‘यो सम्पत्तिले मलाई मृत्युतिरै मात्र लिएर जानेछ ।
मलाई यस्तो सम्पत्ति दिनुहोस् जसले अमृतत्व तर्फ लिएर जाओस्,’ मैत्रेयीले भनिन् ।
___________________________________________________
वैदिककालतिर चिहाउँदा के कुरा स्पष्ट रूपमा देख्न पाइन्छ भने स्त्री कुनै पनि क्षेत्रमा पुरुषभन्दा पछाडि थिएनन् । प्रतिस्पर्धाको भाव थिएन, तर ‘संगच्छध्वम् संवदध्वम्’ गाउने उनीहरू सँगै मिलेर ‘एकं सत्’लाई जान्नमा प्रवृत्त हुन्थे । यसर्थ हामी पाउँछौँ, वैदिक काल र उत्तर वैदिक कालमा अनेकौँ नारी ‘तत्त्ववेत्ता’ थिए । ती ब्रह्मवादिनीमध्येकै एक थिइन् जिज्ञासु मैत्रेयी ।
मैत्रेयीलाई राजर्षि जनकका सल्लाहकार–मन्त्री ‘मित्र’की छोरी भन्ने गरिन्छ । कतैकतै मित्र ऋषिकी छोरी हुनाले उनको नाम मैत्रेयी रहेको उल्लेख पनि पाइन्छ । तथापि यी विदुषीको जीवनको प्रारम्भिक कालका बारेमा त्यति ठोस जानकारी उपलब्ध भएको देखिँदैन । देखिन्छ त केवल तत्त्ववेत्ता कुलपति याज्ञवल्क्यकी दुई पत्नीमध्ये एकका रूपमा, जो आफै पनि ब्रह्मचिन्तनमा रत हुनाले त्यसकालमा अत्यन्त सम्मानित थिइन् ।
वैदिक कालका विविध पक्षबारे शोध गर्ने अन्वेषकहरूले उनको जीवनको प्रारम्भिक काल विदेहमै व्यतित भएको अनुमान गर्छन् । अवश्य पनि उनको विदुषीत्वका निम्ति उनको पालन–पोषण ‘सहज’ र ‘आहार्य’ दुवै प्रकृतिका संस्कार प्राप्त हुने परिवेश र संगतिमा भएको हुनुपर्ने उनीहरूको ठम्याइ छ । तीव्र–तीक्ष्ण मेधा नभइकन व्यक्ति अवश्य पनि ज्ञान र त्यसको चरम–स्वरूप ब्रह्मचिन्तनमा लाग्दैन । उनी ज्ञानको अभिप्सा राख्ने थिइन् । विदेहराज झैँ निवृत्ति मार्गमा प्रवृत्त थिइन् मैत्रेयी तर प्रवृत्तिमा पनि निवृत्तिकै अनुशीलन गर्थिन् । यसै पनि जो प्रवृत्त नै भएको छैन, उसले निवृत्त हुने प्रश्न नै उठ्दैन । यसैले निवृत्तिका लागि पनि प्रवृत्ति आवश्यक हुन्छ, तर प्रवृत्तिमा आसक्ति र अपेक्षा हुनुहुँदैन तथा निवृत्तिमा उदासीनता र निष्क्रयता रहनुहुँदैन । मैत्रेयीले यस्तै वृत्ति अँगालेकी थिइन् । उनी मेधावी विद्यार्थी थिइन् ।
