— विजयप्रसाद मिश्र
अष्टाङ्ग योग प्राचीन भारतवर्षको विशाल भूभागमा विकसित भएको एउटा अमूल्य जीवनशैली हो। हाम्रा पूर्वज ऋषि-महर्षिहरूले स्वस्थ जीवनको आधारका रूपमा योगबारे गहिरो अध्ययन र अनुसन्धान गरी मानव जीवनका लागि समर्पित गरेका थिए। ती दूरदर्शी योगीहरूले योग अभ्यासलाई पूर्ण स्वास्थ्य प्राप्तिका लागि सहज र सरल दैनिक अभ्यासका रूपमा प्रस्तुत गरेका थिए। योग भन्नाले समग्र अष्टाङ्ग योगलाई बुझ्नुपर्छ, जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ अंगहरू पर्दछन्। वर्तमान समयमा आसन र प्राणायामलाई विशेष महत्त्व दिइएको छ किनभने यसको शरीरमा प्रत्यक्ष प्रभाव परेको अनुभव गरिन्छ।
चेतनशील मनुष्यको सर्वाङ्गीण विकासका लागि योग अपरिहार्य छ। योगको माध्यमबाट नै कोलाहलपूर्ण मानव जीवनमा सात्त्विक संयोग स्थापित गर्न सम्भव हुन्छ। योगको संयोगबाट नै 'जीव'ले आफ्नो जीवन यात्रामा अनेकौँ विषालु काँडाहरूको अवरोधमाथि विजय प्राप्त गरी आत्मसाक्षात्कारमार्फत परमात्माको सान्निध्य प्राप्त गर्न सक्छ। आजको तनावपूर्ण वातावरणमा योगासन र प्राणायामको अभ्यासले आशातीत लाभ प्राप्त गर्न सकिन्छ।
हाम्रा पूर्वज महर्षिहरूले 'शतायुर्वै पुरुषः' अर्थात् मनुष्यको आयु सय वर्षको हुन्छ भनी उद्घोष गरेका छन्। हाम्रा पूर्वजहरूको जीवनशैली योगमय हुनु नै यसको रहस्य हो। उचित दिनचर्या, स्वास्थ्यवर्धक सात्त्विक भोजन, पर्यावरण अर्थात् प्रकृतिको रक्षा गर्दै मातृवत् निकट सम्बन्ध, गोवंश संवर्द्धनबाट समग्र जीवन रक्षामा सकारात्मक प्रभाव पर्नुका साथै गोबर र गोमूत्रको प्रयोगबाट 'कृषि'लाई मानवजीवनको लागि अमृतमय भोजन उत्पादनको व्यवस्थापन नै योगमय जीवनको सम्पूर्णता थियो।
योग दिवस विश्वभरि विशेष महत्त्वका साथ मनाइँदै छ। मानिसहरूमा योगप्रति श्रद्धाका साथ अपार जागरण, उत्साह र जिज्ञासा उत्पन्न भएको छ। अब यसलाई केवल प्रचारात्मक र सङ्ख्यात्मकभन्दा गुणात्मक बनाउनुपर्छ। यसका निम्ति पौरस्त्य दर्शनद्वारा चिन्तन र मन्थन गरिएको पर्यावरण रक्षालाई विशेष महत्त्व प्रदान गरिनुपर्छ।
- पौरस्त्य चिन्तनले प्रकृतिलाई माताको रूपमा सम्बोधन गर्दछ।
- विषादीरहित कृषिलाई प्राथमिकता प्रदान गरी खाद्य उपयोगितालाई निर्विवाद बनाउन सकिन्छ।
कृषि व्यवसायलाई निर्विवाद बनाउन, मनुष्य जीवन दीर्घायु बनाउन, गोपालन अर्थात् स्वदेशी गोवंशको संवर्द्धन अनिवार्य तत्त्व भएकाले यसतर्फ सरकारले मनन गरी सोही अनुरूप योजना व्यवस्थापन गर्नु दूरदर्शिता ठहरिनेछ।
विश्वलाई उदाहरण दिनका लागि पनि, यसका निम्ति दक्षिण एसियाका सबै देश, विशेषगरी नेपाल-भारतबीचको सहकार्य अनिवार्य छ। समग्र योग भनेकै योग-पर्यावरण-हितकारी कृषि र गोवंशको संवर्द्धन-संरक्षण हो। यसमा यी दुई देश उदाहरणीय रूपमा प्रस्तुत भई 'सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः'को सर्व हितकारी व्यावहारिक अभ्यास स्थापित गर्न सकेमा बिस्तारै हामीप्रति अशान्तिले मर्माहत विश्व नै आकर्षित हुनेमा कुनै दुईमत छैन।
No comments:
Post a Comment