Saturday, January 3, 2026

स्वस्थानी : धर्मको आवरणमा महिला सचेतना र सामाजिक क्रान्तिको दस्तावेज


✍ विजयप्रसाद मिश्र

"बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।"

हिउँदको चिसो महिना, घर-घरमा गुञ्जिने स्वस्थानीका श्लोकहरू र शालिनदीको किनारमा लाग्ने मेला—यो नेपाली संस्कृतिको एउटा अभिन्न अङ्ग हो। तर, आजको तथाकथित आधुनिक समाज र 'सर्टिफिकेटधारी' विद्वानहरूले यसलाई केवल एउटा रुढीवादी कथा वा महिला विभेदको अस्त्रका रूपमा मात्र व्याख्या गर्ने गरेको पाइन्छ। विशेषगरी सात वर्षीया गोमा र सत्तरी वर्षका शिव शर्मा ब्राह्मणको विवाहलाई लिएर गरिने 'ट्रोल' र जोक्सहरूले हाम्रो वैचारिक दरिद्रतालाई नै उजागर गरिरहेका छन्।

गोमाको कथा : बालविवाह विरुद्धको कडा व्यङ्ग्य

स्वस्थानीमा उल्लेखित गोमाको कथा कुनै 'रोमान्टिक' प्रेमकथा होइन, न त यो कुनै दैवी चमत्कारको प्रशंसा नै हो। यो त तत्कालीन समाजमा व्याप्त बालविवाह जस्तो कुरुप प्रथामाथि गरिएको एउटा निकै ठुलो व्यङ्ग्य र प्रहार हो।

सत्तरी वर्षका वृद्ध, जो कुप्रो छ, बहिरो छ, र्‍याल चुहाउँदै हिँड्छ—उसैसँग सात वर्षकी बालिकाको विवाह हुनु र विवाहकै साँझ ती वृद्धको मृत्यु हुनुले देखाउन खोजेको सत्य एउटै हो : अमेल विवाह र बालविवाहले निम्त्याउने भयावह परिणाम। जो मानिसहरू यसमा महिला अधिकार खोज्दै शास्त्रलाई गाली गर्छन्, उनीहरूले यो बुझ्न जरुरी छ कि लेखकले गोमाको माध्यमबाट एउटी अबोध बालिकाले भोग्नुपर्ने 'वैधव्य' र 'एक्लोपन' को चित्रण गरेर समाजलाई सचेत गराउन खोजेका थिए।

मेडिकल असम्भाव्यता र लेखकको उद्देश्य

प्रश्न उठ्छ— के सात वर्षकी बालिका गर्भवती हुन सम्भव छ? मेडिकल विज्ञानले यसलाई नकार्छ। तर, लेखकले गोमालाई गर्भवती देखाउनुको पछाडि जैविक सत्य होइन, सामाजिक सत्य लुकेको छ।

  • बालविवाह भएकै कारण कलिलै उमेरमा मातृत्वको भार बोक्नुपर्दाको पीडा कति हुन्छ?

  • सानै उमेरमा पति गुमाउँदा र घरमा खाने अन्नसमेत नहुँदा एउटी महिलाको जीवन कसरी कष्टकर हुन्छ?

लेखकले गोमाको सङ्घर्षमार्फत देखाउन खोजेको कुरा यही हो। यो कुनै 'बायोलोजी' को कक्षा होइन, यो त समाज सुधारको एउटा कडा 'डकुमेन्ट्री' हो।

'देव पात्र': सन्देश फैलाउने एउटा माध्यम

आजको जस्तो इन्टरनेट, रेडियो, टिभी वा गुगल नभएको समयमा समाजलाई शिक्षित बनाउने माध्यम नै पौराणिक कथाहरू थिए। यदि लेखकले यसलाई साधारण 'हमजाएगा' को कथा जस्तो बनाएको भए, सायद कसैले सुन्ने थिएनन्। तर, यसलाई देव कथाको रूप दिएपछि यसले श्रद्धा पायो।

शिव, पार्वती र शिव शर्मा जस्ता पात्रहरू राखेर लेखकले यसलाई एउटा 'धर्मशास्त्र' बनाए ताकि हरेक घरमा यो पढियोस् र सुनियोस्। यो त तत्कालीन समयको एउटा 'मास मिडिया' थियो, जसले कथाको माध्यमबाट टोल-टोलमा बालविवाह विरुद्धको सन्देश पुर्‍याउँथ्यो।

"एकाग्र भएर सुन": चेतनाको आह्वान

स्वस्थानी कथामा लेखकले पटक-पटक एउटा कुरा दोहोर्‍याएका छन्— "यो कथा सबैलाई सुनाउनु।" आफ्ना परिवार, छिमेकी र समुदायलाई भेला पारेर कथा सुनाउनु भन्नुको अर्थ समाजमा 'ज्ञान' बाँड्नु थियो।

  • बालविवाहले कसरी एउटी बालिकाको जीवन बर्बाद गर्छ?

