वृन्दावनको महिमा कसले बुझ्न सक्छ र? केवल तिनै हृदयले अनुभव गर्न सक्छन्, जसमा भक्तिको निर्मल धारा बहिरहेकी छ। एक सन्त, भगवान श्रीकृष्णका परम आराधक, एकपटक वृन्दावनको तीर्थयात्रामा गए। वृन्दावनमा केही दिन रहँदा सन्तको मन त्यहाँको शान्ति, भक्ति, र प्रेमले पूर्णतया भरिएको थियो। वृन्दावन छोड्नुअघि, अन्तिम पटक भगवानलाई भोग अर्पण गर्ने निश्चय गरे। उनले प्रसादका लागि रामदाना (चमसुर) का लड्डु किने र मन्दिरमा भक्ति भावले भगवानलाई अर्पण गरे। त्यसपछि आश्रममा फर्किए र शान्त मनले विश्राम लिए।
बिहान जब उनी आफ्नो यात्राको लागि तयार भए, मनमा एक प्रकारको शून्यता अनुभव गरे। वृन्दावन छोड्न सजिलो थिएन। उनी ट्रेन चढेर मुगलसराय स्टेशन पुगे, जहाँ ट्रेन केही समयका लागि रोकियो। सन्तले सोचे, "पटना पुग्न अझै धेरै समय छ, किन न यहाँ सन्ध्या वन्दन गरेर केही प्रसाद ग्रहण गरुँ?" सन्तले प्रसादका लागि मिठाईको डब्बा खोले। तर, लड्डुहरूमा धेरै कमिला लागेको देखे। उनी चकित भए । उनले ती कमिलाहरूलाई हटाएर केही लड्डु खाए। बाँकी लड्डु उनले प्रसादको रूपमा बाँडौँला भनी राखिदिए।
तर नौनी जस्तो कोमल सन्तको मन भने कमिलाहरूको चिन्तामा डुब्यो । उनले सोचे, "कठै यी कमिलाहरू, यी त वृन्दावनको पवित्र धूलोमा जन्मेका हुन्। अब यत्रो टाढा, मुगलसरायसम्म आइपुगे। वृन्दावनको धूलो छोडेर यहाँ ल्याउनु मेरो ठूलो भूल भयो। कति जन्म लाग्ला फेरि उनीहरूलाई ब्रज फर्किन? ब्रजजस्तो पवित्र भूमि छोड्न उनीहरूको भाग्यमा पक्कै लेखिएको थिएन। मैले उनीहरूलाई टाढा ल्याएर घोर अनर्थ गरेँ । मैले त पाप गरेँ।"
त्यसपछि सन्तले तुरुन्तै निर्णय गरे, "म फिर्ता जानु पर्छ। यी कमिलाहरूलाई मैले वृन्दावन फिर्ता लैजानैपर्छ।" उनले अघि पन्छाएका कमिलालाई प्रयासपूर्वक त्यसै डिब्बामा राखे । मिठाईको डब्बा फेरि सावधानीपूर्वक बन्द गरे । वृन्दावन फर्कने ट्रेन समातेर त्यही पसलमा पुगे, जहाँबाट मिठाई किनेका थिए। डिब्बा जमिनमा राखेर, हात जोडेर भक्ति भावले उभिए। सन्तले सोच्दै भने, "मेरो भाग्यमा ब्रजमा बस्न लेखिएको छैन । तर जसको भाग्यमा ब्रजको धूलो छ, म कसरी उसलाई टाढा लैजान सक्छु?"
पसलका मालिकले देखे र आश्चर्यचकित हुँदै भने, "महाराज, कमिला लागेको छ भने, यसमा चिन्ता गर्नु पर्दैन। नयाँ मिठाई लिनुहोस्।" तर सन्तले उत्तर दिए, "भाइ, मिठाईमा कुनै कमी थिएन, यो मेरो चित्तको परीक्षा थियो। मैले एउटा ठूलो भूल गर्नबाट आफूलाई रोकें । र, यही मेरो प्रायश्चित हो।" जब पसलेले यो सम्पूर्ण कथा सुने, उनी भावुक भई सन्तको चरणमा ढल्किए। पसलेका आँखामा आँसु थिए, सन्तका पनि आँखा रसाइरहेका थिए।
यो कथा केवल एक प्रसंग मात्रै थिएन। यो वृन्दावनको दिव्यता, कृष्ण र राधा रानीको महिमा, र भक्तिको सूक्ष्मतम भावनाको कथा हो। यो कथा केवल त्यही बुझ्न सक्छ, जसको हृदय कृष्णप्रेमले रंगिएको छ। बाँकीलाई यो केवल पागलपन वा साधारण कथा मात्र लाग्न सक्छ।
वृन्दावनको धूलो मात्र पनि ती कणहरू हुन्, जसमा भक्तको प्राणको स्पन्दन हुन्छ।
र सन्तहरूको मन ? यो त यस्तै सरल, निर्मल, र प्रेममय हुन्छ।
No comments:
Post a Comment