Monday, November 7, 2022

जन्मजयन्ती विशेष | भगवत्पाद श्रीनिम्बार्काचार्य



— विजयप्रसाद मिश्र

................................................ ............................. ...............

अवतारको उद्देश्य

भगवत्स्वरूप सनातन धर्मको रक्षा स्वयं श्रीभगवान्‌बाट नै हुने कुरा शास्त्रहरूमा उल्लेख भएको छ । यसको पुष्टि भगवद्वाङ्मय स्वरूप श्रीमद्भागवतमहापुराण (१०।३३।२७) ले यसरी गरेको छ—

संस्थापनाय धर्मस्य प्रशमायेतरस्य च । 
अवतीर्णाे हि भगवान् अंशेन जगदीश्वरः ।।

निश्चय नै कलियुगमा पापरूपी अग्निले संसारलाई जलाइरहेकोछ । दुराचार, भ्रष्टाचार, व्यभिचार, पाखण्डले उत्पन्न हुने अज्ञानान्धकारको नाश गर्न स्वयं भगवत्कृपाद्वारा महापुरुषहरूको अवतार हुने गर्दछ । तिनै महापुरुषद्वारा सनातन धर्मको अभ्युदय र संरक्षण भइरहेको छ । यसका असङ्ख्य उदाहरण छन् । कलिकालको प्रभावले अनेक मतवादको प्रसारसँगै धर्म (शुद्ध भक्तिभाव) मा आएको भगवत्पाद श्रीनिम्बार्काचार्य ह्रास र मोह एवं अज्ञानको अन्धकारले संसारलाई छपक्कै छोपेको अवस्थामा धर्मको रक्षा एवं पुनःस्थापनाका निम्ति श्रीभगवान्‌को आज्ञाबाट आयुधराज सुदर्शन स्वयं यस धर्तीमा अवतीर्ण हुनुभएको थियो ।

सुदर्शनो द्वापरान्ते कृष्णज्ञाप्तो जनिष्यति ।
निम्बादित्य इति ख्यातो धर्मग्लानि हरिष्यति ।।

यसरी भविष्य पुराणमा भगवान् श्रीवेदव्यासले भन्नुभएको छ — हे ऋषीश्वर हो ! द्वापरको अन्त्य र कलियुगको प्रारम्भमा श्रीकृष्ण भगवान्को आज्ञाले निम्बार्काचार्यका रूपमा सुदर्शन श्रीभगवान्‌को अवतार हुनेछ र ग्लानि हुँदै गरेको सनातन धर्मको उद्धार गर्नुहुनेछ । 

श्रीसुदर्शनचक्रावतार

मेरुश्च दक्षिणे पार्श्वे नर्मदाया तटे शुभे । 
देशे तैलङ्गकेरण्ये देवर्षि वर शोभिते ।।
तत्रावतीर्य सद्धर्मान् नारादाद् देवदर्शनम् ।

‘हे सुदर्शन ! मेरु पर्वतको दक्षिणपार्श्व नर्मदा एवम् गोदावरीनजिकको सुरम्य तट देवर्षि नारदादिले परिसेवित पवित्र धर्तीमा तिमी अवतरित भई सद्धर्मको रक्षा गर ।’ प्रभुबाट भएको यस आज्ञालाई शिरोधार्य गर्दै सुदर्शन चक्र पृथ्वीमा अवतरित हुन तत्पर हुनुभयो । उता श्रीभगवान्‌ले देवर्षि नारदलाई गोदावरी तटवासी परमतपस्वी महर्षि अरुण र माता जयन्तीका घरमा पठाई पुत्रप्राप्तिको निम्ति नैमिषारण्य तीर्थमा तपस्या गर्ने आदेश दिनुभयो । देवर्षि श्रीनारदमुनिको आदेशानुसार माता जयन्ती र पिता अरुणले सन्तानगोपालको मन्त्रदीक्षा ग्रहण गरी नैमिषारण्य तपस्या गर्नुभयो । तपस्याको फलस्वरूप केही

