Wednesday, January 19, 2022

व्यक्ति निर्माणको अभिनव पद्धति दैनिक शाखा



दैनिक शाखा के हो ?

यस विषयमा परम पूजनीय श्रीगुरुजीको भनाइ यहाँ उल्लेख गर्नु उचित हुन्छ । उहाँ भन्नुहुन्छ— 

“संगठित जीवनका लागि आत्मीयतापूर्ण सम्बन्ध र अनुशासनबद्ध रूपमा कार्य गर्ने सिद्धता, दुबै आवश्यक छन् । यसका लागि हामीले प्रतिदिन, निश्चित स्थान तथा निश्चित समयमा एकत्रित भएर, भिन्न–भिन्न प्रकारका कार्यक्रमहरूको माध्यमबाट यी गुणहरू प्राप्त गर्ने सङ्कल्प लिएका छौँ । कुनै एक स्थानमा एकत्र भई आउनु, पवित्र ध्वजलाई प्रणाम गर्नु, त्यसको छत्रछायामा अनुशासन र आत्मीत्यता बढाउने प्रकृतिका कार्यक्रमहरूको अभ्यास गर्नु, त्यसपछि आफ्नो ध्येयको स्मरण गर्नका लागि पवित्र प्रार्थना उच्चारण गर्नु, ध्वजलाई प्रणाम गर्नु, ध्वजलाई त्यस दिनका लागि विसर्जित गरी आ–आफ्नो दैनिक जीवनका कार्यहरूलाई ध्येय–अनुरूप समर्पण भावले गरिरहने प्रेरणा लिएर घर जानु, यो हाम्रो कार्यको स्वरूप हो । यस प्रकार संगठित जीवन निर्माण गर्नका लागि हामीले अत्यन्त सरल पद्धति आफ्ना सामु राखेका छौँ । यसैलाई हामी हाम्रो शाखा भन्ने गर्छौँ ।”

‘शाखा’ सबै कार्यहरूका लागि अधिष्ठान हो किनभने प्रत्येक कार्यका लागि आवश्यक योग्य, समर्पित, ध्येयनिष्ठ कार्यकर्ताहरूको निर्माण यस पद्धतिबाट नै सम्भव छ । यस्तो हिन्दू स्वयंसेवक संघ नेपालको दृढ विचार एवं व्यवहार छ । यस्तो दैनिक मिलनको अभिनव (नयाँ) कार्यपद्धतिको विकास संघले गरेको हो ।


शाखा पद्धतिलाई अभिनव किन भनियो ? 

डाक्टर हेडगेवारले व्यक्ति निर्माणको सुन्दर सङ्कल्पना हामीलाई दिनुभएको छ । त्यसलाई हामी अभिनव उपाय— अर्थात् नौलो उपाय भन्ने गर्छौँ । पुराना उपाय पनि हुन सक्छन् । ‘अभिनव उपाय’ किन भनियो ? पुराना उपाय पनि थिए । पहिले परिवार, मन्दिर, गाउँ, गाउँका विद्यालय, गुरुकुल, अध्यापक÷आचार्य, पुरोहित, पाठशाला, मन्दिरका उत्सव, धर्मव्याख्या, पुराणआधारित नटनाट्य आदिबाट संस्कार दिने कार्य हुन्थ्यो । यी सबै संस्कार केन्द्र थिए । पछिल्लो समयमा के भयो भने यी सबै आफ्नो संस्कार दिने व्यवस्थामा चाहिँ निस्क्रिय भए । आज परिवार साँघुरिएका छन् । विद्यालयले रोजगारीसम्मको शिक्षा दिए पनि त्यहाँ रोजगारीको ग्यारेन्टी हुँदैन । मन्दिरहरू दर्शनस्थल र पर्यटकीय गन्तव्य त बने तर संस्कार–आधानको गरिमामय दायित्व निर्वाह हुन छाड्यो । यस दृष्टिले यी सबै संस्था संस्कार दिने स्थलका आधारमा निरर्थक बन्दै गए । अब यिनको सार्थकता हिन्दुत्व विचारको व्यापकतामा मात्र सम्भव छ । जुन दिन हिन्दुत्व विचार स्वदेश–स्वराष्ट्रमा व्याप्त हुन्छ, जनजनमा हुन्छ तब यी सबै केन्द्र पुनः जागृत हुनेछन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तर, अहिलेलाई एउटा नयाँ उपाय अपरिहार्य छ ।