राजा जनकको सभामा याज्ञवल्क्यको पाण्डित्य देखेर उनी मोहीत भएकी थिइन् । उनको जिज्ञासु मन प्रेमील पनि बनेको थियो । तर, त्यो प्रेम व्यक्ति याज्ञवल्क्यप्रति नभएर याज्ञवल्क्यको व्यक्तित्वका निम्ति थियो । त्यस व्यक्तित्वको सामिप्य अवश्य पनि उनको ब्रह्म जिज्ञासाका निम्ति सार्थक हुनेछ भन्ने उनले बुझिन् । उनले स्वेच्छापूर्वक याज्ञवल्क्यलाई पतिका रूपमा वरण गरेकी थिइन् । उनका पिता मित्रलाई यो जानेर प्रसन्नता भएको थियो । उनले मैत्रेयीको विवाह याज्ञवल्क्यसँग गराइदिए । याज्ञवल्क्यकी दुई पत्नीमध्ये महर्षि भरद्वाजकी छोरी कात्यायनी पहिली थिइन् । वैदिक साहित्यमा कात्यायनी सामान्य गृहिणीको रूपमा परिचित छिन् । उनी घर–गृहस्थी हेर्थिन्, आश्रमको व्यवस्थालाई सुचारु रूपले सञ्चालन गर्थिन् । सांसारिक भोगहरू– मीठो खानेकुरा, राम्रो लुगा, गर गहना, गौधन आदिमा उनको रुचि थियो । उनको व्यवस्था कौशल्य अद्वितीय थियो । यता कुलपति याज्ञवल्क्यको आश्रममा मैत्रेयीको आगमनपछि शिक्षा–दीक्षाबाहेक स्वध्याय र संवादले पुनः गौरवशाली स्थान प्राप्त गरेको थियो । मैत्रेयी आफ्ना पति याज्ञवल्क्यका साथ प्रत्येक धार्मिक–आध्यात्मिक कार्यमा साथ दिन्थिन्। तत्त्वज्ञानका निम्ति अभीप्सा उनमा अद्वितीय थियो । मैत्रेयीको जिज्ञासु वृत्तिदेखी कात्यायनी पनि विस्मित थिइन्, मोहित थिइन् ।
याज्ञवल्क्य आश्रम–व्यवस्थाका साथै शिक्षार्थीहरूलाई शिक्षा दिने कार्यमा प्रवृत्त त थिए, तर उनी घर–गृहस्थीमै रमाएर बस्ने संसारी जीव थिएनन् । यो कुरा मैत्रेयीलाई थाहा थियो । याज्ञवल्क्यले दुबै पत्नीहरूलाई बोलाएर भने– ‘अब म संन्यास ग्रहण गर्दैछु, तर तिमीहरू चिन्तित नहुनु । हामीले आर्जन गरेको धन–सम्पदा तिमी दुईमाझ भाग लगाएर मात्र म मुमुक्षु मार्गमा लाग्नेछु । यति धन साथमा भए तिमीहरूको जीवन आनन्दपूर्वक बित्नेछ ।’
मैत्रेयी र याज्ञवल्क्य दुबैको मन संसार–सुखको अपेक्षामा रमाउँदैन थियो । याज्ञवल्क्यको संन्यास मार्गमा बढ्ने चाहना मैत्रेयीले अघिनै बुझेकी थिइन् । काम ‘पुरुषार्थ’ नै हो, तथापि यदि त्यो धर्म र मोक्षको मार्गमा बाधक सिद्ध हुन्छ भने त्यसलाई नियन्त्रणमा राख्नै पर्छ भन्ने कुरा मैत्रेयीलाई थाहा थियो । उनले पनि वैराग्य वृत्तिलाई पूर्णतः अंगिकार गरेकी थिइन् । याज्ञवल्क्यको असंसारी प्रवृत्तिदेखि उनी विचलित भइनन् । बरु हाँसेर भनिन्– ‘मलाई जीवन यापनका लागि धन–सम्पत्तिको आवश्यकता पर्छ भन्ने किन ठान्नु हुन्छ तपाईँ । के यसले मलाई मुक्ति मिल्नेछ ? मेरो मनमा कुनै पनि सांसारिक लाभको कामना शेष छैन । कुनै आसक्ति बाँकि छैन । तपाईँ संन्यास लिनु हुँदैछ, यस समयमा यस संन्यासिनीलाई केही दिएर जान चाहनुहुन्छ भने यस मुक्ति-यात्राको पाथेयका रूपमा उपयोगी सिद्ध हुनसक्ने ज्ञान दिनुहोस् ।’
