प्रफुल्ल मुख, अलौकिक भाव, सरल बोलिचाली र तेजोमय दिव्यकान्ति देखेर सबै नरनारी ती युवाका पछि लागे । सुमधुर वचनले ती युवाले पनि सबैलाई आह्वान गर्नुभएको थियो गोष्ठीपुरस्थित श्रीविष्णु-मन्दिरमा आउन । निम्तो कसैले टार्न सकेनन् । जसले उहाँलाई देखेर, सुनेर पछ्याएका थिए, ती त मन्दिरको प्राङ्गणमा पुगे नै । जसले उहाँलाई देखेका थिएनन्, उहाँको आह्वान सुनेका थिएनन् ती पनि- 'एउटा तेजस्वी युवाले आह्वान गर्नुभएको छ रे' भन्ने तत्क्षणै प्रवाहित कुरो सुनेर मन्दिरतिरै मोडिदै थिए ।
मन्दिर प्राङ्गणमा उपस्थित जनसमूहलाई देखेर दयामूर्ति युवकको मनमा असीम प्रेम-समुद्र उर्लियो । उहाँ क्रमशः मन्दिरको माथिल्लो भागतिर उक्लिनुभयो । दृष्टिमा परेका सबै नरनारीतिर हेरेर उहाँले उच्च स्वरमा भन्नुभयो– “तपाइँहरू यसै समय संसारका समस्त व्याधिहरूबाट मुक्ति चाहनुहुन्छ भने मैले जुन मन्त्र मेरा गुरुबाट प्राप्त गरेको छु त्यसलाई तीन पटक मसँगै मनःपूर्वक उच्चारण गर्नुहोस् ।”
“भन्नुहोस् स्वामी । उच्चारण गर्नुहोस् । हामीलाई कृतार्थ पार्नुहोस् ...!” जनसमूहले पनि हार्दिकताको अनुभूति साटे ।
परम्प्रभु श्रीनारायणको चरणकमलमा आफ्नो ध्यान केन्द्रित गरेर ती तेजस्वी युवकले आफ्नो हृदयको स्पन्दन, जीवनको आधार दिव्य अष्टाक्षर महामन्त्र उच्चारण गर्नुभयो । भोकले ब्याकुल भएका व्यक्तिले जसरी भोजन ग्रहण गर्दछन् त्यसरी नै उपस्थित जनसमूहले आग्रहपूर्वक ती युवकसँगै "अष्टाक्षरी महामन्त्र" उच्चारण गरे । काँच खोज्दै भौँतारिएकाहरूले हीरा नै पाएझैँ अनुभव गरेका थिए । आनन्दको निर्झर उर्लिएको थियो त्यहाँ । ती दिव्य युवकको चरणमा साष्टाङ्ग प्रणाम अर्पण गर्न आतुर थियो कृतार्थ जनलहर । उत्सव थियो मन्दिरको प्राङ्गणमा । अन्ततः सबैलाई स्नेहपूर्ण दृष्टिले हेर्दै ती युवक आफ्ना गुरुको सेवाका लागि गुरुगृहतिर हिँड्नुभयो ।
आफ्ना अन्य शिष्यहरूबाट श्रीविष्णु मन्दिरमा भएको घटना सुनेर गुरु श्रीगोष्ठीपूर्ण क्रुद्ध हुनुहुन्थ्यो । ती युवक आफूसमक्ष आइपुग्नासाथ श्रीगोष्ठीपूर्णले निकै रोषपूर्वक भन्नुभयो– “तिमीलाई मन्त्र प्रदान गर्दा मैले भनेको थिएँ यो मन्त्र र यसको रहस्य अरुका सामु उद्घाटित नगर्नु । योग्यता हेरेर मात्र मन्त्रदीक्षा प्रदान गर्नु । तर.. तर, तिमीले अपराध गऱ्यौ । गुरुका वचनको अवहेलना गऱ्यौ । तिमीलाई ज्ञात होला, यस्ता व्यक्तिको अधोगति हुन्छ । नरकमा पनि ठाउँ पाउन गाह्रो पर्छ ।”
क्रुद्ध गुरुलाई देखेर ती युवकले शान्तिपूर्वक भन्नुभयो “म हजुरको अपराधी हुँ गुरुदेव । हजुरले भनेजस्तै यस मन्त्रमा अमोघ शक्ति छ भन्ने कुरा मैले आफैँले अनुभव गरेँ । यसले मानिसलाई संसारको दुःखबाट मुक्ति दिलाउँछ भन्ने अनुभव भएपछि मलाई यो मन्त्र आफूमा मात्र गोप्य राख्न उचित लागेन ।... गुरुदेव, संसारमा यत्रतत्र मानिस दुःखी छन्, पीड़ित छन्। संसारको भीषण आगोमा छटपटिरहेका ती असंख्य नरनारी यो मन्त्रका निम्ति अवश्य योग्य छन् प्रभु। हजुरको कथन अनुसार हजारौँ नरनारीले परम गति प्राप्त गरुन् । यसका लागि म एकजना नरक जाँदा, मेरो अधोगति हुँदा दुःखमा सन्तप्त असङ्ख्य नरनारीको उद्धार हुनेछ भने यस्तो नरकवासका लागि म, एउटा तुच्छ व्यक्ति सदैव तत्पर छु गुरुदेव ।”
गुरु श्रीगोष्ठीपूर्ण आफ्ना तेजस्वी शिष्यको भक्तियुक्त तर्क र करुणापूर्ण व्यवहार देखेर प्रसन्न हुनुभएको थियो । “तिमी साधारण मानिस हैनौ । मुक्तिदाता हौ तिमी...” भन्दै उहाँले ती युवालाई आलिङ्गन गर्नुभयो । हर्षका आँसु छचल्किएका थिए उहाँका नयनमा ।
आह्लादित ती युवाले भन्नुभयो, "मैले गुरुअपराध गरेर पनि हजुरको आलिङ्गन प्राप्त गर्न सफल भएँ । यस्तो प्रसाद, जसका लागि देवताहरू पनि लालायित रहन्छन् । गुरुदेव, यो मेरो अहोभाग्य हो । भगवती महालक्ष्मीको दिव्य अनुकम्पा हो । जीवन धन्य भयो प्रभु जीवन धन्य भयो ।"
ती तेजस्वी युवा वास्तवमै करुणावतार हुनुहुन्थ्यो । उहाँलाई शेषनागको अवतार पनि भन्ने गरिन्छ । 'श्रीरामका अनुज' लक्ष्मणकै अवतारका रूपमा गणना गरिने ती प्रेममूर्तिको नाम हो रामानुजाचार्य ।
कुनै भेदभावबिना सबैको उन्नति होस्, कल्याण होस् भन्ने भाव र त्यसैअनुरूपको कर्मका कारण उहाँ समरसताका पर्याय हुनुहुन्थ्यो ।
आज करुणामूर्ति समरसताका प्रतीक श्रीमज्जगद्गुरु श्रीरामानुजाचार्यको पावन प्राकट्य दिवस हामी सबैका निम्ति प्रेरक सिद्ध होस् ।
अशेष मङ्गलकामना 🌿🙏
Bijay P Miśra

No comments:
Post a Comment