प्राता रत्नं प्रातरित्वा दधाति तं चिकित्वान्प्रतिगृह्या नि धत्ते ।
तेन प्रजां वर्धयमान आयू रायस्पोषेण सचते सुवीरः ।।
(ऋग्वेद १।१२५।१)
भावार्थ : प्रातःकालीन सूर्यदेवले मनुष्यलाई स्वस्थ एवं पोषक तत्त्व दिन्छन् । ज्ञानी मानिस यस तथ्यबाट परिचित हुन्छन् । त्यसैले उनीहरू आलस्यलाई पन्छाउँदै सूर्योदय हुनुभन्दा पहिल्यै उठेर सूर्यको पोषक रश्मि मिसिएको प्राणतत्त्वरूपी रत्न लाभ गरी आफ्नो जीवनमा स्थापित गर्दछन् । बिहानै उठ्ने त्यस्ता प्रबुद्ध एवं क्रियाशील मानिसले उषाबाट प्राप्त आरोग्यलाई शरीरमा र प्रकाशलाई मस्तिष्कमा धारण गर्दछन् । यस्ता पोषक पदार्थ धारण गरेका मानिसले दीर्घायु त प्राप्त गर्छन् नै सँगै आफ्ना सन्ततिको श्रीवृद्धि पनि गर्दछन् । साथै स्वस्थ भएर धन–समृद्धि आर्जन गर्छन् ।
ऋग्वेदको यो उद्घोषले हामीलाई ब्रह्ममुहूर्तमा उठेर आफ्ना नित्यकर्ममा प्रवृत्त हुन निर्देश गरेको छ । हाम्रा वैज्ञानिक ऋषिहरू हाम्रा पथप्रदर्शक हुन् । उन्नत एवं समृद्ध जीवनका लागि हाम्रो दिनचर्या, ऋतुचर्या र जीवनचर्या कस्तो हुनुपर्छ भन्ने कुरा हाम्रा सद्ग्रन्थहरूमा उल्लेख गरेर हाम्रा पूर्वजले हामीलाई बाटो देखाएका छन् । यस मन्त्रद्वारा आलस्य त्याग्दै सूर्योदयभन्दा पहिल्यै ब्राह्ममुहूर्तमा उठ्नका लागि हाम्रा ऋषिमुनिहरुले निर्देश गरेका हुन् । ब्राह्ममुहूर्तको वायु हाम्रो स्वास्थ्यका लागि अमृतसमान हुन्छ । आयुर्वेदशास्त्रका अनुसार ब्राह्ममुहूर्तमा उठ्ने व्यक्तिलाई सौन्दर्य, लक्ष्मी, बुद्धि, स्वास्थ्य, दीर्घायु आदि प्राप्त हुन्छ । आधुतिक विज्ञानले पनि सूर्योदयका किरणसँगै जीवनशक्ति बढाउने अक्सिजनको शक्ति बढ्दै जाने तथ्य उजागर गरेको छ ।
उदीर्ध्वं जीवो असुर्न आगादप प्रागात्तम आ ज्योतिरेति ।
आरैक्पन्थां यातवे सूर्यायागन्म यत्र प्रतिरन्त आयुः ।।
(ऋग्वेद १।११३।१६)
भावार्थ : हे मनुष्य ! उठ । आलस्य त्यागेर उन्नतिको मार्गमा बढ । प्रभात बेलामा प्राणरूपी जीवनी शक्तिको सघन सञ्चार प्राप्त गर । मोहरूपी अन्धकार हटाऊ । देवी उषाले सूर्यदेवको आगमनका लागि मार्ग बनाएकी छिन् । ज्योतिर्मय सूर्यदेव अघि बढ्दैहुनुहुन्छ । हामी पनि आयु अर्थात् आरोग्यवर्धक जीवनी शक्तिलाई प्राप्त गरौँ ।
ऋग्वेदका ऋषिको यो उद्घोषले हामीलाई प्रेरित गरेको छ— अज्ञान र मोहरूपी अन्धकार समाप्त हुँदैछ, अतः नवजीवनको प्रकाशमा माथि उठ्ने यत्न गरौँ । हाम्रा चारैतिर ज्ञानरूपी सूर्यले आफ्नो दिव्य प्रकाश फैलाइरहेका छन् । अब यस शुभ बेलामा हामी पनि आफ्नो प्रगतिको मार्ग बनाउनमा लागौं । धर्मको प्रकाश फैलाऔँ । हामी धर्मानुष्ठान गर्दै धर्ममार्गमा हिँडेर कल्याणकारी कार्यमा लागौँ । यसरी हामीले जीवनमा कीर्ति आर्जन गर्नेछौँ । यसरी जीवन यशस्वी हुनेछ ।
प्रस्तुतिः विजयप्रसाद मिश्र

No comments:
Post a Comment