भगवान् दत्तात्रेयको अवतरण मार्गशीर्ष पूर्णिमाको प्रदोषकालमा भएको थियो । अतः यस दिन निकै समारोहपूर्वक दत्तात्रेय जयन्ती उत्सव मनाइन्छ । दत्तात्रेय योगमार्गका प्रवर्तक, अवधूत विद्याका आद्यआचार्य तथा श्रीविद्याका परमआचार्य हुनुहुन्छ ।
कृपामूर्ति भगवान् दत्तात्रेयको अवतारका विषयमा विविध कथा–प्रसङ्ग प्रचलित छन् । उहाँ अत्रि तथा अनसूयाका पुत्रका रूपमा प्रकट हुनुभएको थियो ।
‘मलाई प्राणीहरूको दुःख–निवारण गर्ने पुत्र प्राप्त होस् !’ कल्याणकारी भावका साथ देवी अनसूयासहित अत्रिमुनि घोर तपस्या रत हुनुहुन्थ्यो । सर्वव्यापी हुनाले जसलाई विष्णु भनिन्छ उहाँ ऋषिदम्पत्तिको अभीष्टबाट कहाँ अनभिज्ञ हुनुहुन्थ्यो होला र ! ऋषि–ऋषिपत्नीको शिवभावबाट प्रसन्न हुनुभएका भगवान् नारायणले प्रत्यक्ष दर्शन दिनुभयो । ती साधक दम्पत्तिमाथि कृपापूर्ण दृष्टिपात गर्दै उहाँले भन्नुभयो–‘श्रेष्ठ तपस्वी, मैले आफैलाई तिम्रो सर्वहितकारी भावका निम्ति दान गरिदिएँ ।’ दत्तो मयाहमिति यद्भगवान् स दत्तः। (श्रीमद्भागवत २।७।४)– यसरी ऋषि अत्रिको लोककल्याणकारी आकांक्षाका कारण आफैलाई दान गर्नुभएको हुनाले उहाँको नाम ‘दत्त’ रह्यो ।
अत्रि मुनिका पुत्र रूपमा अवतरित हुनुभएकाले उहाँको नाम ‘आत्रेय’ पनि हो । दत्त र आत्रेय— यी दुई नामको संयोग ‘दत्तात्रेय’ एउटै नामका रूपमा प्रख्यात भयो । योगविद्यामा असाधारण अधिकार राख्नुहुने भएकाले उहाँलाई योगीराज पनि भनिन्छ ।
श्रीमद्भागवत (१।३।११) अनुसार "छैटौँ अवतारमा अनसूयाको इच्छा पूरा गर्न अत्रि ऋषिको पुत्र दत्तात्रेयरूपमा उहाँले अवतार लिनुभयो। यस अवतारमा उहाँले अलर्क एवं प्रह्लाद आदिलाई ब्रह्मज्ञानको उपदेश दिनुभयो ।"
षष्ठे अत्रेरपत्यत्वं वृतः प्राप्तोऽनसूयया ।
आन्वीक्षिकीमलर्काय प्रह्लादादिभ्य ऊचिवान् ॥
मार्कण्डेयपुराण–अनुसार अत्रि–अनसूयाका पुत्रका रूपमा ब्रह्माजी रजोगुण–प्रधान सोम, भगवान् विष्णु सत्त्वगुण–प्रधान दत्तात्रेय तथा तमोगुण–प्रधान दुर्वासाका रूपमा स्वयं शिव अवतरित हुनुभएको थियो ।
‘सर्वभूतहरूका अन्तरात्मा, विश्वव्यापी भगवान् विष्णु विश्वकल्याणका लागि पुनः अवतीर्ण हुनुभयो र दत्तात्रेय नामले विख्यात हुनुभयो ।’ ब्रह्मपुराणमा भगवान् दत्तात्रेयको अवतार–प्रयोजनलाई यसरी वर्णन गरिएको छ ।
यीबाहेक विष्णुधर्मोत्तरपुराण, शिवपुराण, स्कन्दपुराण, भविष्यपुराण, श्रीमद्भागवत्, वायुपुराण आदिमा पनि अवतार प्रसङ्ग आएका छन् ।
