुःखी भएर वनमा तपस्या गर्न गएका ध्रुवलाई नारदमुनिले नै भगवान विष्णुको आराधना गर्ने सही विधि र मार्ग सिकाएका थिए । नारदको मार्गदर्शनले नै ध्रुवलाई बाल्यकालमै अटल भक्ति र दिव्य ज्ञान प्राप्त गर्न मद्दत गर्‍यो, जसको फलस्वरूप उनले ब्रह्माण्डमा अमर स्थान पाए ।

तर, जब हामी टेलिभिजन सिरियलहरूमा नारदको चरित्र देख्छौं, तब पुराणहरूमा वर्णित उनको गाम्भीर्य, ज्ञान र भक्तिका प्रेरणादायी पक्षहरू प्रायः ओझेलमा परेको महसुस हुन्छ । सिरियलहरूमा नारदको चरित्रलाई प्रायः हास्यप्रधान र झैझगडा गराउने ‘कुरौटे’ व्यक्तिको रूपमा प्रस्तुत गरिन्छ । उनी एक ठाउँबाट अर्को ठाउँमा सूचना पु¥याउँदै रमाइलो गर्ने, दुई पक्षलाई भड्काउने र कहिलेकाहीँ षड्यन्त्रमा समेत संलग्न भएको देखाइन्छ । उनको ‘नारायण नारायण’को उच्चारण पनि प्रायः कुनै समस्या उत्पन्न गराउन आउँदै गरेको सङ्केतको रूपमा प्रयोग हुन्छ । यो कदापि सकारात्मक कुरो होइन । यसले त सद्ग्रन्थ र महात्माहरूको अपमान गर्न सिकाउँछ ।

देवर्षि नारद हिन्दू धर्ममा ज्ञान, भक्ति र प्रेरणाका एक अजस्र स्रोत हुन् । हामीले यो तथ्य बुझ्नै पर्छ । पुराणहरूमा वर्णित ज्ञान, भक्ति र प्रेरणाका संवाहक देवर्षि नारदको गहिरो महत्त्वलाई हामीले बुझ्नु र बुझाउन आवश्यक छ । यसरी मात्र हामी उनको वास्तविक स्वरूपलाई सम्मान गर्नसक्ने छौँ ।


No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...