  • अमेल विवाह (Mismatch Marriage) को परिणाम कति दर्दनाक हुन्छ?

  • एउटी असहाय महिलाले समाजमा कस्तो सङ्घर्ष गर्नुपर्छ?

यी प्रश्नहरूको उत्तर लेखकले गोमाको चरित्रमार्फत दिएका छन्। तर विडम्बना, एकातिर हामी गोमाको बिजोक देखेर आँसु झार्छौँ, अर्कोतिर आफ्नै छोरीको विवाह वृद्धसँग गरिदिने समाजमा बाँचिरहेका थियौँ। यो विरोधाभासलाई चिर्नु नै यस कथाको मूल मर्म हो।

"हामीले स्वस्थानी त पढ्यौँ, तर 'कागले कान लग्यो' भन्दा कान नछामी कागको पछि दौडने जस्तै भयौँ। हामीले गोमाको आँसु त देख्यौँ, तर त्यो आँसुको कारण बालविवाह हो भन्ने कुरा बुझ्न र चिन्तन गर्न सकेनौँ।"

अधिकारवादी चस्मा र स्वदेशी मौलिकता

स्वस्थानी कथाको अर्को महत्वपूर्ण पक्ष यसको मौलिकता हो। यो कुनै आयातित ग्रन्थ होइन। यो नेपालको माटोमा उब्जिएको, शाली नदीको काखमा हुर्किएको र काठमाडौँ उपत्यकाको परिवेशमा बुनिएको कथा हो।

"स्वस्थानी नेवारी भाषामा पनि उपलब्ध हुनु र नेवार समुदायमा यसको उच्च महत्त्व हुनुले यो हाम्रो आफ्नै स्थानीय गाउँ-ठाउँको मौलिक सम्पदा हो भन्ने पुष्टि गर्छ।"

यसलाई केवल पौराणिक गफका रूपमा हेर्नु हाम्रो संकुचित सोच हो। यो त श्रुति परम्पराबाट चल्दै आएको र पछि लिपिबद्ध गरिएको एउटा यस्तो कृति हो, जसले महिलालाई 'वस्तु' झैँ ठान्ने सम्भाव्यतालाई ऐना देखाएको छ।

आज आफूलाई शिक्षित ठान्ने र पश्चिमा महिला अधिकारका सिद्धान्त घोकेर नेपाली समाजलाई बुझ्न खोज्नेहरूले स्वस्थानीको यो गहिरो दर्शन बुझ्न सक्दैनन्। स्वस्थानी केवल महिलाले व्रत बस्ने पर्व मात्र होइन; यो त महिला शिक्षा, निष्ठा, प्रेम र अनुशासनको महाकुम्भ हो। एकातिर अधिकारकर्मीहरूले यसको मजाक बनाइरहँदा, अर्कोतिर यसले सदियौँदेखि महिलाहरूलाई सङ्घर्ष, धैर्य, अनुशासन र निष्ठा सिकाउँदै आएको छ।

एउटी महिलाले पाएको दुःखको कथा महिलालाई नै पढ्न लगाएर समाजका हरेक वर्गलाई सचेत गराउन खोज्नु लेखकको क्रान्तिकारी कदम थियो। अन्ततः दुःखमा हुर्किएको सन्तानले आमालाई सुख दिएको 'ह्याप्पी इन्डिङ्ग' ले जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य र धर्म (कर्तव्य) नछाड्न प्रेरित गर्छ।

नारी शक्तिको केन्द्र

हाम्रो व्यवहारमा कतिपय ठाउँमा पुरुष प्रधानता देखिए पनि स्वस्थानी व्रतको मूल सार भनेको 'नारी शक्तिको पूजनीयता' नै हो। स्वस्थानीको पूजा गर्दा अष्टदल कमलको फूलको आकारमा बीचमा श्री स्वस्थानी देवीलाई राखिन्छ। उनको वरिपरि आठ दिशामा आठवटी देवीहरूको पूजा गरिन्छ:

  • वैष्णवी, ब्राह्मी, महेश्वरी, कौमारी, वाराही, इन्द्राणी, चामुण्डा र महाकाली।

यसले के स्पष्ट पार्छ भने, सृष्टिको सञ्चालन र शक्तिको स्रोत नारी नै हुन्। जब हामी स्वस्थानीको आराधना गर्छौँ, हामी वास्तवमा नारीत्व, मातृत्व र शक्तिको नै पूजा गरिरहेका हुन्छौँ।

