Monday, January 12, 2026

बाबु, तिमी विवेकानन्द बन ! || कविता ||

बाबु, तिमी विवेकानन्द बन ! 
विस्तार नै जीवन हो, 
संकुचन त केवल मृत्युको अर्को नाम । 
स्वार्थको त्यो सानो घेरा तोड, 
र सिक— सबैलाई निस्वार्थ माया गर्न ।

जसरी बाँच्नका लागि सास फेर्नु अनिवार्य छ, 
त्यसरी नै बाँड— निष्काम प्रेम, 
किनकि प्रेम नै जीवनको एकमात्र महान् नियम हो ।

मन्दिरका चिसो पत्थरमा मात्र होइन, 
देख शिव— जिउँदा मानिसहरूको धड्कनमा ।
गरिब, दुःखी र तिरस्कृतहरूलाई नै, 
आफ्नो ईश्वर मान र जुट अनन्त सेवामा ।

त्यागिदेऊ ‘छोइछिटो’ को त्यो अन्धविश्वास, 
सबैलाई आफ्नै अंग ठान, 
किनकि हरेक आत्मामा, 
त्यही अनन्त परमात्माको अंश मुस्कुराइरहेछ ।

सत्यको बाटो कहिल्यै नछोड, 
चाहे जस्तै आँधी वा कष्ट नै किन नपरोस् । 
परिणामको चिन्ता नगरी, 
सधैँ उभिन सिक— आफ्नै विवेकको पक्षमा ।

बाबु, 
डर नै संसारको सबैभन्दा ठूलो पाप हो, 
त्यसैले निडर बन, साहसी बन, चिन्न सिक— 
तिमीभित्र लुकेको त्यो असीमित शक्ति, 
त्यो आफ्नै दिव्य स्वरूप ।

आफ्नी आमालाई सधैँ श्रद्धा गर, 
जसको काखबाट तिम्रो जन्म भयो,
अनि जन्मिएको छ तिम्रो संस्कार। 
नारी जातिलाई कहिल्यै अपमान नगर, 
उनीहरूमा देख— साक्षात् जगत्‌जननीको रूप ।

एकातिर फलाम जस्तै बलियो मांसपेशी, 
अर्कातिर प्रेमले भरिएको कोमल मुटु, 
यी दुवैको अनुपम संगम बन, 
र एउटा पूर्ण मानिस बन्ने प्रण गर ।
उठ, जाग ! र आफ्नो लक्ष्य प्राप्त नगरेसम्म, 
कतै नरोकिई अघि बढ ।

केवल किताबका पाना पढेर होइन, 
उच्च चरित्रले संसारलाई उज्यालो बनाउन तयार होऊ । 
बाबु, तिमी केवल आफ्नो लागि मात्र होइन, 
सिङ्गो मानवताको लागि बाँच्न सिक ।
हो बाबु, तिमी आजको युगको विवेकानन्द बन !

✍ विजयप्रसाद मिश्र

No comments:

Post a Comment

'आध्यात्मिक चिकित्सा' (Spiritual Therapeutics) | Swami Sivananda

मन र शरीरको सम्बन्धलाई दर्शाउने 'आध्यात्मिक चिकित्सा' (Spiritual Therapeutics) सम्बन्धी स्वामी शिवानन्दका विचार— Anger generates po...