ऋग्वेद प्रथम मण्डलको ९०औँ सूक्तका केही मन्त्रमा ‘मधु’ शब्द घरिघरि दोहोरिएको पाउँछौँ । सामान्यतः मधु शब्दको अर्थ मह अथवा मीठो भन्ने भाव जनाउनका लागि गरिन्छ । तर, यहाँ वेदका ऋचाहरूमा मधु शब्दले व्यापक अर्थ बोकेको छ । यहाँ मधुले सुखानुभूति, मधुरता, आनन्दप्रद अथवा श्रेयस्कर जस्ता भाव वहन गरेको छ । ऋग्वेदका यी मन्त्रमा प्रकृतिका शक्तिहरूलाई सम्बोधन गरी ‘ऋत’मा समर्पित मानिसका लागि शुभकामना, मङ्गलभावना व्यक्त गरिएको छ । यसबाहेक प्रकृतिका विभिन्न घटकप्रति सम्मान भावको दर्शन पनि यिनमा गर्न सकिन्छ ।
_______________________________________________________________________
मधु वाता ऋतायते मधु क्षरन्ति सिन्धवः । माध्वीर्नः सन्त्वोषधीः ।।६।।
भावार्थः ‘ऋतायन्’ अर्थात् यज्ञमय कर्ममा लागेका हाम्र निम्ति वायुले मधु प्रदान गरून् । तरङ्गमय जलप्रवाह भएका नदी/सागरहरूबाट पनि मधु नै चुहियोस् (प्राप्त होस्) । संसारमा उपलब्ध औषधिहरू पनि मधुमय होऊन् ।
मधु नक्तमुतोषसो मधुमत्पार्थिवं रजः । मधु द्योरस्तु नः पिता ।।७।।
भावार्थः रात्रि हाम्रा लागि मधुप्रदाता होऊन् । त्यसैगरी उषाकाल, अर्थात् सूर्योदयभन्दा अघिको दिवस–आरम्भ हुने सुखद् समय पनि मधुप्रद होऊन् । पृथ्वीका रजकण पनि मधुर होऊन् र अन्तरिक्षबाट जल प्रदान गर्ने पिता पनि मधुर होऊन् ।
(रात्रि शान्तिप्रद होऊन्, दिनको आरम्भ पनि प्रसन्नताका साथ होओस्, संसार हाम्रा निम्ति आनन्दप्रद रहोस् र आकाश एवं जलवर्षाले पनि सुखद् भाव दिने गरून् ।)
मधुमान्नो वनस्पतिर्मधुमान् अस्तु सूर्यः । माध्वीर्गावो भवन्तु नः ।।८।।
भावार्थः वनका स्वामी ‘वनस्पति’ मधुर फल दिने बनून् । आकाशमा विचरण गरेझैँ देखिने ऋतुकर्ता सूर्यले मधुरता प्रदान गरून् । हाम्रा गाईहरू मधुर दुध दिने होऊन् ।
(गाईको सम्बन्ध भोजनका दृष्टिले वनस्पति तथा सूर्यकेतु नाडीद्वारा सूर्यबाट ऊर्जा प्राप्त गर्नेहुनाले पनि यहाँ विशिष्ट देखिन्छ । माता भनी सम्बोधन गरिने गाई आफैमा यज्ञमय जीवनकी प्रतीक हुन् ।)
विशेष भावः वेदमा प्राप्त हुने ‘ऋत’ शब्दका विविध अर्थ छन् । एउटा अर्थ प्रकृतिको नियम अथवा ईश्वरको नियम हो । ऋतको अर्को अर्थ यज्ञिय जीवनशैली अपनाउने पनि हो । यज्ञको रूढ अर्थ हो प्रज्ज्वलित अग्निमा हवि आहुति दिनु तर अधिक व्यापक अर्थमा यज्ञले निःस्वार्थ भावले सार्थक तथा कल्याणकारी कर्मसित आफूलाई जोड्नु भन्ने अर्थ पनि बोकेको हुन्छ । जो स्वार्थभन्दा माथि उठेर सबैको हितको चिन्ता गर्दछन्— सर्वभूतहिते रतः हुन्छन् यस्ता मानिसबाट प्रकृतिप्रति पनि अनुकूल व्यवहार हुन्छ । प्रकृति–पर्यावरणको अहित हुँदैन । वेदले यस्ता यज्ञमय जीवन जिउने मानिसलाई ‘ऋतायन्’ भनी सम्बोधन गरेको छ । जीवन ऋतमय बन्न सके आधिदैविक जगत् अर्थात् समग्र ब्रह्माण्ड नै हाम्रा निम्ति मधुरताले युक्त आनन्द, आरोग्य, मनःप्रसाद, सुखानुभूति आदि प्रदान गर्ने बन्छन् भन्ने भाव यहाँ उद्धृत ऋग्वेदका मन्त्रहरूमा व्यक्त भएको छ ।
__________
विजयप्रसाद मिश्र
No comments:
Post a Comment