जलवायु परिवर्तन आज निकै चर्चित विषय हो । पर्यावरणलाई लिएर भर्खरै मात्रै स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२६) सम्पन्न भएको छ । जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धि, हिउँ पग्लिने क्रममा तीव्रता र तिनको प्रतिफल अर्थात् मानव जनधन क्षति आदि विभिन्न विषय चर्चा गरिएका छन्, गरिँदै आएका छन् । समस्या भयावह मात्र होइन विकराल नै भएपछि मात्र विभिन्न देशका शीर्ष नेतृत्वले यसरी सम्मेलन नै गर्दैआएका हुन् । समाधानका निम्ति हरित ग्यास उत्सर्जनमा कटौती गर्नुपर्ने, कोइलालाई इन्धनका रूपमा प्रयोग नगरिनुपर्ने आदि विभिन्न कोणबाट सिद्धान्त उठ्छन् । कार्य हुँदैन र पुनः उही समस्यालाई लिएर अर्को सम्मेलन गरिन्छ । यद्यपि आधिदैविक कष्टहरू त्यसपछि पनि यथावत् रहन्छन् ।
______________________________________________________
ऋतको एउटा अर्थ यज्ञिय जीवन शैली अपनाउने पनि हो । जो स्वार्थभन्दा माथि उठेर सबैको हितको चिन्ता गर्छन्— सर्वभूतहिते रतः हुन्छन् ।
______________________________________________________
यो समस्या मानवजनित नै हो । सबैको ध्यान यस तथ्यतर्फ पनि गएकै छ । तथापि उपभोगवादी संस्कृतिमा भुलेर भोगविलासका वस्तुको अनियन्त्रित प्रयोग र वैश्विकस्तरमै ठूला औद्योगिक देशहरूको आर्थिक एकाधिकारको अस्वस्थ प्रतिस्पर्धामा मानवकै संलग्नताले समस्या समाधान गर्नेभन्दा पनि बल्झाउने चाहिँ बढी गरिरहेको छ । पर्यावरण विषाक्त भइरहेको छ ।
कदाचित् प्राचीनकालका मेधावी ऋषिहरूले मानव सभ्यताको यो असभ्य आचरण आँकलन गरिसकेका थिए । त्यसैले हुनुपर्छ, उनीहरूले पर्यावरण–सन्तुलनका लागि निकै चर्चा गरेका छन् । संयमलाई सबैभन्दा बढी महत्त्वव दिने ती ऋषिहरूले मानवलाई संयमित हुनु भन्ने शिक्षा पनि दिएका छन् । किनभने असंयमकै कारण आज अनेक प्रकारका दुष्परिणाम मानव जातिले र मानवका कारण प्रकृतिले पनि भोग्नुपरिरहेको छ ।
कल्याणकारी सङ्कल्पना, शुद्ध आचरण, निर्मल वाणी एवं सुनिश्चित् गति क्रमशः ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका मूल विशेषता मानिन्छन् । र, पर्यावरण सन्तुलनका लागि आवश्यक पर्ने मुख्य गुणहरू पनि यिनै हुन् ।
परि + आवरण यी दुई पदहरूको मेलबाट पर्यावरण शब्द बनेको छ जसको अर्थ हो— चारैतिरबाट आवृत अर्थात् घेरिएको । यस घेराभित्र सजीव एवं निर्जीव सबै तŒव विद्यमान छन् । वैदिक ऋषिहरूले पर्यावरण संरक्षण एवं संवद्र्धनका लागि स्वमनीषाद्वारा समस्त विज्ञानलाई वैदिक मन्त्रहरूमा समाविष्ट गरेका थिए । आध्यात्मिक विषयहरू पनि नष्ट नहोऊन् भन्ने उद्देश्य लिई तिनलाई वैज्ञानिक विषयमा मिश्रित गरेका थिए । पर्यावरण संरक्षणका लागि उनीहरू आफ्नो सर्वस्व अर्पण गर्न समेत तत्पर थिए । जस्तै, अथर्ववेद (५।९।७) मा भनिएको छ—
