Sunday, November 30, 2025

गीता जयन्ती विशेष | जीवनको कुरुक्षेत्रमा गीताको कालातीत मार्गदर्शन

 


✍ | विजयप्रसाद मिश्र


प्रत्येक हृदयभित्रको युद्धभूमि

कल्पना गर्नुहोस्, कुरुक्षेत्रको त्यो विशाल युद्धभूमि, जहाँ धर्ती लाखौँ योद्धाहरूको भारले काँपिरहेकी छिन् । हावामा तरबारको झङ्कार र मृत्युको चिसो गन्ध भरिएको छ । त्यहीँ, शङ्खहरूको एक समवेत स्वरले आकाश फाट्ला झैँ हुन्छ— त्यो ध्वनि जुन एकैसाथ विजयको आह्वान पनि हो र विनाशको चेतावनी पनि । भगवद्गीताको जन्म कुनै शान्त आश्रम वा पवित्र मन्दिरमा भएको होइन, बरु यही रक्तपातको सम्भावना र कोलाहलको ठीक बीचमा भएको हो । यसको आरम्भ नै यसको सबैभन्दा गहिरो सन्देश हो— कि यो ज्ञान जीवनका जटिलताहरूबाट भागेर होइन, बरु तिनको आँधीको केन्द्रमा उभिएर समाधान खोज्ने मार्गदर्शन हो । यो युद्धभूमि केवल एक प्राचीन महाकाव्यको ऐतिहासिक स्थान मात्र होइन; यो त हरेक आधुनिक व्यक्तिको भित्री भूमिको प्रतीक हो, जहाँ हामी प्रत्येक दिन आफ्नो जीवनको कुरुक्षेत्रमा उभिन्छौं— करियरको दोधार, सम्बन्धको संघर्ष, र उद्देश्यको गहिरो खोजी जस्ता अनेकौँ द्वन्द्वहरूसँग जुधिरहेका हुन्छौँ ।

भगवद्गीता कुनै जटिल धार्मिक ग्रन्थको रूपमा नभएर एउटा गहिरो व्यक्तिगत र करुणामय वार्तालापको रूपमा प्रकट हुन्छ । यो वार्तालाप हो— दिव्य मार्गदर्शक, श्रीकृष्ण, र भ्रमित मानव आत्मा, अर्जुनबीचको । यसले जीवनका जटिलताहरूलाई पार गर्न कालातीत ज्ञान प्रदान गर्दछ । अर्जुनको सङ्कट, उनको निराशा, वास्तवमा हाम्रो आफ्नै आत्माको पुकारको प्रतिध्वनि हो, जसले हामीलाई गहिरो सत्यको खोजीमा डो¥याउँछ ।

मार्गशीर्ष शुक्ल एकादशीको पावन दिन मोक्षदा एकादशीसँगै विश्वभरि गीता जयन्ती मनाइन्छ । यो त्यो शुभ क्षणको स्मरण हो, जब महाभारतको महासमर आरम्भ हुनुअघि नै युद्धभूमिमा अर्जुन विषादग्रस्त बन्न पुग्छन् । कर्तव्यबाट विचलित हुँदै, युद्ध नगर्ने तर्कहरू राख्छन् र पलायनको भाषा बोल्न थाल्छन् । उनको हातबाट कर्तव्यको धनु खस्किन्छ । पछि उनी श्रीकृष्णलाई आफ्ना गुरुका रूपमा स्वीकार्दै शरणागत हुन्छन्, अनि प्राकट्य हुन्छ श्रीमद्भगवद्गीताको ।

समग्र मानवजातिका लागि मार्गदर्शक

श्रीमद्भगवद्गीता, हिन्दू धर्मको मुकुटमणि र सर्वाधिक लोकप्रिय ग्रन्थ हो । यसको वैश्विक पहुँच यति विराट् छ कि विश्वका प्रायः सबै भाषाहरूमा यसको अनुवाद भइसकेको छ । वर्तमान युगमा, यो ग्रन्थ हरेक स्तर र उमेर समूहका मानिसहरूका लागि एक अत्यन्त उपयोगी एवं अपरिहार्य साहित्य बनेको छ ।

