Sunday, November 27, 2022

जन्मजयन्ती विशेष | दिव्यात्मा बालागुरु षडानन्द



विक्रम सम्वत १८९२ साल । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन लोक श्रीरामजानकीको विवाह महोत्सव मनाउँदै थियो । त्यसै दिन भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा लक्ष्मीनारायण अधिकारी तथा रुक्मिणी देवीका सुपुत्रका रूपमा नेपाल आमाले एउटा सपूतको मुहार हेर्ने सुअवसर पाउनुभयो । आफ्नो पुण्यको प्रतापस्वरूप प्राप्त भएको सन्ततिलाई देखेर माता–पिता आह्लादित थिए । अधिकारी दम्पतिले अमृतत्त्वका सन्तति ती नवजात शिशुको नाम षडानन्द राखे । बालक सर्वत्र आनन्दवृद्धिकै लागि अवतरित भएको अनुभूति देख्ने–सुन्ने सबैले संगाल्दैथिए ।


आबाल ब्रह्मचारी बालागुरु

आफूले सुनेको कुरा आफू गुरु बनेर अरूलाई बुझाउन सक्ने क्षमता बालक षडानन्दमा थियो । यसरी बाल्यकालमै आफू गुरु बनेर अरुलाई पढाएको हुँदा स्थानीय व्यक्तिहरूले उहाँलाई बालागुरु भन्न थाले । पछि उहाँ यही नामले प्रसिद्ध हुनुभयो । उहाँ बाल्यकालदेखि नै आजीवन ब्रह्मचर्यमा दृढ रहेको हुनाले आबाल–ब्रह्मचारी नामले पनि चिनिनुभएको छ ।

संस्कारले द्विज बनाउँछ । आठ वर्षको उमेरमा उहाँको यज्ञोपवीत संस्कार भयो । उहाँ द्विज बन्नुभयो । यज्ञोपवीत संस्कारपछि उहाँले परम्पराअनुरूप घरबार छोडेर विद्याध्ययनका लागि जनकपुरतिर जानुभयो । ज्ञान आफूमै निहित छ, यसमाथि जमेको अज्ञानको आवरणलाई पन्छाउन सक्नुपर्छ । र त्यो सम्भव छ प्रशिक्षण र अभ्यासबाट मात्र । गुरुगृहका अन्तेवासी बनेर शिक्षा–साधना आरम्भ भयो ।


अध्ययन 

षडानन्दले सर्वप्रथम जनकपुरको ब्रह्मचर्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गर्नुभयो । उहाँले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितहरूको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरेको बुझिन्छ । धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्हरूको सङ्गतमा वेद, उपनिषद्, गीता, ज्योतिषशास्त्र, व्याकरण, न्यास आदि अध्ययनकै क्रममा त्यहाँबाट अविमुक्त क्षेत्र काशी पुग्नुभयो । भगवान् शिवको प्रिय नगरी बनारस शिक्षा–साधनाको राजधानी नै हो । त्यस समृद्ध वातावरणमा पुगेपछि उहाँ मुमुक्षु भवनमा बसेर पढ्न थाल्नुभयो । मेधावी विद्यार्थीका रूपमा आफ्नो अध्ययनलाई अझ गहन रूपमा अगाडि बढाउनुभयो ।


योग साधना

आजीवन ब्रह्मचर्यमा रहेका षडानन्दले काशीमा अध्ययनका साथै योग साधना समेत गर्नुभएको थियो । योग साधनाका क्रममा उहाँले भारतका विभिन्न स्थानको भ्रमण पनि गर्नुभयो । षडानन्दका त्यस बेलाका शिष्यहरूको भनाइ अनुसार उहाँले चौबिस पटक गायत्री पुरश्चरण गर्नुभएको थियो । नेपाल आइकन पनि उहाँले बाग्मती नदी किनारमा बसी तपस्या गर्नुभएको थियो । त्यस्तै देवघाट हुँदै केही वर्ष सेती किनार, पोखरामा बसेर अष्टाङ्ग योग साधना गर्नुभएको थियो । ‘एकान्तमा साधना र लोकान्तमा सेवा’ यही महापुरुषहरूको वृत्ति हुनेगर्दछ । उहाँले पनि आफ्नो अध्ययन पूरा गरी योग साधकका रूपमा समेत स्थापित भएपछि मातृभूमिका लागि केही गर्न भनी विक्रम सम्वत १९३१ मा आफ्नो जन्मस्थल दिङ्ला फर्कनुभयो ।


विद्यालय स्थापना

बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल रामनवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भञ्ज्याङको रमणीय उच्च स्थल कैलासमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गर्नुभयो । प्रारम्भिक वर्षहरूमा आफैले पढाउने गर्नुहुन्थ्यो । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो भनिन्छ । यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम समेतका विद्यार्थीहरू आई अध्ययन गर्दथे । यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्ययन–अध्यापनका लागि छुट्टाछुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो । विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो । अझै पनि केही दुर्लभ ग्रन्थहरू त्यहाँ सुरक्षित रहेका छन् ।


