[अर्जुन भन्छन्] कायरतारूपी दोषले तिरस्कृत भएको र धर्मको विषयमा अन्तःकरण मोहित भएको म हजुरलाई प्रश्न गर्दछु, मेरोलागि निश्चित कल्याण गर्ने जे छ, त्यो कुरा मलाई भनिदिनुहोस् । म हजुरको शिष्य हुँ. हजुरको शरणमा आएको छु, मलाई शिक्षा दिनुहोस् ।
व्याख्या– प्रत्येक मनुष्य वास्तवमा साधक हो । कारण, चौरासी लाख योनिहरूमा भौतारिँदै जीवलाई भगवान्ले यो मनुष्य शरीर केवल आफ्नो कल्याण गर्नका लागि नै प्रदान गर्नुहुन्छ । यसैले कुनै पनि मनुष्यलाई आफ्नो कल्याणबाट निराश हुनुपर्दैन । मनुष्य मात्रलाई परमात्म प्राप्तिको जन्मसिद्ध अधिकार छ । साधक हुनाको नाताले मनुष्य मात्र आफ्नो साध्यलाई प्राप्त गर्नमा स्वतन्त्र, समर्थ, योग्य र अधिकारी छ । सबैभन्दा पहिले यस कुराको आवश्यकता छ कि मनुष्यले आफ्नो उद्देश्यलाई पहिचान गरी दृढ़तापूर्वक यो स्वीकार गरोस् कि म संसारी होइन, बरु साधक हुँ ।
म स्त्री हुँ, म पुरुष हुँ, म ब्राह्मण हुँ, म क्षत्रिय हुँ, म शूद्र हुँ, म ब्रह्मचारी हुँ, म गृहस्थ हुँ, म वानप्रस्थ हुँ, म संन्यासी हुँ आदि मान्यताहरू केवल सांसारिक व्यवहार (मर्यादा) का लागि त ठीकै हो, तर परमात्मप्राप्तिमा यी बाधक हुन् । यी मान्यताहरू शरीरलाई लिएर बनेका हुन् । परमात्मा प्राप्ति शरीरलाई हुँदैन, बरु स्वयं साधकलाई हुन्छ । साधक स्वयं अशरीरी नै हुन्छ ।
अर्जुनले, मैले आफ्नो कल्याण गर्नु छ भनी आफ्नो वास्तविक उद्देश्यलाई चिनेका छन् । यसैले उनी युद्ध गर्नु अथवा नगर्नु भनी नसोधेर आफ्नो कल्याणको निश्चित उपाय सोध्दैछन् ।
स्वामी रामसुखदासजी महाराजकृत गीता प्रबोधनीबाट
No comments:
Post a Comment