केही पुराण–ग्रन्थअनुसार उहाँ अत्रि–अनसूयाका अयोनिज सन्तान हुनुहुन्थ्यो भन्ने तथ्य पनि प्रकाशमा आएका छन् । जस्तै, स्कन्दपुराणमा वर्णित कथा अनुसार अत्रि एवं अनसूया आफ्नो आश्रममा बसिरहेका बेला महातपस्वी अत्रिका आँखाबाट तपको दिव्य तेज निस्कियो । त्यसै बेला महासति अनसूयाका आँखाबाट भक्तिको दिव्य तेज प्रकट भयो । दुबै तप र भक्तिको तेज समन्वित भएर तेजस्वी दत्तात्रेयको प्राकट्य भयो । अतः दत्तात्रेय अयोनिज सन्तान हुनुहुन्थ्यो ।
मराठी भाषाको प्रसिद्ध ग्रन्थ ‘श्रीगुरुचरित्र’मा त्रिमूर्ति दत्तात्रेयका विषयमा उल्लेख भएको पाइन्छ । त्यस ग्रन्थमा दत्तात्रेय प्राकट्यका विषयमा यसरी उल्लेख भएको छ— उहाँ त्रिदेवका त्रिगुणात्मक शक्तिकै एकीभूत रूप हुनुहुन्थ्यो । उहाँको स्वरूपको वर्णन गर्दै त्यहाँ भनिएको छ— उहाँ त्रिमुख, षड्भुज, शिरमा जटामुकुट भएका, भस्मविभूषित अङ्ग, गलामा रुद्राक्ष–मालाले शोभित, हातमा त्रिशूल, कमण्डलु, चक्र, शङ्ख, डमरु धारण गर्नुभएका हुनुहुन्छ ।
अवधूत गीता (श्रीमद्भागवतान्तर्गत)
उद्धवगीता प्रकरण–अन्तर्गत भगवान् श्रीकृष्णले प्राचीन इतिहास भनी दृष्टान्तका रूपमा राजर्षि यदुका प्रश्न र तेजस्वी अवधूत युवा भगवान् दत्तात्रेयले दिनुभएको सदुपदेश संवाद सुनाउनु भएको छ । यही प्रसङ्ग श्रीमद्भागवतमहापुराण अन्तर्गतको ‘अवधूत गीता’ नामले प्रख्यात छ । यद्यपि अवधूत गीता नामले एउटा छुट्टै ग्रन्थ पनि छ जसमा वेदान्त विषयलाई अत्यन्त मार्मिक ढङ्गले स्वयं भगवान् दत्तात्रेयले नै उपदेश गर्नुभएको छ ।
यो गीता जम्मा तीन अध्यायमा निबद्ध छ । यसमा भगवान् दत्तात्रेयले चौबीस गुरुहरूबाट आफूले ग्रहण गरेको शिक्षालाई वर्णन गर्नुभएको छ । ती चौबीस गुरुबाट प्राप्त शिक्षा यस प्रकार छन् ।
१) पृथ्वीबाट धैर्य र क्षमा । आफ्नो धर्मको मार्गबाट विचलित नहुनू । पर्वत तथा वृक्षहरूबाट परोपकारको शिक्षा ग्रहण गर्नु ।
२) शरीरभित्रको प्राणवायुबाट आवश्यक मात्र भोजनबाट सन्तुष्ट हुने । जुन आहारबाट ज्ञान नष्ट हुँदैन र वाणी तथा मन पनि विचलित हुँदैनन् साथै निर्वाह पनि चल्दछ, त्यतिमै सन्तोष गर्नु । त्यस्तै, वायुबाट आफू जति ठाउँमा पुगे पनि कतै आसक्त नहुने । गन्ध वायुको गुण होइन पृथ्वीको गुण हो तर वायुले गन्ध बोक्नपर्छ । तर पनि वायु शुद्ध नै रहन्छ । साधकको सम्बन्ध शरीरसित भइरहे पनि आफूलाई आत्माका रूपमा हेर्ने र विषयसित सर्वथा निर्लिप्त रहने ।
३) चल–अचल घट–मठ आदि पदार्थका कारण तिनमा व्याप्त आकास भिन्न–भिन्न प्रतीत भए पनि त्यो अखण्ड छ । त्यस्तै चर–अचरमा व्याप्त आत्माका रूपमा ब्रह्म सर्वव्यापी छ । आगो, पानी अथवा बादल आदि कुनै पनि कुराले आकास विकृत हुँदैन । त्यस्तै आत्मालाई पनि कुनै विकृतिले छुँदैन ।
