Thursday, February 3, 2022

चैतन्य मन्त्र | स्वधर्म उपदेशक शिवपुरी बाबा

 ‘मानिसको पहिलो कर्तव्‍य भनेको जीवनमा अनुशासन हो। अनुशासनबिना ध्‍यान सम्भव छैन।’ 

शिवपुरी बाबा


नेपाल अधिकांश साधुसन्तहरूको जन्मभूमिका रूपमा प्रसिद्ध छ भने धेरै साधकहरूको साधनाभूमि वा कर्मभूमिका रूपमा यसको चर्चा सर्वत्र हुने गर्छ । वैदिक तथा पौराणिक सन्दर्भले नेपाललाई तपोभूमिका रूपमा चिनाउने काम गरेकै छन् । पछिल्लो समयमा पनि नेपालमै जन्म भई नेपाली धराधाममा नै उपदेश गरेर जीवन बिताउने सन्तहरू धेरै छन् । यसका साथै भारत तथा अन्य विदेशी भूमिमा जन्म भए तापनि नेपालमा आई आफ्ना वचनामृतले नेपाली धर्तीलाई अभिषिक्त गर्दै अध्यात्मको पुष्प फुलाउने महान् सन्तहरूको पनि सङ्ख्या ठुलो रहेको छ । त्यस्ता सन्तहरूमध्ये शिवपुरी बाबाको नाम अग्रपङ्क्तिमा लिने गरिन्छ ।

शिवपुरी बाबाको जन्म भारतको केरला राज्यमा सन् १८२६ अर्थात् वि.सं. १८८२ भदौ महिनाको मूल नक्षत्रमा भएको हो । जन्मनासाथ यिनी मुस्कुराएकाले प्रख्यात ज्योतिषी यिनका हजुरबाले भविष्यमा महान् साधु हुने तथा यिनबाट वंशसमाप्ति हुने भविष्यवाणी गरेका थिए भनेर विद्वान्हरूले उल्लेख गरेका छन् । आफ्नो जीवनको अन्तिम उत्तरार्धमा काठमाडौँको उत्तरतिर अवस्थित शिवपुरी पर्वतका काखमा आश्रम बनाएर बसेका कारण शिवपुरी बाबाका रूपमा प्रख्यात हुन पुगेका यी महान् सन्तको नाम दीक्षित भएपछि गोविन्दानन्द भारती रहन गएको थियो । 

हिन्दु वर्णाश्रम व्यवस्थाअनुसार ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थपछि अन्तिममा आउने संन्यास आश्रममा पुग्न दीक्षित हुनुपर्ने परम्परा अद्यापि विद्यमान छ भने दीक्षित भएपछि गुरूपरम्पराका आधारमा गिरि, पुरी, भारती, सरस्वती आदि लेख्ने प्रचलन छ । जसलाई नेपाली समाजमा दशनामी सम्प्रदायका रूपमा चिन्ने गरिन्छ । सम्पूर्ण पारिवारिक बन्धनलाई तोड्दै भौतिक सुखसुविधालाई लत्याएर संन्यस्त हुनु चानचुने कुरा भने होइन । मानिस संन्यस्त भएपछि उसको निजी केही पनि रहँदैन भने सम्पूर्ण मानवजातिलाई नै बन्धुबान्धवका रूपमा स्विकारेर सर्वजनसुखाय, सर्वजनहिताय ज्ञान र उपदेश बाँड्दै उनीहरू जीवन व्यतीत गर्ने गर्दछन् । तेरो र मेरोका बाँडफाँडमा नरुमल्लिएर जे छ त्यसमै सन्तोष गर्दै सबैमा ईश्वरमय दृष्टि राखी आनन्दपूर्ण जीवन बिताउने महान् साधु शिवपुरी बाबाको जीवन वास्तवमै अनुकरणीय छ भने उनका उपदेशहरूको अनुसरणबाट सामान्य मानिसले धेरै लाभ लिन सक्छ ।

