एउटा कथा प्रचलित छ । बाल्यकालमा पाणिनीको मन पढाइमा लाग्दैनथ्यो । गुरुजी कक्षामा सबै विद्यार्थीलाई समानरूपले पढाउँथे । अर्को दिन अन्य विद्यार्थी गुरुलाई पाठ बुझाउँथे तर पाणिनी अघिल्लो दिनको पाठ सबै बिर्सिसकेका हुन्थे । सधैं यस्तै भइरहन्थ्यो । गुरुजी पनि पाणिनीको यो चाला देखेर हैरान भए । एक दिन रिसाउँदै हातमा छडी लिएर भने– ‘पाणिनी हात थाप!’ पाणिनीले गुरुको पिटाइ खान चुपचाप हात पसारिदिए । गुरुजीको नजर पाणिनीको हत्केलामा पर्यो । उनले पिट्न उठाएको छडी भुइँमा राख्दै निराश स्वरमा भने– ‘तँलाई पिट्नु बेकार छ !’
पाणिनीले पनि गुरुको कुरा सुनेर आश्चर्य मान्दै गुरुलाई सोधे– ‘किन गुरुदेव ?’ गुरुले दिक्क हुँदै भने– ‘तँलाई पिटेर, तर्साएर पनि कुनै लाभ छैन किनभने तेरो भाग्यमा विद्या नै छैन !’
पाणिनीले गुरुलाई सोधे– ‘मेरो भाग्यमै छैन त विद्या ?’ गुरुले उनको हातका रेखा हेर्दै भने– ‘तेरो हातको रेखाले त यही भन्छ पाणिनी !’ पाणिनीले गुरुलाई विद्याको रेखा कस्तो हुन्छ भनि सोधे । गुरुले आफ्नै हत्केलामा एउटा रेखा देखाउँदै यस्तो हुन्छ भनी बताइदिए ।
अर्को दिन पाणिनीले गुरुले बताए झैं हत्केलामा विद्या रेखा चक्कूले चिरेर बनाए । आफूले बनाएको विद्यारेखा देखाउँदै गुरुजीलाई जिज्ञासा प्रकट गर्दै भने– ‘गुरुजी अब त म पढ्न सक्छु हैन?’
पाणिनीको सरलपना देखेर गुरुलाई दया आयो तर निराशा व्यक्त गर्दै गुरुले भने– ‘भाग्य लेख्नु विधाताको काम हो । विधाता आफ्नो कलमद्वारा हत्केलामा जस्ते रेखा निर्माण गर्दछन् त्यसलाई कसैले मेट्न सक्तैन, न कसैले बदल्न सक्छ । त्यसैले तिमी अब पढ्ने हठ छोडिद्यौ ।’
गुरुको यसप्रकारको कथन सुनेर पाणिनी निराश बनेनन् । मनमनै दृढरूपले विचार गर्न थाले– ‘यदि विधाताले बनाएको भाग्य रेखा कसैले मेट्न सक्तैन भने मैले बनाएको हस्तरेखा पनि विधाताले मेट्न सक्तैनन् ।’ त्यसै क्षणदेखि पाणिनीको जीवनदिशा नै बदलियो । हिजोसम्मको अल्छी विद्यार्थी अर्को दिनदेखि नै परिश्रमी र नियमको पक्का छात्र बने । गुरुसँग जुन पाठ लिन्थे त्यसलाई जबसम्म स्मरण गर्दैनथे तबसम्म न अन्न–जल ग्रहण गर्थे न सुत्थे । राति गुरुकुलका अरू विद्यार्थी मस्त निद्रामा हुन्थे, पाणिनी दियोको उज्यालोमा पुस्तक पल्टाएर एकलव्य झैं अध्ययनमा तल्लीन हुन्थे । कालान्तरमा हातको त्यो रेखा पनि मेटिँदै गयो । तथापि उनको मनमा दृढ रूपमा कोरिएको विद्या–रेखा भने दिन–सप्ताह–महिना तथा वर्ष हुँदै समय बित्दै गयो तर मेटिएन । उनको लगन र परिश्रम देखेर गुरुसहित त्यस आश्रममा पढ्ने अन्य विद्यार्थीहरू पनि आश्चर्यचकित हुन थाले । पाणिनीको विद्याप्राप्तिमा कुनै कसर बाँकी नराख्ने भीष्मप्रतिज्ञा र श्रमले गर्दा उनी मूर्धन्य विद्वान बने । उनको जीवन सफल भयो । आफ्नो जीवनको राजमार्ग आफैँले बनाए । दृढनिश्चयी र कृतसंकल्प बनी त्यस मार्गमा अगाडि बढ्दै गए ।
