गुरु–शिष्यको सम्बन्धबाट मात्र ज्ञान हुन्छ— यस्तो कुरा देख्नमा आउँदैन । कारण के हो भने, जसले गरु बनाएका छन्, गुरु–शिष्यको सम्बन्ध स्वीकार गरेका छन्; ती सबैलाई ज्ञान भएकै होस्— यस्तो देखिँदैन । तर तीव्र जिज्ञासा भएपछि ज्ञान हुन्छ— यस्तो चाहिँ देख्न, सुन्न पाइन्छ । तीव्र जिज्ञासुका लागि गुरु–शिष्यको सम्बन्धमा बाँधिनु आवश्यक छैन । तात्पर्य के हो भने जबसम्म आफ्नो जिज्ञासा तीव्र हुँदैन, तबसम्म गुरु–शिष्य सम्बन्ध स्वीकारेर पनि ज्ञान हुँदैन र जिज्ञासा तीव्र भएपछि साधकले गुरु–शिष्यको सम्बन्धबिना नै कसैबाट पनि ज्ञान लिनसक्छ । तीव्र जिज्ञासा भएका साधकलाई भगवान् स्वप्नमा पनि शुकदेव आदि (पहिले भइसकेका) सन्तहरूबाट मन्त्र प्रदान गर्नुहुन्छ ।
शिष्य बनेपछि गुरुको उपदेशबाट ज्ञान भइहाल्छ– यस्तो नियम छैन । कारण के हो भने, उपदेश पाएर पनि यदि आफू स्वयंको जिज्ञासा र लगन हुँदैन भने शिष्यले त्यस उपदेशलाई धारण गर्न सक्नेछैन । तर तीव्र जिज्ञासा, श्रद्धा–विश्वास भएपछि मनुष्यले कुनै सम्बन्धबिना नै उपदेश धारण गर्दछ— ‘श्रद्धावाँल्लभते ज्ञानम्’ (४।३९) । तात्पर्य के हो भने ज्ञान आफू स्वयंको जिज्ञासा, लगनबाट नै हुन्छ, गुरु बनाउनाले मात्र हुँदैन ।
यदि कसैलाई सक्कली गुरु फेला परे पनि उसले उनलाई गुरु, महात्मा मान्नेछ, स्वयं उनीमाथि श्रद्धा–विश्वास गर्नेछ भने मात्र त्यसबाट लाभ हुनेछ । यदि ऊ स्वयं श्रद्धा–विश्वास गर्दैन भने त साक्षात् भगवान् नै प्राप्त भए पनि उसको कल्याण हुनेछैन । दुर्योधनलाई भगवान्ले उपदेश दिनुभयो र पाण्डवहरूसँग सन्धि गर्नका लागि धेरै सम्झउनुभयो, तर पनि उसमा कुनै प्रभाव परेन । उसले नमानेसम्म भगवान्ले पनि केही गर्न सक्नुभएन । तात्पर्य के हो भने आफैले मान्नाले, स्वीकार गर्नाले नै कल्याण हुनेछ । अतः गीता आफू स्वयंले नै आफ्नो उद्धार गर्ने प्रेरणा प्रदान गर्दछ– ‘उद्धरेदात्मनाऽऽत्मानम्’ (६।५) ।
स्वामी रामसुखदासजी महाराजकृत ‘सच्चा गुरु कौन ?’ पुस्तकबाट
अनुवाद— विजयप्रसाद मिश्र

No comments:
Post a Comment