Saturday, February 5, 2022

शिवपुरीबाबा र स्वधर्म


स्वामी श्री गोविनन्दानन्द भारतीलाई आज विश्वले शिवपुरी बाबा भनी चिन्दछ । उहाँले दिने शिक्षामध्ये सबैभन्दा महत्त्वपूर्ण हो ‘स्वधर्म’ । स्वधर्म के हो भन्नेबारेमा श्री जे.जे. बेनेट एवं श्री ठाकुरलाल मानन्धरले संयुक्त रूपमा लेख्नुभएको पुस्तक ‘अनन्तको यात्रा’ Long Pilgrimage को तेस्रो अध्यायमा शिवपुरीबाबा र एउटा हिन्दू दर्शनार्थीबीच भएको संवाद हाम्रा निम्ति मननयोग्य छ । ती दर्शनार्थीले शिवपुरीबाबासमक्ष प्रश्न राखेका छन् र बाबाले सहज रूपमा उत्तर दिनुभएको छ ।

प्रश्नः प्रभु, हामी किन दुःखी छौं ?

शिवपुरी बाबा : किनभने तपाईंहरू स्वधर्मको पालन गर्नुहुन्न ।

सवालः स्वधर्म भनेको के हो ?

शिवपुरी बाबाः यो एउटा निश्चित लक्ष्य भएको जीवन हो । यो सुनियोजित र विवेकपूर्ण जीवन हो । यसमा कमसेकम समयभित्र आफ्नो लक्ष्य हासिल गर्नलाई चाहिने र मद्दत पुऱ्याउने खालका कर्तव्यहरू छन् ।

सवालः जीवनको सर्वोच्च लक्ष्य के हो ?

शिवपुरी बाबाः सत्यको दर्शन गर्नु ।

सवालः हामीले सत्य दर्शन चाहनु नै किन ?

शिवपुरी बाबाः किनभने त्यसो नगरीकन हामी सर्वज्ञ, सर्वशक्तिमान् र सर्वव्यापक हुन सक्दैनौँ ।

सवालः स्वधर्मका मुख्य मुख्य अंगहरू के के हुन् ?

शिवपुरी बाबाः विवेक र भक्ति ।

सवालः कृपया यसलाई विस्तारपूर्वक व्याख्या गर्नुहोस् ।

शिवपुरी बाबाः

हेर्नुहोस्— आफ्नो शरीररक्षाको लागि तपाईले विशेष कर्तव्यहरू पूरा गर्नुपर्दछ— प्रकृतिप्रति, परिवारप्रति, समाजप्रति, सरकारप्रति र आफ्नै व्यावसायप्रति । यी सबै कर्तव्यहरूलाई सुनियोजित तथा कुशलतापूर्वक गर्नुपर्दछ । अनि आफ्नो मनलाई बलियो बनाउन सद्गुणहरूको विकास गर्नुपर्दछ । भगवद्गीताको सोह्रौं अध्यायमा बयान गरिएका गुणहरू अर्थात् दानधर्म, क्षमा, अभय, धैर्य, आदि छब्बीस गुणहरूको विकास गर्नुपर्दछ । यो विवेक हो । बाँकी समय, कुनै उराठलाग्ने अनुभव नगरीकन सत्यबारे नाना किसिमले विचार गर्नुपर्दछ । यो भक्ति हो । सबभन्दा ठूलो कुरा हो अरू कुनै काममा समय खेर फाल्न हुँदैन ।

_______________________

यस्तै शिक्षा र साधन नामको अध्यायमा एउटा प्रकरण छ, जसमा बेनेटले बाबासित जिज्ञासा राखेका छन् र बाबाले समुचित उत्तर दिनुभएको छ । यस प्रकरणमा एक ठाउँ बाबा भन्नुहुन्छ—

आफ्ना कर्तव्यहरूको पालन गर्नाले मात्र हाम्रो सर्वोच्च उद्देश्य पूरा हुन्छ । त्यो धर्म पनि हो । वास्तवमा यो सजिलो कुरा होइन । तीखो बुद्धिविना न त आफ्नो कर्तव्य के हो बुझ्न सकिन्छ न त तिनीहरूलाई ठीकसँग पूरा गर्न नै सकिन्छ । अनि विचलित नभएर भगवान्‌को ध्यान गर्न बलियो मन आवश्यक हुन्छ। बलियो मन पाउनको लागि नैतिक अनुशासन हुनैपर्दछ । तसर्थ तीनवटै कुरा चाहिन्छ— कर्तव्य, अनुशासन र भक्ति ।


________
शिवपुरीबाबालाई र उहाँको शिक्षा— स्वधर्मलाई बुझ्नको लागि यो पुस्तक ‘अनन्तको यात्रा’ Long Pilgrimage निकै पठनीय छ । 

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...