अस्तृतो नामाहमयमस्मि स आत्मानं निदधे द्यावपृथिवीभ्यां गोपीथाय ।।
यसको भावार्थ हो, मेरा आँखा सूर्यवत् प्रकाशमान, प्राणहरू वायुसमान गतिमान्, आत्मा अन्तरिक्ष समान मध्यवर्ती र शरीर पृथ्वीतुल्य सहनशील छ । यस्तो म, आवरणबिना प्रसिद्ध छु, सर्वज्ञात छु र आफ्नो आत्मा सूर्य एवं पृथ्वीको रक्षाका लागि अर्पित गर्दछु । यसरी वेदले प्राकृतिक तत्त्ववहरूप्रति अन्तरंग आत्मीयतालाई प्रकट गरेर तिनको संरक्षण एवं संवद्र्धनका लागि मानवलाई आह्वान गर्दछन् । यिनमा पर्यावरणको सुरक्षा, शुद्धता एवं संवद्र्धनका लागि प्रकृतिसँग विवेकपूर्ण व्यवहार, सामञ्जस्य र संवेदनशीलताका परिप्रेक्ष्यमा ऋषिहरूद्वारा प्रदान गरिएका उपदेशहरूको वर्णन पञ्चतत्त्ववहरूका सन्दर्भमा यहाँ उल्लेख गरिएको छ ।
भूमि संरक्षणको आह्वान
पृथ्वी जैविक विविधताकी पोषक तथा रक्षक हुन् । ऋषिहरूले पृथ्वीलाई माता समान स्वीकार गर्न प्रेरित गर्दै अथर्ववेद (१२।१।१२) मा भनेका छन्— माता भूमिः पुत्रोऽहम् पृथिव्याः । यो ऋषिउद्गारले भूमिरूपी माताको रक्षाका निम्ति प्रेरित गर्दछ । अथर्ववेदको समग्र पृथ्वीसूक्त यस गृहग्रहसँग मानवीय–सम्बन्ध, आत्मीयता, संवेदना, समृद्धि, कर्तव्य र रक्षा आदिको सन्देशले परिपूर्ण छ । पृथ्वी संरक्षणका निम्ति व्यक्त भाव निम्नानुसार छ—
मा ते मर्म विमृग्वरि मा ते हृदयमर्पिपम् ।। (अथर्व० १२।१।३५)
हे भूमि ! हलोद्वारा जोतेर जे रोपण गर्छु त्यो चाँडै उत्पन्न होस् । म तिम्रो मर्मस्थलमा चोट गर्न नसकूँ र तिम्रो हृदयलाई हानी नपुर्याऊँ । पृथ्वीका पोषक अंश नै उनको मर्म हो । त्यसलाई हानी नपुर्याउने यस कामनाले स्वतः भूमि संरक्षणको भाव व्यक्त गर्दछ ।
वेदमा यस्ता अन्य मन्त्र पनि छन् जसमा पृथ्वीको काख नीरोगी होस् अर्थात् हामीले पृथ्वीलाई दूषित नगरौँ, र दीर्घकालसम्म हामी मानवले आफ्नो आयुलाई जागृत गर्दै, वृद्धि गर्दै पृथ्वीकै निम्ति प्राण–उत्सर्ग गर्नेसम्मको चर्चा छ । अथर्ववेदमा आत्मोत्सर्गको यो सन्देश भूमि–संरक्षणका लागि समस्त विश्वका निम्ति मार्गदर्शक छ ।
जल संरक्षणका निम्ति आह्वान
ऋग्वेद (१।२३।१९) मा ऋषि मेधातिथि भन्नुहुन्छ—
देवा भवत वाजिनः ।।