४) जल स्वभावैले स्वच्छ हुन्छ र त्यसले अरुलाई पनि निर्मल–पवित्र पार्दछ । गङ्गादि तीर्थका रूपमा स्पर्श एवं दर्शन गर्दा समेत त्यसले पवित्र तुल्याउँछ । मानिस आफू पनि स्वच्छ भई अरुमा पनि पवित्रता सञ्चार गर्ने हुनुपर्दछ ।
५) आगो तेजस्वी र ज्योतिर्मय छ । त्यसको तेजलाई कसैले दबाउन सक्दैन । त्यसमा पर्ने कुनै पनि वस्तुलाई त्यसले पचाउँछ तर त्यस वस्तु वा पदार्थको दोष आफूमा राख्दैन । मननशील व्यक्ति पनि अग्नि जस्तै तेजस्वीताले युक्त, इन्द्रियहरूबाट पराजित नहुने, कसैको दोष ग्रहण नगर्ने हुनु । आगो कतै प्रकट त कतै अप्रकट रहन्छ । साधक पनि त्यस्तै हुनु ।
६) समयको प्रभावले चन्द्रमाको कला घटे–बढेको प्रतीत हुन्छ तर चन्द्रमा स्वयं न घट्छ न बढ्छ । त्यस्तै जन्मदेखि मृत्युपर्यन्त शरीरमा परिवर्तन भइरहे पनि आत्माको त्यो परिवर्तनसँग कुनै सम्बन्ध हुँदैन ।
७) सूर्यले ग्रीस्म कालमा आफ्ना किरणद्वारा पृथ्वीको जल शोषण गर्दछ र वर्षा कालमा त्यसलाई त्यागिदिन्छ । योगी पुरुषले पनि आफ्ना इन्द्रियद्वारा विषय ग्रहण गरेपनि समय आएपछि अनासक्त भएर त्यसलाई त्याग्न अथवा दान गर्नमा समर्थ हुनुपर्छ ।
८) कपोत–दम्पतीको दृष्टान्तबाट— कुनै पनि व्यक्तिले कसैसँग अत्यन्त स्नेह राखेर लालन–पालन गरे पनि बढी आसक्ति गर्नुहुँदैन । कसैप्रति पनि आसक्त हुनु विवेकहीनता हो । उसले परेवाले झैँ दुःख पाउँछ । मनुष्य शरीर मुक्तिका निम्ति खुला द्वार हो तर मानिस अन्धो आसक्तिमै बाँधिइरह्यो भने यस्तालाई उच्चतामा पुगेर पनि खसेको— आरुढच्युत भनिन्छ । अन्धआसक्तिले विनाशको गर्तमा पुर्याउँछ ।
९) दैवले जुराएको आहारामै आश्रित हुने अजिङ्गर जस्तो वृत्ति हुनु, अधिक सञ्चयप्रति उदासीन हुनु भनेको अल्छी र अकर्मण्य हुनु भन्ने होइन इन्द्रिय तथा मन आदिको चञ्चलतालाई जित्नु भन्ने भाव हो ।
१०) साधक समुद्र जस्तो निश्चल हुनुपर्दछ । बाहिरबाट प्रसन्न र भित्र गम्भीर हुनुपर्दछ । रागद्वेषरहित उसको भाव अथाह, अपार र असीम हुनुपर्दछ । भोगप्राप्तिमा अति प्रसन्न हुने र प्राप्त नहुँदा शोकमग्न हुने वृत्ति नहोस् ।
११) बत्तीको उज्यालोमा झोसिएर प्राण त्याग्ने पुतलीबाट के शिक्षा लिनु भने रूप–यौवन, स्वर्ण–वस्त्रादिमा मुग्ध भएर अल्मलिनु अनर्थकारी हुन्छ ।
