Friday, January 14, 2022

वैदिक चिन्तन | दुबो जस्तै मौलाइरहनू



नेपाली जनजीवनमा प्रचलित आशीर्वाद दिँदा उच्चारण गरिने वाक्यहरूमध्ये एउटा हो ‘दुबो जस्तै मौलाइरहनू’ । यसो भनिनुमा दुबोको विशेषता नै कारण हो । यो आशीषको मूल चाहिँ यजुर्वेद नै रहेछ । यजुर्वेदको १३औँ अध्यायको बीसौँ मन्त्रमा ‘अग्नि’ नामका ऋषि भन्नुहुन्छ—

काण्डात्–काण्डात् प्ररोहन्ती परुषः परुषस् परि ।
एवा नो दूर्वे प्रतनु सहस्रेण शतेन च ।।
(यजुर्वेद १३।२०)

यो मन्त्र गृहस्वामिनी अर्थात् गृहिणीलाई सम्बोधित छ । यसमा गृहस्वामिनीलाई ‘दुर्वा’ भनी सम्बोधन गरेर भनिएको छ— जसरी दुबोका प्रत्येक काण्ड अर्थात् आँख्लाले जरा हाल्दै दुबोलाई फिजाउँछन् यसै गरी तिम्रा सन्तानले पनि आफ्नो वंशलाई विस्तार गरुन् । काण्डात्–काण्डात् = वंशवृक्षका हाँगाहरू (छोराछोरी)ले यो वंशलाई, प्ररोहन्ती = बढाउँदै, परुषः परुपाः परि = वंशवृक्षको प्रत्येक पर्व समान पुत्र र पुत्रीहरूले सम्बन्धलाई, प्रतनु = विस्तार गरून्, फैलाऊन् । सहस्रेण = हजारौ पुस्तासम्म तथा, शतेन = सय वर्षपर्यन्त बाँच्नसक्ने अर्थात् रोगादि विकारमुक्त बनून् । 

दुबोमा चाँडै फैलिन सक्ने र एक पटक सरेपछि सितिमिति ननासिने विशेष गुण छ । यसर्थ, दुबो जस्तै मौलाइरहनू अर्थात् वंशवृक्ष विस्तृत र हरियै रहोस् भनी आशीर्वाद दिइन्छ । हजारौँ पुस्तासम्म पनि स्वस्थ बनी वंश र त्यसको सुखको वृद्धि निरन्तर भइरहोस् भन्ने भाव हामीले दुबोबाट ग्रहण गर्न सक्छौँ ।

वंश निर्दोष भयो भने मात्र त्यसको वृद्धि र समृद्धि हुन्छ । अर्थात् आफ्ना सन्तति संस्कारयुक्त एवं सच्चरित्रयुक्त भए भने मात्र त्यस वंशको यश–कीर्ति पनि विस्तारित हुनेछ । यहाँ स्वास्थ्यसँगै संस्कारले सम्पन्न वंश–परम्पराको कामना र त्यसका लागि गरिनुपर्ने उद्योगलाई रेखाङ्कित गरिएको छ । वेदका मेधावी ऋषि हामीलाई प्रेरित गर्छन्— यस मन्त्रलाई वास्तवमै परिवार जीवनका निम्ति आशीर्वाद बनाउनका लागि हामीले यस मन्त्रले दिने भावलाई आत्मसात् गरी त्यसलाई व्यवहारमा पनि ल्याउन सक्नुपर्छ । अनि मात्र आशीर्वाद फलिभूत हुन्छ ।



________________________
प्रस्तुतिः विजयप्रसाद मिश्र 

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...