(ऋग्वेदको १०औँ मण्डलको ५८ औँ सूक्त ‘मन–आवर्तन सूक्त’ नामले विख्यात छ । शास्त्रमा मनलाई बन्धन र मोक्ष दुबैको कारण भनिएको छ । रोग बन्धन हो भने आरोग्यता मुक्ति हो । मन स्वस्थ छ आशावादी र सकारात्मक छ भने ढिलो–चाँडो शरीर स्वस्थ र सबल हुनसक्छ । शारीरिक रूपले निर्बल झैँ प्रतीत हुने दिव्याङ्ग मानिस पनि मनकै शक्तिले जीवनमा विपुल कीर्ति अर्जित गर्न सक्षम भएका छन् । यसर्थ मन अर्थात् विचारको सकारात्मकता र दृढताले हामी अपेक्षित सफलता प्राप्त गर्न सक्छौँ भन्नेमा विद्वत्जन एकमत छन् । ऋग्वेदमा आएको यस सूक्तमा मनलाई निराशा, भ्रम, मूढता, दिवास्वप्न, अस्थिरता, लक्ष्यविहीनता आदिबाट मुक्त गराएर उत्साह, आशा, स्थिरता, ध्यान, तथा क्रियात्मक विचारका निम्ति प्रेरित गरिएको छ । मानवका सबै समस्या मनकै समस्या न हुन् । किनभने भ्रमित र भौँतारिएको मनले जीवनको ऊर्जालाई विकीर्ण बनाउँछ; ह्रास गराउँछ । यशस्वी जीवनका निम्ति हाम्रा उपनिषद् पनि मनरूपी घोडालाई आत्मारूपी सारथिको अधीनमा राखेर कार्य गराउन प्रेरित गर्दछन् । यहाँ यस सूक्तबाट तीनवटा मन्त्र र तिनको भाव प्रस्तुत गरिएको छ ।)
यत्ते यमं वैवस्वतं मनो जगाम दूरकम् ।
तत्त आ वर्तयामसिह क्षयाय जीवसे ।।
भावार्थ— (कुशल मनोचिकित्सक झैँ बन्ध्वादयो गौपायना ऋषि भन्छन्)— यो तिम्रो मन जीवनबाट निराश भएर वैवस्वत–यम (कालगणनाका आधार सूर्यका पुत्र यम÷काल÷मृत्युका देवता) तिर किन उन्मुख भएको छ ? अथवा किन मन ‘कुन कालमा के भयो, अब के होला’ भनी भूत र भविष्यको चिन्तामा अल्मलिएको छ ? चिन्ता आत्मघात हो । आऊ, मनलाई फर्काऊ । आत्मघात गर्न तत्पर यस निराश मनमा जीवन–आशाको सञ्चार गर । मनलाई निराशाबाट फर्काएर ल्याऊ । समृद्ध दीर्घ–जीवनको इच्छा र उत्साहले परिपूर्ण बनाऊ ।
यत्ते दिवं यत्पृथिवीं मनो जगाम दूरकम् ।
तत्त आ वर्तयामसिह क्षयाय जीवसे ।।
भावार्थ— क्षणभरिमै द्युलोकमा र एकैछिन्मा पृथ्वीमा जहाँ पनि पुग्ने यो अस्थिर मनलाई स्थिर बनाऊ । अस्थिर मनले कुनै काम सम्यक् हुँदैन । यसर्थ मनलाई फर्काऊ आफ्नो साधनामा । सफल जीवनका लागि मनलाई यसरी भौँतारिनबाट रोक्नैपर्छ । एकप्रकारले यो आफ्नो मनलाई गरिएको आत्म–निर्देशन (अटो सजेसन) हो ।
यत्ते भूमिं चतुर्भृष्टिं मनो जगाम दूरकम् ।
तत्त आ वर्तयामसिह क्षयाय जीवसे ।।
भावार्थ— तिम्रो भ्रमित मन ! जागृत अवस्थामा किन आफ्नो धरातलभन्दा परपर, टाढा–टाढा जान्छ ? पृथ्वीका चारै दिशामा किन भौँतारिन्छ ? भौँतारिन नदेऊ । बरु, आफ्नो मनलाई फर्काएर ल्याऊ । र, जीवनलाई सुदीर्घ, सुन्दर एवं समृद्ध बनाउने कार्यमा केन्द्रित गर ।
यस सूक्तमा मनलाई आत्माको दास बनाएर आत्मानुकूल कार्य गराउन प्रेरित गरिएको छ ।

No comments:
Post a Comment