✍ विजयप्रसाद मिश्र
वैदिक सनातन हिन्दू धर्ममा असङ्ख्य शास्त्रहरू छन् । चार वेद, विविध उपनिषद्, अठार पुराण र उपपुराण, इतिहास ग्रन्थका रूपमा रामायण र महाभारत, सदाचारको शिक्षा दिन स्मृतिग्रन्थहरू र पछि सन्त परम्पराबाट प्राप्त मतप्रतिपादक मौलिक ग्रन्थहरूले गर्दा ज्ञानराशी, दर्शन, साहित्य आदिमा हामी समृद्ध छौँ ।
वेदको ज्ञानकाण्डका रूपमा विशेष गरी उपनिषद्हरूको चर्चा हुनेगर्दछ । मुख्य रूपमा एघार वटा उपनिषद्लाई वैदिक मत–प्रतिपादक भनी स्वीकारिएको छ । तर, व्यक्ति र सम्प्रदाय विशेषको मनोभाव अनुरूप पनि ज्ञान र दर्शनका तिनै विषयलाई समेटेर अन्य उपनिषद् पनि रचिएका छन् । यस्तै एउटा उपनिषद् हो— राधोपनिषद् ।
हिरण्यगर्भ ब्रह्माजीलाई प्रार्थना गरिकन सनकादि ऋषिहरूले ‘परम शक्ति’बारे आफ्ना जिज्ञासा राखेपछि ब्रह्माजीद्वारा ती जिज्ञासाको समाधानमा दिइएको उपदेशका रूपमा राधोपनिषद् प्रकट भएको छ । राधोपनिषद्लाई ऋग्वेदीय परम्परासित सम्बन्धित मानिन्छ ।
लघु–आकारको यस उपनिषद्मा जम्मा चारवटा श्लोक छन् । यी चारवटा श्लोकले भगवत्स्वरूपा श्रीराधिकाजीको महिमा तथा उहाँको स्वरूप वर्णन गरेका छन् । ऊध्र्वरेता बालब्रह्मचारी सनकादि ऋषिहरूले ब्रह्माजीसित जिज्ञासा राखेका छन्— ‘परम देव को हुन् ? उहाँका शक्तिहरू को–को हुन् ? ती शक्तिमध्ये सर्वश्रेष्ठ, सृष्टिकी हेतुभूता शक्ति को हुन् ?’ सनकादि ऋषिको प्रश्न सुनेर ब्रह्माजीले अत्यन्त गोप्य रहस्य हो भन्दै रसिक, ब्रह्मवादी गुरुभक्तलाई मात्र यो रहस्य भन्नमिल्ने अन्था अनधिकारीलाई प्रदान गर्न नहुने भनी आज्ञा गर्नुभएको छ—
षड्विध् ऐश्वर्य (ऐश्वर्य, यश, श्री, धर्म, ज्ञान र वैराज्ञ) ले परिपूर्ण भगवान् श्रीकृष्ण नै परमदेव हुनुहुन्छ । गोपगोपीहरू उहाँको सेवा गर्दछन्, वृन्दा (वृन्दहरूको समूह) ले उहाँको आराधना गर्दछन् । वृन्दावनका स्वामी भगवान् नै एकमेव परमेश्वर हुनुहुन्छ । उहाँकै एउटा रूप श्रीनारायण हुनुहुन्छ । उहाँ श्रीकृष्ण प्रभुका आह्लादिनी, संधिनी, ज्ञान, इच्छा, क्रिया आदि विविध प्रकारका शक्ति छन् । तीमध्ये आह्लादिनी शक्ति सबैभन्दा श्रेष्ठ हुनुहुन्छ । ‘कृष्णेन आराध्यते’ श्रीकृष्णद्वारा आराधित हुनाले उहाँलाई परम अन्तरंग ‘श्रीराधा’ भनिन्छ । श्रीकृष्ण उहाँका आराध्यदेव हुन् । ‘कृष्णं समाराधयति सदा’ कृष्णलाई सदा आराधना गर्ने हुनाले उहाँलाई राधिका भनिएको छ । राधा सनातनी विद्या, प्राणहरूकी अधिष्ठातृ, पृथ्वी–किरण आदिलाई धारण गर्ने शक्ति, साधकहरूको कार्य सिद्ध गरिदिने शक्ति हुनुहुन्छ ।
