Thursday, February 3, 2022

पाँच ऋण र पञ्च महायज्ञ



हामी सबै ऋणी छौँ— ईश्वर, पूर्वज, माता–पिता, संस्कृति, प्रकृति आदिका । जीवन बाँच्न मात्र पनि हामीले प्रकृति, परिवार, समाज आदिबाट केही न केही सहयोग, केही योगदान लिनै पर्दछ । भर्खर जन्मिएको एउटा नवजात शिशु पनि यस्ता ऋणहरू लिएरै जन्मिएको हुन्छ । माताका गर्भमा हुँदा उहाँबाटै पोषण पाइरहेको हुन्छ । माता चाहिँ प्रकृति, परिवार इत्यादिमा निर्भर हुन्छिन् । एवं क्रममा, परिवार समाजमा निर्भर रहेको हुन्छ । यहाँ परस्पर–निर्भरताको एउटा व्यापक जालो छ । अर्थात्, हाम्रो आफ्नै मात्रको प्रयासले जीवन चल्दैन । हामीले जन्म एवं जीवन–यापन र विकासका लागि योगदान लिइरहेका हुन्छौँ भने कतिपय स्तरमा हामीले योगदान दिई पनि रहेका हुन्छौँ । योगदान लिने र दिने क्रम निरन्तर चलिरहन्छ । हाम्रो संस्कृतिमा आफ्ना लागि केही लिनुलाई ऋण भनिन्छ । मुख्यतः यस्ता पाँच प्रकारका ऋण हाम्रा अग्रज ऋषिहरूले वर्गिकरण गरेका छन्—

१. नृऋण अथवा समाजऋण,
२. भूतऋण,
३. पितृऋण,
४. देवऋण,
५. ऋषिऋण ।
यसरी हामीले जीवनका अनेक स्तरमा अनेकौँ तत्त्वबाट योगदान पाइरहेका हुन्छौँ । तर ती सबैलाई अलग–अलग रूपमा स्मरण गरेर तिनको ऋणबाट उऋण हुन सदैव सम्भव हुँदैन । यसैले वैदिक सनातन हिन्दू संस्कृतिमा पञ्च महायज्ञको सङ्कल्पना रहेको छ । हाम्रो अस्तित्वमा योगदान दिने सबै प्रकारका, सबै वर्गका लागि गरिने समर्पणलाई यज्ञ भनिएको छ ।

१. नरयज्ञ
अनेक मनुष्यको योगदान हाम्रो जीवनमा हुन्छ, यसका लागि ‘नरयज्ञ’ प्रतिदिन गरिन्छ । नरयज्ञ अर्थात अतिथि अभ्यागतलाई आदर–सत्कारपूर्वक भोजन आदि गराउनु । यहाँ अतिथिको अर्थ हो जो जानकारीबिना आफ्नो द्वारसम्म आइपुगेका छन् । ती परिचित पनि हुन सक्छन् र अपरिचित पनि । अपरिचित व्यक्तिलाई समेत भोजन गराउनु नरयज्ञको कोटीमा आउँछ ।
२. भूतयज्ञ
भूत अर्थात् प्राणीहरू । प्राणिमात्रको योगदानबिना पनि हाम्रो जीवन चल्दैन । तिनका लागि प्रतिदिन केही न केही गर्नु— गाई, कुकुर आदिलाई खानेकुरा दिनु हाम्रो नित्यको क्रम हो । यही भूतयज्ञ हो ।
३. पितृयज्ञ
हाम्रो जीवनमा योगदान पु¥याउने अझ अर्को श्रेणी हो पितृ । पितृ भन्नाले वंशका पूर्वज, हाम्रा माता–पिता, हजुरबा–हजुरआमा एवं उहाँहरूभन्दा माथिका पुस्ता हुन् । उनीहरूले हामीलाई यस्ता संस्कार, जीवन र सन्तानका रूपमा जन्म अर्थात् शरीर पनि प्रदान गरेका छन् । उनीहरूप्रति आफ्नो श्रद्धा र समर्पण गर्नका लागि नियमित पितृयज्ञ गर्ने परम्परा छ ।
४. देवयज्ञ
अनि अर्को छ— प्रकृतिप्रति समर्पणको यज्ञ । यसलाई देवयज्ञ भनिन्छ । प्रकृतिका शक्तिहरूलाई ऋग्वेदकालदेखि नै देवता भनिएको छ । ती देवताको योगदानबिना हाम्रो जीवन चल्न सक्दैन । अतः ती देवताप्रति कृतज्ञ बनेर प्रतिदिन केही समर्पण गर्नु देवयज्ञ हो ।
५. ऋषियज्ञ
यस्तै पाँचौँ यज्ञ छ ऋषियज्ञ अथवा ब्रह्मयज्ञ । यहाँ आध्यात्मिक एवं लौकिक ज्ञानको परम्परा निरन्तर छ । अनेक ऋषिहरू, ब्रह्मवेत्ताहरूको तपबाट अखण्ड चलिरहेको छ । उनीहरूप्रति आफ्नो ऋण वा आभार व्यक्त गर्नका लागि जुन समर्पण गरिन्छ अर्थात ज्ञानका क्षेत्रमा प्रतिदिन स्वाध्यायद्वारा आफ्नो मौलिक योगदान गरिन्छ त्यसलाई ऋषियज्ञ अथवा ब्रह्मयज्ञ भनिएको छ ।
यस प्रकार अस्तित्वका पाँचै स्तरमा जसको कारण हामीले धेरै कुरा पाएका छौँ, जसबारे कसले के दियो भनी हामीलाई प्रत्यक्ष जानकारी छैन— ती सबैका लागि कृतज्ञतापूर्वक केही न केही गर्नु, यही यज्ञको सङ्कल्पना हो । यसले मनुष्यमा दायित्वबोध निर्माण गर्दछ । म एक्लो छैन । समस्त सृष्टिसँग जोडिएको छु र मेरो जीवनको भरण–पोषणमा सृष्टि, समाज, परिवार अनेकौँको योगदान छ । व्यक्तिको मनमा यस दायित्वबोधको जागरण गराउनु यज्ञको उद्देश हो । यी पाँच प्रकारका ऋणबाट उऋण हुने प्रयासका क्रममा एकतर्फ व्यक्तिको व्यक्तित्व विकसित भइरहेको हुन्छ, उसमा आदर, सत्कार, कृतज्ञता जस्ता गुणहरू बढिरहेका हुन्छन् भने अर्कोतिर यस पुरुषार्थको परिणाम स्वरूप एउटा श्रेष्ठ एवं स्वावलम्बी समाजको निर्माण पनि हुने गर्दछ ।
यज्ञको अझ अर्को उद्देश्य हो— माकश्चिद् दुःखभाग्भवेत् अर्थात् कोही पनि दुःखका भागी नबनून् भन्ने भावना ।
यजुर्वेद (१८–२९) मा एउटा मन्त्र छ, जसको भाव यस प्रकार रहेको छ—

