१. बिहान ब्राह्ममुहूर्तमा उठ्ने गरौँ । सूर्योदयभन्दा लगभग ४८ मिनेट पहिलेको समयलाई ब्राह्ममुहूर्त भनिन्छ ।
२. बिहान बासी मुखमा पेटभरि हुने गरी पानी पिउने गरौँ । यसलाई उषःपान भनिन्छ । यसो गर्नाले पेटसम्बन्धी धेरै प्रकारका रोगबाट बच्न सकिन्छ । पानी जहिले पनि बसेर पिउने गरौँ ।
३. बिहान नित्य–कर्मबाट निवृत्त भएपछि खुला मैदानमा घुमफिर गर्ने बानी बसालौँ । कम्तीमा पनि २–३ किलो मिटर तेज गतिमा हिँड्नु स्वास्थ्यका लागि लाभदायक रहन्छ ।
४. सधैँ बिहान १५–२० मिनेट व्यायाम / योगासन आदि गर्नाले शरीर स्वस्थ र फुर्तिलो रहन्छ । यसले रक्तसञ्चारलाई ठीक राख्दछ ।
५. बिहानको अल्प–आहारमा अङ्कुरित आहारलाई उपयोग गर्नु उचित हुन्छ । साबुत (नपिसेको) चना, मूँग, गहुँ, मुँगफली, मेथी र भटमासलाई भिजाएर टुसा पलाएपछि आहारका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई ‘अमृत–अन्न’ भनिन्छ । यसरी अङ्कुरित अन्न खाँदा मजाले चपाउनुपर्छ । यसको साथमा दूध पिउनु स्वास्थ्यका दृष्टिले उपयुक्त हुन्छ ।
६. भोजन नियमित र समयमा गर्नुपर्छ । भोक लागेपछि नै भोजन गर्नुपर्दछ । आनन्दका साथ, हतार नगरिकन २० देखि ३० मिनेट लगाएर भोजन गर्नुपर्छ । भोजन गर्दा दाँतहरूको पूर्ण उपयोग हुनुपर्छ अर्थात् दाँतले मजाले चपाएर खानु पर्छ । दाँतले चपाउने, आँतले पचाउने । दाँतको काम आँतले गर्नु नपरोस् । भनाइ नै छ– ‘रोटीलाई पिउनु र दूधलाई खानु’ । रोटी÷भातलाई यति चपाउनु कि त्यो र्यालसँग राम्ररी मिसिएर पेटमा जाओस् । यसो गरी खाएको भोजन सुपाच्य हुन्छ र त्यसले शरीरलाई पनि राम्ररी ऊर्जा दिन सक्छ । यसरी भोजन गरेमा कब्ज लगायतका पेटका रोगबाट पनि बचिन्छ ।
७. दैनिक भोजनमा नपकाइएको / काँचो आहार अवश्य हुनुपर्छ । मूला, गाजर आदिको सलाद राख्न सकिन्छ ।
८. अनावश्यक घरि–घरि खाने बानी राम्रो होइन । खाँदी–खाँदी खानु पनि ठीक होइन । हतार–हतार भोजन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । पेटलाई पेट नै रहन दिनु, फोहोर हाल्ने डस्टबिन नबनाउनु ।
९. बिहान–बेलुका नै भोजनपछि केही बेर आराम गर्नुपर्छ, तर सुतिहाल्नु हुँदैन । ८ श्वास दाहिने कोल्टे फेरेर लिने, १६ श्वास पिठ्यूका बलमा ढल्किएर लिने र ३२ श्वास देब्रे कोल्टे फेरेर लिने गर्दा पाचन ठीक हुन्छ । यसपछि वज्रासन अवश्य गर्नेगरौँ । यसका लागि दुबै घुँडालाई मोड्ने । दुबै पाउका बुढीऔँलालाई एकआपसमा जोड्ने र पैँतालाबाट बनेको खाली ठाउँमा बस्ने । मेरुदण्ड सीधा रहनुपर्छ ।
१०. दुबै समयको भोजनपछि मूत्र त्याग गर्नाले कमर दुख्ने समस्या आउँदैन । पथरी हुनबाट पनि बच्न सकिन्छ ।
११. दिनभरिमा तीन लिटरसम्म पानी पिउने गरौँ । भोजन गर्दा केवल बीच–बीचमा दुई–तीन घुट्की मात्र पानी पिउने गरौँ । भोजनअघि र पछि १–१ घण्टाको अन्तर राखेर पानी पिउनु राम्रो ।
१२. शरीरको कुनै वेगलाई रोक्नु हुँदैन । मल, मूत्र, हाँछ्यूँ, हाई, डकार, अपानवायु, भोक, तिर्खा, निद्रा, आँसु इत्यादि शरीरका वेग हुन् ।
१३. जहिले पनि लामो–लामो स्वास लिने–छोड्ने बानी बसालौँ ।
१४. सधैँ राति नौ–दस बजेसम्ममा सुत्ने बानी बसालौँ । सुत्दा शिर जहिल्यै दक्षिण दिशामा भएको राम्रो । सकेसम्म अधिक समय देब्रे कोल्टो फेरेर नै सुत्ने गरौँ ।
No comments:
Post a Comment