Monday, January 22, 2024

अयोध्यामा प्राण प्रतिष्ठा : रामत्वको अभ्युदय




(विजयप्रसाद मिश्र | बुद्धशान्ति—१, झापा)


सरयू नदीको पवित्र किनारमा अवस्थित छ अयोध्या । हिन्दू धर्ममा मोक्षदायिनी सप्तपुरिमध्ये मथुरा, माया, काशी, काञ्ची, अवन्तिका र द्वारकासँगै अयोध्या पनि पर्दछ । अयोध्याबारे मान्यता के पनि छ भने मानवका आदिपिता महाराज मनुले यसको स्थापना गर्नुभएको थियो । उहाँकै वंशपरम्परा इक्ष्वाकु वंशका रूपमा प्रख्यात छ । अयोध्या इक्ष्वाकुवंशको राजधानी । यस दृष्टिले विश्वको प्रथम राजधानी पनि अयोध्या नै हो । कालान्तरमा हामीले चिनेको अयोध्या श्रीमद्रामायणबाट हो । र, पछिल्लो समयमा श्रीरामजन्मभूमि आन्दोलनले यस धामतिर विश्वको ध्यान आकर्षित गरेको थियो ।


अयोध्या तीर्थक्षेत्र हो, तर हाम्रा निम्ति यो स्थावर तीर्थ मात्र होइन । अयोध्या हाम्रा निम्ति हाम्रा परम आराध्य प्रभु श्रीरामको जन्मभूमि, श्रीरामरूपी आदर्शको उद्भव भूमि हो । यद्यपि हामी यो आदर्श हाम्रा लागि मात्र हो भनी सीमित गर्दैनौँ पनि । किनभने धर्ममा ‘मात्र’ भन्ने भाव नै छैन । धर्म सबैका लागि हो— चराचरका लागि हो । यही सत्य हो— मानव समाजको समुन्नतिका लागि नियम हो । यही ऋत हो— प्रकृतिमा देखिने अनुशासन हो । यही भाव सर्वेऽपि सुखिनः सन्तु भन्ने प्रार्थनाबाट प्रकाशित छ । यही आदर्श श्रीरामको जीवनगाथा र अमृतमय वाणीहरूमा मूर्तिमान भएर देखिएको छ । त्यसैले आर्ष ग्रन्थले भने— रामो विग्रहवान् धर्म । अतः श्रीराम सम्पूर्ण मानवजातिका लागि हुन् । र अयोध्या मानवताका, ऋतका, धर्मका विग्रहरूप श्रीरामको प्राकट्यभूमि ।


यस दिव्यभूमिमाथि कुनैबेला भव्य मन्दिर स्थापित थियो । तर मध्ययुगमा मजहबी असहिष्णुताको प्रतीक अत्याचारी र आक्रमणकारी बर्बर बाबरको क्रूर आक्रमणबाट जन्मभूमिमा रहेको शताब्दीयौँ पुरानो मन्दिर ध्वस्त भयो । आक्रमणकारी बाबरको आदेशमा उसको सेनापति मीरबाँकीले अयोध्याको रामकोटमा रहेको रामजन्मस्थान मन्दिर भत्काएर सोही ठाउँमा इस्लामिक बर्बरताको प्रतीक मस्जिदजस्तो संरचना बनाएको थियो । आक्रान्तहरू त्यसलाई मस्जिद–ए–जन्मभूमि भन्न थाले । १५२८ को यो कुकर्मका कारण हिन्दू समाजको शिरमा अपमानको कलङ्क निरन्तर कायम थियो । धर्मको पुनर्स्थापनाका लागि संघर्ष सधैँ भइरहेको छ । श्री रामजन्मभूमिका लागि पनि ७६ पटक भयंकर संघर्ष भएको थियो । यस संघर्षमा हरेक भाषा, वर्ग, समुदाय र सम्प्रदायका मानिसहरू सहभागी भएका थिए । त्यस अपमानको कलङ्क धुन र आफ्नो आस्थाको रक्षा गर्न अनि धर्मरक्षाका लागि भावी पुस्तालाई प्रेरणा समेत दिन श्रीरामजन्मभूमिमा मन्दिरको पुनर्निर्माण आवश्यक थियो । यही आवश्यकता बोध गर्दै पच्चीस पुस्ताको त्याग, बलिदान र समर्पणको फलस्वरूप आजको पुस्ताले मन्दिर निर्माण र त्यहाँ श्रीरामललाको श्रीविग्रहको प्राण प्रतिष्ठा समेतको साक्षी हुने अहोभाग्य पाएको छ ।


