वृत्रासुरको वध गरेपछि देवताका राजा इन्द्रलाई ब्रह्महत्याको पाप लाग्यो । उनी स्वर्गको शासन गर्न अयोग्य भएर पापमोक्षका लागि अज्ञात रूपमा बसेर घोर तपस्यामा लीन भए । यसरी लामो समय इन्द्र पद खाली रहँदा स्वर्गमा मात्र हैन तीनै लोकमा अराजकता, अव्यवस्था उत्पन्न हुन थाल्यो । देवताहरूले देवराज इन्द्रको खोजी गरे । तर पापमोक्ष नभएको र लामो समय खोजी गर्दा पनि नभेटिएपछि देवताहरूले देवगुरु बृहस्पतिसित सल्लाह गरी स्वर्गका लागि नयाँ राजाको खोजी गर्नथाले ।
तीनै लोकमा खोजी गर्दा मत्र्यलोक अर्थात्
पृथ्वीमा निकै प्रतापी, धर्मात्मा र प्रजावत्सल राजा भेटिए— नहुष ।
हरेक दृष्टिकोणबाट राजा नहुष स्वर्गको राजा बन्न योग्य देखिएपछि उनलाई स्वर्ग लगी
इन्द्रको आसनमा अभिषेक गराइयो ।
पृथ्वीमा हुँदा आफूले पूजा–स्तुति गर्ने
देवताहरूले नै अब राजा नहुषको पूजा गर्न थाले । उनी इन्द्र बनेका थिए । देवताका
पनि राजा । पृथ्वीको एउटा सानो देशका राजा नहुषलाई तीनै लोकले राजा मात्र हैन
देउतै मानेपछि उनमा विस्तारै अभिमान बढ्न थाल्यो ।
इन्द्रले भोग गरेका सबै सुविधा र अधिकार
प्राप्त गरे पनि इन्द्रकी पत्नी शचीलाई उनले पाएका थिएनन् । शचीले आफ्नो सतित्व
बचाइराखेकी थिइन् । नहुषले एक दिन शचीसँग विवाह गर्ने प्रस्ताव राखे । शची निकै
साध्वी देवी थिइन् । उनले नुहषको प्रस्ताव अस्वीकार गरिन् । तर नहुषले भने आफ्नो
हठ छोडेनन् । म इन्द्र हुँ र मैले भनेको तिमीले मान्ने पर्छ भन्ने सन्देश पठाए ।
अति भएपछि शची गुरु बृहस्पतिको शरणमा पुगिन् ।
देवगुरु बृहस्पतिले शचीलाई एउटा उपाय दिनुभयो ।
त्यस उपाय–अनुसार शचीले नहुषलाई एउटा सन्देश पठाइन् । त्यो सन्देशमा भनिएको थियो—
“सप्तऋषिले बोकेको पालकीमा बसेर आउनुभयो भने म तपाईँको सेवामा उपस्थित हुनेछु ।”
शचीलाई पाउन जेसुकै गर्न तयार भएका नहुषले
तत्काल उनको प्रस्ताव स्वीकारे । उनले ऋषिहरूलाई आफू बसेको पालकी बोक्न आदेश दिए ।
राग र द्वेष जस्ता भाव नराख्ने एवं आफूप्रति भएको मान तथा अपमानलाई एकै समान
ठान्ने ती ऋषिहरूले कुनै पनि प्रतिकार नगरी नहुष बसेको पालकी आफ्ना काँधमा राखेर
हिँड्न थाले ।
हिँड्दा बाटोमा आफ्ना पैँतालामुनि स–साना
जीवहरू नपरून् भनेर ती ऋषिहरूले निकै ध्यानपूर्वक पाइला चाल्दै थिए । उनीहरू
बिस्तारै हिँड्दैथिए ।
उता, शचीदेवीसँग मधुर मिलनका लागि आतुर
नहुषलाई हतार थियो । उनले ऋषिहरूलाई ‘सर्प ! सर्प !’ भन्दै छिटो हिँड्न आदेश
दिइरहे । तर ऋषिहरू त आफ्नै इच्छानुसार चल्दथे । ऋषिहरू सुस्तरी हिँडेको देखेर
निकै झर्को मान्दै खुट्टा झट्कारे । संयोगवश उनको खुट्टाले भृगु ऋषिलाई ठेस लाग्यो
। महर्षिको आँखा रातो भयो । उनले तुरुन्तै पालकी भुइँमा पछारिदिए । कमण्डलुको पानी
हातमा लिएर नहुषलाई श्राप दिए— “हे दुष्ट ! इन्द्र पद पाएर तेरो अहंकार निकै बढेछ
। आफूभन्दा पूजनीय, ठूला–वृद्धहरूलाई यसरी पालकी बोक्न लाउने र
हतारोमा सर्प–सर्प भन्ने त अहिल्यै सर्प बनेर पृथ्वीमा खसिजा !!”