यसको भावार्थ हो हे मनुष्य ! अमृत–समान गुणकारी जल भेषज अर्थात् औषधि हुन् । यिनको सदुपयोग, प्रशंसा एवं स्तुतिगर्ने बन । यसैबाट तिमी शक्तिसम्पन्न हुनेछौ । मानव स्वास्थ्यलाई प्रभावित गर्ने नदीहरूलाई ती मेधाका शीर्षस्थ व्यक्तित्वहरूले मातृवत् पूजा गरेका छन् । ऋग्वेद (१०।१७।१०) मा जल हाम्री माता हुन् भन्दै घृतसमान जलले बलयुक्त र पवित्र बन्न प्रेरित गरेका छन् । जहाँ पनि यस्तो जलको रक्षा गर्न ऋषि आवह्वान गर्दछन् ।
अथर्ववेद (१९।२।४) मा अन्तरिक्षबाट वृष्टि हुने जलमा पोषक तत्त्व प्राप्त हुने तथ्य उल्लेख भएको छ । त्यहाँ भनिएको छ— हे मनुष्यहरू ! आकासमा बस्ने स्रोतहरूबाट निस्कने जलमा पोषण शक्ति हुन्छ । यो निश्चिय हो भन्ने ठान र यिनलाई प्रयोग गरी आलस्य नगर्ने, वेगवान् एवं बलशाली बन ।
अथर्ववेद (१।६।१) मा भनिएको छ—
शं नो देवीरभिष्टये आपो भवन्तु पीतये । शं योरभिस्रवन्तु नः ।।
अर्थात् दिव्यगुणहरूले युक्त जल हाम्रो अभीष्ट सिद्धि गर्ने, रोगमाथि आक्रमण गर्ने, पिउनमा उपयोगी तथा रक्षा गर्नका निम्ति सुखदायक होऊन् । हाम्रो रोगको शान्तिका लागि र अभय प्रदान गर्नका लागि चारैतिरबाट बर्सिऊन् । अथर्ववेद (१।६।४)मा ‘शिवा नः सन्तु वार्षिकीः’ भन्दै वर्षाको जल हाम्रा निम्ति कल्याणकारी होऊन भन्ने कामना गरिएको छ ।
यजुर्वेद (६।२२)ले ‘मा आपो हिंसीः’ भन्दै जल–हिंसा नगर अर्थात् जललाई प्रदूषित नगर, हानी नपुर्याऊ भनी आदेश नै दिएको छ ।
वायु संरक्षण गर्न आह्वान
जीवन सञ्चालन र रक्षाका लागि पर्यावरणबाट पाइने अक्सिजनलाई वेदहरूमा प्राणवायु भनिएको छ । अथर्ववेद (२।२०।४–५) मा अथर्वा ऋषि भन्नुहुन्छ—
वायो यत्ते तेजस्तेन तमतेजसं कृणु योऽस्मान् द्वेष्टि यं वयं बिष्म ।’
यी दुई मन्त्रको भावार्थ हो, वायु सबैभन्दा ठूलो शोधक तत्त्व हो । यसलाई हानी पुर्याउनाले त्यसबाट हुने क्षति हामी सबैले बेहोर्नुपर्छ । हे वायु ! तिम्रो शोधनीय शक्तिले ती दोषहरू पन्छाइदेऊ जसले हाम्रो अहित गर्दछ ।
यी कुराका लागि आजको पर्यावरणको परिदृश्य स्वतः प्रमाण छ । हामी मानवले वायुलाई प्रदूषित गर्दछौँ र परिणामस्वरूप प्रदूषित वायुका कारण हामी व्याधिग्रस्त बन्न पुग्छौँ ।
ऋग्वेदको दसौँ मण्डलको १५८ औँ सूक्तको पहिलो मन्त्रमा प्रार्थना गरिएको छ— पातु वातो अन्तरिक्षात् । अर्थात् वायुले अन्तरिक्षका विकारहरूबाट हाम्रो रक्षा गरून् ।
वायुमा जीवनदायिनी शक्ति छ । यसैले, वायुको स्वच्छता पर्यावरणको अनुकूलताका लागि परम अपेक्षित छ । वेदहरूमा वायुकी स्तुति गरिएको छ । यी सबै प्रार्थना पर्यावरणप्रति ऋषि मेधाको चेतनाका बिम्ब हुन् । यिनले हामीलाई घच्घच्याइरहेका छन्— हे मानव, प्रकृतिलाई प्रतिकूल नबनाऊ । अन्यथा धेरै हानीका भागी हुनेछौ ।