एउटा सत्य थियो जसलाई बुझ्न ५०० वर्ष लाग्यो । तर जित सत्य सिद्धान्तकै भयो । अयोध्याका र श्रीरामको आदर्शप्रति आस्थावान् सबै सन्त–महात्माहरूले राम जन्मभूमिका लागि संघर्ष गरेका थिए । विशेष गरी अवधको हिन्दू समुदाय सन् १५२८ देखि निरन्तर संघर्षरत थियो । गणना गरेर सकिन्न । कहिले अयोध्याका जनताले र कहिले हनुमानगढका जनमानसले त्यो संघर्षलाई जारी राखेका थिए । कहिले दिगम्बर र कहिले निर्मोही अखाडाले निरन्तरता दिएको थियो । यस संघर्षमा हिन्दू समाजले पूर्ण सफलता नपाए पनि कहिल्यै हिम्मत हारेन । आक्रमणकारीहरूलाई कहिल्यै शान्तिपूर्वक बस्न दिइएन । प्रत्येक पटकको युद्धमा हिन्दू समाज एक–एक पाइला सफलतातिर बढ्दैथियो । सन् १९३४ को द्वन्द्वमा अयोध्याका जनताले मस्जिदझैँ बनाइएको संरचनामा ठूलो क्षति पुर्‍याएका थिए । यी सबै सङ्घर्षहरूमा लाखौं राम भक्तहरूले सर्वस्व अर्पित गर्दै बलिदान दिएका छन् । ६ डिसेम्बर १९९२ को घटना यही निरन्तर संघर्षको अन्तिम परिणाम थियो, जब दासत्वको प्रतीक तीन वटा गुम्बजको मस्जिदजस्तो संरचना भत्कियो र श्री रामजन्मभूमिमा मन्दिर पुनर्निर्माणको बाटो खुल्यो । आज श्रीरामजन्मभूमि मन्दिर उपनिषद्का ऋषिहरूको वाणी ‘सत्यमेव जयते’को प्रतीकका रूपमा उभिने तर्खरमा छ ।


अयोध्याको एउटा उजाड दृश्य थियो धुलाम्मे । राम ललालाई जर्जर पालमा देख्नु हरेक आस्तिक हिन्दूका लागि दुखद अनुभव थियो । आज अयोध्या एउटा भव्यतम् स्वरूपमा उभिएको छ । ५ अगस्ट २०२० का दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १२ः४४ मा मन्दिर निर्माणको भूमिपूजन गरी शिलान्यास गर्नुभएको थियो । १ जुन २०२२ मा प्रस्तावित मन्दिरको गर्भगृहको पहिलो शिला राखिएको थियो । सेप्टेम्बर २०२३ मा गर्भगृह निर्माण सम्पन्न भयो । २२ जनवरी २०२४ रामलला आफ्नो भव्य मन्दिरमा बिराजित हुनभएको छ । हामी साक्षी भयौँ र हाम्रो जीवन धन्य भएको छ ।


हाम्रो जीवन धन्य हुनेछ त्यस दिन, जुन दिन हाम्रो प्राणमा पनि प्रभु श्रीरामको प्रतिष्ठा हुनेछ । हाम्रो जीवन यशस्वी हुनेछ जुन दिन हामी आफ्नो मनलाई अयोध्या बनाउनेछौँ । अनि त्यस मनमा श्रीरामलाई स्थापित गर्नेछौँ । त्यहाँ श्रीरामको सेवा गर्नेछौँ । सेवा कसरी गर्ने भन्नेबारे श्रद्धेय सन्त रामचन्द्र डोंगरेजी महाराजलाई उद्धृत गर्दछु । उहाँ भन्नुहुन्छ— “रामजीको सेवा गर्नु भनेको रामजीको मर्यादा पालन गर्नु हो । रामजीलाई चन्दन र फूलले सेवा गर, रामजीलाई फूलको माला चढाउँ वा भोजन अर्पण गर, यो सामान्य सेवा हो । उहाँलाई के दिन सक्षम छौ र ? भगवान्‌को आदेश मान, यही हो भगवान्‌को साँचो सेवा । धर्मको पालना गर । परमात्माले मानिसलाई तन, मन र बुद्धि मर्यादा पालनका लागि दिनुभएको छ । ...श्रीरामजीमा सबै गुणहरू एकत्र भएका छन् । अर्थात् श्रीराम संसारका सबै दैवी गुणहरूका भण्डार हुनुहुन्छ । रामजीको आमाबाबुप्रतिको भक्ति, रामजीको भ्रातृप्रेम, रामजीको संयम, रामजीको गुण, रामजीको सरलता, रामजीको एकपत्नीव्रतको प्रतिज्ञा, रामजीको उदारता, रामजीको शरणागत–वत्सलता, रामजीको विनम्रता, रामजीको मधुर वाणी आदि सबै गुणहरू एकत्रित भएकाछन् ।”


अतः जुन दिन हामीले जीवनलाई श्रीरामको आदर्श अनुरूप बनाउनेछौँ त्यसैदिन हामीमा उहाँको प्रतिष्ठा हुनेछ । श्रीरामको आदर्श हो स्वधर्मको रक्षा गर्नु । आफ्नो धर्मको संवाहक बन्नु नै जीवनमा रामत्वलाई धारण गर्नु हो । यही रामत्वको अभ्युदयले समग्र हिन्दू समाज अनुप्राणित हुनसकोस् । अनि त प्रत्येक ग्राम अयोध्या बन्नेछ, प्रत्येक देवालय श्रीरामको भव्य मन्दिर हुनेछन् । आउनुहोस्, रामत्वको अभ्युदयमा हामी पनि सहभागी बनौँ ।


शुभस्ते पन्थानः सन्तु ।



_________

(यो आलेख छात्र विचार द्वैमासिक पत्रिकामा प्रकाशित भइसकेको छ)

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...