Tuesday, December 13, 2022

नाथयोगी सिद्ध रत्ननाथ



हामी ज्ञानभूमि, शान्तिभूमि, योगभूमि, तपोभूमि आदि विभिन्न विशेषतायुक्त विशेषण जोडेर श्रद्धापूर्वक नेपालभूमिलाई स्मरण गर्छौँ । साधनारत रहेका सिद्ध साधक जस्तै हिमालका चुलीहरूको काख नेपालभूमिमा कैयौँ सिद्ध योगीहरूले जन्म लिएका छन् । यहाँ आफ्नो वैभवपूर्ण जीवन यापन गरेर यस भूमिको दिव्यतामा अझ ऊर्जा थपेका छन् । आफूले पाएको सिद्धि सम्पूर्ण मानवमात्रको कल्याणको लागि प्रयोग गर्ने महामनाहरूके पावन इतिहासको साक्षी छिन् नेपाल जननी । यही पवित्र परम्पराका एउटा प्रकाशपुञ्ज बनेर देखापर्ने नेपाल आमाका रत्न हुनुहुन्थ्यो सिद्ध रत्ननाथ ।

सिद्ध रत्ननाथको पूर्वजीवन, दीक्षा प्राप्ति र लोकसेवाका बारेमा विभिन्न जनश्रुतीहरू प्रचलित छन् । जसअनुसार लगभग चौधसय वर्षपहिले दाङको देउखुरी (देवपुरी) उपत्यकामा माणिक्यपरीक्षक नाम गरेका ओजश्वी राजाको शासन थियो । उनै माणिक्यपरीक्षकका सुपुत्र थिए रत्नपरीक्षक जो कालान्तरमा माणिक्य परीक्षकको मृत्युपछि राजा समेत भए । सर्वगुण सम्पन्न रत्नपरीक्षक सनातन धर्मको मर्यादा राख्न सदैव प्रयत्नशील रहन्थे । कुनै पनि नागरिक अभावमा बस्नु नपरोस् भन्ने कुराको सुनिश्चितता गरेका थिए प्रजालाई पुत्रवत व्यवहार गर्ने ती राजाले । नेतृत्व मर्यादित रहे राष्ट्रको समुन्नति अवश्य हुन्छ भन्ने स्वतः प्रमाण बनेको थियो धनधान्यादि समृद्धिले परिपूर्ण उनको राज्य ।

राजाहरू आखेटका निम्ति वनमा जाने एक प्रकारको प्रचलन नै हुनेगर्थ्यो । यस्तै आखेटका क्रममा राजा रत्नपरीक्षक वनमा भएको बेला उनको भेट गुरु गोरखनाथसित भएको बताइन्छ । व्यक्तिलाई देखेरै उसको परिचय पाउने योग्यता राख्दछन् सिद्धहरू । शिष्यले गुरु खोज्दै जानु एउटा परम्परा हो भने योग्यता भएका शिष्यलाई गुरु आफैले खोज्नुहुन्छ भन्ने मान्यतालाई पनि उत्तिकै शिरोधार्य गरिन्छ । गुरु गोरखनाथले पनि रत्नपरीक्षक एक अमूल्य रत्न हुन् भनी देखेरै परिचय प्राप्त गर्नुभयो । त्यसबेला, वास्तवमा रत्नको परीक्षक त उहाँ नै बन्नुभयो । तसर्थ उनलाई राजधर्म सिकाउने क्रममा भन्नुभयो, ‘मूक पशुको शिकार हैन मनमा भएका विकृति रूपी पशुको आखेट गर ।’ गुरु गोरखनाथको त्यो शिक्षाबाट प्रभावित भएका राजाले आफू पनि नाथ पन्थमा दीक्षा लिने सदिच्छा व्यक्त गरे । करुणामूर्ति गोरखनाथले उनलाई आफ्नो शिष्यत्व प्रदान गर्नुभयो र उहाँको नाथ सम्प्रदायअनुसारको उहाँको दीक्षा नाम रत्ननाथ रहन गयो ।

भनिन्छ, दीक्षासँगै रत्ननाथलाई गुरु गोरखनाथले अमृत पात्र प्रदान गर्नुभएको थियो । उक्त अमृत पात्रलाई साथमा लिएर विभिन्न देश–देशावरमा धर्म प्रचारका उद्देश्यले भ्रमण गर्दै पुग्नुभयो । यस क्रममा एसिया महादेशका वर्तमान अफगानिस्तानको काबुल र कन्धार, पाकिस्तान, भारत, नेपाल आदि भ्रमण गर्नुभयो । भारतको गोण्डा जिल्ला तुलसीपुरस्थित देवी पाटनमा पुगेर उहाँले देवीको पूजा आराधना गरी आफ्नो सिद्धि पूर्ण गर्नुभयो । त्यसपछि चुरे र महाभारत पहाडको बिचमा रहेको दाङ उपत्यकास्थित चौघेरामा फिर्ता भई मठ–आश्रम स्थापना गर्नुभयो । यसै मठमा गोरक्ष पात्र देवताको पूजा पद्धति उहाँले नै बसाल्नुभयो । डा. स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ पुस्तकमा यहाँको मठमा प्रचलित पूजा पद्धतिबारे योगी नरहरिनाथले भन्नुभएको भनी उल्लेख गर्नुभएको छ— “दाङ चौघेराका मठमा अहिलेसम्म जो पूजा चलिआइराखेको छ सिद्ध रत्ननाथको आफ्नै  जीवनमा आफैँले चलाएको पूजा पद्धति हो । दाङ चौघेराको पूजा अरू मन्दिरहरूको जस्तो होइन । चौघेरा रत्ननाथ मठको पूजा आरती नित्य नियमले दश बजे रातिबाट शुरु भएर नियमले चारबजे बिहान ब्राह्ममुहूर्तमा समाप्त हुन्छ ।” 

एउटा जनश्रुति के पनि सुन्न पाइन्छ भने आफ्नो सिद्धीको प्रभावले सिद्ध रत्ननाथ दैनिक भारतको पाटनमा पाटेश्वरी देवीको पूजा आराधना गर्न पुग्नुहुन्थ्यो । यो क्रम लामै चल्यो । पछि देवीले प्रशन्न भएर रत्ननाथलाई भन्नुभयो— वत्स, तिम्रो निष्ठायुक्त आराधना देखेर म प्रशन्न भएँ । अबउपरान्त तिमी मेरो आराधनाको लागि दैनिक रूपमा पाटन आउनुपर्दैन, बरु प्रत्येक वर्षको चैत्र नवरात्रमा आएर मेरो पूजाआराधना गरी जानू । देवी भवानीको यस्तो आज्ञा भएपछि त्यसै समयदेखि पात्रदेवतालाई प्रत्यक वर्ष होली पर्वको पन्ध्र दिनपछि अर्थात् चैत्र नवरात्रको बेला भारतको गोण्डा जिल्लाको तुलसिपुरमा रहेको पाटेश्वरी मन्दिरमा साधुहरूले सवारी चलाउने प्रचलन छ । पाँचदिनसम्म पाटेश्वरीमा पूजा–अर्चना भएपछि पुनः दाङको चौघेरामा फिर्ता सवारी गराउने परम्परा रहिआएको छ । यस दृष्टिले नै दाङको घोराहीस्थित चौघेरा रत्ननाथ र पाटनदेवीबीच दाज्यु–बहिनीको सम्बन्ध रहेको छ भन्ने विश्वास पनि गरिन्छ ।

___________

विजयप्रसाद मिश्र

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...