वेदहरूमा जल, पृथ्वी, वायु, अग्नि, वनस्पति, अन्तरिक्ष, आकाश आदिप्रति असीम श्रद्धा भाव राख्नमा निकै जोड दिइएको छ । तत्त्वदर्शी ऋषिको उपदेशअनुसार जीवन निर्वाह गर्ने हो भने वातावरणीय असन्तुलनको समस्या नै आउन सक्दैन । जीवनशैलीमा अवाञ्छित परिवर्तनका कारण आज जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषणको समस्या चारैतिर व्याप्त छ । मूलतः यो जीवनशैलीमा आएको प्रदूषणकै परिणाम हो ।
पर्यावरण संरक्षणका लागि वेदमा के कुरामा जोड दिइएको छ भने नियमानुसार आफ्नो कार्य गरिरहेकी प्रकृतिजस्तै यदि मानव पनि प्रकृतिका नियमित शासनमा आफ्नो कार्य गर्ने अर्थात् पर्यावरणको नैसर्गिक चक्रलाई नतोडिकन, त्यसको अनुकूल रहेर कार्य गर्ने हो भने प्रकृति सुरक्षित रहनेछिन् । साथै प्रकृतिको नियमानुसार गरिएका कार्य पनि कल्याण एवं शान्ति–प्रदायक बन्नेछन् । पर्यावरणको सुरक्षाका लागि प्रकृतिबाट प्रेरणा लिन ऋषिहरूले प्रदान गरेको सङ्केतलाई हामीले बुझ्नसक्नुपर्छ ।
वेदमा ‘ऋत’ भन्ने शब्द आउँछ । यसका विभिन्न अर्थ छन् । यसको एउटा अर्थ हो प्रकृतिको शाश्वत नियम । उचित अथवा ठीक भनी जनाउने अंग्रेजीको ‘राइट’ पनि यसै शब्दबाट बनेको हो कि भन्ने भान पर्छ । ऋतको एउटा अर्थ यज्ञिय जीवन शैली अपनाउने पनि हो । जो स्वार्थभन्दा माथि उठेर सबैको हितको चिन्ता गर्छन्— सर्वभूतहिते रतः हुन्छन् । यस्ता सबै कार्य सम्यक् गर्ने, यज्ञमय जीवन जिउनेहरूका निम्ति यजुर्वेदमा ‘ऋतायन्’ शब्द प्रयोग भएको छ । यस्ता सुन्दर जीवन बनाउने ऋतायनका लागि शुक्ल–यजुर्वेद (१३.२७–२९)को शाश्वत सन्देश छ—
मधुरताले युक्त सरस पवित्र हावा गतिशील रहोस् । सागर माधुर्यताले भरिभराउ होऊन् । औषधि मधुर भइदिऊन् । रात माधुर्यतायुक्त होस् र उषाकाल आर्थत् दिन पनि मधुर बनून् । धर्तीको माटोदेखि अन्तरिक्षसम्म मधुमय बनून् । पृथ्वी माता र अन्तरिक्ष पितातुल्य बनेर ऋतायनका लागि सदैव मधुर हितकारी बनून् । वनस्पतिमा मधुरता होस् । सूर्य माधुर्ययुक्त होस्, गाई माध्वी अर्थात् माधुर्यपूर्ण दूध दिने होऊन् ।
हाम्रो जीवन ऋतमय बनेमा आधिदैविक जगत् समग्र ब्रह्माण्ड नै हाम्रा निम्ति अनुकूल, सुमधुर बन्नेछ । जीवनबाट ऋत पन्छियो अर्थात् मानवले ऋतको नियम भङ्ग गरेभने मात्र आधिदैविक कष्टहरू आइलाग्छन् । यसर्थ हाम्रो जीवनचर्या प्रकृतिका निम्ति अनुकूल छ कि प्रतिकूल छ, यसतर्फ ध्यान दिन अनिवार्य, अपरिहार्य भइसकेको छ । समग्रमा भन्नुपर्दा मङ्गलमा जीवन खोज्नेतिर ध्यान दिइरहँदा जीवनमै मङ्गल स्थापित गर्न बिर्सनु हुँदैन ।
___________
विजयप्रसाद मिश्र (हिमाल दृष्टिमा प्रकाशित लेख)
No comments:
Post a Comment