भारतवर्षका सम्पूर्ण मत–सम्प्रदायका सन्त तथा विद्वान्हरूले यसमाथि गहन भाष्य, व्याख्या र निरूपणहरू लेखेका छन् । आज पनि यो ग्रन्थ नवीन लेखन र प्रकाशनको आधारभूमि बनिरहेको छ । धार्मिक र आध्यात्मिक चिन्तनका साथै योग–सम्बद्ध व्याख्याहरूका अतिरिक्त, यसको शिक्षालाई प्रबन्धन, वित्त, र शासन जस्ता आधुनिक विषयहरूमा पनि सफलतापूर्वक प्रयोग गरिएको छ । विश्वका अग्रणी विश्वविद्यालयहरूमा गीतामा आधारित लेखन र पाठ्यक्रमहरू सञ्चालित छन् । भारतकै प्रतिष्ठित प्रबन्धन संस्थानहरू आई.आई.टी. बेङ्गलोर, कोलकाता, खड्गपुर आदिले यसलाई पाठ्यक्रमका रूपमा विकास गरेका छन्, साथै इन्टरनेटमा ‘गीता सुपरसाइट’ को रूपमा यसको ज्ञानलाई स्थापित समेत गरेका छन् ।

ऋषि–मुनि र आचार्यहरूको परम्पराबाट हिन्दूहरूले उत्तराधिकारमा प्राप्त गरेको भए पनि, यो ग्रन्थ समग्र मानवजातिका लागि एउटा सार्वभौम मार्गदर्शक हो । विश्वका प्रतिष्ठित संस्थाहरूले यसका सिद्धान्तहरूलाई नेतृत्व, प्रबन्धन र विज्ञानसँग जोडेर पढाउँछन् । विश्वविख्यात हार्वर्ड विश्वविद्यालयको ‘भगवद्गीता र यसका महानतम् भाष्य’ र अक्सफर्ड विश्वविद्यालयको ‘हिन्दू स्टडीज’ अन्तर्गतका पाठ्यक्रमहरू यसको जीवन्त प्रमाण हुन् ।

गीताको मूल मर्म र अर्जुनको भूमिका

गीताका विविध प्रयोगहरूमा प्रवेश गर्नुअघि, यसको मूल भाव बुझ्न नितान्त आवश्यक छ । गीताको तत्कालीन उद्देश्य थियो— अर्जुनलाई युद्धका लागि तत्पर बनाउनु । आफ्नो मनको संकीर्णता र मोहका कारण कर्तव्यबाट विमुख हुँदै, अर्जुन ‘धर्म्य’ युद्धबाट हट्न खोज्दै थिए । ठीक त्यही बेला, उनलाई स्वधर्मको बोध गराउन स्वयं पार्थसारथी भगवान् श्रीकृष्णले गाउनुभएको हुनाले नै यो ‘भगवद्गीता’ हामी सबैका लागि स्वधर्मको स्पष्ट मार्गदर्शन बनेको छ ।

हामी सबैको मनमा उब्जने शंका, जिज्ञासा र प्रश्नहरूलाई गीतामा अर्जुनले मुखरित गरिदिएका छन् । यसै कारण, गीता हामी असङ्ख्य जीवहरूका लागि सजिलै उपलब्ध एउटा ‘कुञ्जी’ (साँचो) बन्न पुगेको छ । जसरी विद्यार्थीहरू परीक्षाअघि विस्तृत पाठ्यसामग्रीको साटो सजिलो ‘कुञ्जी’ वा ‘गाइडबुक’ मा भर पर्छन्, त्यसरी नै जीवन–परीक्षामा जुझ्न हामीले गीताका रूपमा एउटा सहज साँचो प्राप्त गरेका छौँ । यसका लागि हामी भगवान् श्रीकृष्णको कृपाप्रति नतमस्तक हुनुका साथै अर्जुनका ऋणी पनि बन्न पुग्छौँ । भगवान्ले दिनुपर्ने मूल सन्देश त दोस्रो अध्यायमै पर्याप्त थियो । तर, अर्जुनले थप प्रश्नहरू गर्दै व्याख्यानलाई अगाडि बढाए र शास्त्रहरूमा आएका विविध पाटोहरूको संक्षिप्त आख्यान स्वयं श्रीभगवान्का मुखबाट हामीलाई दिलाउनमा ठूलो भूमिका निर्वाह गरे ।


