दही-चिउरा खाने विशेष दिन होस्
अथवा दुधमा बनेको पोषिलो खीर खाने दिन,
नेपाली संस्कृति
प्राचीन वैज्ञानिक ऋषिहरूद्वारा प्रतिपादित
ऋतुचर्या विज्ञानका आधारमा चलिरहेको बुझिन्छ ।
कुन ऋतुमा के खाँदा
शरीरलाई समुचित पोषण प्राप्त हुन्छ
र त्यो खाद्य वस्तुले कुनै हानी पुर्याउँदैन
यसको सम्यक विचार आयुर्वेदिक चिन्तनले दिएको छ ।
____
यससँगै के पनि स्मरणीय छ भने,
नेपाली संस्कृति आफैमा कृषिकर्ममा आधारित
संस्कृति हो ।
यो गोपालन र रक्षण गर्ने गोरक्ष संस्कृति हो ।
यसका चाड–पर्व र परम्पराहरू कृषिसँग निकै नजिक छन् ।
आजको नेपाली समाजमा
चाड–पर्व मनाउने क्रमले त निरन्तरता पाएको छ
तर ऋषि–चिन्तन र कृषिकर्म चाहिँ
ओझेलमा परेको पो हो कि भन्ने भान पर्दछ ।
कृषिको आधार गोवंश (विशेष गरी स्थानीय नस्लका गाई–बयल) हो ।
आधुनिक वैज्ञानिक पद्धतिले कृषिकर्म गरिरहँदा पनि
आज प्रकृतिमा सन्तुलन ल्याउन,
विषादिको प्रयोगबाट बच्न र
प्राकृतिक उर्वरक मल प्रयोग गर्नका लागि
गौ–पालन अपरिहार्य देखिन्छ ।
गाई–बयलको गोबर र मूत्र प्रयोग गरे
धर्तीको उर्वरा शक्ति पनि कायम रहन्छ
र कीटादिको प्रकोप पनि घट्नेछ ।
हामीले आफ्ना लागि खाद्य अन्न तथा तरकारी पनि
शुद्ध अवस्थामा पाउँछौँ ।
समग्रमा, प्रकृतिसँगै मानवीय स्वास्थ्य पनि
सुदृढ, शुभ र निरोगी बन्नेछ ।
यसर्थ,
आफ्ना सांस्कृतिक पर्व–परम्परा मानिरहँदा
त्यसपछाडि निहित भाव के होला त भनी विचार पनि गर्ने गरौँ ।
किनभने, गौ–पालन र संरक्षणमा ध्यान नदिएसम्म
दही र खीर खाने पर्वले सार्थकता पाउँदैनन् ।

No comments:
Post a Comment