१२) साधक संन्यासीले एउटै गृहस्थबाट मात्र भिक्षा ग्रहण गर्नुहुँदैन । उसले मधुकरी वृत्ति अर्थात् माहुरी झैँ अलि–अलि गरी घर फेरी–फेरी भिक्षा ग्रहण गर्नुपर्दछ । त्यस्तै, फूलहरूबाट भवँराले रस ग्रहण गरे झैँ ठूला–साना सबैखाले शास्त्रहरूबाट सारभूत वस्तुलाई ग्रहण गर्नुपर्दछ ।
१३) हत्तिनीको स्पर्श मात्रले पनि वासनामा आसक्त भएको हात्ती बन्धनमा पर्दछ । यसर्थ स्त्रीलाई भोग्यरूपमा स्वीकार नगर्नु (अथवा स्त्रीप्रति मातृवत् आदरभाव मात्र राख्नु) अन्यथा साधकका निम्ति वासनामय दृष्टि विनाशकारी हुनेछ ।
१४) मह काढ्ने व्यक्तिबाट के शिक्षा लिनु भने माहुरीले मह सञ्चय गरेर राखेझैँ लोभी व्यक्तिहरू धन सञ्चयमा मात्र ध्यान दिन्छन् । त्यसलाई पनि अरुले नै उपभोग गर्छन् ।
१५) व्याधाको गीतमा मुग्ध भएर हिरण बन्धनमा पर्दछन् । यसर्थ विषयीहरूले गाउने प्रणयगीत (आसक्तिका विषय)तिर ध्यान नदिनु ।
१६) स्वादको लोभमा परेर माछो बल्छीद्वारा मृत्यु प्राप्त गर्दछ । यसबाट हामी स्वादु जिब्रोको वशमा पर्नुहुँदैन भन्ने शिक्षा लिनु ।
१७) धन, भोग र सुख अरु नै पुरुषले देलान् भनी आशा गरेर बसेकी पिङ्गला नामकी वेश्याबाट के शिक्षा लिनु भने यस्तो आशा राख्नु अनर्थकारी छ । पिङ्गलाले आफूले चाहे जस्तो भोग र सुख नपाएपछि उसमा कल्याणकारी वैराग्य उत्पन्न हुन्छ । संसारका पदार्थहरू नाशवान् छन् । तीबाट आशा राख्नु दुःखको मूल कारण हो । बरु, विवेकी बनेर आत्मसुखको मूललाई चिन्नुपर्दछ ।
१८) मासुको टुक्रा च्यापेकको एउटा न्याहुला चरा (कर्याङ्कुरुङ चरा)लाई मासु नपाएका अरु पक्षीले आक्रमण गरे । त्यसपछि उसले मासुको टुक्रा त्यागिदियो । यसरी उसले सुख प्राप्त गर्यो । मनुष्यले पनि आफूलाई अत्यन्त प्रिय लाग्ने वस्तुको अत्यधिक सञ्चय गर्यो भने अनेक प्रकारका दुःख– आक्रमण बेहोर्नुपर्ने हुन्छ । यसर्थ, त्यागमै सुख छ ।
१९) सानो बालकलाई कसैबाट पनि न मानको अपेक्षा हुन्छ न अपमानको क्षोभ । यस्तो व्यक्ति नित्य आनन्दमा हुन्छ ।
२०) कुमारी कन्याले धान कुट्दा उसका हातमा भएका चुरा बज्न थाले । उसले दुबै हातमा एक–एकओटा बाहेक अरु सबै चुरा फुटाएर मिल्काइदिई । साधकले पनि के बुझ्नुपर्छ भने धेरैजना एकै स्थानमा बस्दा कलह हुने सम्भावना हुन्छ । साधना एकान्तमै गर्नु उचित हुन्छ ।
२१) बाण बनाउनमा दत्तचित्त भएको व्यक्ति इषुकारले नजिकैबाट गइरहेका राजालाई पनि देखेन । यसैगरी हामीले हाम्रो चित्तलाई परमात्मामा एकाग्र एवं स्थिर बनाउनुपर्दछ ।
२२) सर्प अर्काले बनाएको घरमा सुखपूर्वक बस्दछ । ऊ आफ्नो घर बनाउँदैन । अनित्य शरीर भएको जीवले संसारलाई पनि अनित्य ठान्नुपर्दछ ।
