हिन्दू स्वयंसेवक संघ नेपालले प्रत्येक वर्ष संघ शिक्षावर्ग (प्रथम वर्ष) आयोजना गर्ने गरेको छ । यस वर्ष पनि जेठको दोस्रो सातादेखि असार पहिलो सातासम्म वर्ग लाग्ने निश्चित छ ।
समाज हितमा संघकार्यको विस्तारका लागि, त्यसको सुदृढीकरणका लागि तथा स्वयंसेवकहरूको गुण एवं कौशल विकासका लागि प्रशिक्षणलाई महत्व दिइन्छ । उसो त दैनिक शाखा पनि गुण विकासकै पाठशाला हो । तथापि, ती नियमित शाखा लगाउने कार्यकर्ताहरूको निर्माण, तिनमा योग्यताको विकास, विभिन्न बौद्धिक एवं समसामयिक विषयहरूको ज्ञान गराउने उद्देश्यले विविध प्रकारका प्रशिक्षण वर्गहरू आयोजना गर्ने गरिन्छ, जस्तै- नैपुण्य वर्ग, प्राथमिक शिक्षा वर्ग, संघ शिक्षा वर्ग, कार्यकर्ता प्रशिक्षण वर्ग, योजक वर्ग, बौद्धिक वर्ग, घोष वर्ग आदि ।
वर्गहरूको महत्त्व
क. दृष्टिकोण
वर्गमा आउने शिक्षार्थीलाई के स्मरण रहन्छ भने म मनोरञ्जन गर्न अथवा गर्मीको छुट्टीमा समय बिताउन वर्गमा आएको होइन । बरु गम्भीर उद्देश्यको सिद्धिका लागि मनोयोगका साथ प्रशिक्षण लिन आएको हुँ । अतः म एक-एक दिनको शिक्षालाई अनमोल उपलब्धिका रुपमा ग्रहण गर्नेछु । यो शिक्षा न त कहिल्यै बिर्सनेछु, न त व्यक्तिगत स्वार्थका लागि नै यसको उपयोग गर्नेछु, न निष्क्रिय नै रहनेछु ।
ख. शारीरिक क्षमता
महान् उद्देश्यको प्राप्तिका लागि स्वस्थ मन, बुद्धि, योजना कौशल्य जस्ता गुणहरूको आधार सुस्वास्थ्य नै हो । शारीरिक क्षमता, जस्तै- फुर्तिलोपन, सहनशीलता, तेजस्विता, पराक्रमका साथै धैर्य, सहयोगी भावना आदिको विकासका लागि जहाँ शारीरिक कार्यक्रम उपयोगी सिद्ध हुन्छन्, त्यहीं ती कार्यक्रमबाट प्राप्त हुने सामूहिक कार्य गर्ने भावना, अनुशासन आदि पनि महत्त्वपूर्ण छन् ।
ग. मानसिक र बौद्धिक विकास
वर्गमा हुने बौद्धिक कार्यक्रम, चर्चा, बैठक आदिको माध्यमबाट संघको दर्शन र विचारलाई बुझ्न सहयोग मिल्छ । कार्यक्षेत्रमा पुगेर आफ्ना साथीहरू तथा अन्य कार्यकर्तासँग नित्य शाखाको बौद्धिक कार्यक्रमहरू सञ्चालन गर्ने क्षमताको विकास निर्मित एवं विकसित हुन्छ। यससँगै लक्ष्यतर्फ बढ्ने धुन, अधिकाधिक दायित्व निर्वाह गर्ने पात्रता, शंकाहरूको समाधान तथा प्रश्नहरूको सन्तुलित उत्तर दिनका लागि आवश्यक क्षमताको विकास हुन्छ ।
घ. भावनात्मक विकास
संघप्रति अपनत्व (आफ्नोपनको भावना), राष्ट्र, संस्कृति, आफ्नो इतिहास, महापुरुषहरू, आफ्ना गौरवका प्रतीकहरूप्रति उत्कट प्रेम र भक्तिको भावनाको विकास वर्गका कार्यक्रमहरूबाट हुन्छ । स्वयंसेवक बन्धुहरूप्रति अनुरागपूर्ण भ्रातृभाव, सानाप्रति स्नेह, साथिहरूप्रति निश्छल मित्रताको भावना, ठूलाप्रति परिवार सुलभ आदर र श्रद्धाको अभ्यास; व्यक्तिगत स्वार्थ सिद्धिमा पछि रहने, सादापन, मधुर वाणी जस्ता गुणको विकासका लागि पनि वर्ग महत्त्वपूर्ण हुन आउँछ ।