दिनमै उहाँलाई ईश्वर अनुग्रह प्राप्त भयो । राति शयन गरेका बेला माता जयन्तीले स्वप्नमा साक्षात् आयुधराज सुदर्शन आएर गर्भमा प्रवेश गरेको देख्नुभयो । भावविह्वल अवस्थामा निद्राबाट ब्युँझिएर उहाँले आफ्ना पति महर्षि अरुणलाई यो सबै घटना यथावत् सुनाउनुभयो । यसपछि नैमिषारण्यवासी ऋषिमुनिहरूका समीप गई पतिपत्नीले आदरपूर्वक स्वप्नको वृतान्त सुनाएपछि नैमिषारण्यवासी ऋषिमुनिहरूले भन्नुभयो – ‘हे माता ! तपाईंको व्रत पूर्ण भएको छ । अब आफ्नो घर जानुहोस् । भगवत् कीर्तन गरी घरै बस्नुहोस् । यहाँहरूको मनोकांक्षा पूरा हुनेछ ।’ त्यसपछि ऋषिमहर्षिहरूको आशीर्वाद पाएर प्रसन्न ऋषिवर अरुण र माता जयन्ती आफ्नो जन्मभूमि गोदावरीतर्फ प्रस्थान गर्नुभयो । 

निश्चित् समय आएपछि यस धरालाई धाम बनाउन तथा वैदिक धर्माचरणमा आएको शिथिलता पन्छाउँदै प्राणीमात्रको कल्याणका निम्ति कार्तिक शुक्ल पूर्णिमाका दिन श्रीसुदर्शनले अवतार ग्रहण गर्नुभएको थियो— 

कार्तिकस्य शीते पक्षे पूर्णिमावृषगे विधौ ।
कृत्तिकारित्यसहिते ह्युच्चस्थेग्रहपञ्चके ।।
निम्बादित्य इति ख्यातो भगवाँश्च सुदर्शनः ।।

— वामनपुराण

कार्तिक महिनाको शुक्ल पक्ष, पूर्णिमा तिथि, चन्द्रमा वृष राशिमा भएको, कृतिका नक्षत्रसहित पाँचैओटा ग्रह उच्चस्थानमा भएको मेष लग्नमा सुदर्शनचक्रावतार भगवान् प्रकट भई श्रीनिम्बार्काचार्यका नामले प्रख्यात हुनुभयो । (कतै–कतै सनकादि मुनिहरूको अवतार पनि भनिएको पाइन्छ ।)

श्रीनिम्बार्कका अनुयायीहरू आचार्य निम्बार्कको अवतरण द्वापरयुगको अन्त्यमा भएको विश्वास गर्छन् भने आधुनिक विद्वान्हरूले उहाँको जन्म सन् १३०० र १४००का बीचमा भएको मत राखेका छन् । (गीताप्रेसबाट प्रकाशित ‘कल्याण’ भगवत्प्रेम अङ्कमा निम्बार्कभूषण श्रीवासुदेवशरण उपाध्यायले उहाँको जन्म युधिष्ठिर संवत् ६ अर्थात् युधिष्ठिर महाराज सिंहासनारुढ हुनुभएको छैटौँ वर्षमा— महाभारतकालमै भएको कुरा उल्लेख गर्नुभएको छ ।) 

आह्लादित माता–पिताले शुभ लक्षणयुक्त बालकको नाम ‘नियमानन्द’ राखेका थिए । भनिन्छ, नियमानन्दको उपनयन संस्कार भइरहेका बेला देवर्षि नारद उपस्थित भई उहाँलाई श्रीगोपाल मन्त्र दीक्षा र श्रीकृष्णोपासनाको उपदेश दिनुभएको थियो । निम्बार्क सम्प्रदायमा प्रदान गरिने मुकुन्दशरण दीक्षा मन्त्र पनि दवर्षि नारदबाटै प्राप्त भएको हो भन्ने मान्यता छ । उहाँले भगवान् श्रीकृष्णको जन्मस्थल व्रजक्षेत्रमा साधना गर्नुभएको थियो । श्रीराधाकृष्णलाई आफ्नो उपास्यका रूपमा प्रतिपादन गर्नुभएको छ । 

