Wednesday, July 9, 2025

योगदर्शनको अध्ययनमा आउने शब्दावली र तिनको अर्थ

 

योगदर्शनको अध्ययनमा आउने शब्दावली र तिनको अर्थ

  • अद्वैत: द्वैतताको अभाव; एकता वा एकत्वको सिद्धान्त, विशेष गरी आत्मा र परमात्माको सन्दर्भमा।
  • अनादि: जसको कुनै आदि (शुरुवात) छैन, शाश्वत।
  • अनन्त: जसको कुनै अन्त छैन, असीमित, शाश्वत।
  • अनुमान: प्रत्यक्ष अनुभव वा अवलोकनमा आधारित ज्ञान वा निष्कर्ष।
  • अपपरिग्रह: अनावश्यक वस्तुहरूको संग्रहको अभाव; योगमा एक 'यम' को रूपमा, जुन इच्छा र संग्रहबाट विरक्तिलाई जनाउँछ।
  • अभिनिवेश: पूर्व-निवास वा भौतिक शरीर प्रति आसक्ति; मरणभय।
  • अभ्यास: लगातार प्रयास वा अभ्यास; चित्तवृत्तिको निरोधका लागि आवश्यक निरन्तर प्रयास।
  • अविद्या: वास्तविक ज्ञानको अभाव; नश्वर, अपवित्र, दु:ख र अनात्ममा नित्य, पवित्र, सुख र आत्मभावको प्रतीति।
  • अविनाशी: विनाश नहुने, अमर।
  • अविराग: वैराग्यको अभाव, विषयहरूमा आसक्ति।
  • अस्मिता: द्रष्टा (पुरुष) र दर्शन शक्ति (बुद्धि, मन, इन्द्रियहरू) को एकरूपता; चेतन र जडको मिश्रण।
  • आगम: विश्वसनीय स्रोत वा गुरुको वचन, श्रवणद्वारा प्राप्त ज्ञान।
  • आत्मारामण: आत्म-रमणीय, आत्मामा रमणीय।
  • आसन: स्थिरता र सुखपूर्वक बस्ने अवस्था; मनको स्थिरता। (पतञ्जलिका अनुसार)
  • ईश्वर: क्लेश, कर्म, विपाक र आशयबाट पूर्णतया निर्लिप्त रहने विशेष पुरुष।
  • ईश्वर-प्रणिधान: ईश्वरप्रति पूर्ण समर्पण।
  • उदान वायु: कण्ठदेखि शिरसम्म रहने प्राणवायु, जुन जीवलाई पाप-पुण्य अनुसार राम्रो-नराम्रो योनिमा फाल्छ।
  • उद्वेग: मनमा उत्पन्न हुने अशान्ति, हलचल।
  • औषधि: यहाँ, सांसारिक बन्धनबाट मुक्ति दिलाउने आध्यात्मिक उपायहरूलाई जनाउँछ, जस्तै ईश्वर-भक्ति।
  • कर्म: यहाँ, ईश्वर-उन्मुखी साधना, चिन्तन, योगको निश्चित विधि।
  • कैवल्य: परमपद, अमृतपद, जहाँ मृत्युको समावेश हुँदैन; शाश्वत सुख, शान्ति र जीवन।
  • क्लेश: अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश; जीवको दु:खका कारणहरू।
  • क्रियायोग: तप, स्वाध्याय र ईश्वर-प्रणिधानबाट योगको प्रारम्भिक क्रिया।
  • ध्रुव: ध्रुव तारा, यहाँ चित्तको अचल स्थिरताको प्रतीक।
  • ध्यान: जहाँ चित्तलाई लगाइएको छ, त्यसमै वृत्तिको एकतार प्रवाह; ध्याता र ध्येयको द्वैतता।
  • धारणा: कुनै एक स्थानमा चित्तलाई बाँध्नु; लक्ष्यलाई धारण गर्नु।
