Tuesday, September 13, 2022

परम पवित्र भगवाध्वज



हिन्दू स्वयंसेवक संघमा कुनै व्यक्तिलाई गुरु मानिएको छैन । व्यक्ति स्खलनशील छ, पूर्ण छैन, अमर छैन, सदैव सबै स्थानमा उपस्थित हुनसक्दैन । गुरु ध्येय–अनुरूपको हुनुपर्छ । अतः व्यक्तिको स्थानमा तत्वको प्रतीक परम पवित्र भगवाध्वजलाई गुरुको स्थानमा स्थापित गरिएको छ ।

महाभारतमा अर्जुनले किरातवेष धारण गरेका शिवको स्तुति गर्दै भनेका छन्— ‘नमो बालार्क वर्णाय’ । अर्थात् शिवलाई उदाउँदो सूर्यको उपमा दिइएको छ । भगवाध्वज उदाउँदो सूर्यको रङ्गको छ । शिवत्व प्राप्त गर्नका लागि आफू स्वयं पनि शिवझैँ बन्नुपर्दछ— शिवो भुत्व शिवं यजेत् । अर्थात् भगवाध्वजको पूजा गर्नका लागि हामीले आफ्नो गुण र चरित्रलाई त्यसै–अनुरूपको बनाउनुपर्छ ।

यो ध्वज भगवान् सूर्यको प्रतीक हो । ‘समयमा’ र ‘नित्य कार्य’को अर्थात् दैनिक शाखाको प्रतीक हो । सूर्य शाश्वत् छन् अतः यो हाम्रो समाज र हाम्रो कार्यको शाश्वतताको प्रतीक हो । सूर्यका किरणहरू सबैतिर पुग्छन्— कुनै भेदभाव छैन । दशै दिशाहरूमा पुग्ने— यस प्रकार यस ध्वजले सर्वस्पर्शी एवं सार्वभौम कार्यलाई आकार दिने प्रेरणा प्रदान गर्दछ । यो हाम्रो उत्थान र प्रगतिको प्रतीक हो ।

संन्यासीहरूको वेशका कारण यो त्याग, तपस्या र ज्ञानको; अग्निस्वरूप हुनाले पवित्रता र तेजको; वीरहरूको पोशाक हुनाले आत्मत्याग र बलिदानको प्रतीक यो भगवाध्वज हो । यसलाई प्रणाम गर्नुको अर्थ हो समस्त सद्गुणहरूलाई प्रणाम गर्नु । ‘णमो लोए सव्व साहूणं’— यस लोकका समस्त साधुजनलाई प्रणाम गर्नु हो । यसलाई प्रणाम गर्नाले हाम्रो आयु, विद्या, यश र बल बढ्दछ । 
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।।

भगवाध्वजको अर्थ हो भगवानको ध्वज । अर्थात् यो हाम्रो ईश्वरीय कार्यको प्रतीक हो । हाम्रो कार्यको आधार हाम्रो शाखा हो । ‘संघ हो मन्दिर, देवता भगवा, धर्म हो हाम्रो ध्येय’ । परमपवित्र भगवाध्वजको दर्शन गरेर, नेपाल आमाको पवित्र माटोमा खेलेर, संघगङ्गामा स्नान गर्नाले असंगठन र फूटका सबै पाप नष्ट हुन्छन्— 

दरसन, परसन, मज्जन पाना । हरई पाप कह वेद पुराना । 

यो ध्वज हाम्रो संगठनको प्रतीक हो ।

हामी शाखाका सबै कार्यक्रम यस पवित्र ध्वजका सम्मुख गर्दछौँ । यसमा हामी आफ्नो प्रिय मातृभूमिको दर्शन गर्दछौँ । यसले हाम्रो धर्म, संस्कृति र इतिहास स्मरण गराएर साहस, स्फूर्ति, त्याग र बलिदानको दिशामा अघिबढ्न र त्यागमय, यज्ञमय जीवन जिउने प्रेरणा प्रदान गर्दछ । वेदमा अरुणाः केतवाः सन्तु भनी बेसार जस्तै रङ्गको वर्णन छ । आदिकालदेखि जनमेजयसम्म— रघु, राम, अर्जुन, चन्द्रगुप्त मौर्य, विक्रमादित्य, स्कन्द गुप्त, यशोधर्मन, हर्षवर्धन, पृथ्वीराज, महाराण प्रताप, शिवाजी महाराज जस्ता सबै सम्राट, सबै चक्रवर्ति, सेनानायकले यसै ध्वजको रक्षाका लागि संघर्ष गरेका थिए । यसैका लागि माता–बहिनीहरूले जौहर गरेका थिए ।

हिन्दू संस्कृति शताब्दियौँदेखि जगत्गुरुका रूपमा प्रतिष्ठित छ । मानवीय सभ्यता हाम्रै वैदिक ऋषिहरूबाट शुरु भएको हो ।

एतद्देश प्रसूतस्य सकाशादग्रजन्मन ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्व मानवाः ।।

यस संस्कृतिले पोषित भूमिमा उत्पन्न अग्रजन्मा महापुरुषहरूका सामु बसेर संसारभरिका मानवले आ–आफ्नो चरित्रको शिक्षा ग्रहण गरेका छन् । यस कुराको पुष्टि मेकालेले पनि गर्दै भनेका छन्— जुन बेला इङ्ल्याणका मानिस शरीरमा पशु–वनस्पति आदिका बोक्रा बेरेर वनवनमा डुल्दैथिए त्यसबेला भारतवर्षमा महान् सभ्यता विकसित अवस्थामा थियो । 

विश्वले नै जीवनका प्रत्येक पक्षको शिक्षा वैदिक–हिन्दू संस्कृतिबाटै ग्रहण गरेको छ भन्ने कुरा आज विश्वले स्वीकार्दैछ । यसका अनेकौँ प्रमाण आज पनि उपलब्ध छन् ।


No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...