उद्देश्यपूर्ण कर्मको मार्ग : आधुनिक संसारमा कर्मयोग

भगवद्गीताको सबैभन्दा क्रान्तिकारी र समकालीन संसारको लागि सबैभन्दा व्यावहारिक शिक्षा कर्मयोग हो । यो एउटा यस्तो विधि हो जसले हाम्रो सामान्यभन्दा सामान्य कामलाई पनि आध्यात्मिक अभ्यासमा रूपान्तरण गर्ने शक्ति राख्छ । यसले हामीलाई कर्मबाट भाग्न होइन, बरु कर्ममा रमाउँदै मुक्ति खोज्न सिकाउँछ । र, यहाँ मुक्ति मृत्युपछि अवस्था चाहिँ पक्कै पनि होइन ।

कर्मयोगको केन्द्रीय सिद्धान्त हो : “तिम्रो अधिकार केवल कर्ममा छ, त्यसको फलमा कहिल्यै छैन ।” आधुनिक सन्दर्भमा यसको अर्थ हो— आफ्नो व्यावसायिक जीवन, पारिवारिक जिम्मेवारी, र व्यक्तिगत लक्ष्यहरूमा पूर्ण लगन र उत्कृष्टताका साथ काम गर्ने, तर परिणामप्रति आसक्त नहुने । परिणामप्रतिको आसक्तिले नै तनाव, चिन्ता र अवशादलाई जन्माउँछ । गीताले हामीलाई परिणामको चिन्ताबाट मुक्त भएर कर्मको प्रक्रियामा नै आनन्द खोज्न प्रेरित गर्छ ।

यसको लागि गीताले कमलको पातको सुन्दर उपमा दिएको छ । जसरी कमलको पात पानीमा रहन्छ तर पानीले भिज्दैन, त्यसरी नै कर्मयोगी संसारमा रहेर आफ्नो कर्तव्य पूरा गर्छ तर सांसारिक मोह र फलको आसक्तिमा डुब्दैन । कुनै कम्पनीको अधिकृतले कम्पनीलाई ‘मेरो’ होइन, बरु ‘शेयरहोल्डरहरूको अमानत’ सम्झनु, वा एक राजनीतिज्ञले देशलाई ‘मेरो जागीर’ होइन, बरु ‘जनताको धरोहर’ सम्झनु— यही नै कमलको पात जसरी जिउने कला हो । जब हामी आफ्नो कर्मलाई यज्ञको रूपमा, आसक्ति बिना गर्छौं, तब हामी परिणामको बन्धन र चिन्ताबाट मुक्त हुन्छौँ । यसले हामीलाई आन्तरिक शान्ति मात्र दिँदैन, बरु हाम्रो कार्यमा कुशलता पनि ल्याउँछ । यसले हाम्रो कार्यमा कुशलता ल्याउँछ, तर यो कुशलतालाई कुन आन्तरिक शक्तिले चलाइरहेको छ? हाम्रो कर्मको पछाडि कुन प्रेरणा लुकेको छ— ज्ञान, महत्वाकांक्षा, वा जडता? गीताले यसको उत्तर तीन गुणहरूको गहन मनोविज्ञानमा दिन्छ ।

आन्तरिक युद्धभूमि : तीन गुणहरूमा महारत

गीताले प्रस्तुत गरेको शाश्वत मनोविज्ञानको आधार तीन गुणहरू हुन्— सत्व, रजस्, र तमस् । यी तीन अदृश्य धागाहरू हुन् जसले हाम्रो वास्तविकताको सम्पूर्ण वस्त्र बुन्दछन् । यी हाम्रो चेतनाको रङ्गमञ्चमा रहेका तीन प्राथमिक रङ्गहरू हुन् । यी तीन गुणहरू प्रकृतिका मौलिक शक्तिहरू हुन् जसले हाम्रो विचार, भावना, र कर्महरूलाई निरन्तर प्रभावित गरिरहेका हुन्छन् । यिनलाई बुझ्नु भनेको आत्म–विश्लेषण र व्यक्तिगत विकासको लागि एक शक्तिशाली फ्रेमवर्क प्राप्त गर्नु हो ।

