“अधकल्चो नास्तिक बन्नुको साटो अधकल्चो आस्तिक बन्नमा धेरै लाभ र कम हानि हुन्छ ।”
सबै आस्तिक नै हुन् भन्ने कुरालाई पूजनीय खप्तड बाबाले ‘धर्म विज्ञान’ द्वितीय खण्डमा यसरी प्रमाणित गर्नुभएको छ— (हेर्नुहोस् पेज ४६,४७)
सबै मानिसको चाहना हुन्छ—
- सत् (नित्य जीवन / सदा जीवनन्त रहने इच्छा / अस्तित्व बनिरहोस् भन्ने आकांक्षा)
- चित् (अखण्ड ज्ञानयुक्त हुने / अज्ञानी नरहन)
- आनन्द (अखण्ड र परिपूर्ण सुख प्राप्त होस् दुःखको मुहार कहिल्यै देख्नुपरोस्)
- मोक्ष (स्वतन्त्र रहने / सबै बन्धनबाट निवृत्त हुने)
- ईशत्व (सबै कुराको स्वामित्व / कसैको अधीन नरहने / सबै आफ्नै इच्छानुसार चलोस् भन्ने भाव)
श्री १००८ ब्रह्मवित् परमहंस योगी सच्चिदानन्द सरस्वती (खप्तड बाबा ) भन्नुहुन्छ—
यदि कसैले अभिमानपूर्वक आफूलाई ईश्वर नमान्ने नास्तिक ठान्छ भने उसले यो स्वीकार गर्नुपछ— ‘म आफ्नो अस्तित्व चाहँदिनँ, ज्ञान चाहँदिनँ, पाषाणसदृश जड़ हुन चाहन्छु; म सधैँ दुःखी रहन चाहन्छु, म सधैँ पराधीन रही अरूको इच्छानुसार चल्न चाहन्छु ।’ तर यस्तो नास्तिक संसारभर खोज्दा पनि शायद एउटै पनि नपाइएला ।
अधकल्चो नास्तिक बन्नुको साटो अधकल्चो आस्तिक बन्नमा धेरै लाभ र कम हानि हुन्छ । मेरा परमाधुनिक सोझा युवकहरूले यस कुरामा स्वयं नै विचार गरून् कि कोही पनि मानव, चाहे त्यो नास्तिक होस् या आस्तिक, आफूमा यी पाँच लक्षण मानेर ईश्वरलाई आफैमा साक्षात्कार गर्न चाहन्छ । यसबाट स्पष्ट प्रतीत हुन्छ— हामी सबै नर भएर पनि नारायण बन्न आ–आफ्नो बुद्धिअनुसार प्रयत्न गरिरहन्छौँ । अन्य धर्म यसलाई मानोस् या नमानोस्, वैदिक सनातन धर्म त यसलाई अवश्य मान्छ र यसमा अटल छ । यस लक्ष्यको प्राप्तिको साधन योग हो ।
No comments:
Post a Comment