विधाताको हस्त रेखामा विश्वास गरी निराश भएका भए के आज उनी विद्याको यस्ता चम्किला तारा बन्न सक्थे र ? तिनै पाणिनी जसलाई गुरुले विद्या प्राप्तिमा अयोग्य ठानेका थिए उनै सबैभन्दा अगाडि पुगे ।
निरन्तरको साधना
विद्या प्राप्तिको क्रम गुरुकुलमै पूर्ण हुँदैन । गुरुकुल छोडेपछि उनले साधना गर्ने निश्चय गरे । विद्याको निरन्तर अभ्यास गर्ने उनले त्यस कालमा दुई हजार मिल लामो र दुई हजार मिल चौडाइ भएको भारतवर्ष विस्तृत भूखण्डको यात्रा गरेर भाषाको अध्ययन गरे । त्यसताका भारतवर्षमा संस्कृत सर्वत्र पढिन्थ्यो र बुझिन्थ्यो । अर्थात् यो साहित्यको अथवा विद्वान्हरूका भाषा मात्र नभएर जनसाधारणले बोल्ने भाषा पनि थियो । वस्तुतः सम्पूर्ण भारतवर्ष देवभाषाको क्षेत्र थियो । यति विशाल भूखण्डमा बोलिने जनसाधारणको भाषामा क्षेत्रीय अथवा स्थानीय आधारमा शब्दहरूको प्रयोग, उच्चारण तथा अर्थमा केही भिन्नता हुनु स्वाभाविक हो । पाणिनीले विचार गरे कि त्यही व्याकरण ग्रन्थ भारतवर्षभरि मान्य हुनेछ, जसमा शब्दहरूको क्षेत्रीय भिन्नताको ध्यान राखिएको होस् । अतः शब्दहरूको अध्ययन गर्न उनी यात्रामा निस्किए । विस्तृत भारतवर्षको विभिन्न भागमा पुगे । त्यहाँका प्रचलित संस्कृत ग्रन्थहरूको अध्ययन गरे, त्यहाँका मानिसको बोलचालको भाषालाई ध्यानपूर्वक सुने । उच्चारण तथा अर्थको भिन्नतासहित हजारौँ शब्दहरूको संग्रह गरे ।
यात्राको क्रममा पाणिनी तीर्थराज प्रयागराज हुँदै नेपालको अर्घाखाँची पुगेर हिमालयको मनोरम काखमा तपःसाधना गरे । महर्षि पाणिनीको निःस्पृह स्वच्छ घोर तपस्याबाट प्रसन्न भएका भगवान् शिवले ताण्डव नृत्य नै प्रस्तुत गर्नुभयो । त्यो नृत्य जगत्का लागि अत्यन्त कल्याणप्रद भयो ।
नृत्यावसाने नटराज राजः ननाद ढक्वाम नवपञ्च वारम् ।
उद्धर्तु कामाद् सनकादि सिद्धै एतत्विमर्शे शिवसूत्र जालम् ।।
अर्थात् नृत्यको समापन गर्दै भगवान् शिवले आफ्नो डमरू विशेष निनाद गनुर््भयो– चौध (नौपञ्चबारम्) पटक चौध प्रकारको आवाजमा बजाउनुभयो । त्यसबाट जुन चौध सूत्र बज्दै निस्किए तिनलाई शिवको कृपा प्राप्त पाणिनीले मूर्तरूप दिए । तिनै चौध सूत्रलाई ‘माहेश्वर सूत्र’का नामबाट चिनिन्छ । ती सूत्र निम्न प्रकार छन्–
(१) अईउण् (२) ऋलृक् (३) एओङ् (४) ऐऔच् (५) हयवरट् (६) लण् (७) ञमङणनम् (८) झभञ् (९) घढधष् (१०) जबगडदश (११) खफछठथचटतव् (१२) कपय् (१३) शषसर् (१४) हल् ।