सत्व : सत्व गुण सद्भाव, ज्ञान, प्रकाश, र शान्तिको प्रतीक हो । जब यो गुण प्रबल हुन्छ, हाम्रो मन शान्त, एकाग्र र आनन्दित हुन्छ । उदाहरणको लागि, कुनै पुस्तक केवल सिक्ने र आफ्नो समझलाई विस्तार गर्ने शुद्ध आनन्दको लागि पढ्नु सत्व गुणको अभिव्यक्ति हो ।

रजस् : रजोगुण कर्म, जोश, महत्वाकांक्षा, र अशान्तिको स्रोत हो । जब यो गुण हावी हुन्छ, हामी नाम, दाम, र प्रतिष्ठाको लागि दौडिन्छौँ । जस्तै, त्यही पुस्तक पदोन्नतिको लागि प्रतिस्पर्धात्मक लाभ लिन, महत्वाकांक्षा र मान्यताको इच्छाले प्रेरित भएर पढ्नु रजोगुणको प्रभाव हो ।

तमस् : तमोगुण जडता, आलस्य, अज्ञान, र भ्रमको प्रतीक हो । यसको प्रभावमा, हामी निष्क्रिय, दिशाहीन, र भ्रमित हुन्छौँ । उदाहरणको लागि, बौद्धिक देखिनको लागि त्यो पुस्तक किन्ने तर कहिल्यै नखोल्ने । 

गीताको उद्देश्य हामीलाई यी तीन गुणहरूको खेलबारे सचेत गराउनु हो । रजोगुणको अशान्ति र तमोगुणको जडतालाई जितेर सत्वगुणलाई विकास गर्न र अन्ततः, यी तीनै गुणहरूभन्दा पर गएर साँचो स्वतन्त्रता प्राप्त गर्न गीताले हामीलाई मार्गचित्र प्रदान गर्दछ । यी तीन गुणहरूको खेलमाथि विजय प्राप्त गरेपछि नै त्यो अवस्थाको जन्म हुन्छ, जहाँ मन सुख–दुःखको आँधीमा पनि स्थिर र अविचल रहन्छ— स्थितप्रज्ञको अवस्था ।

जीवन जिउने कला : कोलाहलपूर्ण संसारमा समभावको प्राप्ति

गीताको ज्ञानको परिणति भनेको स्थितप्रज्ञ अवस्था प्राप्त गर्नु हो । यो एक यस्तो आन्तरिक अवस्था हो जहाँ मन सुख र दुःख, सफलता र असफलता, सम्मान र अपमान जस्ता जीवनका द्वन्द्वहरूमा अविचलित र शान्त रहन्छ । यस्तो व्यक्तिले जीवनका उतार–चढावहरूलाई समभावले हेर्छ ।

यो उदासीनता होइन, बरु गहिरो आन्तरिक सन्तुलन हो । संसारमा दुःख हुनु स्वाभाविक हो । तर दुःखी हुनु वा नहुनु व्यक्तिको रोजाइमा भर पर्ने कुरो हो । स्थितप्रज्ञ व्यक्तिले पीडा महसुस नगर्ने होइन, तर ऊ पीडामा डुब्दैन । उसले सफलताको आनन्द लिन्छ, तर त्यसमा अहंकारले फुल्दैन । ऊ संसारमा पूर्ण रूपमा सक्रिय रहन्छ, तर संसारको कोलाहलले उसको भित्री शान्तिलाई भङ्ग गर्न सक्दैन ।