निम्बार्काचार्य नामको प्रसंग

भविष्यपुराणमा निम्बार्क भगवान्का विषयमा एउटा सुन्दर कथा वर्णित छ— एक दिन सृष्टिकर्ता ब्रह्माजी छद्मभेष धारण गरी संन्यासी बनेर घुम्दै अरुणाश्रममा पुग्नुभयो । भोकप्यासले आकुलव्याकुल छद्मरूपधारी ब्रह्माजीलाई बालक नियमानन्दले भोजन गर्न आग्रह गर्नुभयो तर संन्यास धर्मका आधारमा सूर्यास्त भएपछि भोजन गर्न निषेध गरिएको हुनाले संन्यासी रूपधारी ब्रह्माजीले भोजन नगरी हिँड्न लागेको देखेर निम्बको वृक्षमा सूर्यसमान चक्रको तेज स्थापित गरी उज्यालो सूर्यको दर्शन गराई भोजन गराउनुभयो । यसरी निम्बको वृक्षमा सूर्यको दर्शन गराएको हुनाले नै आचार्यश्रीको नाम निम्बार्काचार्य भनी लोकविख्यात हुन पुगेको हो ।


निम्बार्क सम्प्रदाय

भागवत धर्मका चार सम्प्रदायमध्येको एउटा निम्बार्क सम्प्रदाय हो । यस मतानुसार ‘नान्या गतिः कृष्णपदारविन्दात्’— राधासर्वेश्वर भगवान् श्रीकृष्णका चरणारविन्दलाई छोडेर जीवका लागि गति अर्थात् मोक्षको अर्को कुनै साधन छैन । 

ब्रह्माजीका मानसपुत्र सनक, सनन्दन, सनातन र सनतकुमार यस सम्प्रदायका प्रथम आचार्य हुनाले यसलाई ‘चतुःसन’ सम्प्रदाय भनिएको छ । श्रीभगवान्‌ स्वयं हंसको रूप धारण गरी अविद्यारहित ती चार ऋषिहरूलाई तत्त्व–उपदेश दिनुभएको थियो— त्यसैले यस सम्प्रदायलाई ‘हंस’ संप्रदाय पनि भनिन्छ । अतः निम्बार्क सम्प्रदायका अनुयायीहरू श्रीमद्भागवतको एघारौं स्कन्धको हंसावतार प्रसङ्गलाई निम्बार्क दर्शनको प्रारम्भसँग जोडेर आराधना गर्दछन् । 

परम्परानुसार, सनकादिबाट देवर्षि नारदले र देवर्षिबाट स्वयं निम्बार्काचार्यले व्रजक्षेत्रस्थित गोवर्धनको फेदीमा द्वैताद्वैतवादको दीक्षा प्राप्त गर्नुभएको मान्यता छ । ब्रह्मसूत्र पहिलो अध्यायको तृतीय पाद, आठौँ सूत्रको भाष्यमा आफ्नो गुरुपरम्पराका सम्बन्धमा स्वयं श्रीनिम्बार्क भगवान्‌ भन्नुहुन्छ— 

परमाचार्यैः श्रीकुमारैरस्मद्गुरवे श्रीमन्नारदाय
उपदिष्टो भूमात्वेव विजिज्ञासितव्य इति ।।

