Saturday, January 15, 2022

साधारण देखिने शाखाको असाधारण महत्त्व



संघको शाखा हेर्दामा निकै साधारण हुन्छ एक घण्टाका लागि केही बालक अथवा युवा या वयस्क मानिस भेला हुन्छन् केही बेर शारीरिक सुगठनका लागि व्यायामहरू गर्छन् खेल खेल्छन् अनि प्रायः गोलो घेरा बनाइ बसेर गीत गाउने, साना कथा भन्ने अथवा चर्चा गर्ने गर्छन् यी क्रियाकलापका आधारमा मात्र हेर्ने हो भने शाखा सामान्य कुरो झैँ देखिन्छ निकै साधारण काम जस्तै तर, शाखा यति मात्र हो ?

एउटा स्वयंसेवकका लागि शाखाको विशेष महत्त्व हुने गर्दछ । यही शाखाका कारण कुनै व्यक्ति स्वयंसेवक बन्दछ । शाखाकै प्रभावले गर्दा एउटा व्यक्तिमा जीवन–मूल्य आधारित आचार–विचार र स्वभाव आदिको निर्माण हुने गर्दछ । केके छन् त दैनिक शाखाका विशेषताहरू ? आउनुस् चर्चा गरौँ—

१. समरसताः हिन्दू स्वयंसेवक संघको दैनिक शाखामा निजी स्वार्थ, व्यक्तिगत हित आदि बिर्सिएर भेदभाव, जात–पात जस्ता विकारलाई पन्छाएर स्वयंसेवकहरू समावेश हुन्छन् । कतिसम्म भने स्वयंसेवकहरू एकआपसमा नामले बोलाउनु पर्दा पनि नामका पछाडि ‘जी’ लगाएर अर्थात् थर अथवा जात–सूचक शब्द प्रयोग नगरिकन सम्बोधन गर्दछन् । शाखामा सबै ‘हिन्दू’ हुन्छन् र एकअर्काका बन्धु हुन्छन् । यो आदर्श बन्धुत्व भाव समग्र समाजमा व्याप्त हुनसके समाजमा भेदभाव र त्यसकारण जन्मलिने अनेक कुरीतिहरू स्वतः समाप्त हुँदै जानेथिए र समरस हिन्दू समाजको निर्माण हुनेथियो । शाखाबाट पाएको यो बन्धुत्वको संस्कार एउटा स्वयंसेवकमा आजीवन अमीट बनेर बस्दछ । यहाँ पूजनीय मधुकर दत्तात्रेय देवरस ‘बालासाहब देवरस’ज्यूको भनाइ स्मरणीय छ । उहाँ भन्नुहुन्थ्यो— “यदि अस्पृश्यता पाप होइन भने संसारमा अन्य कुनै पाप हुनै सक्दैन ।”


२. सामूहिकताः संघको शाखामा सबै कार्यक्रम सामूहिक रूपमै गरिन्छन् । शरीरको स्वास्थ्य र सबलताका लागि गरिने शारीरिक कार्यक्रमहरूदेखि लिएर बौद्धिक र भावनात्मक विकासका लागि गरिने कार्यक्रम अनि मनोरञ्जनका लागि खेलिने खेलहरू सबै सामूहिक हुन्छन् । यसरी व्यक्तिमा कुनै पनि कार्य सामूहिक रूपमै गर्ने प्रवृत्ति विकसित हुन्छ ।


३. समयनिष्ठाः शाखाका लागि समय निर्धारित हुन्छ । त्यस्तै, शाखामा सञ्चालन गरिने सबै प्रकारका कार्यक्रमका लागि पनि समय निर्धारित हुन्छ । जस्तै, शाखामा सम्पत्, ध्वजारोहण, अनिवार्य शारीरिक–बौद्धिक, वैकल्पिक शारीरिक–बौद्धिक, खेल आदि सबै निश्चित् समयमा हुनेगर्दछ । सबै कार्यक्रमका लागि समय पूर्वनिर्धारित हुन्छन् । यसबाट निश्चित् एवं निर्धारित समयमा जुन कार्य गर्नु अपेक्षित छ त्यही कार्य गर्नुपर्छ भन्ने भाव पनि स्वयंसेवकमा संस्कारका रूपमा बस्दछ ।


