Saturday, February 5, 2022

वैश्विक छ सरस्वती आराधना


वैदिक सनातन धर्ममा एउटै ‘सत्य’लाई विभिन्न नाम र रूपमा आराधना गरिन्छ । साधक–आराधकको इष्टअनुकूल साधनाका मार्ग पनि अनेक छन् र देव–देवी एवं स्तुति–मन्त्रमा पनि विविधता छ । यस्तो विशिष्टता भएको हिन्दू जनजीवनमा देवी सरस्वती पनि एक प्रमुख देवी हुन् । ज्ञान र विद्याकी अधिष्ठात्री मानिने, वाग्देवी, भारती, शारदा आदि नामबाट पूजित यी देवीबारे के मान्यता छ भने उनको अनुकम्पाले मूर्ख पनि विद्वान् बन्दछन् ।

वैदिक–पौराणिक ग्रन्थहरूमा प्राप्त वर्णन अनुसार संसारका सर्जक ब्रह्माको आह्वानबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन् । ध्यान श्लोकमा माता सरस्वतीको स्वरूपको वर्णन यस प्रकार छ– 

राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहने माता सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन् । त्यही प्रेरणाले हुनुपर्छ, माताको आराधना नेपाल र भारतमा मात्र नभएर विश्वभरि नै हुने गरेको । 

केही प्रमाण–

१. साउदी अरबमा उत्खनन्मा फेला परेको हंसवाहन सरस्वतीको प्रतिमा, जुन अहिले ब्रिटिश म्यूजियममा सुरक्षित राखिएको छ । यस प्रतिमाबारे विज्ञले बताएका छन् कि यो प्रतिमा साउदी अरबमा इस्लाम पन्थ आउनुअघिको हो । अर्थात् हालको इस्लामिक साउदी अरबभन्दा अघि त्यस भूभागमा पनि सरस्वतीको आराधना गरिन्थ्यो ।

२. बांग्लादेशको सर्वाधिक प्रतिष्ठित शैक्षणिक संस्थान– ढाका विश्वविद्यालयमा प्रत्येक वर्ष सरस्वती पूजाको भव्य आयोजना ‘बानी अर्चना’ (वाणी अर्चना) का नामले गरिन्छ ।सुर, संगीत, वाणीकी देवीको अर्चना गर्न विश्वविद्यालय परिसरको जगन्नाथ हलस्थित तलाऊमा प्रतिवर्ष बानी अर्चनाका लागि सरस्वती माताको विशाल प्रतिमा लगाइन्छ ।

३. म्यान्मा (बर्मा) मा सरस्वतीलाई ‘सुरसदी’, ‘तिपिटक मेदा’, ‘थुयथदी’ जस्ता नामले पुकारिन्छ । यहाँ विद्याकी देवीलाई मान्नेहरू बहुसंख्यक छन् । सरस्वतीलाई समर्पित १०८४ ई. मा बनाइएको एउटा मन्दिर पनि छ यहाँ । म्यान्माका बौद्ध कलाहरूमा देवी सरस्वतीलाई ‘थुरथदी’ भनिन्छ । बौद्धकालीन मूर्तिहरूमा पनि यिनको स्वरूप देख्न पाइन्छ ।

४. कम्बोडियाको अंकोरवाटका मन्दिरहरूमा सरस्वतीका प्रतिमा देख्न पाइन्छ । यसबाट यो सिद्ध हुन्छ कि यहाँ पनि सताब्दियौँ पहिलेदेखि देवी सरस्वतीको आराधना हुँदै आएको छ । कम्बोडियाका यी मन्दिर सातौँ सताब्दीका हुन् । त्यस समयमा लेखिएका  लेखहरूमा देवी सरस्वतीलाई ब्रह्माजीकी शक्ति भनिएको छ, जसमा देवी सरस्वतीलाई ‘वागेश्वरी’ नामबाट सम्बोधित गरिएको छ ।

५. थाईल्याण्डका प्राचीन साहित्यमा उल्लेख भएको पाइन्छ कि देवी सरस्वती ‘बोल्ने शक्ति’ प्रदान गर्छिन् । यद्यपि थाईल्याण्डमा  बौद्ध धर्म निकै पल्लवित छ । यहाँ मयुरमाथि विराजमान भएकी सरस्वतीको पूजा उपासना गरिन्छ ।

६. मुस्लिम बहुल देश, इण्डोनेशियाको धार्मिक साहित्यमा देवी सरस्वतीको उल्लेख पाइन्छ । उसो त त्यहाँका निवासीले आफ्नो धर्म इस्लाम बताए पनि आफ्नो सांस्कृतिक जरा भने हिन्दू धर्ममै रहेको उल्लेख गर्छन् । सरस्वती पूजामा नदी, सरोवर आदिमा पूजा अर्पण गर्ने बालीका कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नुअघि माता सरस्वतीको वन्दना अवश्य गर्दछन् । 

