Thursday, February 17, 2022

पुराण चिन्तन | गरूड पुराणका नीतिवचन



महाजनो येन गतः स पन्थाः

तर्केऽप्रतिष्ठा श्रुतयो विभिन्नाः 
नासवृषिर्यस्य मतं न भिन्नम् ।
धर्मस्य तत्त्वं निहितं गुहायां 
महाजनो येन गतः स पन्थाः ।। (१०९।५१)

भावार्थः सुक्खा तर्क आफैमा अप्रतिष्ठित छ, अतः कुनै पनि सिद्धान्तको स्थापना केवल तर्कबाट मात्र हुनसक्दैन । श्रुति (वेद) वचन पनि प्रसङ्ग–अनुसार विभिन्न छन् । यस्तो कुनै ऋषि छैनन् जसले भिन्न–भिन्न परिस्थितिमा विभिन्न सिद्धान्तहरूको निर्देश नगरून् । यसैले धर्मको तत्त्व न तर्कमा निहित छ, न श्रुतिहरूमा । बरु त्यो त आप्त (ज्ञानलाभ गरेका महान् व्यक्ति)–हरूको प्रज्ञामा निहित छ । अतः महापुषहरूले जुन मार्गमा हिँडेका छन् (प्रसङ्ग र परिस्थितिअनुसार सबैभन्दा उपयोगी भनी जुन कर्म गरेका छन्) त्यही मार्ग अनुसरण गर्नुलाई आफ्नो धर्म ठान्नुपर्दछ । 

(अर्थात् कुन परिस्थितिमा महापुरुषहरूले कस्तो व्यवहार गर्न निर्देशन दिएका छन् त्यही अनुसार आफ्नो कर्तव्य निश्चित् गर्नुपर्दछ ।)


सत्सङ्गति

सद्भिः संङ्गं प्रकुर्वीत सिद्धिकामः सदा नरः ।
नासद्भिरिहलोकाय परलोकाय वा हितम् ।। (१०८।२)

भावार्थः जुन मनुष्यले धर्म पालन, अर्थ उपार्जन, कामनाहरूको परिपूर्ति र मोक्षलाभमा सिद्धि / सफलता प्राप्तगर्न चाहन्छ उसले सदैव सज्जनहरूकै संगति गर्नुपर्दछ । दुर्जनहरूको संगतले न त यो लोक (अर्थात् वर्तमान) सुध्रिन्छ न परलोक (अर्थात् भविष्य) नै ।


उत्तमैः सह साङ्गत्यं पण्डितैः सह सत्कथाम् ।
अलुब्धैः सह मित्रत्वं कुर्वाणो नावसीदति ।। (१०८।१२)

भावार्थः उत्तम प्रकृति भएका सज्जन मानिसको संगति, विद्वानहरूसँग सत्–संवाद र लोभरहित मनुष्यका साथ मैत्रीसम्बन्ध स्थापित गर्ने व्यक्तिले दुःखी हुनुपर्दैन ।


को आफ्नो को बिरानो ?

परोऽपि हितवान् बन्धुर्बन्धुरप्यहितः परः ।
अहितो देहजो व्याधिर्हितमारण्यमौषधम् ।।
स बन्धुर्यो हिते युक्तः स पिता यस्तु पोषकः ।
तन्मित्रं यत्र विश्वासः स देशो यत्र जीव्यते ।। (१०८।१४–१५)

भावार्थः शरीरबाट उत्पन्न भएको व्याधि हाम्रा लागि अहितकर हुन्छ भने पर वनमा उत्पन्न भएको औषधि चाहिँ त्यस रोगको उपचारमा उपयोगी हुनाले हितकारी हुन्छ । यस्तै, हाम्रो हित गर्ने अन्य मानिस पनि हाम्रा बन्धु बन्न सक्छन् तर यदि बन्धु अहित गर्ने छन् भने ती आफन्त हुँदैनन् । 

जुन मनुष्य सदैव हित गर्नमा तत्पर हुन्छ त्यही बन्धु हो । जसले भरण–पोषण गर्दछ त्यही पिता हो । जुन व्यक्तिमा विश्वास हुन्छ त्यही मित्र हो र जहाँ मनुष्यको जीवन निर्वाह हुन्छ त्यही उसको देश हो ।


वृक्षं क्षीणफलं त्यजन्ति विहगाः शुष्कं सर सारसा
निर्द्रव्यं पुरुषं त्यजन्ति गणिका भ्रष्टं नृपं मन्त्रिणः ।
पुष्पं पर्युषितं त्यजन्ति मधुपाः दग्धं वनान्तं मृगाः
सर्वः कार्यवशाज्जनो हि रमते कस्यास्ति को वल्लभः ।। (१०९ ।९)

चराचुरुङ्गीले फल नभएको वृक्ष त्यागिदिन्छन् । वकुल्ला सुकेको सरोवर छोडेर अन्यत्र जान्छन् । वेश्याहरू पनि धन नभएको पुरुषलाई परित्याग गर्दछन् । मन्त्री भ्रष्ट राजाको त्याग गर्दछन् । भमराहरू बासी फूललाई त्यागेर नयाँ फक्रिएको फूलतिर जान्छन् र मृगले पनि डढेलो लागेको वन छोडेर अन्यत्र आश्रय लिन्छन् । यसबाट स्पष्ट हुन्छ, स्वार्थवश नै सबै प्राणीले एकअर्कासँग प्रेम गर्दछन् । वास्तवमा को कसको प्रिय छ र ? (अर्थात् कोही पनि छैन ।)


बुद्धिमान् व्यक्तिको लक्षण

चलत्येकेन पादेन तिष्ठत्येकेन बुद्धिमान् ।
न परीक्ष्य परं स्थानं पूर्वमायतनं त्यजेत् ।। (१०९।४)

भावार्थः बुद्धिमान् मनुष्यले एउटा पाउलाई स्थिर गरेर मात्र अर्को पाउ अगाडि बढाउँछन् । यसैले अर्को स्थानको परीक्षण नगरिकन पूर्वस्थानलाई परित्याग गर्नु हुँदैन ।




०००

काल निश्चित् नै नियममा छ । यो सूक्ष्म गतिभएको छ । काल अर्थात् समयले नै प्राणीहरूको पालन गर्दछ । समयले नै तिनको संहार पनि गर्दछ । सबै जीव सुते पनि काल जागा रहन्छ । अतः समय निकै बलियो छ, जसलाई सहजै जित्न सकिँदैन ।

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...