Thursday, June 16, 2022

कथा | दान होइन समर्पण हो गुरुदक्षिणा

जसरी सूर्य कसैले नभने पनि सबैलाई प्राण ऊर्जा दिन्छ, मेघ जल बरसाउँछ, हावा कुनै भेदभाव अथवा लोभ लालच नगरी शीतलता पुर्‍याउँछ र फूल पनि आफ्नो सुगन्ध दिनमा कुनै कञ्जुस्याईँ गर्दैन त्यसरी नै गुरुजन पनि स्वयं नै शिष्यहरूको भलोमा, उनीहरूको विकासमा निरन्तर लागिरहेका हुन्छन् । गुरुको उद्देश्य शिष्यबाट गुरुदक्षिणा लिने हुँदैन, बरु शिष्यलाई सूर्य झैँ देदीप्यमान बनाउनमा हुन्छ जसले आफ्नो कुल, समाज, राष्ट्र र गुरु स्वयंको सिर सगर्व उच्च पार्न सकोस् ।

प्राचीनकालका कुरा हो, एकजना गुरु आफ्नो आश्रमका निम्ति निकै चिन्तित हुनुहुन्थ्यो । गुरु स्वयं वृद्ध हुनुभएको थियो, र अब शेष जीवन हिमालयमा साधना गर्दै बिताउन चाहनुहुन्थ्यो । तर उहाँलाई एउटा चिन्ताले सताइरहेको थियो– मेरो ठाउँमा योग्य उत्तराधिकारी को हुन सक्ला, जसले आश्रमको व्यवस्थालाई ठीक तवरले सञ्चालित गर्नसकोस् । जसले नयाँ शिष्यहरूलाई योग्य शिक्षा–दीक्षा दिन सकोस् । उहाँ एउटा योग्य व्यक्तिलाई गुरुस्थानमा राख्न चाहनुहुन्थ्यो जो ज्ञानको प्रकाश–स्तम्भ बनेर समाजलाई प्रकाश दिने होस् ।

उहाँको दृष्टि आश्रममा अध्ययनरत दुई योग्य शिष्यहरू– सार्थ र परमार्थमाथि थियो । दुबै गुरुलाई निकै प्रिय थिए । दुबैलाई गुरुले बोलाएर भन्नुभयो– शिष्यहरू, सार्थ र परमार्थ ! म तीर्थका निम्ति जाँदैछु । गुरुदक्षिणाका रूपमा तिमीहरूसँग मात्र यति नै माँग्दैछु– यी दुई मुट्ठी गहूँ छन् । एक–एक मुट्ठी तिमी दुबैले आफूसँग सम्हालेर राख र जब म तीर्थबाट फर्किएर आउँछु, मलाई दुबैले एक–एक मुट्ठी गहूँ फिर्ता दिनुपर्छ ।

जुन शिष्यले मलाई आफ्नो गहूँ सुरक्षित फिर्ता दिनेछ, म त्यसैलाई यस गुरुकुलको कुलपति नियुक्त गर्नेछु । दुबै शिष्यले गुरुको आज्ञालाई शिरोधार्य गर्दै एक–एक मुट्ठी गहूँ गुरुबाट लिए । त्यसपछि गुरु आश्रमबाट विदा भएर तीर्थयात्राका लागि हिमालयतिर लाग्नुभयो ।

एउटा शिष्य सार्थ गुरुलाई भगवान् मान्थ्यो । उसलाई गुरुले दिनुभएको एक मुट्ठी गहूँलाई एउटा रुमालमा राम्ररी बाँधेर आफूले नित्य पूजा गर्ने स्थानमा सजाएर राख्यो । ऊ गहूँको त्यस पोकाको नित्य पूजा गथ्र्यो । अर्को शिष्य परमार्थ, जो गुरुलाई ज्ञानको पुञ्ज मान्थ्यो, उसले त्यस एक मुट्ठी गहूँलाई लगेर गुरुकुलका पछाडि रहेको खेतमा छरिदियो । समयक्रममा त्यो उम्रियो । त्यसलाई गोडमेल गर्दै उसले हुर्कायो ।

केही महीनापछि जब गुरु तीर्थाटनबाट फिरेर आश्रम आउनुभयो, उहाँले आइसक्दा ती दुबै शिष्यलाई बोलाएर जाँदा–जाँदै दिएको एक–एक मुट्ठी गहूँ फिर्ता माग्नुभयो । उहाँलाई सार्थले भगवान् मानेको थियो । उसले आफूले पूजा गर्ने गरेको ठाउँबाट त्यो रुमालको पोको ल्यायो जसमा उहाँले दिनुभएको गहूँ थियो ।

गुरुले खोलेर हेर्नुभयो । त्यस पोकोमा भएको गहूँ कुहिसकेका थिए । अब ती कुनै कामका थिएनन् । गुरुले अर्को शिष्य परमार्थतिर हेर्नुभयो । उसले गुरुलाई आश्रमको पछाडि लिएर गयो अनि भन्यो– “मलाई क्षमा गर्नुस् गुरुदेव, म हजुरले दिनुभएको गहूँ फिर्ता गर्न सक्दिन । मैले ती गहूँलाई खेतमा छरेँ । गुरुदेव यो लहलहाउँदो बाली नै तपाईँले दिनुभएको त्यो एक मुट्ठी गहूँ हो ।” 

लहलहाउँदो गहूँको खेत देखेर गुरुको चित्त आनन्दले भरियो । केही दिनपछि नजिकैको गाउँ–समाज र गुरुकुलका शिष्यहरूको उपस्थितिमा उहाँले नयाँ कुलपति नियुक्त गर्ने कार्यक्रम आयोजना गर्नुभयो । त्यस कार्यक्रममा उहाँले भन्नुभयो– असल शिष्य त्यो हो जसले गुरुबाट प्राप्त ज्ञानलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउँछ । असल शिष्य त्यो हो जसले गुरुले दिनुभएको ज्ञानलाई फैलाउँछ, विस्तार गर्छ । जसले ज्ञान बाँड्छ त्यही यस आश्रमको श्रेष्ठ उत्तराधिकारी हुने पात्र हो । मूलतः गुरुका प्रति साँचो दक्षिणा यही हो । सामान्य अर्थमा गुरुदक्षिणाको अर्थ पारितोषिकका रूपमा लिइन्छ । ज्ञानको मोलका रूपमा अथवा ज्यालाका रूपमा दिइने त्यो साँचो गुरुदक्षिणा होइन । साँचो गुरुदक्षिणा त गुरुबाट प्राप्त ज्ञानलाई आफूमा आत्मसात् गर्नु, त्यसबाट आफूमा सकारात्मक परिवर्तन ल्याउनु, र त्यस ज्ञानको प्रसार गर्नु हो । गुरुदक्षिणाको वास्तविक अर्थ अझ व्यापक छ । गुरुदक्षिणा दान होइन, समर्पण हो ।

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...