— विजयप्रसाद मिश्र
हाम्रो
दृष्टि सापेक्ष छ र त
देख्छौँ सूर्य उदाएको । अनि अस्ताएको
। उदाउँदा मनोरम हुन्छन् उनका किरण । स्वास्थ्यप्रद सुमधुर
मुस्कान जस्तै । र, दिन
चढ्दै जाँदा क्रमशः वृद्धि भइरहेको हुन्छ उत्साह उनमा । पुरुषार्थको शिक्षक
झैँ कर्मशील हुन, चेतनायुक्त हुन उनी शिक्षा दिन्छन् । चरैवेति–चरैवेति
भनी उन्नतिको पथमा निरन्तर गतिशील हुन प्रेरित गर्छन् । अनि हामी
देख्छौँ— उनी अस्ताएको । उनको अनुपस्थितिमा
निशा व्याप्त हुन्छिन् । चराचर सुसुप्तिमा
जान्छ । निद्राधीन हुन्छ
जगत् ।
प्रकृतिले
ऊष्मा र ऊर्जा सूर्यबाटै
प्राप्त गर्छिन् अनि हाम्रा निम्ति पोषक बन्छिन् । संस्कृतिले पनि
त सूर्यबाटै पाएको छ ऊष्मा ।
उनैलाई केन्द्र मानेर हामी निरन्तर उज्ज्वल, प्रखर र ऊर्जासम्पन्न बनौँ
भन्ने प्रेरणा लिन्छौँ । उनैलाई आधार
मानेर हामी हाम्रा सापेक्ष दृष्टिले ऋतुमा परिवर्तन देख्छौँ । त्यसै अनुरूपको
आहार र विहार गर्छौँ
। सूर्यकै तेजले प्रकाशित छ चन्द्रको जीवन
। र सूर्य–चन्द्रकै
आधारमा हामी गर्छौँ कालको मापन ।
तेजोमय
सूर्यकै वरिपरि पृथ्वीले परिक्रमा गर्छिन् । उनको यस
धर्म–सापेक्षताकै कारण हामी सूर्यलाई दक्षिणायन भएको र उत्तरायण भएको
देख्छौँ । हाम्रा निम्ति,
छ महिनाअघि मात्रै उनी दक्षिणायन भएका थिए— कर्क सङ्क्रान्तिका दिन । र, माघ
मासको प्रथम दिवसमा, आफ्ना उज्ज्वल किरणले धर्तीको वक्षलाई स्पर्श गरेसँगै उनी उत्तरायण हुँदैछन् । हो यसैलाई
हामी मकरसङ्क्रान्ति भनी मनाउँछौँ । उत्सवप्रिय हामी,
आफ्नो उत्सको खोजीमा लाग्छौँ ।
उत्सवहरू
उत्सवहरू
कुनै पनि राष्ट्र–जीवनका पहिचान हुन्छन् । सुदीर्घ इतिहास,
श्रेष्ठ परम्परा तथा प्राचीन संस्कृतिको स्मरण गराएर समाजमा स्नेह, संगठन एवं देशभक्तिको भाव जगाउने काम गर्छन् चाड–पर्वले । नयाँ उत्साह
र उमङ्ग सञ्चार गर्छन् उत्सवमय पर्वहरूले । आत्मीयता, एकरसता
तथा एकात्मताको भाव पनि निर्माण गर्छन् पर्वहरूमा निहित सन्देशले । समाजलाई सबल
बनाउन र राष्ट्रलाई सुदृढ
पार्न उत्सवहरूको विशिष्ट भूमिका रहन्छ । पर्व–उत्सवहरूमा
राष्ट्रका कतिपय बलिदानी महापुरुषहरूका अनेक स्मृतिहरू गाँसिएका हुन्छन् । राष्ट्र–जीवनका
अनेक सुखद् प्रसङ्गहरू स्मरण भएर आउँछन् । पर्व प्रकृति,
पर्यावरण, राष्ट्रको जय, समाजको सुरक्षा र सामाजिक एकताका
परिचायक पनि त हुन् ।
अतः पर्व र उत्सवहरू हाम्रा
निम्ति समाज–जागरणको कार्य गर्ने माध्यम पनि हुन् । हिन्दू समाज
