Friday, January 20, 2023

समरसताका पोषक पण्डित छविलाल पोखरेल

चन्द्र शमशेरको शासन काल थियो । समाजमा अशिक्षासँगै कयौँ कुरीतिहरू व्याप्त थिए । यस्तै कालखण्डमा हो समयले अपेक्षा गरेका विभूतिको उदय हुने । विभूति आउँछन् र आफ्नो साहस र कर्मद्वारा समाजलाई सुन्दर बनाउने प्रयत्न गर्छन् । कोही सफल हुन्छन् भने कोही प्रेरणाका बीउ छरेर विदा हुन्छन् । समयक्रममा त्यो प्रेरणाको बीउ उम्रन्छ, फक्रन्छ र समाजलाई सुगन्धले युक्त बनाउनमा पुनः अर्पित हुन्छ । आफ्नो जीवनकालमै आँटिला बनेर समाजलाई सुन्दर एवं सुव्यवस्थित बनाउन सक्रिय रहने यस्तै एक विभूति हुनुहुन्थ्यो पण्डित छविलाल पोखरेल ।

विक्रम संवत् १९६२ मा धनकुटाको कचिँडेमा उहाँको जन्म भएको थियो । त्यस बेला काठमाडौँमा मात्र एक–दुईवटा विद्यालय थिए जहाँ कथित अभिजात वर्गका छोराछोरीले मात्र शिक्षा पाउन सक्थे । सर्वसाधारणलाई पढ्न–लेख्न पाउनु असम्भव कुरा थियो । यस्तो समयमा आफ्नै प्रयासमा छविलाल पोखरेलले संस्कृत पढ्नुभयो । समाजलाई शिक्षाको ज्योतिबाट वञ्चित राख्नुहुन्न भन्ने भाव मनमा बोकेर उहाँ सर्वसाधारणका लागि विद्यालय चलाउने विचारमा हुनुहुन्थ्यो । यस्तै बेला वि.सं. १९९१ म गजेन्द्रबहादुर मल्ल नाम गरेका शिक्षाप्रेमीसँग सहकार्य गरी धनकुटाको गोकुण्डेश्वर पाटीमा पहिलो विद्यालय खोल्नुभयो । त्यो विद्यालय नेपालका पुराना दस–बार विद्यालयहरूमध्येको एक थियो । राणाहरूलाई चाकडी गरी खुसी पार्नसक्दा मात्र विद्यालय खोल्न पाइने त्यस समयमा आम जनताको प्रयत्नमा खोलिएको त्यो विद्यालय बन्द गराइयो । पछि १९९६ मा पुनः सुचारु भयो । त्यसपछि छविलाल गुरुले धरानमा पब्लिक माध्यमिक विद्यालय, सार्वजनिक विद्या भवन, शारदा बालिका विद्यालय, पिण्डेश्वर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस आदि खोल्न र खोलाउनमा सक्रियतापूर्वक लाग्नुभयो । आफैले पिण्डेश्वर क्याम्पसमा पढाउनु पनि भयो । त्यहीँ पढाउँदा ताका उहाँलाई छविलाल गुरु भन्न थालियो ।

शिक्षासेवी व्यक्तित्वहरूको सद्प्रयास स्वरूप आम नागरिकले पनि विद्यालयबाट शिक्षा पाउने वातावरण बन्दै थियो । तर, दलित समुदायका मानिसलाई सार्वजनिक विद्यालयमा पढ्न दिइँदैनथ्यो । धर्मले जातिका नाममा तल्लो र माथिल्लो भन्ने शिक्षा दिँदैन । तर, समाजमा चाहिँ यो कुरीति व्याप्त थियो । समाजका निम्ति भेदभाव जहिल्यै अस्वाभाविक कुरो हो भन्ने बोध गरेका छविलाल गुरुले खोजी–खोजी दलित समुदायका बालबालिकालाई विद्यालय भर्ना गराउन थाल्नुभयो । यद्यपि यो कार्य त्यस समय चुनौतीपूर्ण थियो । तथाकथित ठूला जातका मानिसले उहाँको यस कदमको विरोध गरे । तर समाज–उत्थानको दिशामा पाइला चलाउने मानिस कहाँ पछि हट्थे र ! सामाजिक समरसताका निम्ति उहाँको परिश्रम क्रमिक रूपमा सार्थक बन्दै थियो । उहाँले आफ्ना विद्यालयमा भर्ना गरी पढाउनुभएका हीरालाल विश्वकर्मा स्वयं यस देशका शिक्षा राज्यमन्त्री बनेको उदाहरणको चर्चा हुने गर्दछ ।

