एक दिन पुण्डरीकको सेवाभक्तिबाट प्रसन्न हुनुभएका भगवान् स्वयं नै उनलाई दर्शन दिन भनी पुण्डरीकको घर आउनुभयो । त्यसबेला पुण्डरीक आफ्ना आमा–बुवालाई भोजन गराउँदै थिए । आफ्ना माता–पिताको आनन्द नै उनको आनन्द थियो । यसरि सेवा गरिरहेका बेला उनको घरको आँगनमै पुग्नुभएका प्रभुले भन्नुभयो, “बाबु पुण्डरीक ! म आएको छु ।”
पुण्डरीकले भने, “भगवन्, यतिबेला म आमाबुवाको सेवामा व्यस्त छु ।” आफ्ना घरमा आएको पाहुनालाई बस्न आसन दिनुपर्छ । पुण्डरीकले भित्रबाट एउटा ईटा फ्याँकेर एकछिन् त्यसैमा उभिन भनी भगवान्लाई अनुरोध गरे, “प्रभु ! केही बेर बाहिरै पर्खनुस् न है !”
भगवान्लाई नै पर्खाउने यस्तो शक्ति मातापिताको सेवा गर्नेमा आउँछ । भगवान्ले पनि पुण्डरीकको सानो परीक्षा लिन खोज्नुभयो । भगवान्ले भन्नुभयो, “तिम्रो घरमा ब्रह्माण्डकै स्वामी लक्ष्मीका पति आउनु भएको छ ।”
पुण्डरीकले भने– “हजुर यहाँ आउनु धेरै राम्रो कुरा हो । म हजुरको नित्य–निरन्तर स्मरण गर्दछु । म हजुरलाई पुज्छु । तर यतिबेला मैले हजुरको सेवा गर्ने समय होइन, मेरा आमा–बुवाको सेवा गर्ने समय हो ।”
परीक्षाकै निम्ति भगवान्ले फेरि भन्नुभयो, “तिमीलाई मैले दर्शन दिन आउँदा पनि तिमी आएनौ भने म यहाँबाट जानुपर्छ !”
पुण्डरीकले भने, “हजुरको इच्छा हो प्रभु । मैले सेवाको काम बीचमा छोड्न मिल्दैन । यसले मेरा आमा–बुवालाई असजिलो हुन्छ !” पुण्डरीकले मातापिताको सेवा छोडेनन् । उनलाई विश्वास थियो भगवान् गए पनि यहाँ फर्केर आउनुहुनेछ । श्रीकृष्णले संसारलाई आकर्षित गर्नुहुन्छ तर मातापिताको सेवा गर्नेले परमात्मालाई आकर्षित गर्दछन् ।
निकै बेरपछि पुण्डरीक बाहिर आए । भगवान् उनले भित्रबाट फ्याँकेको ईटामै उभिइरहनु भएको थियो । पुण्डरीकलाई दर्शन दिँदै भगवान्ले भन्नुभयो, “मलाई पाउनका लागि मानिस कठोर तपस्या गर्दछन् । म उनीहरूलाई प्रतीक्षा गराउँछु । तर, आज तिमीले नै मलाई पर्खन लायौ ?”
पुण्डरीकले भने, “प्रभु, जुन माता–पिताको सेवा व्रतले हजुरलाई यहाँ मेरा घरसम्म आउन बाध्य बनायो, त्यही व्रत मैले कसरी छोड्न सक्थेँ र !”
प्रसन्न हुनुभएका भगवान्ले वरदान माग्न आग्रह गर्दा पुण्डरीकले भक्तहरूमाथि कृपा गरिरहनु हुन अनुरोध गरे । पुण्डरीकले भगवान्लाई उभिनको लागि ईटा दिएका थिए । भगवान् ईटामाथि उभिएर पुण्डरीकलाई पर्खिरहनुभएको थियो । भगवान् पर्खिरहँदा थाकेर कम्मरमा हात राख्नुपर्ने भयो । आज पनि पण्ढरपुरमा पाण्डुरङ्ग बिठ्ठल भगवान् कम्मरमा हात राखेर ईटामा उभिनुभएको मूर्तिको पूजा गरिन्छ ।
भगवान्ले गीता (९।२७)मा भन्नुभएको छ—
“तिमी जे गर्दछौ, जे खान्छौ, जे हवन गर्दछौ, जे दान गर्छौ, र जस्तो तपस्या गर्छौ, त्यो सबै मलाई समर्पण गरेर गर ।”
पुण्डरीक यस्तै भक्त थिए । उनले आफूले गर्नुपर्ने काम पनि भगवान्कै काम हो भन्ने भाव राखेर गर्दथे । आमा–बुवाको सेवा पनि भगवान्कै सेवा हो भन्ने भाव राखेका थिए । त्यसैले, पुण्डरीक भगवान्को दर्शन गर्न गएका थिएनन्, भगवान् स्वयं नै पुण्डरीकलाई हेर्न घरमा आउनुभएको थियो ।
No comments:
Post a Comment