शाखाको स्वरूप र उद्देश्य

दैनिक मिलनको पद्धति: एउटै क्षेत्रका स्वयंसेवकहरू नियमित रूपमा प्रतिदिन निश्चित् समय एवं निश्चित् स्थानमा एकत्रित हुनु शाखाको स्वरूप हो ।

व्यक्ति (संस्कारित हिन्दू) निर्माण नै शाखाको उद्देश्यः कस्तो व्यक्ति निर्मित हुनुपर्छ यस विषयमा माथि उल्लेख गरिएको— आत्मीयतापूर्ण सम्बन्धले युक्त र अनुशासनबद्ध रूपमा कार्य गर्ने सिद्धता भएको व्यक्ति । भिन्न शब्दावलीमा भन्नुपर्दा— हिन्दू स्वयंसेवक संघ नेपालको वैचारिक अधिष्ठान हिन्दुत्व हो । संघले जुन विचारका आधारमा र जुन विचारका लागि कार्य गर्दछ त्यो हिन्दुत्व हो । यही हिन्दुत्व–विचारले युक्त र संघले अपेक्षा गरेका गुणले सम्पन्न तथा संघको व्यवस्था अनुसार चल्ने व्यक्ति अर्थात् ‘स्वयंसेवक’ निर्माण गर्नु नै शाखाको उद्देश्य हो ।

व्यक्तिको विकासका निम्ति आवश्यक गुणहरूले मन–मस्तिष्क एवं भावनालाई संस्कारित गर्नु तथा उसमा हुने स्वाभाविक दोषहरू पन्छाउनका लागि निरन्तर संस्कार, अभ्यास, ध्येय–अनुरूपको सत्संग हुन आवश्यक छ । यसै दृष्टिले शाखा एक घण्टाको संस्कार योजना हो ।

निरन्तरता :  यस्तो संस्कार एकै दिनमा निर्मित हुँदैन । यसका लागि संस्कार–सम्पन्न वातावरणमा नित्य तथा निरन्तर एकत्रिकरण हुन आवश्यक भएकाले नै शाखा–पद्धति विकास गरिएको हो । यसर्थ शाखामा नित्य उपस्थिति अपेक्षित हुन्छ । 


शाखाका कार्यक्रम

शाखामा विशेष गरी दुई प्रकारका कार्यक्रम हुन्छन् । व्यायाम, योग, प्राणायाम, सूर्य नमस्कार, खेलकूद आदिलाई शारीरिक कार्यक्रम भनिन्छ । स्वयंसेवकहरूको उमेर अनुसार नै व्यायाम र खेलहरूको चयन गरिन्छ । यी सबै मिलाएर लगभग ४० मिनेटको शारीरिक कार्यक्रम हुन्छ । त्यसपछि नजिक–नजिकै गोलो घेरा गरेर अथवा दुई–चार पंक्तिमा भुइँमा बसेर बौद्धिक कार्यक्रमहरू– गीत, सुभाषित, प्रेरक प्रसंग, प्रवचन, चर्चा आदि गरिन्छ । गीत र सुभाषित सामूहिक हुन्छ । चर्चा विविध सामयिक विषयहरूमा गरिन्छ । सबै बौद्धिक क्रियाकलापका लागि लगभग २० मिनटको समय हुन्छ । 

शाखाका दैनिक कार्यक्रमहरूबाट उत्साह, पराक्रम, निर्भयता, अनुशासन, सूत्रबद्धता, विजयवृति आदि निर्मित हुन्छन् ।

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...