जीवन उत्सवमय छ । पात्रो
पल्टाएर हेर्ने हो भने दिनहूँ
केही पर्व केही उत्सव भएकै हुन्छ । यो हिन्दू
संस्कृतिको उल्लासमय जीवन्तताको प्रतीक पनि हो ।
मकर
सङ्क्रान्तिको प्रेरणा
मकर
सङ्क्रान्ति हिन्दू समाजले मनाउने एउटा विशिष्ट पर्व हो । ज्योतिषीय
गणना अनुसार यस दिन जगत्
साक्षी श्रीसूर्यनारायण मकर राशीमा प्रवेश गर्नुहुन्छ । दक्षिणायन समाप्त
भइ उत्तरायण शुरु हुन्छ । यसै दिनदेखि
प्राकृतिक रूपमा दिन लामो हुँदै जान्छ र पृथ्वीमा पर्ने
सूर्यको तेजमा प्रखरता पनि थपिँदै जान्छ । यसबाट प्रकृतिमा
त ऊर्जा र ऊष्मा थपिन्छ
नै चिसोका कारण शिथिल भएका मानिसका अंगमा उत्साह र ऊर्जा सञ्चारित
हुन्छ । यस खगोलीय
परिवर्तनले समाजका निम्ति पनि विशिष्ट सन्देश धारण गरेको छ । अज्ञान,
मोह, हीनता र दुर्बलता रूपी
अन्धकार त्यागेर ज्ञान, श्रेष्ठता र सबलतारूपी प्रकाशतिर
अग्रसर हुन सन्देश दिन्छ यस दिनले ।
क्षुद्रताका हीन विचार त्यागेर श्रेष्ठताका गौरवमय विचार अपनाउन, निराशाका अवगुण त्यागेर आशापूर्ण सद्गुणले मन–प्राणलाई सञ्चारित
गर्न प्रेरित गर्दछ ।
यो
उत्सव विश्वभरि नै छरिएर रहेको
हिन्दू समाजले कुनै न कुनै रूपमा
मनाएकै हुन्छ । कतै तीर्थ–स्नान एवं दान–पुण्यको महत्ता दर्शाइन्छ भने कतै सामूहिक कार्यक्रमको ।
नेपाली
जनजीवनमा मकर सङ्क्रान्ति
नेपालमा
त यस उत्सवका कयौँ
रूपहरू देखिन्छन् ।
- थारू जनजातिले माघीका रूपमा यसलाई नयाँ वर्षको थालनीकै रूपमा मनाउँछन् ।
- नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन् । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् ।
- मैथिली समुदायमा यसलाई तिला सङ्क्रान्ति पर्वका रूपमा मनाइन्छ ।
- मगर समुदायमा माघ्या–सेल्र्हेस् भनी तीन दिनसम्म मनाउने गरिन्छ ।
- किराती राई, याक्खा, लिम्बू सुनवारलगायतका जातजातिले विशेष धूमधामका साथ यसलाई कक्फेक्वा तङनाम भनेर मनाउने गर्छन् ।
- सुदूरपश्चिममा चाहिँ यो पर्व ‘चेली त्यार’ नामले पनि प्रसिद्ध छ ।
यस
दिन खाइने परिकारको पनि आफ्नै विशिष्टता छ । विशेष
यस दिन तिल–सक्खरले बनेको लड्ड् खाने परम्परा छ । चिसो
याममा शरीरलाई उष्णता र पोषण दिने
पदार्थ हुन् तिल र सक्खर (गुड)
। साना–साना तिलका दाना झै छरिएर रहेको
समाजलाई सक्खर रूपी स्नेह र आत्मीयताले बाँधेर
संगठित गर्ने उदात्त संस्कारको प्रतीक पनि त हो यो
। तिल–सक्खरको लड्डु खाइरहेका हामीले यस सन्देशलाई पनि
मनन गर्नुपर्दैन र ?