ऋषिको श्राप तत्काल लागू भयो । नहुषको तेज नष्ट
भयो । ऊ सर्प बनेर पृथ्वीमा खस्यो ।
सर्पका रूपमा हुँदा पनि उसको मन चाहिँ मानवले
जस्तै विचार गर्ने थियो । निकै पछुतो मान्दै ऊ सोच्थ्यो—
- कसैले पनि कुनै अधिकार पाएको छ भने त्यो कर्तव्य पूरा गर्नका लागि हो । आफूले पाएको अधिकार अथवा शक्ति स्वेच्छाचारी बन्नका लागि होइन ।
- कर्तव्य बिर्सिएर अधिकारको घमण्ड गर्नेको चाँडै पतन हुन्छ ।
- परिवारका अग्रज, समाजका आदरणीय र पूजनीयको मात्रै होइन, हामीले कसैको पनि अपमान गर्नु हुँदैन ।
महाभारतको कथा अनुसार, जब पाण्डवहरू वनवासमा थिए, एक दिन बलशाली भीम शिकार खेल्दै जङ्गलको गहिराइमा पुगे। त्यहाँ, एउटा विशाल अजिंगरले उनलाई आफ्नो शक्तिशाली शरीरले बेर्यो। भीमले आफूसँग भएको सबै शक्ति लगाएर त्यस अजिंगरबाट मुक्त हुन खोजे, तर सबै प्रयास बेकार भए। उनको अगाडि मृत्युको छायाँ मडारिँदै थियो।
त्यस अजिंगरले मानिसको जस्तो आवाजमा बोल्यो, "म तिमीलाई चिन्छु, वीरवर। म एक समयमा तिमीहरूकै वंशका राजा थिएँ। मेरो नाम हो नहुष।" अजिंगरको मुखबाट राजा नहुषको परिचय पाएपछि भीम छक्क परे। नहुषले आफू कसरी स्वर्गको राजाबाट श्राप पाएर अजिंगर बनेको कथा सुनाए।
भीमको खोजी गर्दै उनका दाइ युधिष्ठिर त्यहाँ आइपुगे। आफ्ना बलशाली भाइलाई असहाय अवस्थामा देखेपछि उनको मनमा चिन्ताको आँधी चल्यो। तब, अजिंगरले युधिष्ठिरलाई भन्यो, "हे राजन, तिमी ज्ञानी छौ। यदि तिमीले मेरो प्रश्नहरूको सही उत्तर दिन सक्यौ भने, म तिम्रा भाइलाई मुक्त गरिदिनेछु।"
युधिष्ठिरले सहर्ष स्वीकार गरे। नहुषले धर्म, जीवन र सत्यको बारेमा एकपछि अर्को गर्दै जटिल प्रश्नहरू सोधे। युधिष्ठिरले आफ्नो गहिरो ज्ञान र अनुभवको आधारमा हरेक प्रश्नको सटिक उत्तर दिए। उनको बुद्धिमत्ता र नम्रताले अजिंगरको मन छोयो।
युधिष्ठिरका उत्तरहरूले श्रापबाट मुक्त हुने शर्त पूरा भयो। अजिंगरको शरीरबाट एउटा दिव्य ज्योति निस्कियो। नहुष आफ्नो पुरानो स्वर्गीय रूपमा फर्किए र युधिष्ठिर र भीमलाई धन्यवाद दिँदै आकाशमार्गबाट स्वर्ग फर्किए।

No comments:
Post a Comment