निम्बार्क दर्शनमा ब्रह्मका साथ जीव, जगत् र मायाको भेदाभेद अथवा द्वैताद्वैत सम्बन्ध प्रतिपादन गरिएको छ । आचार्य निम्बार्कले प्रतिपादन गर्नुभएको वेदान्त दशश्लोकीका अनुसार तत्त्वहरू तीन प्रकारका छन् – ब्रह्म, जीव र जगत् । द्वैताद्वैत (भेदाभेद) मतानुसार यो देखिने जगत् र जीव दुबै मूलतः ‘ब्रह्म’ हुन् तर ब्रह्मको सत्ता जगत् र जीवसम्म मात्र सीमित छैन अपितु यी दुबैलाई अतिक्रमण गरेर पनि ब्रह्मको सत्ता छ । ब्रह्म सर्वशक्तिमान हुनुहुन्छ र उहाँको सगुणभाव नै मुख्य हो। यस जगतका रूपमा परिणत भएर पनि उहाँ निर्विकार हुनुहुन्छ। अतः ब्रह्मलाई सगुण र निर्गुण दुबै रूपमा वर्णन गरिएको छ । ब्रह्म विभू र सर्वव्यापी हुनुहुन्छ अतः जीव र जगत्मा पनि ब्रह्म व्याप्त हुनुहुन्छ । यही अतीत रूप ब्रह्म नै जगत्को मूल उपादान कारण हुनुहुन्छ । जगतको सृष्टि, स्थिति एवं लय उहाँबाटै हुन्छ। उहाँ जगतका निमित्त एवं उपादान कारण हुनुहुन्छ। जगत उहाँको परिणाम हो र उहाँ अविकृत परिणामी हुनुहुन्छ। ब्रह्म जीव तथा जड़भन्दा अत्यन्त पृथक हुनुहुन्छ । जीव पनि ब्रह्मको परिणाम हो तथा नित्य छ । 

जगत् र जीव ब्रह्मका अंश मात्र हुन् । अंशका साथ अंशीको जस्तो भेदाभेद सम्बन्ध हुन्छ जगत् र जीवका साथ ब्रह्मको पनि यस्तै सम्बन्ध छ । अंश सम्पूर्ण अवयवका साथ अंशीको अङ्गीभूत छ— अतएव अभिन्न (अभेद/अद्वैत) छ; तर अंशीको सत्ता अंशलाई अतिक्रमण गरेर पनि विद्यमान छ; अंश–मात्रमा अंशीको सत्ता पर्याप्त छैन; अतएव अंशी अंशभन्दा भिन्न (भेद/द्वैत) पनि छ । यसलाई श्रीनिम्बार्काचार्यले स्वाभाविकभेदाभेद सिद्धान्तका रूपमा प्रतिपादन गर्नुभएको छ ।

श्रीनिम्बार्क–अनुसार जीवले भगवान्‌को प्रसन्नता एवं उहाँको दर्शन प्राप्त गरोस्, यही यस सृष्टिचक्रको प्रयोजन हो । जीवका समस्त क्लेशहरूको निवृत्ति एवं परमानन्द प्राप्ति भगवान्‌लाई प्राप्त गर्नाले मात्र हुनेछ । 

मायाका कारणले जीव संसारमा अलपत्र परेको छ । जीवको लक्ष्य श्रीराधाकृष्णको साहचार्य प्राप्त गर्नु हो । उसले ‘श्रीकृष्णो वै स्वयं राधा या राधा स जनार्दनः’ भन्ने श्रीराधाकृष्ण अभेदत्वलाई आत्मसात् गरी अनन्य उपासना गरेर आफू ब्रह्मको नित्य सहचर हुँ भन्ने बोध र सान्निध्य प्राप्त गर्न सक्छ । उपासनाद्वारा मात्र ब्रह्मप्राप्ति सम्भव छ । ब्रह्मको सगुण एवं निर्गुण दुबै रूपमा विचार गर्न सकिन्छ, तर जीवको मुक्तिको साधन भक्ति मात्र हो।