२३) माकुरोले आफ्नो नाभिबाटै मुखद्वारा जाल निकाली फिँजाउँछ । ऊ त्यही जालमा विहार गर्दछ र पुनः त्यसलाई आफैँमा लीन गराउँदछ । यसै गरी परमात्माले पनि आफैँले जगत्को सृष्टि गरी त्यसमा लीला रची पछि त्यस जगत्लाई आफैँमा लीन गराउनुहुन्छ ।
२४) कुमलकोटीले भित्तामा माटोको प्वाल बनाएर त्यसमा बन्द गरेको अर्कै किराले निरन्तर कुमलकोटीकै चिन्तन गर्दछ । अन्ततः उसले आफ्नो पहिलाको रूपलाई नत्यागे पनि कुमलकोटीकै समान रूप धारण गर्दछ । स्नेह, द्वेष अथवा भयले नै किन नहोस्, मानिसले पनि निश्चयात्मक बुद्धिले जुन–जुन विषयमा आफ्नो मनलाई एकाग्र गराउँदछ उसले त्यही–त्यही रूप प्राप्त गर्दछ ।
यत्र यत्र मनो देही धारयेत् सकलं धिया ।
स्नेहाद् द्वेषाद् भयाद् वापि याति तत्तत्स्वरूपताम् ।।
यसरी, साना–साना कथा–प्रसङ्गलाई आधार बनाएर प्रस्तुत गरिएको मार्मिक सदुपदेश जिज्ञासु हृदयका लागि सुस्वादु प्रसादका रूपमा यहाँ उपलब्ध छ । यी तिनै उपदेश हुन् जसलाई सुनेर राजर्षि यदु आसक्तिहरूबाट मुक्त भएर सहजै समदर्शी बनेका थिए ।
यसमा वर्णित चौबीस गुरु प्रकृतिका विविध तत्त्व वा पदार्थ हुन् । यी मन्त्र–प्रदान गर्ने गुरु होइनन् । यिनलाई गुरु बनाएर जीवनभरि निष्ठा राख्नुपर्छ भन्ने अभिप्राय पनि यहाँ छैन । यहाँ यी चौबीस तत्त्वलाई गुरु बनाउनुको भाव के मात्र हो भने मनुष्यले सावधान भएर साना–साना पदार्थबाट पनि शिक्षा ग्रहण गर्न सक्दछ । प्रेरणा हामीले जोकोही अथवा जुनसुकै पदार्थबाट पनि पाउन सक्छौँ । एउटा विवेकी पुरुषले यस संसारमा रहेर पनि कसरी केके शिक्षा ग्रहण गर्नसक्छ र आत्मकल्याण गर्नसक्छ भन्ने भाव बोध गराउनु यस प्रसङ्गको उपादेयता हो ।
यस सन्दर्भबाट प्रेरित भएर हामीले पनि भगवान् दत्तात्रेयको स्मरणपूर्वक प्रार्थना गर्नसक्छौ—
हे भगवान दत्तात्रेय, जसरी तपाईँले आफ्ना २४ गुण–गुरु बाट २४ वटा दिव्य गुण शिक्षा रूपमा ग्रहण गर्नुभयो, त्यसरी नै सबैबाट असल गुणहरू ग्रहण गर्ने प्रवृत्ति ममा पनि निर्मित होस्, श्रीपादका दिव्य चरणहरूमा यही प्रार्थना अर्पित गर्दछु ।
भगवान् दत्तका नाममा दत्त सम्प्रदाय दक्षिणभारतमा विशेष प्रसिद्ध छ । नेपालमा पनि यत्रतत्र भगवान् दत्तात्रेयको आराधना गरिँदै आएको छ । जुम्लाको चन्दननाथ मन्दिरमा भगवान् दत्तात्रेयकै आराधना गरिन्छ भने भक्तपुरमा समेत भगवान् दत्तात्रेयलाई समर्पित एउटा प्रसिद्ध मन्दिर रहेको छ ।
उहाँको बीजमन्त्र ‘द्रां’ हो ।
_______________________________
— विजयप्रसाद मिश्र

No comments:
Post a Comment