अब
सङ्क्रान्तिको अर्थतिर ध्यान दिऊँ
सङ्क्रान्तिको
अर्थ हो सूर्यले अथव
कुनै पनि ग्रहपुञ्जले एउटा राशीबाट अर्को राशीमा प्रवेश गर्ने समय । यो, एउटा
अवस्थाबाट अर्को अवस्थामा जाने क्रम पनि हो । यस
दृष्टिले ग्रहहरू झैँ मानव समाजले पनि सङ्क्रमण काल बेहोर्ने गर्दछ । एउटा अवस्थाबाट
अर्को अवस्थामा मानव समाज पनि बढ्ने गर्दछ । यो गतिशीलताको
परिचायक पनि हो ।
सकारात्मक
भावलाई ध्यानमा राखी हामीले सङ्क्रान्तिको अर्थ सम्यक दिशामा क्रान्ति भन्ने लगाउन सक्छौँ । अर्थात् व्यक्ति,
परिवार अथवा समाजमा यस्तो परिवर्तन ल्याउनु जसले समाज–जीवनमा सबै प्रकारको शुभ होस् तथा समाजको उन्नति होस् ।
‘सर्वे
भवन्तु सुखिनः सर्वे सन्तु निरामय’— सबैको कल्याणको, उन्नतिको कामना गर्नसकौँ भन्ने भावले युक्त म त यही
प्रार्थना सम्झन्छु सङ्क्रान्तिमा ।
क्रान्तिको
कुरा गर्ने त अनेक छन्
। आमूल परिवर्तनका स्वप्न छर्ने पनि धेरै छन् समाजमा । तर तिनको
परिधि राजनीतिक सत्तासम्म मात्र छ । रक्तपातले
युक्त परस्पर वैमनस्य उत्पन्न गराउने क्रान्तिले समाजलाई जोड्ने काम गर्ला त ? यो प्रश्नमा पनि
गम्भीर विचार गर्नैपर्छ— सम्यक् क्रान्तिका आकांक्षीले ।
सामाजिक
सद्भावलाई सुदृढ बनाउने, आपसी वैमनस्यतालाई निर्मूल पार्ने क्रान्ति पो उचित क्रान्ति
त !
समाजमा
फाटो ल्याउने क्रान्तिको होइन, सामाजिक एकताको गुण विकास गर्ने क्रान्ति चाहिँ सम्यक् क्रान्ति हो ।
अँध्यारो
फैलाउने होइन उज्यालोतिर बढ्न प्रेरित गर्ने क्रान्ति चाहिँ सङ्क्रान्ति हो ।
यसर्थ
हाम्रो सङ्कल्प सम्यक क्रान्तिको हुनुपर्दछ । अँध्यारो छोडेर
उज्यालोतिर बढ्ने हुनुपर्दछ । अँध्यारामा भएकालाई
पनि उज्यालोतिर बढ्न प्रेरित गर्ने हुनुपर्दछ । तमसोमा ज्योतिर्गमयको
हुनुपर्दछ ।
विराट
हिन्दू समाजका सन्दर्भमा प्राचीन युगमा मर्यादापुरुषोत्तम श्रीराम, लीलापुरुषोत्तम श्रीकृष्णका क्रान्ति, पछि बुद्ध, शंकराचार्य, रामानुजाचार्य, चाणक्य आदिले गरेको क्रान्ति; अनि नेपालका सन्दर्भमा हामीले स्मरण गर्नयोग्य वीर पृथ्वीनारायण शाह जस्ता महापुरुषले गरेको क्रान्ति सामाजिक एकता–अखण्डताका लागि भएका हुन् । यी सबै
सम्यक क्रान्ति थिए, सङ्क्रान्ति थिए ।
आफ्नो
जीवनमा र आफू बाँचोको
समाजमा सकारात्मक क्रान्तिको बीजारोपण गरौँ । सामाजिक सद्भाव,
आत्मीयता र समरसताको भाव
छर्ने उद्देश्य राखेर सूर्य झैँ उदाऔँ ।
यहाँ
एउटा हिन्दी गीतको नेपाली भावानुवाद दुई पंक्ति राख्दैछु—
सक्छौ
भने उदाऊ सूर्यझैँ बनी तिमी
प्रखरताले
तिम्रो पाइला चुमनेछन् ।।
~~~~
मकर
सङ्क्रान्तिको यो पावन दिवस
सबैका निम्ति प्रेरक बनोस् उत्साहयुक्त रहोस् । सबैप्रति हार्दिक
मङ्गलमय शुभकामना ।
No comments:
Post a Comment