यो समभावको अवस्था नै स्वतन्त्रता र आनन्दको अन्तिम स्रोत हो । यसले हामीलाई बाहिरी परिस्थितिहरूको दास बन्नबाट रोक्छ र आफ्नो जीवनको मालिक आफैं बन्न सक्षम बनाउँछ । जब हाम्रो आनन्द बाहिरी वस्तुहरूमा निर्भर रहँदैन, तब हामी साँचो अर्थमा स्वतन्त्र हुन्छौं । यही नै जीवन जिउने सर्वोच्च कला हो, जहाँ हामी कोलाहलपूर्ण संसारको बीचमा रहेर पनि आफ्नो भित्री शान्तिमा स्थिर रहन सक्छौं । यस्तो अवस्था कसरी प्राप्त गर्न सकिन्छ भनी हामीमा जिज्ञासा जागृत भएमा त्यसको उत्तर पनि गीता माताकै अङ्कमा पाउन सक्छौँ ।


सत्यका विविध मार्गहरूको समन्वय

सत्य त एउटै छ— “एकम् सत्” भनी वेदले भनेका छन् । त्यस सत्यलाई जान्न, बुझ्न र सबैभन्दा महत्वपूर्ण, त्यसको साक्षात्कार गर्नका लागि जति पनि मार्गहरू हुन सक्छन्, ती सबैको सुगम आख्यान हामीले गीतामा पाउँछौँ ।

  • कर्मयोग : निष्काम तर श्रेष्ठ कर्मद्वारा मुक्तिको कुशल मार्ग ।
  • ज्ञानयोग : सृष्टिका गूढ रहस्यहरूबारे चिन्तनको स्पष्ट र आग्रहपूर्ण बाटो ।
  • भक्तियोग : समर्पण र प्रेमको मधुर मार्ग ।
  • राजयोग : मनलाई संयमित गरी चित्तका वृत्तिहरूको निरोध गर्ने राजमार्ग (जसअन्तर्गत ध्यानयोग, क्रियायोग आदिको विस्तृत वर्णन छ)।

अन्तिम आदेश : विमर्श र स्वतन्त्रता

यति धेरै ज्ञान प्रदान गरेपछि, जब अर्जुन स्वाध्यायमै रमाउन चाहन्छन् र युद्ध गर्न तत्पर हुँदैनन्, तब भगवान्ले उनलाई दिव्य दृष्टि प्रदान गरी आफ्नो विराट् विश्वरूपको दर्शन गराउनुहुन्छ । सम्पूर्ण जड–चेतनमा ईश्वरबुद्धि गर्न प्रेरित गर्दै विभूतियोगको वर्णन गर्नुहुन्छ । यसपछि, उत्पन्न समर्पण भावलाई सही दिशा दिन भक्तिको मार्ग प्रतिपादन गर्नुहुन्छ ।

हिन्दू दर्शनशास्त्र अन्तर्गतका छवटै दर्शनको समन्वय गरेपछि, दैवी र आसुरी सम्पदाको सुस्पष्ट व्याख्या गरी करणीय (गर्नहुने) र अकरणीय (गर्ननहुने) कुराहरूको ज्ञान दिनुहुन्छ । साथै, सत्व, रज र तमका भेदहरूलाई पूर्ण व्यावहारिकताका साथ उल्लेख गरेपछि, भगवान्ले अर्जुनलाई आफ्नो मनअनुसार कर्म गर्ने स्वतन्त्रता प्रदान गर्नुहुन्छ—

इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया । 
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ।। 

(यो गुह्यभन्दा पनि गुह्यतर ज्ञान मैले तिमीलाई बताएँ । यसमाथि पूर्णरूपले विमर्श गरेर, तिमीलाई जस्तो इच्छा लाग्छ त्यस्तै गर ।)

यसरी हेर्दा, गीताको अन्तिम आदेश हो— “यथेच्छसि तथा कुरु”— जस्तो इच्छा लाग्छ त्यस्तै गर । वर्तमान युवालाई आफ्नो मनको वेगअनुसार चल्ने यही स्वतन्त्रता नै त चाहिएको छ ! तर, भगवान्ले केवल एउटा पूर्वकार्यको अपेक्षा राख्नुभएको छ : पहिले समग्र विमर्श गर— ‘अशेषेण’ अर्थात् केही बाँकी नराखी ज्ञानको चर्चा गर, स्वाध्याय गर, विचार गर, मन्थन गर । अनि त्यसपछि जसो गर्नु उपयुक्त लाग्छ, त्यसो गर ।