ऋषि याज्ञवल्क्यलाई संसार त्यागेर संन्यास लिनुपर्ने आवश्यकता देखापरेको थियो, तर मैत्रेयीको वृत्ति संन्यस्त हुँदाहुँदै पनि उनी संसारबाट विमुख भएर नाता तोड्न बाध्य थिइनन् । संन्यासका लागि संसार त्याग्नु पर्छ भन्ने छैन, उनले बुझेकी थिइन् । मुक्तिमार्गमा संसार अवरोधक हुँदैन, उनलाई थाहा थियो । संसार त्याग्नु पर्दैन, बरु काम्यकर्म, इच्छाद्वारा प्रेरित कर्म, वासनापूर्तिका लागि गरिने कर्म र आसक्तिबाट गरिने कर्म, र कर्तापनको अहंकार त्याग्नु नै साँचो संन्यास हो । र, यो त्याग संसारमा रहेर पनि सम्भव छ । मैत्रेयी उदाहरण बनिन् । याज्ञवल्क्य अध्यात्मका विषयमा भाष्य दिन्थे, तर मैत्रेयीले त अध्यात्मलाई आत्मसात् नै गरेकी थिइन् । याज्ञवल्क्यका निम्ति आफूद्वारा अर्जित धनको महत्त्व थियो, यसर्थ उनी त्यो दुबै पत्नीमाझ बाँड्न चाहन्थे । मैत्रेयीले धनलाई तुच्छ ढुङ्गा–माटो ठानेर पन्छाइदिइन् । याज्ञवल्क्य मैत्रेयीलाई अध्यात्म मार्गको सोपानमा चढाउन चाहन्थे, तर जब उनले मैत्रेयीलाई पहिल्यै त्यहाँ पुगेको देखे जहाँ उनी पुर्याउन चाहन्थे, उनलाई हर्ष पनि भयो र मन–मनै उनी लज्जित पनि भए । एउटा गौरवबोध पनि थियो, सन्तोष र आनन्द पनि थियो मनमा, सहचरिणीको उन्नति देखेर ।
‘म जे भन्दै हुन्छु अध्यात्मका विषयमा त्यसलाई तिमीले पहिल्यै आचरणमा–व्यवहारमा ल्याएकी हुन्छौ । यो देखेर मलाई सुखद् आश्चर्य हुन्छ,’ याज्ञवल्क्यले भने । उनी संसारबाट संन्यासतिर जान चाहन्थे, तर मैत्रेयीले संसारमै संन्यास साधेकी थिइन् । ‘यो सम्पत्तिले मलाई मृत्युतिरै मात्र लिएर जानेछ । मलाई यस्तो सम्पत्ति दिनुहोस् जसले अमृतत्व तर्फ लिएर जाओस्,’ मैत्रेयीले भनिन् ।
भारतवर्षको प्राचीन काल अग्निधर्मा थियो । तब यहाँका स्त्री मेधा पनि भौतिकवादी धन–साधनको तुलनामा सृष्टि रहस्यहरूको ज्ञानका लागि व्यग्र हुन्थे । याज्ञवल्क्य तत्त्वज्ञानी थिए । उनले सबै सांसारिक सम्बन्धलाई ‘आत्मार्थ’ अर्थात् आत्माको लागि हो भन्ने कुरा बताए । भने, ‘हे मैत्रेयी ! पतिको प्रयोजनका लागि पति प्रिय हुँदैन, स्वयं आफ्नै प्रयोजनका लागि नै पति प्रिय हुन्छ ।’ (बृहदारण्यक उपनिषद्) यहाँ आफ्नो प्रयोजनको अर्थ ‘निजी स्वार्थ’ नभएर ‘आत्माका लागि’ भन्ने बुझिन्छ । शंकराचार्य भाष्यमा यो कुरा सुस्पष्ट छ– ‘आत्मैव प्रियाः, नान्यत’ यानी आत्मा नै प्रिय छ अरू केही छैन । याज्ञवल्क्यले अगाडि भने, ‘पुत्रहरूको प्रयोजनका लागि पुत्र प्रिय हुँदैनन्, आत्म-प्रयोजनका लागि नै पुत्र प्रिय हुन्छन्.. देवता पनि आफ्नै (आत्माकै) प्रयोजनका लागि नै प्रिय हुन्छन् ।’ यस्ता अनेक उदाहरण दिएपछि उनले भने, ‘यसैले आत्मा नै दर्शनीय, श्रवणीय, मननीय र ध्यानका लागि योग्य छ । आत्मदर्शन, श्रवण, मनन र विज्ञानबाट ‘यी सबैको’ (समग्र सृष्टिको) ज्ञान हुन जान्छ । व्यक्तिको प्रत्येक कर्म आत्मसुखका लागि हुन्छ । तब भूल कहाँ भइरहेको छ त ? यो सुख जुन आत्माका लागि हुन्छ, त्यस आत्मालाई नचिन्दा, नबुझ्दा नै ‘स्वार्थ’ हेय बनेको छ ।
प्रत्येक जीव स्वार्थी हुन्छ । मनुष्य अलि बढी नै स्वार्थी छ । स्वार्थ सबैका लागि प्रेय छ, तर हिन्दू लोकजीवनमा हेय छ । रमाइलो प्रश्न त के छ भने भिन्न–भिन्न सबैको प्रेय किन सामाजिक बोधमा हेय बन्दछ ? कठोपनिषद्मा प्रेयसँगै नारिएर आएको शब्द हो ‘श्रेय’ । प्रेयको मियो कामनाहरू हुन् र श्रेयको केन्द्र लोकमंगल । ‘स्व’ र ‘अर्थ’को योगबाट बनेको स्वार्थ आफैमा एउटा जटिल शब्द हो । स्व निजता हो । सृष्टि विराट, एक, र अद्वैत छ । मनुष्य यसैको अविभाज्य अंश हो तर नाम, रूप र निजताका कारण भिन्न एकाइ प्रतीत हुन्छ । दर्शनको दृष्टिमा समग्र सृष्टि ‘व्यक्त’ छ, यसैको एकाई व्यक्ति हो । एकाईको अस्मिता नै ‘स्व’ हो तर यो एकाई त अनन्त विराटको एकात्म भाग न हो । महासागरको एउटा थोपा । स्वको लघुत्तम संकीर्णता हो, महत्तम व्यापकता हो । यसै स्वको परमबोधले स्वार्थलाई परमार्थ बनाउँछ । मैत्रेयीलाई यो बोध थियो । आत्मद्रष्टाका लागि समग्र सृष्टि आत्मा नै हो भन्ने आत्मबोधका साथ उनले परमार्थलाई साधन बनाइन् । साध्य परम् नै थियो । याज्ञवल्क्य संन्यासमा प्रवृत्त भए । उनी प्रवृत्तिमै निवृत्तिलाई आत्मसात् गरेर अन्ततः परम् चेतनमा समाहित हुन पुगिन् । बृहदाराण्यकमा उनको ज्ञान चर्चाको आख्यान छ । वैदिक सनातन दर्शन र परम्परामा उनको गरिमामय स्थान अक्षुण्ण छ । नारी–पुरुष प्रतिस्पर्धी थिएनन्– परिपूरक थिए । समाजले समानताको संस्कार दिन्थ्यो । नारीको स्वतन्त्र र सम्मानित स्थानलाई विस्मरण हुन दिएको छैन वैदिक वाङ्मयले । आवश्यक छ त यता चिहाउने चाहनाको ।
__________
विजयप्रसाद मिश्र
No comments:
Post a Comment