  • निद्रा: वृत्तिको सुप्त अवस्था; अभावको ज्ञानको अवलम्बन गर्ने वृत्ति।
  • निर्बीज समाधि: जहाँ सबै संस्कारको बीजनै समाप्त हुन्छ, कैवल्यको उच्चतम अवस्था।
  • निर्विचार समाधि: विचाररहित समाधि, जहाँ आध्यात्मिक विभूतिहरू प्रकट हुन्छन्।
  • पञ्च महाभूत: आकाश, पृथ्वी, अग्नि, जल र वायु।
  • पतञ्जलि: योगदर्शनका प्रणेता महर्षि।
  • पर-वैराग्य: पुरुष (परमात्मा) को ज्ञानबाट प्रकृति (तीन गुण) मा तृष्णाको पूर्ण अभाव।
  • परमपद: उच्चतम अवस्था, कैवल्य।
  • प्रातिभ: परमात्माको निर्देशनबाट सञ्चालित ज्ञान, बिना प्रयास सबै कुराको जानकारी हुने अवस्था।
  • प्राणायाम: श्वास-प्रश्वासको गतिलाई रोक्नु; चित्तवृत्तिलाई विषयहरूबाट हटाउनु।
  • प्रमाद: साधनाको अनुष्ठानको अवहेलना, व्यर्थको वार्तामा समय नष्ट गर्नु।
  • प्रमाण: प्रत्यक्ष, अनुमान र आगम; वृत्तिहरूलाई सञ्चालित गर्ने माध्यम।
  • प्रत्यक्ष: आँखा वा अन्य ज्ञानेन्द्रियहरूद्वारा गरिने सीधा अनुभव।
  • प्रत्यक्चेतनाधिगम: अन्तर्यामी आत्माको ज्ञान।
  • प्रत्याहार: इन्द्रियहरूलाई तिनीहरूका विषयहरूसँगको सम्बन्धबाट रहित गराएर चित्तको स्वरूपको अनुकरण गराउनु।
  • प्रव्यक्त: प्रकट, स्पष्ट।
  • प्रज्ञा: ईश्वरीय सन्देशहरू, निर्देशनहरूलाई ग्रहण गर्ने बुद्धि।
  • भ्रान्तिदर्शन: योगका साधनाहरू र त्यसको फललाई मिथ्या मान्नु।
  • भवप्रत्यय: जन्म ग्रहण गर्नु नै पूर्णताको माध्यम हुनु (जस्तै शुकदेव, श्रीकृष्ण)।
  • भूतजय: स्थूल, स्वरूप, सूक्ष्म, अन्वय र अर्थवत्व – यी पाँच प्रकारका अवस्थाहरूमा संयम गरेर सबै भूतहरूमाथि विजय प्राप्त गर्नु।
  • माया: ईश्वरको शक्ति जसले जीवलाई संसारमा भटकाउँछ; विद्या र अविद्या दुई रूपमा प्रकट हुन्छ।
  • मीमांसक: वैदिक कर्मकाण्ड र धर्मको व्याख्या गर्ने दर्शनका अनुयायी।
  • मिथ्याज्ञान: जुन वस्तुको स्वरूपमा प्रतिष्ठित छैन; अस्तित्वहीन वस्तुहरूमा आसक्ति।
  • मोह: अज्ञानता, दुःखको मूल कारण।
  • यम: अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह – योगका पाँच नैतिक प्रतिबन्ध।
  • योग: ‘युज’ धातुबाट व्युत्पन्न, समाधि, जोड, र संयमन अर्थ लाग्छ; चित्तवृत्तिको निरोध।
  • योगेश्वर: योगका स्वामी, श्रीकृष्ण जस्ता महायोगी।
  • राग: सुखको प्रतीतिको पछि लाग्ने मनको स्वभाव; अनुकूल पदार्थहरूमा आसक्ति।
  • ऋतम्भरा प्रज्ञा: सत्यले युक्त बुद्धि; परमात्मालाई धारण गर्ने क्षमता भएको बुद्धि।
  • लय योग: योगको एक प्रणाली जसले चित्तको लयमा जोड दिन्छ।