प्रशिक्षण वर्गको उद्देश्य
प्रशिक्षण वर्गबाट स्वयंसेवक तथा संगठन दुबैलाई लाभ हुन्छ । वर्गमा आएर शिक्षार्थी पूर्ण रूपले संघको वातावरणमा रमाउँदछ । संघको स्थानीयदेखि लिएर केन्द्रीय स्तरका वरिष्ठ कार्यकर्ता त्यहाँ उपलब्ध रहन्छन् । सबै वर्गस्थानमा रहन्छन् । खानपिन, उठ-बस र अन्य गतिविधिहरूमा सहभागी हुन्छन् । उनीहरूसँगको औपचारिक तथा अनौपचारिक संगतमा शिक्षार्थीको संघ, समाज, राष्ट्र र विश्व परिदृश्य सम्बन्धी जानकारी बढ्दछ । मनमा उठेका जिज्ञासाहरूको समाधान हुने गर्दछ । यस्तो बोध सदा उनीहरुको जीवनमा लाभदायक नै हुने गर्दछ । प्रत्येक स्वयंसेवकमा कुनै न कुनै प्रतिभा लुकेर रहेको हुन्छ। वर्गका कार्यक्रमहरूमा स्वयंसेवकमा निहीत यस्ता प्रतिभा प्रकट हुने गर्दछन् । अनुभवी कार्यकर्ता यसलाई पहिचान गरेर त्यसलाई विकसित गर्ने प्रयास गर्दछन् यसको लाभ स्वयंसेवकलाई जीवनभर हुने गर्दछ ।
वर्गमा स्वयंसेवकको शारीरिक र मानसिक क्षमता बढ्दछ । यसको लाभ वर्गपछि उसले लगाउने शाखाले पाउँदछ । शाखाको गुणवत्ता बढ्दछ तथा नयाँ स्थानमा शाखाको विस्तार हुने गर्दछ ।
यस्ता वर्गबाट कार्यक्रम तथा योजनाहरूलाई सामूहिक क्रियान्वयन गर्ने क्षमताको विकास हुन्छ । वर्गमा सबै एक साथ रहने, खेल्ने र खाने-पिउने गर्दछन् । सँगैको स्वयंसेवक कुन जाति र क्षेत्रको हो, यसले केही अन्तर पार्दैन । सबैको मनमा यही भाव रहेको हुन्छ कि स्वयंसेवक हुनाको नाताले हामी सबै बन्धु हौं । नेपाल जननी हामी सबैकी आमा हुन्, अर्थात् वर्गमा भेद-भावलाई कुनै स्थान दिइँदैन, र यही भाव स्वयंसेवकको भावि जीवनमा पनि रहिरहन्छ ।
●||●
संघका द्वितीय सरसंघचालक पूजनीय श्रीगुरुजीले संघ शिक्षा वर्गमा सहभागी शिक्षार्थीहरूलाई भन्नुभएको थियो-
“व्यायामशालामा गएर प्रत्येक व्यक्ति स्वयं शक्तिसम्पन्न सक्छ, तर यस व्यक्तिगत शक्तिबाट समाजलाई त्यति लाभ हुँदैन । व्यक्तिका साथै समाजको स्वास्थ्य पनि सुदृढ हुनु पर्दछ । समाजको स्वास्थ्यमा व्यक्तिको स्वास्थ्य निर्भर रहन्छ । समाज दुट्यो र छरियो भने व्यक्ति पनि व्यवस्थित रहन सक्दैन । यसैले व्यक्तिगत शक्तिको विचारले मात्र काम चल्दैन । हामीले समाजलाई बलसम्पन्न बनाउनु छ।... समाजको शक्ति संगठनमा छ । जब एउटै विचार, एउटै लक्ष्य र एउटै संकल्पमा काम गर्ने व्यक्ति एकत्रित हुन्छ, तब बुझ्नुपर्छ कि उनीहरू संगठित भए ।"
यही संगठनको भावना व्यक्ति-व्यक्तिमा विकसित होस् भन्ने लक्ष्यका साथ देशभरिका स्वयंसेवकहरू एउटै स्थानमा रहेर साधना गर्ने, आफूलाई समाजका निम्ति योग्य बनाउने उद्देश्य प्रशिक्षण वर्गमा रहन्छ ।

No comments:
Post a Comment