ज्ञान र कर्मयोगलाई यति समान महत्वका साथ स्थापित गरिएको छ कि अर्जुनले तेस्रो अध्यायको आरम्भमै भगवान्माथि गुनासो गरेझैँ गरी भनेका छन्— 

“मिश्रित वाक्यहरूद्वारा तपाईं मलाई झनै भ्रमित पार्नुहुँदैछ ! जब ज्ञानलाई कर्मभन्दा श्रेष्ठ ठान्नुहुन्छ भने मलाई युद्ध जस्तो घोर कर्ममा किन धकेल्नुहुन्छ?” 

यस प्रकार, दुवैको समन्वय गर्ने हेतुले आएको कर्मसंन्यासयोग पनि हामी सबैको कल्याणका लागि गीतामा गाइएको छ ।

शिष्यत्वको तत्परता र कृतियोग

विद्वान्हरूको मत छ— गीताको मर्म बुझ्नलाई हामीले अर्जुनको भावसम्म पुग्नैपर्छ । केवल विषाद र भ्रमले पुग्दैन । जीवन सङ्घर्षबीच, युद्धभूमिमा पनि स्वाध्यायका लागि तत्पर हुनुपर्छ । 

हामीसँग सम्बन्धमा मोह र कर्तव्यप्रति भ्रम त प्रचुर मात्रामा छ । तर, यति मात्रैले अर्जुन भइँदैन । अर्जुनको त विषाद पनि योग बन्यो, किनभने उनले ‘शिष्यत्व’ ग्रहण गरे । यदि आफ्नो कृपणता (विचारको संकीर्णता, मनको क्षुद्रता) लाई स्वीकार गरी अर्जुनले श्रीभगवान्को शिष्यत्व ग्रहण नगरेको भए, उनको विषाद वर्तमान मनोविज्ञान–अनुरूप ‘डिप्रेसन’ को रोग मात्र हुनेथियो । दोस्रो अध्यायको सातौँ श्लोकमा अर्जुनले ‘प्रपन्न हुने’ (शरणागत हुने) जुन तत्परता दर्शाए, हो, त्यही नै गीताको प्राकट्यको निमित्त बन्यो ।

हामी सबै आफ्ना प्रयास र परिणामबाट असन्तुष्ट छौँ । तर, आफैले दायित्व ग्रहण गर्नुको साटो हामी परिणामको दोष परिस्थिति, परिजन, परिवेश आदिमा थोपर्न पुग्छौँ । यदि हामी आफैंप्रति जवाफदेही बनी परिवर्तनका लागि प्रयत्न गथ्र्यौँ भने, त्यही तृष्णा दैवी असन्तोषमा परिवर्तित हुनेथियो । यस्तो कर्तव्य भाव रहेमात्र श्रीभगवान् हाम्रा निम्ति पनि सारथि बन्न तत्पर हुनुहुनेछ ।

यदि हामी गीतालाई आत्मसात् गरी आफ्नो स्वधर्मको दर्शन गर्दै जीवनलाई सार्थक तुल्याउने इच्छा राख्छौँ, अनि साँचो अर्थमा स्वतन्त्र बनी मनअनुसार नै कर्म गर्न चाहन्छौँ भने, हामीले अर्जुनको विषाद र भ्रमका साथै भगवत्समर्पण र स्वाध्यायलाई पनि आफूभित्र जागृत गर्नुपर्छ । अनि मात्र हाम्रो भवरोग (संसारको दुःख) पनि कृतियोगमा रूपान्तरित हुनेछ र हामी पनि विश्वासका साथ भन्नसक्ने छौँ— 

“मोह नष्ट भयो, कर्तव्यबारे स्मृति लाभ गरेँ र हे ईश्वर ! अब तपाईंको आदेश पालन गर्नका लागि तत्पर छु ।”


No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...