  • विकल्प: शब्दजनित ज्ञानको साथ-साथ हुने, जसको विषय-वस्तु वास्तवमा हुँदैन तर त्यसको विकल्प पुष्ट हुन्छ।
  • विपाक: कर्मको परिणाम।
  • विपर्यय: मिथ्याज्ञान, जुन वस्तुको स्वरूपमा प्रतिष्ठित छैन।
  • विभूति: परमात्माबाट प्राप्त हुने ऐश्वर्य वा अलौकिक क्षमताहरू।
  • विवेकख्याति: निश्चल र निर्दोष विवेक ज्ञान, दुःखको अन्त्यको उपाय।
  • विराग: संसारका विषयवस्तुहरूबाट विरक्ति।
  • वीर्य: मनको दृढता, शौर्य; साधनाका विघ्नहरूलाई हटाउँदै लक्ष्यमा अडिग रहने क्षमता।
  • वैराग्य: लोक र परलोकका देखिएका-सुनिएका विषयहरूमा तृष्णारहित चित्तको वशीकरण नामक अवस्था।
  • व्यधि: शारीरिक रोग वा इन्द्रियमा रोग उत्पन्न हुनु, जसले चित्तलाई चिन्तनबाट विचलित गर्छ।
  • श्वास: यहाँ, आत्म-उत्कर्षका लागि ग्रहण गरिने विद्या (सजातीय प्रवृत्ति)।
  • श्वास-प्रश्वास: श्वास (ग्रहण) र प्रश्वास (त्याग) को गति, जुन चित्तको स्थिरतासँग सम्बन्धित छ।
  • श्रद्धा: ईश्वरप्रति विश्वास र समर्पण।
  • शौच: मनको शुद्धि, अन्त:करणको पवित्रता।
  • श्रीमद्भगवद्गीता: श्रीकृष्ण र अर्जुन बीचको संवाद, योगशास्त्रको रूपमा वर्णित।
  • संस्कार: प्राणीले आफ्ना इन्द्रियहरूद्वारा गरिने कर्म र बुद्धिद्वारा गरिने चिन्तनको सञ्चित रूप।
  • संशय: योग साधनाको फल वा आफ्नो शक्तिमा शंका हुनु।
  • समान वायु: शरीरमा हृदयदेखि नाभिसम्म रहने प्राणवायु, जसले चित्तलाई समान प्रवाहित गराउँछ।
  • समाधि: चित्तको निरोधको अन्तिम अवस्था; सम र आदि तत्त्व ईश्वरसँग समत्व प्राप्त गर्ने अवस्था।
  • सम्प्रज्ञात समाधि: वितर्क, विचार, आनन्द र अस्मिता सहितको समाधि; जहाँ साधकलाई आफ्नो र आफ्नो स्थितिको भान रहन्छ।
  • संयम: धारणा, ध्यान र समाधि यी तीनको अभ्यास एकै लक्ष्यमा स्थिर हुनु।
  • सन्तोष: सर्वोत्कृष्ट सुखको प्राप्ति; कामनाहरूको नाश।
  • स्मृति: विगतमा गरिएका कार्यहरूको पुन: प्रकट हुनु; संस्कारहरू प्रकट हुने धरातल।
  • स्वाध्याय: आफ्नो मनको अध्ययन गर्नु; आत्म-विश्लेषण।
  • हत योग: शरीर-सञ्चालन, स्वास्थ्य र रोग-मुक्तिका लागि आसन, प्राणायाम आदिमा जोड दिने योग प्रणाली।
  • हेय: त्याग गर्न योग्य; दुःख।
  • द्रष्टा: आत्मा, चेतन स्वरूप।
  • दृश्य: प्रकाश, क्रिया र स्थितिको स्वभाव भएको; भूत र इन्द्रियहरू जसको प्रकट स्वरूप हो; पुरुषका लागि भोग र मोक्षको सम्पादन गर्नु नै जसको प्रयोजन हो।