हजुरबासँगै नर्मदाछेउको अमरकण्टक जङ्गलमा गई यिनले पनि जपतप गरेको देखिन्छ । त्यहीँ सदाका लागि विश्राम लिएका हजुरबाको संस्कार गरेर पैतृक सम्पत्ति आफ्ना जुम्ल्याहा बहिनीको नाममा यिनले गरिदिएका थिए । भौतिक वस्तुको अनित्यता र नश्वरतालाई बुझेर महात्माहरू लोभिँदैनन्, यसको जालमा परेर भौँतारिने काम गर्दैनन् । पछि शङ्कराचार्यद्वारा स्थापित शृङ्गेरी मठमा गई यिनले संन्यास दीक्षा लिए र गोविन्दानन्द भारती बन्न पुगे । कलकत्तामा स्वामी श्रीरामकृष्ण, बरोदामा स्वामी श्रीअरविन्द, पेरिसमा म्याडम क्युरी, इटालीमा मार्कोनीसँग बाबाको भेट भएको थियो भने केही मानिसहरू बाबाको अल्बर्ट आइन्स्टाइनसँग पनि भेट भएको प्रसङ्ग निकाल्छन् । सो समयमा बाबाको बनारसमा पण्डित मदनमोहन मालवीयसँग पनि भेट भएको, बनारस हिन्दु विश्वविद्यालयको स्थापनाका लागि चन्दा सङ्कलनमा जुटेका पण्डितलाई पचास हजार बाबाले दिएका र विश्वविद्यालयको कुलपति बनिदिन उनले गरेको आग्रहलाई संन्यासीको धर्म सम्झाएर अस्वीकार गरेको पाइन्छ ।

सन् १८७५ देखि सन् १९१५ सम्म बाबाले विश्व भ्रमण गरेका थिए । अफगानिस्तान, साउदी अरेबिया, इरान, टर्की, रोम, ग्रीस, रुस, बेलायत, स्कटल्यान्ड, जापान, मेक्सिको, चिन आदि देश पुगे । पृथ्वीको अधिकांश भागमा पाउ राखेका बाबाले आफू पुगेका ठाउँमा स्वधर्मको उपदेश गरे । व्यक्तिको धारणा, उसले अपनाएको संस्कृति, उसमा विकास भएको जीवन र जगत्सम्बन्धी दृष्टिकोणका साथै उसले अवलम्बन गरिरहेको धर्म, विचार वा सिद्धान्तका विषयलाई नै उदाहरणका रूपमा प्रस्तुत गरेर बाबा उपदेश दिने गर्दथे । ७० वर्षपछि घर हेर्न केरला पुगेका बाबाले अत्यधिक परिवर्तनका कारण आफ्नो घर ठम्याउन नसकेको कुरा विद्वान्हरूले उल्लेख गरेका छन् ।

शिवपुरी बाबामा अद्भुत नेपालप्रेम थियो । वि.सं. १९०३ मा आफ्ना हजुरबासँग पहिलोपटक वाग्मतीको किनारैकिनार काठमाडौँ उपत्यका आई पशुपतिनाथको दर्शन गर्न पुगेका उनी कोतपर्वको समय भएकाले हातहतियारले सुसज्जित सैन्यसमूहलाई उपत्यकाभित्र बढी सक्रिय देखेका कारण तत्काललाई यहाँ बस्नु सुरक्षित नभएको आकलन गरी फर्किएका थिए तर पछि सय वर्षको उमेरमा मानसरोवर हुँदै नेपाल प्रवेश गरी नेपालमै बस्ने अठोट उनले गरेका थिए । त्यतिखेर शिवरात्रिका अवसरमा भारतबाट नेपाल आएका साधुहरूलाई एक हप्तासम्म मात्र बस्ने अनुमति दिइएको हुन्थ्यो । फर्कने बेला आएको कुरा बाबालाई पनि सूचित गरियो । 