ब्रह्मका साथ आफ्नो र जगतको अभिन्नत्वको अनुभूति नै जीवको मुक्तावस्था हो । यो भगवत्प्राप्तिबाट नै सम्पन्न हुन्छ । 

भक्तिद्वारा मात्र भगवान्‌लाई प्राप्त गर्न सकिन्छ। सत्कर्म एवं सदाचारद्वारा शुद्धचित्तमा जब भगवत्कथा एवं भगवान्‌का गुण-श्रवण गरी भगवान्‌को प्रसन्नता प्राप्त गर्ने इच्छा जाग्रत हुन्छ, तब मुमुक्षु पुरुष सद्गुरुको शरण ग्रहण गर्दछ। गुरुद्वारा उपदिष्ट उपासनाद्वारा शुद्धचित्तमा भक्तिको प्राकट्य हुन्छ। यही भक्तिले शरणागत भक्तलाई भगवत्प्राप्ति गराई मुक्त पार्दछ ।

उहाँले द्वैत र अद्वैत पक्षलाई एउटामै समेटेर समन्वयवादको शंखघोष गरेर सबैलाई समभावले हेर्ने शिक्षा यस जगत्लाई प्रदान गर्नु भयो । आफ्नो दार्शनिक मत प्रतिपादन गर्न उहाँले कसैको खण्डन गर्नुभएको पाइँदैन । अरुको आलोचना अथवा अरुप्रति द्वेषभाव नराखी पनि आफ्नो अभिमत स्थापित गर्न सकिन्छ भन्ने शिक्षा श्रीनिम्बार्क भगवान्‌बाट लिन सकिन्छ । 

ग्रन्थ रचना

वेदान्त पारिजात सौरभ ब्रह्मसूत्रको भगवत्पाद निम्बार्काचार्यकृत भाष्य हो । त्यस्तै, दशश्लोकी नामको दशवटा श्लोक भएको ग्रन्थमा द्वैताद्वैत मत प्रतिपादन गर्नुभएको छ । यही मत निम्बार्क सम्प्रदायको सिद्धान्त हो । २५ श्लोक भएको श्रीकृष्णस्तवराजमा पनि सम्प्रदायको सिद्धान्तबारे प्रकाश पारिएको छ । श्रीगोपाल मन्त्रको विस्तृत व्याख्याका रूपमा मन्त्ररहस्य षोडशी नामको १८ श्लोकयुक्त मौलिक ग्रन्थ पनि भगवत्पादकै कृति हो । त्यस्तै, प्रपन्न कल्पवल्लीमा मुकुन्दशरण मन्त्रको रहस्य उद्घाटन भएको छ । आचार्य निम्बार्कका प्रत्यक्ष शिष्य श्रीनिवासाचार्यले वेदान्तदशश्लोकीको भाष्यका रूपमा वेदान्त कौस्तुभ रचना गर्नुभएको छ । युगल विग्रह श्रीराधिमाधवका चरणकमलहरूको ध्यानमा सदा अनुषक्त, भक्ति, ज्ञान, वैराग्य–सञ्चित भागवत दीपका ज्योतिर्मयी किरणहरूले मोहरूपी अन्धकारलाई पन्छाउने, विश्वका सारा मत–मतान्तर जसको ‘उपासना मार्ग’को अनुगमन गर्दछन् यस्ता महामुनि जगद्गुरु भगवान् श्रीनिम्बार्क आचार्यका चरणकमलहरूमा मनसा, वाचा, कर्मणा नमन गर्दछु—

यो राधावर पादपद्म युगल ध्यानानुषक्तो मुनिः,
भक्तिर्ज्ञान विरागयोग किरणैः मोहांधकारान्त कृत् ।
लोकानां मत एव निम्बघटितं चादित्यनामानुगं,
निम्बादित्य गुरुं तमेव मनसा वन्दे गिरा कर्मणा ।।

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...