Saturday, July 5, 2025

देवशयनी एकादशी : साँच्चै भगवान् सुत्नु हुन्छ त?


देवशयनी एकादशी 

हामीले अघि जेठ महिनाको निर्जला एकादशीका दिन छरेका तुलसीका साना–साना दलले अब बिरुवाको रूप पाइसकेको छन् । आज तिनै बिरुवालाई विधिवत् रूपमा घर–आगनको तुलसी मठमा रोपण गरिन्छ । अनि हाम्रो मन सङ्कल्पित हुन्छ आगामी चार महिना नियमपूर्वक तुलसी मठमा स्थापित गरिएकी तुलसी महारानीको सेवा गर्न । हो, आज आषाढी एकादशी । हरिशयनी, देवशयनी आदि नामले पनि चर्चित यस तिथिलाई नेपाली जनमानसमा ठूली एकादशी पनि भन्ने गरिन्छ । एकादशी भगवान् श्रीहरिको सर्वप्रिय तिथि भएकाले यस दिन भगवान् नारायणको पूजा–आराधना गरिन्छ ।

देवशयनी एकादशी र चतुर्मासको रहस्य

'देवशयनी' भन्नाले भगवान्को शयनकालको प्रारम्भ भन्ने बुझिन्छ। यसै दिनदेखि चतुर्मास पनि सुरु हुन्छ। पौराणिक मान्यताअनुसार, आजदेखि देवताहरू चार महिनासम्म विश्राम गर्नुहुन्छ। विशेषगरी भगवान् विष्णु यस अवधिमा पाताल लोकमा राजा बलिको द्वारमा निवास गर्नुहुन्छ र कार्तिक शुक्लपक्षको प्रबोधिनी एकादशीमा फर्कनुहुन्छ भन्ने विश्वास छ।

यहाँ प्रश्न उठ्न सक्छ, के देवताहरू साँच्चै नै सुत्नुहुन्छ त? यस पक्षलाई बुझ्न पौराणिक तथा वैज्ञानिक दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ।

भविष्य पुराण, पद्म पुराण र श्रीमद्भागवत पुराण अनुसार, हरिशयनलाई योगनिद्रा भनिएको छ। संस्कृतमा 'हरि' शब्द सूर्य, चन्द्रमा, वायु, विष्णु आदिको अर्थमा प्रयोग हुन्छ। यसैले, हरिशयनको तात्पर्य यी चार महिनामा बादल र वर्षाका कारण सूर्य–चन्द्रमाको तेज कम हुनुलाई उनीहरूको शयनको अर्थमा लिइएको हुन सक्छ।


वैज्ञानिक तथा आयुर्वेदिक दृष्टिकोणले हेर्दा:

  • पाचन अग्निमा प्रभाव: वर्षा ऋतुमा वातावरणमा आद्रता (ओसिलोपन) बढ्छ र सूर्यको प्रकाश कम हुन्छ। यसले शरीरको पाचन अग्नि (मेटाबोलिज्म) कमजोर बनाउँछ। आयुर्वेदअनुसार, पित्त पाचनसँग सम्बन्धित हुने हुँदा, चिसो र ओसिलो मौसममा शरीरको अग्नि कमजोर भई पाचन प्रक्रिया सुस्त हुन्छ। यसैले, यस समयमा गरिष्ठ तथा पचाउन गाह्रो हुने खाना नखान सल्लाह दिइन्छ। शरीरको ऊर्जा स्तर कम हुनुलाई 'शक्ति क्षीण' वा 'सुप्त अवस्था' भनिएको हुन सक्छ।