फर्कन लाग्दा बग्गीमा सवार विल्किन्सनले बोलाएर सोधे, “तपाईँ गोविन्दानन्द होइन ?” महारानी भिक्टोरियाको राज्यकालमा बेलायत पुगी १८ पटकसम्म महारानीलाई भेटेका बाबाले २० वर्षअगाडि विद्यार्थीकालमा त्यहीँ विल्किन्सनलाई पनि भेटेका थिए र उनी नेपालका लागि कूटनीतिक प्रतिनिधि अर्थात् राजदूतका रूपमा नियुक्त थिए । बाबालाई चिन्न समस्या भएन । विल्किन्सनको अनुरोध तथा बाबाको इच्छाअनुसार बाबा नेपालमा बस्ने भए । विल्किन्सन आफ्नो कार्यकालभरि प्रत्येक आइतबार बाबाको सेवामा हाजिर हुन्थे । केही समय पशुपतिको राजराजेश्वरी सत्तल बसेका बाबा किरातेश्वरमा कुटी बनाई बसे भने केही समय गोकर्णेश्वरको जङ्गलमा पनि बसेका थिए । नेपालका पहाड, गुफा, वनजङ्गल आदिमा अझै पनि कतिपय साधकहरू साधना गरेर बसिरहेका छन् भन्ने कुरा बाबा बताउने गर्थे । पछि भने शिवपुरीमा आई बसेकाले उनी गोविन्दानन्द भारतीबाट नेपाली जनमानसमा शिवपुरी बाबाका रूपमा परिचित छन् ।

बाबा काठमाडौँ आएलगत्तै माधव बाजे (माधव तिमिल्सिना) का बुबा सूर्यनाथसँग साक्षात्कार भयो र बाबाका विचारबाट प्रभावित भई मांसाहार त्यागेर सदाचरणलाई अवलम्बन गर्दै उनी अनुयायी बने । सूर्यनाथको शेषपछि छोरा माधव बाजेले बाबाको आजीवन सेवा गरे । माधव बाजे बाबाको सेवामा खट्दा अनुभव गरेका दुई प्रसङ्गको उल्लेख स्वामी आनन्द अरूणले गरेका छन् । साधुहरूसँगको सान्निध्यमा अद्भुत र अकल्पनीय घटना घट्नुलाई स्वाभाविक मान्नुपर्छ । पहिलो प्रसङ्गको चर्चा गर्दै अरूणले लेखेका छन् : 

साँझमा एक योगी आश्रमको ढोकामा देखिन्थे । रातभर बाबासँग कुराकानी गरेर बिहानीपख ती जान्थे । ती जोगीलाई चाहिँ यस्तो समय किन बाबाले दिनुभएको होला भन्ने माधव बाजेलाई लाग्थ्यो । एक दिन ती जोगीलाई तलसम्म पुर्‍याउन बाबाले माधव बाजेलाई लगाए । जोगीले यस्ता साधुको सेवा गर्न पाएको भन्दै बाजेको प्रशंसा गरे । बुढानीलकण्ठ आइपुग्दा जोगी अलप भए । माधव बाजेले त्यो वृत्तान्त सुनाउँदा बाबाले ती जोगी विश्वामित्र भएको र अनेक सिद्धिका पछाडि लागेर आफ्नो शिष्य त्रिशङ्कुका लागि अर्को स्वर्गलोक खडा गरे पनि अहिलेसम्म उचित ज्ञानको अभावका कारण मुक्ति प्राप्त गर्न नसकी सशरीर आएको कुरा बताए । माधव बाजे भने यस कुराले आश्चर्यचकित भए ।

स्वामी आनन्द अरूणले नै अर्को घटनाको उल्लेख गर्दै लेखेका छन् : 