४. पूर्व–योजना, पूर्ण–योजनाः शाखामा कुनै पनि कार्य कुनै एक स्वयंसेवकको मनमा जागृत भयो र गरिहालौँ भन्ने आधारमा गरिँदैन । कतिसम्म भने दैनिक शाखाका लागि केकस्ता कार्यक्रम कति समयसम्म गर्ने भन्ने विषय पनि पूर्व योजनाका आधारमा निर्धारित हुन्छ । यसका लागि शाखा टोलीले निश्चित् अवधिमा बैठक बसी आपसी विमर्श गर्दछन् । पूर्ण योजना भन्नाले कार्य अथवा कार्यक्रमका लागि जेजति विषयवस्तु आवश्यक छ सबै कुरालाई आफ्ना ध्यानमा ल्याएर योजनालाई पूर्णता दिनु हो । जस्तै, एक महिनाका लागि शाखामा गरिने अमृतवचन, गीत, सुभाषित आदि केके राख्ने, कसले नियमित रूपमा ती विषय प्रस्तुत गर्ने आदि सबै कुरा बैठकबाटै निर्धारित गरिन्छ । यसबाट स्वयंसेवकले व्यक्तिगत, पारिवारिक अथवा सामाजिक जीवनमा पनि योजना कसरी गर्ने, केके गर्ने भन्ने कुरा राम्ररी सिक्ने अवसर प्राप्त गर्दछ ।


५. दायित्वबोधः शाखामा हुने कार्यक्रम, क्रियाकलाप आदिका लागि स्वयंसेवकहरूलाई दायित्व दिइन्छ । जस्तै शाखा सञ्चालन गर्ने दायित्व मुख्य शिक्षकको हुन्छ । स्वयंसेवकहरूलाई आ–आफ्नो टोलबाट लिएर आउने, नआएको खण्डमा कारण बुझ्ने र परिवारसम्म सम्पर्क  स्थापना गर्ने दायित्व गटनायकको हुन्छ । शारीरिक कार्यक्रमहरू गण अनुसार चल्दछन् भने त्यसमा प्रत्येक गणका लागि गणशिक्षकको दायित्व कुनै न कुनै स्वयंसेवकलाई दिइन्छ । यसका लागि योग्यताको विकास गर्न नैपुण्य, घोष आदि विभिन्न वर्गहरू लाग्दछन् । बौद्धिक कार्यक्रमका लागि कसले गीता सञ्चालन गर्ने, कसले अमृतवचन भन्ने आदि दायित्व दिइन्छ । ध्वज लगाउने र प्रार्थना भन्ने पनि दायित्व नै दिइएको हुन्छ । यसरी आफूले पाएको दायित्वलाई राम्ररी बुझेर त्यस अनुरूप कर्तव्य निर्वाह गर्ने दृढता स्वयंसेवकमा विकास हुन्छ । यससँगै, स्वयंसेवकले शाखामा अधिकारको होइन कर्तव्यको पाठ सिक्छन् । ‘मेरो जीवन मेरो अधिकार’ होइन ‘मेरो जीवन मेरो दायित्व’ हो भन्ने भाव निर्मित हुन्छ शाखाबाट । जसरी मेरो जीवन मेरो दायित्व हो, त्यसैगरि मेरो परिवार पनि मेरो दायित्व हो, मेरो समाज पनि मेरो दायित्व हो र राष्ट्र पनि दायित्व नै हो भन्ने भाव निर्माण हुन्छ ।


६. सामाजिक कार्य गर्ने दिशाबोधः शाखामा सेवाकार्यलाई पनि निकै महत्त्व दिइन्छ । संघस्थानको स्वच्छता, रेखाङ्कनदेखि लिएर स्थानीय मठ–मन्दिर, सेवा बस्ती आदिमा सेवाकार्य गर्ने अनुभव स्वयंसेवकले शाखाका माध्यमबाट प्राप्त गर्दछन् । यस्तै, शाखाको वार्षिकोत्सव कार्यक्रम, विभिन्न नियमित उत्सवहरू कसरी सञ्चालन र कुशलतापूर्वक सम्पन्न गर्ने भन्ने अभ्यास पनि शाखाबाट प्राप्त हुन्छ । यसरी, संघको शाखामा नियमित जाने एउटा स्वयंसेवकले व्यक्तिगत हित मात्रको चिन्ता छोडेर कसरी समग्र समाजकै लागि चिन्तन गर्नसकिन्छ भन्ने दिशातिर सोच्न थाल्दछ । उसले आफ्नो जीवनमा जस्तोसुकै कार्य अँगाले पनि उसको समर्पण भाव समग्र समाजका लागि हुने गर्दछ । सामाजिकताको यो भाव संस्कारकै रूपमा स्वयंसेवकको व्यक्तित्वमा अङ्कित हुन्छ ।


यहाँ केही बुँदा मात्रको चर्चा गरिएको छ तर यी बुँदालाई राम्ररी बुझ्ने हो भने स्पष्ट हुन्छ नियमित शाखामा जानु र मनःपूर्वक सहभागि हुनु भनेको देशभक्ति, समाजसेवा जस्ता सिद्धान्तलाई प्रत्यक्ष अनुभव गर्नु हो । शाखा आफैमा राष्ट्रभक्तिको प्रकट स्वरूप हो ।

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...