‘हाम्रो आयु यज्ञबाट बढोस् । यस यज्ञबाट प्राण परिपुष्ट होउन् । यज्ञबाट दृष्टि शक्तिमयी होस् । यज्ञले श्रवणशक्तिलाई समर्थ बनाउन् । यज्ञद्वारा मन दृढ होस्, आत्मा पवित्र होस्, हामी ईशत्वमा स्थित हुन सकौँ, दृष्टि प्रखर होस् । जे प्रत्यक्ष छ, व्यक्त छ, यज्ञद्वारा त्यसको निर्माण होस् । यज्ञद्वारा त्यसको पनि निर्माण होस् जे अप्रत्यक्ष, अव्यक्त छ । यज्ञबाटै यज्ञको प्रेरणा प्राप्त हुन्छ । यज्ञ नै सबैमा परिपुष्ट होस् ।’


प्रायः हामीले बुझेको यज्ञको अर्थ हो अग्निमा घृत एवं हविष्य हवन गर्नु । तर, यज्ञ त्यति मात्र होइन । यो एउटा चक्र हो सृष्टिको निरन्तरताको । यज्ञ संज्ञा हो र क्रिया पनि हो । मनुष्यले गर्ने प्रत्येक कल्याणकारी कर्म यज्ञ हो । उदाहरणका लागि, गोपालन अर्थात् गाई पाल्नु यज्ञ हो किनभने गाईबाट त्यसलाई पाल्ने मानिस मात्र नभएर धर्ती, प्रकृति सबैको हित हुन्छ । स्थानीय नस्लका गाईलाई महत्त्व दिएर पालन गरियो भने त्यसबाट प्राप्त हुने गव्य पदार्थ— दूध, दही, घिउ, गोमूत्र, गोबरले मानव स्वास्थ्य, कृषि आदि सुपोषित हुन्छन् । स्वस्थकर अन्न, साग, फल आदिको उत्पादन स्वतः स्वास्थ्यका लागि हितकारी बन्छ ।
यज्ञको तात्पर्य हामीले गीताका आधारमा सहजै बुझ्न सक्छौँ । गीताले यज्ञार्थ कर्म गर्न आह्वान गरेको छ । यज्ञार्थ कर्म हो यज्ञका लागि गरिएको कर्म, अर्थात् स्वार्थ छोडेर, परमात्माको प्रसन्नताका लागि गरिएको कर्म, जनतारूपी जनार्दनको सेवाका लागि पवित्र भावनाका साथ गरिएको उत्तम कर्म । वास्तवमा ‘यज्ञको भावना’ भनिन्छ आत्मसमर्पण, परमार्थ, त्याग एवं बलिदानको भावनालाई । यज्ञ भनिन्छ उदात्त भावनाका साथ परमार्थ हेतु गरिने कर्मलाई । मनुष्यले जब परमात्मालाई आफ्नो तन, मन, धन, आफ्नो सर्वस्व अर्पण गर्दछ तब उसले प्राणीमात्रमा त्यस परमात्मालाई नै दर्शन गर्नथाल्छ । उसका प्रत्येक कर्म परमात्माको प्रसन्नताका लागि प्राणीमात्रको सेवाका लागि हुन्छन् । यसर्थ, लौकिक दृष्टिले हेर्दा मानव र प्रकृतिबीचको सौहार्दतापूर्ण सम्बन्धलाई ‘यज्ञ’ शब्दले सार्थकता दिन्छ । यज्ञ आहुति हो स्वार्थको । यज्ञ सङ्कल्प हो सबैको उत्कर्षको । जहाँ अहंकार छ त्यहाँ यज्ञ हुँदैन । जहाँ यज्ञ हुन्छ त्यहाँ म र मेरो भन्ने अहंकारपूर्ण भाव लुप्त हुन्छ । शिक्षक, वैज्ञानिक, राजनेता, अधिवक्ता, व्यापारी आदि सबैले यज्ञभावका साथ कर्म गर्ने हो भने महामारी र विनाश होइन, सहकार्य र विकासको जग अझ बलियो बन्दै जानेछ ।
__________
विजयप्रसाद मिश्र

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...