उनको तपस्या गरेको ठाउँ नै पछि पणेना कहलियो भन्ने जनश्रुति छ ।
नवीन व्याकरण रचना
उनले प्राचीन व्याकरणमा भएका अपूर्णतालाई हटाइ नयाँ व्याकरणको रचना गरे । उनले रचना गरेको व्याकरण ‘पाणिनी व्याकरण’ अथवा ‘अष्टाध्यायी’ को नामले प्रसिद्ध छ । आज पनि संसारमा यही व्याकरणलाई सबैभन्दा प्रमाणिक र पूर्ण ग्रन्थ मानिन्छ । आठ अध्यायमा विभक्त अष्टाध्यायीमा चार हजार सूत्र छन् । पाणिनीको असाधारण प्रतिभाकै यो फल हो जसमा संस्कृत व्याकरणको कुनै पनि कुरा छुटेका छैनन् । यस सूत्र ग्रन्थको सरल व्याख्या गर्ने आवश्यकता बुझेर महर्षि पतञ्जलि, कत्यायन, कुणि, भर्तृहरि आदिले भाष्यग्रन्थ लेखेका छन् । यी सबैले पाणिनीको अष्टाध्यायीको सरल व्याख्या त गरेनै, साथै उनको सामग्री पनि सुरक्षित राखे । महर्षि पतञ्जलिले पाणिनीको महानतालाई स्वीकार गर्दै आफ्नो महाभाष्यको अन्त्यमा उनलाई भगवान् भनेका छन्– ‘भगवतः पाणिनेराचार्यस्य सिद्धम्’ ।
संसारकै सर्वश्रेष्ठ व्याकरण ग्रन्थ ‘अष्टाध्यायी’का अमर लेखक महर्षि पाणिनीले आफ्नाबारेमा भने केही लेखेका छैनन् । उनीपछिका महान् सूत्रकार महर्षि पतञ्जलिले भने उहाँलाई ‘दाक्षीपुत्र’ भनी सम्बोधन गरेका छन् । माताको नामबाट चिनिने एउटा सुन्दर परम्परा थियो त्यसबेला । महर्षि पतञ्जलिको सम्बोधनबाट ज्ञात हुन्छ कि पाणिनीकी माताको नाम दाक्षी थियो । उनै पतञ्जलिले पाणिनीलाई ‘शालातुरीय’ पनि भनेका छन् । यसबाट ज्ञात हुने कुरो हो– पाणिनी शलातुर या शालातुर ग्रामका निवासी थिए । यो गाउँ भारतवर्षको पश्चिमोत्तर सीमा प्रान्तमा पहिलेको प्रसिद्ध विश्वविद्यालय तक्षशिलानजिकै थियो, जुन अहिले पाकिस्तानमा पर्दछ ।
पाणिनीको कालखण्डबारे विद्वान्हरूमा मतभिन्नता छ । कसैको मत अनुसार सम्राट विक्रमादित्यभन्दा पाँच शताब्दी पूर्व पाणिनीको जन्म र जीवन रहेको थियो भन्ने छ भने कसैले विक्रमादित्यभन्दा सातसय वर्षअघि उनी विद्यमान थिए भन्ने मत राख्छन् ।
विदेशी विद्वान्ले पनि उनको अष्टाध्यायी ग्रन्थको प्रसंशा गरेका छन् । तीमध्ये वेबरले भनेका छन्– ‘सबै देशहरूका व्याकरण ग्रन्थहरूमा अष्टाध्यायी सर्वश्रेष्ठ छ ।’ गोल्डस्कूटर भन्छन्– ‘पाणिनी शास्त्रले संस्कृत भाषाको स्वाभाविक विकास हाम्रा सामु प्रस्तुत गरेको छ ।’
भगवान् शिवको कृपा प्रसाद तथा पाणिनीको तपःसाधनाको प्रतिफल यस अत्युत्तम व्याकरणले संस्कृतको उन्नत स्वरूपलाई सुरक्षित राखेको त छ नै, भाषालाई यति समृद्ध तुल्याएको छ कि आज कम्प्युटरका लागि मानिस र उपकरणबीच मध्यवर्ति भाषाको रूपमा संस्कृत नै सर्वाधिक योग्य भाषा हो भनी स्वीकारिएको छ ।
No comments:
Post a Comment