‘पुरोहित’ त्यो हो जसले पुरको हित गर्दछ । मार्ग देखाउने, उपदेश गर्ने र समाजलाई गलत बाटोमा जानबाट रोकेर उचित मार्गमा ल्याउनेलाई पुरोहित भनिन्छ । पुरोहितको कर्तव्यबारे वेद–वाक्य छ— वयं राष्ट्रे जागृयाम पुरोहिताः जसको भाव हो चिन्तक एवं साधक गुण भएका पुरोहितले राष्ट्रमा जागरण ल्याऔँ । प्राचीन कालमा शायद यस्ता व्यक्तिलाई नै पुरोहित भनिन्थ्यो जो राष्ट्रिय–चरित्र, राष्ट्रिय–गौरव, राष्ट्रिय–मर्यादा, राष्ट्रिय–आत्मीयता, राष्ट्रिय–समृद्धि आदिके वृद्धि र उत्कर्षको कुरा दूरगामी हित ठानेर त्यसको प्राप्तिका निम्ति व्यवस्था गर्दथे । छविलाल गुरु पनि जागरणका पुरोधा हुनुहुन्थ्यो । उहाँ पुरोहित हुनुहुन्थ्यो । उहाँ अगुवा बनेर श्रौतकर्म, गृह्यकर्म र संस्कार आदि अनुष्ठान पनि सक्रियतापूर्वक गराउनुहुन्थ्यो । यस कार्यमा पनि उहाँ समरसतामा जोड दिनुहुन्थ्यो । राई, लिम्बु, गुरुङ आदि जातका कुमारहरूलाई व्रतबन्ध गराइदिने र दलित भनिने समुदायमा पनि सहजतापूर्वक गएर कर्मकाण्ड गरिदिनुहुन्थ्यो ।

छविलाल गुरुको अर्को परिचय साहित्यकारको रूपमा पनि स्थापित छ । लेखनकार्यमा उहाँ निकै सक्रिय हुनुहुन्थ्यो । उहाँका लगभग डेढ दर्जन साहित्यिक कृतिहरू छन् । समालोचनाको कसीमा देवासुर सङ्ग्राम, आधुनिक दृष्टिमा वाल्मीकि रामायण, कविता सङ्ग्रहका रूपमा भाव तरङ्ग आदि उहाँका महत्त्वपूर्ण कृति हुन् ।

शिक्षा क्षेत्रमा योगदान गर्दै सामाजिक समरसता निर्माण गर्नु उहाँको मुख्य कार्यका रूपमा देखिन्छ । यी दुबै कार्य तत्कालीन सरकार र भेदभावयुक्त समाजमा निकै चुनौतीपूर्ण थिए । उहाँको जीवनको अन्त्यतिर मात्र सामाजिक संघसंस्था र सरकारले उहाँले गर्नुभएको कार्यको प्रशंसा गर्न थालेको थियो । ९२ वर्षको उमेर उहाँलाई महेन्द्र प्रज्ञा पुरस्कारले सम्मानित गरिएको थियो । वि.सं. २०४४ मा शिक्षा पुरस्कार, २०५२ मा सामाजिक सेवा पुरस्कार र २०५३ मा केशरसिंह खड्गकुमारी कार्की पुरस्कारले सम्मानित हुनुभयो । आज जनमानसको हित हुने कार्यमा समर्पित उहाँको यशस्वी जीवनलाई गोरखा दक्षिणबाहु चौथोले पनि सम्मानित गरिएको थियो ।

उहाँले आजीवन ‘सर्वे भवन्तु सुखिनः’ नै बाँच्नुभयो । कुरीतिका विरुद्ध जागरणको बिगुल फुकेर समग्र समाजलाई निरामय बनाउनमा उहाँले जीवनको कणकण अर्पित गरिदिनुभयो । शोषित तथा वञ्चितहरूलाई शिक्षा र संस्कारको ज्योति देखाउने यस्ता मनस्वीको देहावसान २०५६ साल फागुन एक गते भएको थियो । उहाँ समुन्नत नेपाली समाज निर्माणका निम्ति आफ्नो समयका पुरोधा नै हुनुहुन्थ्यो । उहाँको प्रेरक जीवनले असङ्ख्य मानिसका लागि ज्योतिर्मय पथ–प्रदर्शकको कार्य गरिरहेको छ ।

 

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...