एक तेजस्वी युवक बाबालाई भेट्न आउने गर्दथे । ती युवकले लगातार एक हप्तासम्म बाबाबाट उपदेश पाएपछि अन्तिम दिन बाजेलाई साधनाका लागि गढवाल हिमाल जाने कुरा बताई हरिद्वार पुगेर बाजेलाई पोस्टकार्ड लेख्ने तर त्यसको जवाफ भने तपस्यारत भइसक्ने भएकाले नफर्काउनू भनेका थिए । यही प्रसङ्गलाई नै हुन सक्छ, तपस्याका लागि तिनले बद्रीनाथतिर जाने कुरा बताएको भन्दै केही लेखकले लेखेका छन् । त्यहाँ आउनुको कारण सोध्दा उनले आफू सिद्धिको पछाडि लाग्नाले यति युवक देखिए पनि धेरै पुरानो साधु भएको बताएका थिए । बाबालाई ध्यानमा देखेर उद्धार गरिदिनुहुन्छ भन्ने आशामा त्यहाँ आएको र बाबाको मार्गनिर्देशनअनुसार अब मुक्तिको बाटोमा लाग्ने कुरा उनले बताएका थिए ।

अरूणले उल्लेख गरेअनुसार तिनी १००० वर्षदेखि त्यही शरीरमा थिए । कतिपयले यसै घटनालाई आधार मानेर हुन सक्छ, ७०० वर्षका युवक बाबालाई भेट्न आएको भन्दै उल्लेख पनि गरेका छन् । 


स्वधर्म बाबाको शिक्षा हो । यसअन्तर्गत शारीरिक, नैतिक तथा आध्यात्मिक गरी तीन किसिमको अनुशासनको पालनामा बाबाले जोड दिएको पाइन्छ । जसले शरीर, मन र आत्मसम्बन्धी विषयलाई लक्षित गर्दछन् । कुनै पनि कार्य गर्नका लागि वा कुनै पनि विषयको चिन्तनका लागि शरीरको सबलता अनिवार्य हुन्छ । नैतिक बलले काममा प्रोत्साहन मिल्छ भने अध्यात्म मुक्तिको बाटो हो । दुःखको आत्यन्तिक निवृत्ति र परमानन्दको प्राप्ति नै मुक्ति हो । सांसारिक चक्र वा जन्म र मृत्युको चक्रमा जबसम्म फसिएको हुन्छ तबसम्म दुःखले छोड्दैन । तसर्थ भौतिकतालाई अनित्य मान्दै अध्यात्ममा लाग्न बाबा सबैलाई उत्प्रेरित गर्दथे । बाबाले मन्त्रदीक्षा भने कसैलाई दिएको देखिँदैन ।

बाबालाई भेट्न मुमुक्षु मात्र नभई धेरै किसिमका मान्छे आउने गर्दथे । वैद्य, डाक्टर, लेखक, नेतालगायतका व्यक्तिहरू बाबाको उपदेश ग्रहण गर्न आइपुग्थे । राजा महेन्द्रको राज्याभिषेक समारोहमा आएका तत्कालीन भारतीय उपराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् राजकीय अतिथिगृह नगई पहिला बाबालाई भेट्न पुगेका थिए । यस्ता तपस्वी आत्मज्ञानी बाबा वि.सं. २०१९ माघ १५ गते, (सन् १९६३ जनवरी २८) अर्थात् माघ शुक्ल पक्ष तृतीयाका दिन ब्रह्मलीन भए । स्थलसमाधिको विधिअनुसार देहलाई जमिनमा राखी माथि शिवलिङ्ग निर्माण गरियो । पशुपतिको निकटवर्ती जङ्गलमा अहिले पनि बाबाको समाधिस्थलको दर्शन गर्न बाबालाई चिन्ने श्रद्धालुहरू जाने गर्दछन् । अहिले देखिएको नैतिकताको ह्रास, चरम भ्रष्टाचार, भौतिकवादी सोचको विस्तारले विखण्डित हुन पुगेको मानवधर्मलाई पुनः स्थापित गर्न बाबाका उपदेशहरूको अनुसरण गर्नु आवश्यक देखिन्छ भने बाबाको स्वधर्म शिक्षाको अनुसरण गरी आत्मसाक्षात्कारको बाटामा हिँड्नु श्रेयस्कर हुन्छ । बाबाका आध्यात्मिक उद्बोधनलाई जनमानसमा पुर्‍याउनाले नै मानवकल्याणको बाटो खुल्न सक्छ ।


_________

– गणेश तिमिल्सिना

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...