इन्डोनेशियाले सन् २०१३ मा अमेरिकाको राजधानी वाशिङ्टन डीसीलाई शिक्षा र ज्ञानकी अधिष्ठात्री हिन्दू देवी सरस्वतीकै १६ फुट अग्लो प्रतिमा उपहार स्वरूप प्रदान गरेको थियो । इन्डोनेशिया दूतावासबाहिर स्थापित उक्त प्रतिमाबारे त्यहाँका अधिकारीको भनाइ थियो– ‘सरस्वतीको मूर्तिको चयन कुनै धार्मिक आधारमा नभएर प्रतीकात्मक मूल्यहरूका आधारमा गरिएको हो ।’ कमलको आसनमाथि उभिएकी माता सरस्वतीको त्यस प्रतिमामुनि तीनजना बालबालिका अध्ययनरत दर्शाइएको छ, जसमध्ये एकजना बालक बाराक ओबामा रहेको बताइएको छ ।

७. आधुनिक ज्ञान–विज्ञान र तकनिकको फाँटमा अग्रणी देश जापानमा देवी सरस्वतीलाई ‘बेन्जाइटन’ नामले सम्बोधन गरिन्छ । उनीहरू बेन्जाइटनलाई सबै प्रवाहमान वस्तु/तत्व– जस्तै– नदी, जल, समय, वाणी (वक्तृत्व–शक्ति, वाग्मिता) र व्यापक रूपमा ज्ञानकै अधिष्ठात्री मान्दछन् । जापानमा रहेका देवी बेन्जाइटनका प्रतिमाहरूमा देवीका दुई स्वरूप देखिन्छ । एउटा आठ हात भएकी देवीको रूपमा देख्न पाइन्छ भने अर्को स्वरूपमा देवीका दुई हात मात्र छन् । देवीलाई विशाल कमल पुष्पमै बसेको दर्शाइन्छ । यता वीणा धारण गर्ने देवी उता ‘वीवा’ नामको वीणा जस्तै वाद्य–यन्त्र धारण गरेको देख्न पाउँछौँ ।

छैटौँ अथवा सातौँ शताब्दीमा भारतवर्षबाट चीन हुँदै जापान पुगेको सरस्वती पूजन परम्पराकै निरन्तरताका रूपमा लिइन्छ जापानी बेन्जाइटनको आराधना परम्परा । समग्र जापानमा देवी बेन्जाइटनलाई समर्पित असंख्य मन्दिरहरू छन् । उदाहरणका लागि, सगामी–बेको एनोशिमा द्वीपमा, बाईवा तालको चिकुबू द्वीपमा र सेतो इनलेन्ड सागरको इटुकुशिमा द्वीपमा रहेका मन्दिर बेन्जाइटनलाई समर्पित प्रमुख मन्दिर हुन् । संसारकै सबैभन्दा अग्लो (२५० फिट) र आकर्षक सरस्वती मन्दिर जापानको ओसाका सहरको बेन्टेन्शुमा रहेको छ । 

यसबाहेक पनि यस्ता कयौँ देश छन् जहाँ स्थानीय भाषा अनुसार नामकरण भएको ज्ञानकी देवीको कल्पना गरिएको पाइन्छ । ‘अनाहिता’ यस्तै एउटा नाम हो । ईरानमा अनाहितालाई ज्ञान र कला–कौशलकी देवी मानिन्छ । त्यस्तै जर्मनीमा ‘स्नोत्र’लाई ज्ञान, विवेक र आत्मनियन्त्रणकी देवी मानिएको छ । फ्रान्स, स्पेन, इङल्याण्ड, बेल्जियम, अस्ट्रिया सहित कतिपय यूरोपीय देशहरूमा ज्ञान र शिल्पकी देवीका रूपमा ‘मिनर्वा’ लाई स्मरण गरिन्छ । उनलाई संगीत, चिकित्सा शास्त्र र गणित सहित दैनिक जीवनका विविध कायहरूमा निपुणता प्रदान गर्ने देवी मानिएको छ । प्राचीन ग्रीसको एथेन्स शहरकी संरक्षिका देवी एथेनालाई पनि ज्ञान, कला, साहस, प्रेरणा, सभ्यता, न्याय, गणित, विजयकी देवी मानिएको छ । ज्ञानको आराधनाको महत्व सदियौँदेखि छ र यो पछि पनि रहिरहने छ भन्नेमा कुनै शंका छैन । यसै कारण संसारका लगभग प्रत्येक देश र त्यहाँका संस्कृतिमा ज्ञानकी देवी अथवा देवताको परिकल्पना गरिएको पाइन्छ ।


_________

विजयप्रसाद मिश्र


No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...