सामुदायिक वनको व्यवस्था

बालागुरु षडानन्द प्रकृति र पर्यावरणको संरक्षणप्रति पनि सचेत हुनुहुन्थ्यो । उहाँले एउटा विशाल वनको स्थापना गराउनुभयो । त्यसमा स्थानीय रूपमा पाइने जामुन, गोगन, काफल, किम्बु, कटुस, ऐँसेलु, चिउरी, चिलाउने, पात्ले, ढाल्ने, झिँगनी, ओखर, भोर्लो, चाँप, समी, लप्सी, बडहर, कटहर, खनिउँ, भलायो, गायो, थल कमल, कोइरालो, काब्रो, चुवा, चमेली आदि र अन्य विभिन्न रुखहरू थिए । साथै त्यहाँ रुद्राक्षको वन सघन रूपमा हुर्काइएको थियो । यी बोट–बिरुवा धार्मिक तथा समाजिक रूपमा दैनिक आवश्यकतासँग आबद्ध थिए । पछि आएर यो वन ‘रुद्राक्ष वन’का रूपमा चर्चित हुन पुग्यो । यसलाई ‘जगेडा वन’ पनि भनिन्छ । यसलाई सामुदायिक धारणा अनुरूप संरक्षित ‘नेपालको पहिलो सामुदायिक वन’ मानिन्छ ।


समाज सुधार तथा सबै जातजातिसँगको सहयात्रा

बालागुरु षडानन्दले समाज सुधारको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु भएको छ । उहाँले छुवाछुत प्रथा गलत हो भन्ने सन्देश प्रसार गर्नुभएको थियो । पानी चल्ने र नचल्ने भनी छुवाछुत भएको समाजमा स्थानीय मेलामा सबै जातजातिका मानिसहरूको सहयात्राको सुरुआत पनि उहाँले गर्नुभएको हो । उहाँकै नेतृत्वमा संस्कृत भाषा जन्मना ब्राह्मणले मात्र पढ्ने भाषा नभएर सबै जातजातिले पढ्ने व्यवस्था समेत भयो ।


फजुल खर्च नियन्त्रण र सदाचार शिक्षा

बिवाह, व्रतबन्ध आदिमा भोजका नाममा समाजमा हुने फजुल खर्च नियन्त्रण गर्न १०८ बटुकहरूको सामूहिक व्रतबन्ध स्थानीय नारायण चौरमा गराई सामूहिक कार्य गर्ने व्यवस्था पनि उहाँले गर्नुभयो ।  विद्यालयबाट शिक्षा प्र्राप्त गर्नु त छँदै छ, त्यसका अतिरिक्त आध्यात्मिक एवम् नैतिक ज्ञान समेत प्रदान गरी समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्व–पर्वमा नैतिक–आध्यात्मिक प्रवचन दिने व्यवस्था समेत उहाँको नेतृत्वमा भएको थियो । त्यस कालखण्डमा लोकलाई संस्कार र संस्कृतिको आलोकसित जोड्ने उहाँको यो अभियानले स्वधर्म–संस्कृतिप्रति निष्ठा जागरणको महत्तम साध्यलाई सम्बोधन गरेको थियो । 


सिद्धिप्राप्ति र श्री १०८ को उपाधि

विधिपूर्वक नियमहरू पालना गर्दै चौबीस लाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ । आबाल ब्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग साधनाका साथै चौबीसपल्ट गायत्री पुरश्चरण गर्नुभएको थियो । षडानन्द उच्च तहसम्मको विद्याध्ययन, अष्टाङ्ग योग साधना र गायत्री उपासनाबाट प्राप्त सिद्धि र क्षमताबाट परिचित भई उहाँको योग्यताको कदर गर्न वाराणसीको विद्वद्गणले उनलाई श्री १०८ उपाधिले सम्मानित गरेको थियो । उहाँ योग साधनारत रहेरै दिवङ्गत हुनु, त्यस कालखण्डमा राज्यले पनि गर्न नसकेको समाज सुधार तथा शिक्षा केन्द्र स्थापनाका लागि विशाल निर्माण कार्य गरिनुले उहाँमा विशिष्ट सिद्धि थियो भन्नुमा दुई मत रहँदैन ।


देहावसान

विक्रम सम्वत १९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौँ, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनुभयो । विक्रम सम्वत १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदारहँदै उहाँ ब्रह्मलीन हुनुभयो ।


महापुरुषको जन्म र कर्म दिव्य हुन्छन् । यस्ता महात्माहरू लोकलाई कर्तव्यको शिक्षा दिन तथा लोकहितमै कार्य गर्नुपर्छ भन्ने प्रेरणा दिन अवतरित भएका हुन्छन् । ‘उत्तिष्ठ, जाग्रत’ भन्ने उपनिषद्को निर्देशलाई आत्मसात् गरी ‘आफू बन्नु र समाजलाई बनाउनु’ नै महामनाहरूको अवतरणको उद्देश्य हुनेगर्दछ । यस पवित्र देवभूमि, वेदभूमिमा अवतरित भएर आफ्नो कुल, जन्मथलो र नेपाल जननीलाई कृतार्थ तुल्याउने यस्ता महामानवबाट प्रेरणा लिनसक्नु एवं उहाँहरूकै अनुगामी बनेर जगद्हिताय कर्म गर्नु नै यस्ता दिव्यात्माप्रति सार्थक श्रद्धाञ्जलि हुनेछ ।

____________

विजयप्रसाद मिश्र

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...