श्रीराधिका सर्वेश्वर भगवान्की सर्वेश्वरी शक्ति हुनुहुन्छ । श्रीकृष्ण एवं राधिका एउटै शरीर हुन् जो लीलाका निम्ति दुई रूपमा देखापर्दछन् ।
एकान्तभावले चारैवेद उहाँकै स्तुति गर्दछन् । आह्लादिनी शक्तिको गतिलाई ब्रह्मवेत्ता ऋषिहरूले पनि प्रतिपादन गर्दछन् । म (ब्रह्मा) आफ्नो समस्त आयुमा पनि उहाँको महिमा वर्णन गर्न सक्दिन । जसमाथि उहाँको कृपा हुन्छ परमधाम तिनको हातको मुठ्ठीमा छ । राधिका अर्थात् प्रभुको सर्वश्रेष्ठ शक्तिलाई नबुझिकन प्रभुको आराधना गर्दछु भन्नेलाई मूढतम् ठान ।
यसरी श्रीराधालाई श्रीकृष्णको प्रमुख शक्तिका रूपमा वर्णन गरेपछि ब्रह्माजीले भगवती राधाका २८ पावन नामहरू उल्लेख गर्नुभएको छ । श्रुतिहरूद्वारा गुणगान गरिने ती नाम हुन्—
१. राधा, २. रासेश्वरी, ३. रम्या, ४. कृष्णमन्त्राधिदेवता, ५. सर्वाद्या, ६. सर्ववन्द्या, ७. वृन्दावनविहारिणी, ८, वृन्दाराध्या, ९, रमा, १०. अशेषगोपीमण्डलपूजिता, ११, सत्या, १२. सत्यपरा, १३. सत्यभामा, १४. श्रीकृष्णवल्लभा, १५, वृषभानुसुता, १६. गोपी, १७. मूलप्रकृति, १८. ईश्वरी, १९. गान्धर्वा, २०, राधिका, २१, आरम्या, २२. रुक्मिणी, २३. परमेश्वरी, २४. परात्परतरा, २५. पूर्णा, २६. पूर्णचन्द्रनिभानना, २७, भुक्तिमुक्तिप्रदा, २८. भवव्याधिविनाशिनी ।।
ज्ञानशक्ति नै क्षेत्रज्ञ शक्ति हो तथा मायाशक्ति, इच्छाशक्तिमा अन्तर्निहित छ । यही शक्तिलाई जगत्को कारणभूता सत्व, रज, तमका रूमा बहिरंग हुनाले जड भनिएको छ भने अविद्याका रूपमा जीवलाई बन्धनमा पार्ने हुनाले यसैलाई माया भनिएको छ । यसर्थ भगवान्को यस क्रियाशक्तिलाई नै लीलाशक्ति पनि भनिएको छ ।
सामान्य र साहित्यको दृष्टिमा राधा व्यक्ति हुनसक्छिन् । तर शास्त्र एवं भक्तको दृष्टिमा श्रीराधा तत्त्व हुन् । यसबारे शास्त्रले तात्विक दृष्टिले विचार गरेको छ र भक्तहृदयले श्रद्धा–विश्वासपूर्वक स्वीकारेको पनि छ । सच्चिदानन्दघन परमात्मा नै लीलाविलासका लागि दुईवटा विग्रहमा प्रकट हुनेगर्दछ— एउटा लीलापुरुष एवं अर्को लीला सहचरी । लीलापुरुष श्रीकृष्ण हुनुहुन्छ भने लीलासहचरी श्रीराधा हुनुहुन्छ । उपनिषद्मा ब्रह्म ‘रस’ स्वरूप हुनुहुन्छ । उहाँ आफै स्व–रसको आस्वादक बन्न चाहनुहुन्छ । रस आस्वादनको प्रक्रिया ‘रमण’ हो जुन एक्लैले हुनसक्दैन । अतः पूर्ण निस्पृह, निष्काम परमात्माको रमण गर्ने कामनाबाट उहाँको द्विविध रूप प्रकट भएको कुरा यस उपनिषद्ले व्यक्त गरेको छ । ‘स्वेच्छामयश्च भगवान बभूव रमणेत्सुक’ भनी यही कुरा ब्रह्मवैवर्त पुराणको प्रकृतिखण्डमा पनि उल्लेख भएको छ ।

No comments:
Post a Comment