  • रोगका जीवाणुको वृद्धि: आधुनिक वैज्ञानिकहरूले पनि चातुर्मासमा (मुख्यतः वर्षा ऋतुमा) विभिन्न प्रकारका कीटाणु तथा सूक्ष्म रोगका जीवाणुहरू (ब्याक्टेरिया, ढुसी) उत्पन्न हुने कुरा पत्ता लगाएका छन्। यसको मुख्य कारण जलको अधिकता र सूर्यको प्रकाश धर्तीमा कम मात्रामा पुग्नु हो।

  • स्वास्थ्य समस्या: वर्षाको पानीले नदी, ताल, पोखरीमा प्रदूषण बढाउँछ। पानी जम्ने ठाउँमा लामखुट्टे, भुसुना आदिको प्रजनन भई मलेरिया, डेंगु, चिकनगुनियाजस्ता रोग फैलिन्छन्। दूषित पानीबाट हैजा, झाडापखाला, टाइफाइड, जन्डिसजस्ता पानीजन्य रोगको जोखिम बढ्छ। ओसिलोपनले ब्याक्टेरिया र ढुसीलाई फैलिन मद्दत गरी छालासम्बन्धी संक्रमण पनि बढी देखिन्छ।

वर्षा ऋतु सुरु हुनेबित्तिकै पञ्चतत्वहरू (पृथ्वी, जल, अग्नि, वायु, आकाश) को स्वभाव परिवर्तन हुन्छ:

  • पृथ्वी: अनेक वनस्पति उम्रन्छन् र बाटो अवरुद्ध हुन्छन्। विषालु जीवहरू बाहिर आउँछन्।

  • अग्नि: कमजोर हुन्छ, खुला ठाउँमा हवन आदि गर्न कठिन हुन्छ।

  • जल: वर्षाको पानीले दूषित हुन्छ।

  • वायु: हावामा ओसिलोपन बढ्छ।

  • आकाश: बादल लाग्दा घाम धर्तीसम्म पुग्दैन।

यी सबै परिवर्तनले मानव शरीरमा पनि प्रभाव पार्छ। बाहिरको अग्नि मन्द भएझैँ शरीरको पाचन क्षमता पनि कमजोर हुन्छ।

यी सबै कुरालाई ध्यानमा राखी हाम्रा पूर्वजहरूले देवशयनी एकादशीदेखि देवउठनी एकादशी (शरद ऋतु) सम्मको अवधिलाई चातुर्मास मानी 'देवता विश्राम काल' घोषणा गरेका थिए। यस अवधिमा लामो यात्राहरू, विवाह, उपनयन, गृहप्रवेशजस्ता सामाजिक तथा विशेष मांगलिक कार्यक्रमहरूमा धार्मिक रोक लगाइएको थियो। भारतवर्षको समाजधर्म-प्रधान समाज भएकाले पर्यावरणको यो विज्ञानलाई पनि धर्मको आधारमा नै बुझाइएको देखिन्छ।

आधुनिक सन्दर्भ र हाम्रो दायित्व

आजको परिस्थिति पहिले जस्तो छैन। मानिसको व्यावसायिक आवश्यकताले यात्रा गर्नुपर्ने हुन्छ नै। यद्यपि, हामीले यस समयमा पञ्चतत्वहरूको रक्षाका लागि केही न केही सङ्कल्प लिनुपर्छ: पर्यावरण रक्षाको सङ्कल्पलाई फेरि स्मरण गर्ने दिवस पनि हो। त्यसैले,

  • बिरुवा रोपौँ र पानी बचाऔँ।

  • नदी, पहाड, जलस्रोत, जंगलको रक्षा गरौँ।

  • धर्ती, जल, आकाश, वायुलाई प्रदूषित हुनबाट बचाऔँ।

यही नै सुतेका देवताहरूको रक्षा गर्नु हो र हाम्रो सामाजिक एवं नैतिक दायित्व पनि हो।

___ _____________________________

- विजयप्रसाद मिश्र

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...