'स्वस्थानी' शब्द आफैँमा बृहत् छ। 'स्व' को अर्थ आफू, आफ्नो, आफन्त, धन र यो सम्पूर्ण चराचर सृष्टि हो भने 'स्थानी' को अर्थ स्थान वा स्थिति हो। अर्थात्, आफ्नो वास्तविक स्वरूप र स्थानलाई चिन्नु नै स्वस्थानी हो।

कथाले दिने ज्ञान भनेको केवल अक्षर चिन्नु होइन; बरु जीवन र जगत्का बारेमा जानकारी प्राप्त गरी त्यसलाई आत्मसात् गर्नु हो। कुन खाद्य हो र कुन अखाद्य, कुन विधिले जीवनलाई सुखी र समृद्ध बनाउँछ र दुःख-कष्टमा कसरी धैर्य धारण गर्ने भन्ने सीप नै वास्तविक ज्ञान हो, जुन स्वस्थानीका प्रत्येक अध्यायमा कुनै न कुनै रूपमा भेटिन्छ।

पात्रहरूभित्र लुकेको मनोवैज्ञानिक सन्देश

स्वस्थानीका पात्रहरू केवल ऐतिहासिक वा कल्पित पात्र मात्र होइनन्, तिनीहरू मानवीय प्रवृत्तिका प्रतीक हुन्:

  • दक्षप्रजापति (बाठो तर अहङ्कारी): 'दक्ष' भनेको बाठो र 'प्रजापति' भनेको नेता हो। जब कुनै नेता वा अगुवा प्रकृतिको नियम विपरीत आवश्यकताभन्दा बढी बाठो र अहङ्कारी हुन्छ, उसको अधोगति निश्चित छ। दक्षको टाउको काटेर बाख्राको टाउको जोड्नुले 'अति बाठो हुनुको दुष्परिणाम' लाई प्रस्ट पार्छ।

  • विरणी र सती (शान्ति र निष्ठा): विरणीको अर्थ 'युद्ध वा कलह नचाहने' भन्ने हुन्छ। जहाँ शान्ति हुन्छ, त्यहाँ मात्र 'सती' अर्थात् 'निष्ठा' को जन्म हुन्छ। युद्ध र झगडाबाट कहिल्यै निष्ठा जन्मिँदैन।

  • शिव र महादेव (कल्याण र न्याय): 'शिव' भनेको कल्याण हो। जब समाजमा अहङ्कार बढ्छ र कल्याणको मार्ग अवरुद्ध हुन्छ, तब देवहरूलाई पनि नटेर्ने शक्तिलाई तह लगाउन 'महादेव' (ध्वंशकारी शक्ति) प्रकट हुन्छन्।

भक्ति र समर्पणको पर्व

स्वस्थानी कथाले भक्तिलाई निष्ठा र समर्पणको रूपमा व्याख्या गरेको छ। यो भक्ति केवल ईश्वरप्रति मात्र होइन; राष्ट्रभक्ति, मातृभक्ति, पितृभक्ति र मित्रभक्तिको रूपमा पनि विस्तारित छ। एउटा अठोट र सङ्कल्पसहित गरिने कर्म नै 'व्रत' हो। कथाले सिकाउन खोजेको कुरा के हो भने, जीवनमा जस्तोसुकै दुःख आए पनि आफ्नो निष्ठा (सती) र धैर्यलाई त्याग्नु हुँदैन।


निष्कर्ष: स्वस्थानीलाई केवल महिला विभेदकारी शास्त्रको रूपमा बुझ्नु हाम्रो बौद्धिक स्खलन हो। वास्तवमा यो त महिला अधिकारवादी शास्त्र हो, जसले समाजलाई सचेत बनाउन पौराणिक पात्रहरूको सहारा लिएको छ। शास्त्रको गल्ती छैन, गल्ती त त्यो भित्रको मर्म बुझ्न नसक्ने 'स्वघोषित विद्वान'हरूको छ।

बालविवाह, एकल महिलाको सङ्घर्ष र सामाजिक जागरणको यो महान् गाथालाई सही दृष्टिकोणले बुझौँ। 

पारिवारलाई एकतामा बाँध्ने, पारिवारिक सत्संगको एउटा सशक्त रूपमा समेत देखिएको स्वस्थानी कथा वाचन परम्पराले समाजलाई सचेत हुन र हरेक व्यक्तिलाई आफ्नो 'स्व' चिन्न प्रेरित गर्छ। महिला शिक्षा, निष्ठा, प्रेम र अनुशासनको यो महान् पर्वले हामीलाई सधैँ कल्याणको मार्गमा डोर्‍याओस्।

No comments:

Post a Comment

स्वस्थानी : धर्मको आवरणमा महिला सचेतना र सामाजिक क्रान्तिको दस्तावेज

✍ विजयप्रसाद मिश्र "बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।" हिउँदको चिसो महिना, घर-घरमा गुञ्जिने स्वस्थानीका श्लोकहरू र शा...